पद्मश्री साहित्य पुरस्कारका लागि छानिए १५ पुस्तक

प्रतिष्ठानमा प्राप्त भएका २०८० सालमा प्रकाशित १८६ वटा पुस्तकमध्ये पुरस्कार चयन समितिले पहिलो चरणमा १५ पुस्तक छनोट गरेको छ।

काठमाडौँ– पद्मश्री साहित्य पुरस्कार–२०८० का लागि पहिलो चरणको विस्तारित सूची सार्वजनिक भएको छ। 

खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले शनिबार १५ पुस्तको सूची सार्वजनिक गरेको हो। २०८० सालमा प्रकाशित १८६ वटा पुस्तक प्राप्त भएकोमा पुरस्कार चयन समितिले पहिलो चरणमा १५ पुस्तकको विस्तारित सूची उपलब्ध गराएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जनाएको छ। 

सूचीमा परेका पुस्तकमा विष्णु सापकोटाको अडिएका पाइला, कृष्ण गौतमको अद्वैत, सानु शर्माको अर्को देशमा, रोशन शेरचनको गल्ली संसार, भानु बोखिमको गोधूलि गीत, विश्व कुइँकेलको गोपीचा, कुमार नगरकोटीको जोगियाना रहेका छन्। 

यसैगरी, चिरञ्जीवी वाग्लेको बहादुर शाह, सुमिनाको बागी स्त्रीको आत्मकथा, राजेन्द्रमान डंगोलको बादलडाँडा, अखण्ड भण्डारीको बोरा, गोविन्दप्रसाद कुसुमको भृकुटी, गोपी सापकोटाको लन्डन अनप्लग्ड, अरुण गुप्तोको संस्कृति चिन्तन र भुवनहरि सिग्देलको साखेजुङको उकालो विस्तारित सूचीमा परेका छन्। 

नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट कृतिलाई हरेक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गरिँदै आएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जनाएका छन्। यो सुचीबाट समितिले अर्को महिना पाँचवटा पुस्तकको उत्कृष्ट संक्षिप्त सुची चयन गर्नेछ।