नलिनचोक हेलिप्याड: पाइलट भन्छन्– ज्यानको जोखिम भयो, क्यान भन्छ– बानी पर्छ

हेलिकप्टरका लागि भक्तपुरमा बनाइएको हेलिप्याड प्राविधिक रूपमा उचित नभएको पाइलटहरूको गुनासो छ। तर क्यानले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टाढा जाँदा पाइलटहरूले अप्ठ्यारो मानेको बताएको छ।

भक्तपुर– नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको हेलिकप्टरको उडान र अवतरण तथा पार्किङलाई गत असार ७ गतेदेखि भक्तपुरमा सारेको छ। सूर्यविनायक नगरपालिका–१० नलिनचोकमा १२ करोड रुपैयाँ खर्चेर बनाइएको उक्त हेलिप्याड प्राविधिक रूपमा उपयुक्त नभएको पाइलटहरूले बताएका छन्।

हेलिकप्टर उडान गर्ने पाइलटहरूले प्राविधिक दृष्टिकोणबाट उक्त हेलिप्याड उपयुक्त नभएको भन्दै क्यानलाई पत्र बुझाएका छन्। क्यानका उपप्रबन्धक ज्ञानेन्द्र भुल पाइलटहरूले हेलिप्याडको विषयलाई लिएर केही सरोकार राखेको बताउँछन्। “केही पाइलटहरूले लिखित रूपमा राख्नुभएको कुरा प्राविधिक र व्यवस्थापनसँग  सम्बन्धित छन्। केही विषय एड्जस्ट गर्नुपर्ने खालका छन् जुन अहिले पूरा गर्न असम्भव छ,” भुल भन्छन्, “काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडान र अवतरण गरिराखेको हुँदा केही टाढा जाँदा शुरूमा अप्ठ्यारो लाग्नु स्वभाविक हो।”

हेलिप्याड वरपर रहेका अग्ला घर तथा डाँडा, टेलिकमका टावर, रूखहरू उडान र अवतरणका लागि मुख्य बाधक भएको पाइलटहरूको भनाइ छ। “हेलिप्याड सुरक्षित छैन। पूर्वतयारी गरेर सारिएको भए समस्या आउने थिएन,” नाम उल्लेख गर्न नचाहने एक पाइलट भन्छन्, “हेलिकप्टर कम्पनीहरूलाई सुरक्षासँग त्यति मतलब नभए पनि हामी पाइलटहरूलाई चासो भयो। दायाँबायाँ भयो भने मर्ने हामी हो। हामीलाई बाध्यात्मक हिसाबले पेलिएको छ। त्योविरुद्ध आवाज उठाएका हौँ।”

ती पाइलटका अनुसार अवतरणको प्रयास (अप्रोच) गर्दा सानो समस्या आयो भने फेरि प्रयास गर्ने सुविधा पाइलटहरूलाई हुनुपर्छ। तर नलिनचोक हेलिप्याडमा त्यो सुविधा छैन। वरपर रहेका अग्ला डाँडाका कारण एकातर्फबाट मात्र अवतरण गर्नुपर्छ। लोड धेरै भएर हावाको गति मिलेन भने अवतरण गर्न कठिन छ। “वरिपरि घरहरूले हेलिप्याडलाई छेक्छ। इन्जिन फेल भयो भने घरमाथि लगेर बजार्नुपर्ने अवस्था छ। सानो कुराले पनि दुर्घटनाको ठूलो जोखिम हुन्छ,” ती पाइलट भन्छन्।

हेलिप्याडमा तेल भर्ने सुविधा पनि छैन। प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुल हेलिकप्टरमा तेल भर्नेलगायत व्यवस्थापनसँग सम्बन्धित समस्याहरू समाधान गर्दै जाने बताउँछन्। पूर्वाधार निर्माणको काम भइरहेकाले अरू धेरै मागहरू सम्बोधन हुने उनको भनाइ छ। “पाइलटहरूले उठाउनुभएको विषयमा क्यान गम्भीर छ। समाधान गर्न सकिने खालका मागलाई हामी सम्बोधन गर्छौं,” उनी भन्छन्।

क्यानका प्रतिनिधि, हेलिकप्टर पाइलट तथा प्रशिक्षक पाइलट सबैको उपस्थितिमा उक्त हेलिप्याडबाट गत वर्ष मंसिर २६ मा परीक्षण उडान गरिएको थियो। त्यसपछि वरपरका डाँडा, घर तथा टेलिकम टावरबाहेक अरू सबै ठीक भएको निचोड निकालिएको भुल बताउँछन्। “परीक्षण उडानको रिपोर्टमा डाँडाकाँडा र केही घरहरूले अवरोध सिर्जना गर्न सक्छ बाँकी ठीकै हुन्छ भन्ने आयो,” उनी भन्छन् “हेलिकप्टर कम्पनीका प्रतिनिधिसमेत बसेर असार ७ गतेदेखि सञ्चालनको निर्णय गरे अनुसार उडान शुरू गरिएको हो।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टरको उडान र अवतरण गर्दा पार्किङ तथा आन्तरिक र बाह्य जहाजको उडान तथा अवतरणका लागि पालो कुर्नुपर्ने बाध्यता थियो। अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो पनि हुँदै गएपछि हेलिप्याड सारिएको हो।

न अग्नि नियन्त्रक उपकरण, न त शौचालय
नलिनचोक हेलिप्याडमा १३ वटा हेलिकप्टर पार्किङ गर्न सकिन्छ। एकै पटकमा चार वटा हेलिकप्टर उडान र अवतरण गर्न मिल्छ। तर यहाँ सामान्य आधारभूत आवश्यकता पनि नभएको पाइलटहरू बताउँछन्। 

विमानस्थल र हेलिप्याडमा आगलागी नियन्त्रणका लागि अग्नि नियन्त्रण साधन र जनशक्ति अत्यावश्यक हुन्छ। तर नलिनचोकमा अग्नि नियन्त्रण गर्ने साधन र जनशक्ति नै छैन। “एउटा हेलिकप्टरमा आगलागी भयो भने सबै हेलिकप्टर सकिन्छन्। आगो निभाउने साधन नै छैन,” एक पाइलट भन्छन्।

यहाँ तेल भर्ने सुविधा पनि छैन। ती पाइलटका अनुसार हेलिकप्टरमा तेल राख्न काठमाडौँबाट गाडीमा लैजानुपर्छ। उनी भन्छन्, “सिभिल एभिएसनले हेलिकप्टरका मालिकलाई न्याकेर काम गराएको छ। उनीहरूले बोल्न सकेनन्। तर हाम्रो ज्यान जोखिममा भयो।”

हेलिप्याडमा शौचालय र यात्रुहरू बस्ने प्रतीक्षालय जस्ता आधारभूत संरचना पनि छैनन्। पाइलटका लागि शौचालय नै नभएको उनी बताउँछन्।

अर्को एक हेलिकप्टर कम्पनीका पाइलट भन्छन्, “पिसाब लाग्यो भने गर्ने ठाउँ छैन। खुला ठाउँमा दिशापिसाब गर्नुपर्ने लाजमर्दो अवस्था छ। प्यासेन्जर राख्ने ठाउँ पनि छैन। युरोपेली संघले नेपाललाई असुरक्षित भनेर कालोसूचीमा राखेको छ। भmन् यस्तो संरचनाले नेपालको बेइज्जत हुन्छ।”

रिर्पोटिङका क्रममा पाँच वटा कम्पनीका पाइलटसँग कुरा गरिएको थियो तर कसैले पनि नाम उल्लेख गर्न मानेन्। हेलिकप्टर कम्पनीका लगानीकर्ताले समेत नाम उल्लेख गरेर बोल्न मानेनन्।

विद्यालयलाई समस्या
नलिनचोकमा हेलिप्याड बनाउने प्रक्रिया अगाडि बढेपछि स्थानीयहरू संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका थिए। विरोधका बाबजुद क्यानले हेलिप्याड बनाएर सञ्चालनमा ल्याएको छ। सूर्यविनायक नगरपालिका–१० का वडाध्यक्ष शिवराम राउत पहिला विरोध गर्ने स्थानीयहरू अहिले नबोलेको बताउँछन्। “पहिला जसले विरोध गर्नुभएको थियो, उहाँहरू बोल्नुभएको छैन। ४/५ हजार पर्ने फ्लायट १६/१७ हजारमा गएको छ,” उनी भन्छन्, “तर विद्यालयलाई बढी डिस्टर्ब भएको छ।”

विमल मेमोरियल विद्यापीठ र जोरपाटी माध्यमिक विद्यालयलाई असर गरेको राउत बताउँछन्। ध्वनि प्रदूषण रोक्ने उपाय अवलम्बन गर्न आफूले जनप्रतिनिधिका हैसियतले क्यानसँग अनुरोध गरेको उनको भनाइ छ।

क्यानका अनुसार अहिले नेपालमा हेलिकप्टर सेवाप्रदायक कम्पनी १२ वटा पुगेका छन्। ती कम्पनीसँग ३४ वटा हेलिकप्टर छन्। अहिले १० वटा कम्पनीले मात्र नलिनचोक हेलिप्याडबाट उडान र अतवरण गरिरहेका छन्। क्यानका उपप्रबन्धक भुल त्यहाँका सम्पूर्ण आवश्यक संरचना निर्माण भइसकेपछि हेलिप्याड हेलिपोर्टमा रूपान्तरण हुने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनले हेर्ने बताउँछन्।