महिलालाई पानीको धराप : धारामा जाँदा यौन दुर्व्यवहार, नजाँदा छैन विकल्प

ललितपुरको गोदावरी नगरपालिकास्थित वज्रवाराही मन्दिरनजिकको धारामा पानी थाप्न जाने कतिपय महिलामाथि यौन दुर्व्यवहार भइरहेको छ। खानेपानीको अन्य विकल्प नहुँदा उनीहरू हरेक दिन त्यहीँ जान बाध्य छन्।

ललितपुर– “एक जनाले पछाडिबाट च्याप्प मेरो गर्दन समात्यो। अरूले हात र खुट्टा समात्न थाले। म चिच्याएँ, कराएँ। सक्ने जति बलले उनीहरूको हातबाट छुट्टिन खोजिरहेँ,” तामाङ भाषामा सानु (नाम परिवर्तन)ले आफूमाथि भएको दुर्व्यवहार बताउँदै थिइन्।

भाषाको कठिनाइका कारण सानुका छिमेकीले उनको भनाइ उल्था गर्न सहयोग गरिन्। उक्त घटना सुनाइरहँदा सानुको अनुहारमा डर र आक्रोश थियो। ललितपुरको गोदावरी नगरपालिकास्थित वज्रबाराही क्षेत्रमा बस्ने उनी खानेपानी लिन पोरिङ्गा हिटी पुग्छिन्। यो ढुंगेधारा (हिटी) चापाँगाउँस्थित बज्रबाराही मन्दिरको खोँचमा छ। यो धारामा वर्षभरि नै पानी आउँछ।

डेढ महिनाअघि पानी भर्न जाँदा भएको उक्त घटनाले उनलाई अझै झस्काउँछ। बिहानीपख धारामा पानी थाप्न गएकी उनले आफना बालखा दुई छोरीलाई पनि साथै लिगेकी थिइन्। डेरा बसेको घरबाट उक्त धारा १५ मिनेटको दूरीमा छ। त्यो दिन पनि बोटलमा पानी भरेर फर्कने तरखरमा थिइन्। धाराभन्दा माथि जंगलबाट केही मानिस कराएको सुनियो तर उनले वास्ता गरिनन्। पानी भरेर डोकामा राख्ने बेला एक्कासि ४–५ जना मास्क लगाएका पुरूषहरूले उनलाई घेरेर आक्रमण गरे।

उनलाई बोकेर जंगलतिर लैजान खोजिरहेका थिए। तर सानुको प्रतिवादका कारण हच्किए। जोडबल लगाएर उनीहरूबाट छुटकारा पाएपछि उनी भाडाँकुडा सबै छाडेर चिच्याउँदै डाँडामाथि पुगिन्। ती मानिस जंगलभित्रै हराए।

वरपरका साथीभाइ बोलाएर उनी फेरि धारामा पुगिन्। छोडिएका पानीका बोटल र छोरीहरूलाई लिएर घर फर्किइन्। “एक्लै केटीमान्छे देख्यो भने छोप्न आउने रहेछन्, अहिले सबै जना समूहमै जाने गर्छन्,” सानुका श्रीमान् भन्छन्, “हामी केटामान्छे एक्लै जाँदा कहिले केही भएको थाहा छैन।”

ढुंगेधाराकै आसपास बस्ने नेहा राई (नाम परिवर्तन)ले यस्ता घटना त्यहाँ भइरहने सुन्दै आएकी छन्। तीन वर्षअघि खोटाङबाट काठमाडौँ अध्ययनका लागि आएकी उनी हरेकपटक साथी भए मात्र धारा जान्छिन्। त्यही कारण आफूले अहिलेसम्म नराम्रो बेहोर्नु नपरेको उनी बताउँछिन्।

पाँच महिनाअघि चापागाउँ डेरा सरेकी एक महिला आफू दुईपटक हिंसामा परिसकेको बताउँछिन्। उनका अनुसार केही मानिस जंगलमा बसेर पानी भर्न जाने महिलालाई जिस्क्याउने, अँगालो मार्ने, अश्लील हर्कत गर्ने र एक्लै हुँदा आक्रमण गर्ने गर्छन्। आफूले प्रतिवाद गरेर कराउँदा ‘पख्लास्, अर्को पटक बच्दिनस्’ भनेर धम्काएको उनको भनाइ छ। “जहिल्यै साथी हुँदैनन्, जंगलमा जाँडरक्सी, लागुऔषध खानेहरूले आक्रमण गर्ने गरेका छन्,” उनी भन्छिन्, “अहिलेको जमानामा केटाकेटी समान भन्छन् तर यहाँ आएर केटाकेटीबीचको भिन्नता महसुस हुन्छ।”

हरेक दिनजसो दुर्व्यवहार र हिंसा भइरहँदा स्थानीय अगुवाहरूले ‘एक्लै नगए भइहाल्यो नि’ भनेर सामान्यीकरण गर्ने गरेको पीडित महिलाहरूको गुनासो छ। तर समूहमा जान सधैँ व्यवहारिक नहुने उनीहरू बताउँछन्। “यहाँका मानिस पानी भर्न एक्लै नगए भइहाल्यो नि भन्छन्,” एक पीडित महिलाले भनिन्, “मैले कतिपटक भनिसकेँ मिलेर उजुरी गरौँ भनेर तर कसैले मान्नु भएन।” 

‘राक्षसको धारा’मा मान्छेको डर
काठमाडौँँबाट करिब १५ किलोमिटर दक्षिण गोदावरी नगरपालिका वडा नं. ११ मा पर्ने उक्त स्थान वज्रबाराही मन्दिरको जंगलभित्र छ। नेपाल मण्डलका नेवार समुदाय उक्त मन्दिरमा पारिवारिक पूजाका लागि जान्छन्। त्यहाँ वनभोज पनि हुन्छ। जंगलको खोँचमा रहेको धाराको किंवदन्ती रोचक छ। 

यो ढुंगेधारा परापूर्वकालमा राक्षसहरूले नुहाउने ठाउँ थियो। चापागाउँका स्थानीय माहिला महर्जनका अनुसार धाराको माथिल्लो भागमा रहेको चौर राक्षसहरूको खेल्ने र रमाउने ठाउँ थियो। धारामा नुहाएर जो राक्षस सबैभन्दा पहिले मन्दिर पुग्छ उसलाई वज्रबाराहीले दर्शन दिने र वरदान प्राप्त हुने कथन थियो। सोही कारण मानिसहरू पहिला उक्त धारामा साँझ–बिहान र एक्लै जान हच्किन्थे । स्थानीय राजेन्द्र देशार त्यहाँ लाखेहरू (नेवार समुदायले पूज्ने यक्ष) धेरै घुम्ने कारण बाजेअजीका पालादेखि नै धारामा चहलपहल नहुने बताउँछन्।

राक्षसले खेल्ने भनिएको चौर।

उहिले राक्षसले नुहाउने धारामा अहिले मान्छेहरू नै ‘राक्षस’ भएर बस्ने गरेको स्थानीय महिलाको गुनासो छ। धारामा दुर्व्यवहार भोग्नेमा शर्मिला तामाङ (नाम परिवर्तन) पनि हुन्।

शर्मिला पानी लिन प्रायः भाउजूसँग जान्थिन्। हप्ता दिनअघि दिउँसो २ बजे पानी भर्न जाँदा एक्लै परिन्। पानी भर्ने ठाउँमा पुगेपछि जंगलभित्रबाट एक जनाले इशारा गरेर बोलायो। उनले चुपचाप पानी भरिरहिन्। 

यसअघि पनि पानी भर्न जाँदा अश्लील शब्द बोल्ने, अश्लील हर्कत गर्ने गरेको उनले भोगेकी थिइन्। त्यसैले त्यता ध्यान दिइनन्। तर त्यो मानिस धारातर्फ अघि बढ्न थालेपछि उनी चिच्याइन्। धारामाथिको चौरमा भैँसी चराइरहेका उनका बाबु छोरी चिच्याएको सुनेर दौडिँदै आइपुगे। “मैले हातमा भएको लट्ठी लिएर जंगलैजंगल लखेटेँ। झयाप्प समाउन पनि भ्याएँ,” शर्मिलाका बाबु भन्छन्, “अबदेखि धाराको वरपर यसरी दुःख दिएको थाहा पाए ज्यानलाई ठिक हुन्न भनेर एकपटकलाई छाडिदिएँ।”

शर्मिलाका बाबुका अनुसार ती व्यक्ति ३५ वर्ष आसपासका देखिन्थे। “अबदेखि यस्तो नगर्ने र दुःख नदिने भनी बिन्ती गरेको कारण छाडिदिएको हुँ। त्यो मानिस त्यसयता जंगलमा देखा नपरेको छोरीबुहारीबाट सुनेको छु,” उनले भने।

उनको परिवार ६ वर्षअघि बसाइँ सरेर वडा नं. ११ मा आएको थियो। उनीहरूको घरमा धाराको लाइन पुगेको छैन। सोही कारण पिउने पानीका लागि ढुंगेधारा पुग्नुको विकल्प छैन।

खानेपानी नहुँदाको सकस
गोदावरी–११ स्थित नयाँ बस्तीका महिला पानी लिनका लागि एकपटकमा ३० मिनेट खर्च गर्छन्। उनीहरूको घरमा पाइप र धारा नपुगेको होइन। तर धारामा आउने पानी पिउनयोग्य नभएपछि जंगल जान बाध्य भएको नयाँ बस्तीका बासिन्दा बताउँछन्। मन्दिरको दक्षिणपूर्वस्थित बुलु र गोम्बो क्षेत्रमा बसाइँ सरेर आएकाहरूको बस्ती छ। 

“एक त यहाँको पानी पिउनयोग्य छैन। जंगलको धाराको पानी मुहानबाट आउने हुँदा स्वादिलो पनि छ,” सानुका श्रीमान् भन्छन्, “ज्यालामजदुरी गरेर पैसा कमाउँछु, म काममा गइनँ भने हातमुख जोड्न गाह्रो हुन्छ। घरको काम सबै उसैले गर्ने हुँदा पानी लिन पनि ऊ नै जान्छे।”

धारामा प्रायः बसाइँ सरेर आएका नयाँ बस्तीका स्थानीय जान्छन्। कमजोर आयस्रोतका कारण उनीहरू घरको धारामा आउने पानी फिल्टर गरेर अथवा जारको पानी किनेर पिउन सक्ने अवस्थामा छैनन्। उनी भन्छन्, “कोठा भाडा मासिक ३६ सय छ। ज्याला मजदुरी गरेर कति खाने, कति जोगाउने! पैसा पनि नलाग्ने र जंगलको मूलबाट रसाएको स्वच्छ पानी पिउन पाइने हुँदा त्यहाँ जानु परेको हो।” 

धारा जाने बाटो।

एक पीडित महिला पँधेरामा जान सधैँ आफन्त वा श्रीमान् नहुने हुँदा डरैडरमा पानी ल्याउनु परेको बताउँछिन्। “श्रीमान् कमाउन जानु परिहाल्यो, घरायसी काम हाम्रो जिम्मामा आउँछ,” ती महिला भन्छिन्, “पानी थाप्न जाँदासमेत यस्ता हिंसा भोग्नु कतिसम्मको अन्याय र असुरक्षित समाज भएछ!”

त्यहाँ बस्नेहरूले मास्क लगाउने वा रुमालले मुख छोप्ने गर्छन्। ठ्याक्कै मान्छे नचिनिए पनि त्यहीँ आसपासका रैथाने भएको ती महिलाको भनाइ छ। उनले भनिन्, “मिडियामा कुरा गरे हामीलाई लोकलले बस्न नदिने कुरा सुनेको छु। म अब बोल्दिनँ।”

ती महिलाले पहिलोपटक जेठ दोस्रो साता उकालोसँग कुराकानी गर्दा अन्य पीडितलाई पनि बोल्न लगाउने बताएकी थिइन्। तर पछिल्लो फोनवार्तामा उनले आफ्नो सुरक्षामा समस्या आउने भन्दै अब त्यसबारे कुरा नगर्ने र भेट पनि नगर्ने बताइन्। 

धेरैले पीडकको डरले गर्दा बोल्न नसकेको स्थानीय राजु लामा बताउँछन्। जंगलमा दुःख दिने पनि पुरानो सोच र मनस्थितिका स्थानीयहरू नै हुने उनीहरूको आशंका छ। राजु भन्छन्, “बसाइँसराइ गरेर नयाँ बस्तीमा आएका भोट दिन नजाने भएर पनि होला यहाँको समस्या सुनुवाइमा नै पर्दैन।”

वडाध्यक्ष भन्छन्– घटना पहिलेभन्दा कम भए
गोदावरी–११ का वडाध्यक्ष नीलबहादुर देशारले उकालोसँग वज्रबाराही मन्दिर तल रहेको हिटीमा हुने घटना आजभोलि आफूलाई थाहा नभएको बताए। तर ५–६ वर्षअघि त्यस्ता घटना हुने गरेको र अहिले न्यून भएको उनले दाबी गरे।

“धाराबाट माथिल्लो पट्टिको चौरमा पहिले स्थानीयको जग्गा थियो। जग्गामा दिउँसो काम गर्ने प्रायः महिला नै हुने हुँदा उनीहरूमाथि दुर्व्यवहार भएको सुनिएको थियो,” वडाध्यक्ष देशार भन्छन्, “धारा क्षेत्र मात्र होइन माथिल्लो जग्गामा पनि यस्ता घटना घट्थे। अहिले कमी आएको छ।”

धारा बिग्रने र पानी लिक हुन थालेपछि गोदावरी नगरपालिकासहित अन्य दुई संस्थाको सहयोगमा २०७७ सालमा उक्त हिटी पुनर्निर्माण गरिएको थियो। देशारका अनुसार केही वर्ष अघिसम्म पुरानो बस्तीका स्थानीय त्यहाँ लुगा धुन, नुहाउन जान्थे। तर काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को लाइनसँगै घरघरमा धारा आयो। त्यसपछि रैथानेको आउजाउ उक्त हिटीमा कम भयो।

“हाल दक्षिणपूर्वमा बसेको नयाँ बस्तीमा स्वच्छ पानीको अभाव छ। उहाँहरूका लागि सोही धारामा पिउने पानीदेखि नुहाइधुहाइ गरिरहनु भएको छ,” वडाध्यक्ष देशार भन्छन्, “उक्त धारामा वर्षभरि नै एउटै गतिमा पानी आउँछ। मुहानको पानी हिउँदमा न्यानो र गर्मीमा चिसो हुने कारण मानिसहरू जाने गरेको हुनसक्छ।”

पँधरोमा हुने यस्ता घटनाबारे वडामा जानकारी दिए प्रहरीसँग समन्वय गरेर काम गर्ने उनले बताए। वडाले बसाइँ सरेर आएका सबै नागरिकलाई समान व्यवहार गर्ने पनि उनको भनाइ छ। 

चापागाउँ प्रहरी वृत्तका डीएसपी डिलबहादुर मल्ल दुर्व्यवहार भएको उजुरी प्रहरीमा नआएको बताउँछन्। प्रहरीले बेलाबखतमा गस्ती गरिरहेको उनको भनाइ छ। “यस्ता घटना हुन्छन् भने बिनाडर, भय, संकोच प्रहरी चौकी आउन अनुरोध गर्दछु,” उनले भने।

तर पीडित भने प्रहरीमा उजुर गर्न पनि डर मानिरहेका छन्। कतिपय त त्यहाँबाट बसाइँ सर्ने योजनामा नै छन्। सानुका श्रीमान् बसाइँसराइको तयारीमा रहेको बताउँछन्। “अहिले कहाँ सर्ने कन्फर्म भइसकेको छैन तर यहाँभन्दा सुरक्षित ठाउँमा चाँडोभन्दा चाँडो सर्न मन छ,” उनी भन्छन्।