रामपुरस्थित भूपू सैनिक राइजिङ इङ्लिस स्कुलले विद्यार्थीमा व्यावहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागतरूपमा चलनचल्तीका सीप सिकाइरहेको छ।
पाल्पा- आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा रामपुरको एक विद्यालयले प्रयोगात्मकसँगै व्यावहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ।
कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुननसक्ने वास्तविकतालाई आत्मसात् गर्दै पाल्पाको रामपुरस्थित भूपू सैनिक राइजिङ इङ्लिस स्कुलले विद्यार्थीमा व्यावहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागतरूपमा चलनचल्तीका सीप सिकाउने कार्य गरिरहेको छ। विद्यालय गाउँघर, समाजमा दैनिक प्रयोगमा आउने गुन्द्री, दुनाटपरी तयार पार्नेजस्ता सीप सिकाउन थालिएको हो।
हाललाई कक्षा ९ का विद्यार्थीलाई मात्रै सिकाउने गरिएको छ। विद्यालयको प्राङ्गणमा तान लगाएर गुन्द्री बुन्ने, दुनाटपरी तयार पारेको दृश्यले शिक्षक, अभिभावक, विद्यार्थीमा नयाँ कुरा सिक्ने र सिकाउने कार्यमा उत्साह थपिएको छ।
बढ्दो आधुनिकताले गर्दा गाउँघरमा सबैले पुराना कुरा बिर्सिंदै गएको अवस्थामा विद्यालयमा सीप सिक्न पाउने अवसर मिलेको छात्रा नमुना गौतमले बताइन्।
“नियमित प्रयोग गर्दै आएका वस्तुका लागि अहिले बजारका प्लास्टिकजन्य सामग्रीमा निर्भर रहनुपर्ने अवस्था छ”, उनले भनिन्, “आफैँले घरमै तयार पारेर प्रयोग गर्न मिल्ने सामग्री हामी अन्यत्र आश्रित हुनुहुँदैन, विद्यालयले हाम्रो जीवनोपयोगीमा अति उपयोगी हुने सीप सिक्ने वातावरण बनाइदिएको छ।”
गुन्द्री, दुनाटपरी समाजमा अनिवार्यरूपमा प्रयोग भइरहने वस्तु हुन्। सैद्धान्तिक सिकाइले कण्ठ गर्ने मात्र हुन्छ। छात्रा सभ्यता जिसी घरमा प्रयोग गरिए तापनि सीप सिक्ने मौका नमिलेको अवस्थामा विद्यालयमै आएर सिक्न पाउँदा रमाइलो लागेको बताउँछिन्।
घरमा प्रयोग हुने गरे पनि सिक्ने समय नमिल्ने अर्थात् नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा अहिले गुन्द्री बुन्ने, दुनाटपरी बुन्नेजस्ता कार्यमा नयाँ पुस्ता अन्योलमा छ। उनीहरूलाई मध्यनजर गर्दै दैनिक प्रयोगमा आउने र पुरानो चलनचल्तीलाई नयाँ पुस्तामा ज्ञान, सीप सिकाउन विद्यालयभित्रै प्रयोगात्मक ज्ञान, सीप सिकाउने गरिएको हो।
शिक्षण सिकाइमा प्रयोगात्मक सिकाइअन्तर्गत विद्यार्थीलाई नयाँ कुरा सिकाउने र प्राचीनरूपमा घरमा प्रयोग हुँदै आएको तर अहिलेका पुस्तामा सीप हस्तान्तरण नहुँदा प्रयोग कम हुँदै गएको अवस्थामा विद्यालयमा नै सीप सिकाउने कार्य शुरू गरिएको प्रिन्सिपल गोपी सिग्देलले बताए।
“विद्यार्थीले असाध्यै उत्साहित भएर ज्ञान, सीप सिक्ने गरिरहेका छन्, अभिभावकले पनि घरमा सिकाउने समय नमिलेको अवस्थामा विद्यालयमा नै सिकाइएको यस सीपलाई सकारात्मकरूपमा लिनुभएको छ, छात्राहरू यससम्बन्धी सीप सिक्न पाउँदा खुसी छन्”, उनले भने।
थोरै समयमा आफ्नो समय तालिकाअनुसार उत्साहित भएर विद्यार्थीले सीप सिक्ने गरेको शिक्षक ईश्वरीदेवी श्रेष्ठ बताउँछिन्। उनका अनुसार दैनिक ४० मिनेटको समय पालैपालो सिकाइने गरिएको छ।
लोप भएको कुरालाई उजागर गर्दै विद्यार्थीको पढाइमा असर नपर्ने गरी पुराना सीप जुन अनिवार्य प्रयोगमा आइरहन्छन्, सो सीपलाई सिकाउन थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठले बताए।
अहिलेलाई छात्रालाई दुनाटपरी, गुन्द्री बुन्नेजस्ता सीप सिकाइएको छ। बिस्तारै बत्ती काट्ने सीप सिकाउने विद्यालयले जनाएको छ। छात्रलाई वायरिङ, प्लम्बिङजस्ता तालिम सिकाउने विद्यालयले योजना बनाएको छ। कक्षा ९ मा हाल ४० विद्यार्थीमध्ये १३ छात्रा र २७ छात्र अध्ययनरत छन्।
मन्टेश्वरीदेखि कक्षा १२ सम्म पठनपाठन हुने यस विद्यालयमा हाल एक हजार २० विद्यार्थी अध्ययनरत छन्। कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई विभिन्न खाजा, खानाको परिकार बनाउने कार्य, बिरुवा रोपण, विद्यालय प्रांगणमा करेसाबारी निर्माण, सरसफाइजस्ता कार्यक्रम भइरहेका छन्।
विद्यालयको आन्तरिक स्रोत र नेपाल–भारत सहयोगमा दुई स्कुल बस नियमित सञ्चालनमा छन्। विद्यालयमा रामपुरबाहेक स्याङ्जाको दामाचौर, माडी, साँखर र तनहुँको अत्रौली, पुट्टार क्षेत्रका विद्यार्थी दैनिकरूपमा बसमा विद्यालय आउँछन्। स्कुल बसको सुविधा भएपछि टाढाका विद्यार्थी घरबाटै यहाँ पढ्न आउने गरेका छन्।
मन्टेश्वरीदेखि कक्षा १ सम्मका विद्यार्थीलाई विद्यालयमा नै एक कर्मचारी व्यवस्था गरी खाजा बनाएर खुवाउने गरिएको छ। यस विद्यालयमा ५२ जना शिक्षक-कर्मचारी कार्यरत छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
