जवाफमा मसँग बोल्ने कुनै शब्द नै थिएन। नयाँ जन्म लिएर धरतीमा अवतरण भएको अनुभूतिले भरिँदै घर फर्किएँ। तिनै आँखाले आजसम्म मैले देखिरहेको संसार असाध्यै सुन्दर लाग्छ।
सधैँजसो सबेरै उठेर घरका नियमित कामकाज सिध्याएँ। चिया लिएर सुत्ने कोठामा पुग्दा अँध्यारै थियो। १० महिनाको छोराको निद्रा अझै खुलिसकेको थिएन। राम्ररी निद्रा पुगोस् भनेर उसलाई साथ दिन श्रीमान् पनि सँगै सुतिरहनुभएको थियो। श्रीमान् चियाको असाध्यै पारखी हुनुहुन्छ। चिया ल्याइसकेँ, उठ्नुस भनेर बोलाएँ, तत्काल उठ्नुभयो।
हातमा बोकेको चिया दिन केही कदम अघि बढेर नजिक मात्र के पुगेकी थिएँ तब अकस्मात् बत्ती निभेझैँ महसुस भयो। त्यसपछि मैले आफ्नै अगाडि चिया लिन तम्तयार श्रीमान्को अनुहार देखिनँ। अझ राम्ररी नियाल्न खोज्दा उहाँको छायाजस्तो लाग्ने आकृति मात्रै देखेँ। एक्कासि त्यस्तो हुँदा सामान्य केही होला भन्ने सोचेर केही बेर अलमलिएँ। एकछिन आँखा झिमझिम पारेर हेर्न खोज्दा पनि निष्पट्ट अँध्यारो नै लागिरह्यो। उज्यालो भइनसके पनि कोठामा बत्ती बलिरहेकै थियो। त्यो प्रकाशलाई धमिलो देखिरहे पनि श्रीमान्को अनुहार अझै देख्न सकिनँ।
त्यसपछि भने म साँच्चै स्तब्ध हुन पुगेँ। श्रीमान्का लागि अनायास शब्दहरू फुस्किए, “मैले त केही पनि देखिनँ। हजुरको अनुहार नै देखिनँ। छायाजस्तो आकृति मात्रै छ। लौ न के भयो मलाई!”
“हैन, के भन्छ?” उहाँको बोलीमा पनि आश्चर्यमिश्रित त्रास मिसिएको आभास पाएँ।
त्यो घटनाभन्दा एक महिना अगाडिको कुरा हो। माइतीमा भाइ जन्मेको खुशियाली मनाउनु थियो। अनि घर र माइतीसँगै भएकाले केही समय उतै बस्ने गरी नौ महिनाको छोरालाई लिएर तराई झरेकी थिएँ। केही दिनपछि अचानक बाबुको आँखा रातो भयो र लगत्तै मेरो पनि आँखा पाक्यो।
बुटबल र भैरहवामा लगातार १०–१५ दिनको उपचारपछि बाबुको आखा सन्चो भयो। मेरो आँखा भने झन् रातो भएर पोलिरह्यो। निको नभएको आँखाको उपचारका लागि काठमाडौँ फर्किने निधो गरेँ। फर्किएलगत्तै २०७२ वैशाखको भुइँचालो गयो। तत्काल अस्पताल जान सकिनँ। एक साता लामो चौरको बसाइपछि घरमा बस्न थालेको समयमा सूर्योदय नहुँदैको त्यो बिहान मेरो संसारको सूर्य अस्ताएको थियो। श्रीमान्ले केको चिया पिउनु! मेरो अवस्था देखेर साह्रै चिन्तित हुनुभयो। सुतिरहेको छोरालाई उठाएर उहाँले बोक्नुभयो। हामी हतार–हतार त्रिपुरेश्वरको नेपाल आँखा अस्पतालतिर लाग्यौँ। डाक्टर आइसक्नुभएको थिएन। बिहान सबेरै भए पनि आँखा जँचाउन आउने बिरामीहरूको लाइन लामै लागिसकेको रहेछ। कुर्नुपर्ने भयो।
डाक्टर आउने समय आफ्नो पालोको प्रतीक्षा गरिरहेको क्षण हाम्रो अघिल्तिर टेलिभिजन बोलिरहेको थियो। हिजोअस्ति जस्तो आँखामा ज्योति भएको भए म स्क्रिनमा के आइरहेको छ त्यो दृश्य हेर्थेँ होला। तर त्यसबेला म सुन्न मात्र सक्थेँ, हल्का चलिरहेजस्तो लाग्ने धमिलो आकृतिबाहेक केही देख्न सकिनँ।
आफ्नो अगाडि र वरपर टन्न मानिसका आकृति थिए। तापनि आँखाले ठम्याएर म कसैलाई चिन्न सक्दैनथेँ। त्यो क्षण मेरो मनमा निराशाजन्य अनेकौँ भावनाहरू हुँडलिएका थिए। जीवनले असाध्यै कठिन उथलपुथल निम्त्याउने अन्धकारले घेरिरहेझैँ लाग्दै थियो। छोरालाई काखमा राखेर अनुहार हेर्न खोज्थेँ। उही घुर्मैलो आकृति कल्याङमल्याङ गरेको चाल मात्र देख्दा मुटु भक्कानिइरहेको थियो।
भरोसा बनेर आडमा बसिरहनुभएका श्रीमान्ले ‘सब ठीक हुन्छ, तिमी कत्ति पनि नआँत्तिऊ, हामी जहाँ गएर पनि उपचार गर्छौं’ भन्दै सान्त्वना दिइरहनुभएको थियो। मैले भने केही पनि सुनेको थिइनँ। यस्तो चुपचाप थिएँ कि मानौँ त्यहाँ कुनै आवाजबिनाको सन्नाटा छाइरहेको छ। टिकट जम्मा गर्ने अस्पतालको कर्मचारीले मेरो नाम बोलाएपछि पर्खाइको दुष्कर घडी सकिएको थाहा पाएँ।
हतार गर्दै श्रीमान्को सहायतामा डाक्टर बस्ने कोठाको ढोकामा पुगेँ। म भित्र गएँ। तर बच्चा पनि सँगै भएर होला, डाक्टरले श्रीमान्लाई बाहिरै बस्न भन्नुभयो। उहाँ एक महिला डाक्टर हुनुहुन्थो। मेरो दुवै आँखा जाँच गरिसकेपछि डाक्टरले भन्नुभयो, “तपाईंले अब कहिल्यै आँखा देख्नुहुन्न। यो औषधि प्रयोग गर्नुस् र १५ दिनपछि फेरि आउनुस्। अहिलेको भिजनलाई यत्तिकै बचाइराख्न सके पनि ठूलो कुरा हुन्छ।”
डाक्टरको सोझो प्रतिक्रियाले स्तब्ध भएकी मेलै भयभीत स्वरमा भनेँ, “डाक्टर, मेरो उपचार कहीँ न कहीँ त छ होला नि। इन्डिया, थाइल्यान्ड, अमेरिका...”
डाक्टरले मलाई रोक्दै तुरुन्तै प्रत्युत्तर दिनुभयो, “अहँ, तपाईं संसारको जुनसुकै ठाउँमा गए पनि देख्न सक्क्नुहुन्न र यसको उपचार पनि छैन।” उहाँको त्यो वाणीसँगै मेरो धर्ती भासियो, आकाश खस्यो। मेरो लागि बाँकी जिन्दगी नै सकियो। रुँदै बाहिर आएर श्रीमान्लाई भनेँ, “म अब कहिले पनि आँखा देख्न सक्दिनँ।“ उहाँका के, कसो, किन इत्यादि कुनै पनि प्रश्नको उत्तर दिन मैले सकिनँ। त्यसपछि श्रीमान् आफैँ दौडेर डाक्टरकहाँ जानुभयो। म पनि सँगै गएँ। उहाँले सोध्दा पनि डाक्टरको जवाफमा कुनै परिवर्तन थिएन। त्यसपछि बाहिर निस्केर सल्लाह गर्यौँ र तत्कालै तिलगंगा आँखा अस्पताल पुग्यौँ। त्यहाँ हामीले डाक्टर सन्दुक रुइतलाई भेट्न चाहेका थियौँ। तर उहाँ आउनुभएको रहेनछ। अन्तत: एक जना महिला डाक्टरलाई भेटेर दिउँसो २–३ बजेतिर घर फर्कियौँ।
आउँदाआउँदै टेबलमा रहेको मोबाइल बजिरहेको थियो। मामाको फोन रहेछ, उठाएँ। मेरो गलाबाट शब्द निस्केन। ‘सन्चै छौ?’ भन्ने उहाँको प्रश्न सुन्नासाथ डाँको छोडेर रुन थालेँ। मामा आत्तिनुभयो। के, किन, के भयो भन्ने उहाँका चासोको मैले जवाफ दिन सक्ने अवस्था थिएन। श्रीमान्ले फोन लिनुभयो र सबै यथार्थ बताउनुभयो। त्यसपछि मलाई सम्झाउँदै मामाले भन्नुभयो, “किन रुन्छौ? म मेरो भान्जीलाई संसारको जुनसुकै ठाउँमा लगेर पनि ठीक पार्छु, केही चिन्ता नगर। म अहिले नै डाक्टर सन्दुक रूइतसँग कुरा गरेर समय मिलाउँछु। उहाँ मेरो पहिल्यैदेखिको साथी हुनुहुन्छ,” त्यति भनेर मामाले फोन राख्नुभयो।
त्यही दिन साँझ ७-८ बजेतिर हामी न्युरोडमा रहेको डाक्टर रुइतको क्लिनिकमा गयौँ। अत्तालिइरहनुभएको मामाले मलाई सान्त्वना दिँदै भन्दै हुनुहुन्थ्यो, “डाक्टर सा’बले सब ठीक पारिहाल्नुहुन्छ। अब तिमी कुनै चिन्ता लिने होइन।”
डाक्टरले राम्रोसँग हेर्नुभयो र गम्भीर आवाजमा बिस्तारै भन्नुभयो, “आँखा पाकेर भित्रसम्म इन्फेक्सन भएको रहेछ। यो सामान्य उपचारबाट निको हुने समस्या भए पनि ढिलो गर्दा धेरैले दृश्य गुमाएका छन्। तिम्रो पनि ढिला भैसकेछ भान्जी, ढिला भैसकेछ। अब एक हप्ता यो औषधि प्रयोग गर अनि फेरि हेरम्ला।”
म, मामा र मेरो परिवारको सम्पूर्ण भरोसाका केन्द्र बन्नुभएका र विश्वले चिनेका डाक्टरले नै त्यति भनेपछि आशा गरेर जाने अर्को ठाउँ बाँकी छैन भन्ने लाग्यो। अनि त मेरो निभेको संसारमा फेरि उज्यालो फर्केला भन्ने आशाको त्यान्द्रो छिनेर जीवनका सारा सपना क्षणभरमै चकनाचुर भए। त्यो क्षण निकै बेरसम्म हामी सबै निशब्द भयौँ। घर फर्कंदाका प्रत्येक पाइलामा मलाई भएभरका आशाको अन्त्येष्टि गरेर रित्तिएको एउटा मलामीझैँ महसुस भइरह्यो।
त्यसबेला हामी शान्तिनगरमा बस्थ्यौँ। अर्को दिन बिहानै श्रीमान्ले भन्नुभयो, “शान्तिनगरको लायन्स क्लब नजिकै छ। त्यहाँ पनि आँखाको जाँच र उपचार हुन्छ। हिँड, एक पटक जाऊँ। मलाई लागिसकेको थियो, “अब कहीँ गए पनि केही हुने होइन। तर पनि उहाँको बोली राख्न म गएँ। एकैछिनको पर्खाइपछि म डाक्टर रमेश प्रधानको अगाडि पुगेँ।
त्यसअघि भेटेका दुई डाक्टरको संवाद सम्झेर तेस्रो पटक पनि उही पीडा दोहोरिने भयले मुटुको धड्कन बढ्दै थियो। जिउ पूरै तातेर रन्किएको महसुस भयो। त्यसबेलासम्ममा मेरो आँखाको भिजन झन् खराब भइसकेको थियो। डाक्टरले सोध्नुभयो, “किन आउनुभयो?” म बोल्नुभन्दा अगाडि नै आँशु आइसकेको थियो। त्यसअघि जाँचेका दुवै डाक्टरको प्रेस्क्रिप्सन् दिएँ र भनेँ, “डाक्टर, म अब देख्न सक्दिनँ।”
उहाँले मेरो आँखा राम्रोसँग जाँच्नुभयो र के के भएको हो सबै बिस्तारमा सोध्नुभयो। मैले सबै कुरा भनिसकेपछि डाक्टरले प्रश्न गर्नुभयो, “कहाँ बस्नुहुन्छ?” मैले मन्द स्वरमा जवाफ फर्काएँ, “यहीँ शान्तिनगर।”
“ल, नजिकै रहेछ। आँखामा राख्ने यो औषधि लिनुस्। मेरो विश्वास गर्नुस् र मलाई ६ महिनाको समय दिनुस्। त्यो समयमा तपाईंले सबैभन्दा ठूलो औषधि आत्मविश्वास र धैर्य गुमाउनुहुँदैन। तपाईंको भिजन १०० प्रतिशत फिर्ता आउँछ। तर मैले भनेबमोजिम गर्नुपर्ने हुन्छ र बोलाएको समयमा आउनुपर्ने हुन्छ,” डाक्टरका यी वाक्य मेरा लागि अपत्यारिलो सपनाजस्ता लागे। उहाँलाई सुन्नासाथ श्रीमान्ले ‘हामी गर्छौं डाक्टर साब’ भन्नुभयो। त्यो संवादले मनमा अलिकति आशाको टुसा पलाएको मैले महसुस गर्न सकेँ।
धेरै विश्वास लागेको थिएन। तापनि डाक्टरको सल्लाहअनुसार औषधिसँगै आत्मविश्वास र धैर्यमा कमी आउन नदिने संकल्प मनमा लिएँ। आफ्नो तर्फबाट १०० प्रतिशत दिन्छु भन्ने अठोटसहित घर फर्किएँ। त्यसपछि डाक्टरले दिएको औषधि हरेक दिन नछुटाई आँखामा राख्दै गएँ र उहाँले भनेझैँ मैले ६ महिनाभित्र पूरै देख्नेछु भन्ने भरोसा त्यागिनँ। नभन्दै सुखद् आश्चर्य भयो। एक महिनामै मेरो ५० प्रतिशत भिजन आइसकेको थियो। अब म बिस्तारै मान्छे चिन्न सक्थेँ।
दुई महिनामा त मैले पहिलाको जस्तै देख्न थालेँ। त्यसपछि हामी बस्न भैंसेपाटीको अपार्टमेन्टमा सर्यौँ। त्यसबेलासम्ममा मेरो संसारमा अस्ताएको घाम फेरि उदाएको थियो। त्यसपछिका हरेक दृश्य अनुपम र अमूल्य लाग्न थाले। देख्न पाउनुको दुर्लभतालाई मैले पहिले कहिल्यै महसुस गर्न सकेको रहेनछु।
समय मिलाएर म डाक्टरलाई भेट्न गइरहन्थेँ। ६ महिना कटेर पनि केही दिन बितिसक्दा म अन्तिम पटक गएँ। मङ्सिरको महिना थियो। डाक्टरले जाँच गर्नुभयो र असीम खुशी हुँदै मलाई भन्नुभयो, “ल बधाई छ, १०० प्रतिशत भिजन ठीक छ। त्यसबेलाको डाक्टरको सन्तुष्टि र मेरो भावनालाई व्यक्त गर्ने शब्दहरू नै थिएनन्। मेरो लागि उहाँ मानिस होइन, भगवान हुनुभएको थियो।
सायद यस्तै बिषम परिस्थितिहरूलाई चिर्ने भएर नै होला हामीले डाक्टरलाई भगवानको उपमा दिएको। “हजुरप्रति सदैव ऋणी रहनेछु डाक्टर साब,” मैले मुस्कुराउँदै भनेँ, “डाक्टर साब अब म कहिले आऊँ?” डाक्टरले भन्नुभयो, अब तपाईंलाई कहिले पनि अस्पताल आउनु नपरोस्।” जवाफमा मसँग बोल्ने कुनै शब्द नै थिएन। नयाँ जन्म लिएर धरतीमा अवतरण भएको अनुभूतिले भरिँदै घर फर्किएँ। तिनै आँखाले आजसम्म मैले देखिरहेको संसार असाध्यै सुन्दर लाग्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
