नेपाली राजनीति र राजनीतिज्ञ (सरकार र सरकार सञ्चालक) तथा ब्युरोक्रसी (स्थायी सरकार) ‘कंकर्ड फ्यालासी’बाट यति गहिरो रूपमा ग्रस्त भइसक्यो कि– यस्तो लाग्छ, त्यहाँ न नैतिक लगाम छ न सामाजिक।
आधा शताब्दीभन्दा अघि बेलायत र फ्रान्सले संयुक्त लगानीमा ध्वनिभन्दा तेज गतिमा उड्ने हवाईजहाज बनाउने निर्णय गरे। परियोजना शुरू भएको केही वर्षमै दुवै देशलाई के थाहा हुँदै गइसकेको थियो भने ‘कंकर्ड’ नाम दिइएको उक्त विमान तेज, शानदार र सुन्दर त हुन्छ, तर व्यावसायिक रूपमा खासै सफल हुने सम्भावना छैन। तथापि उनीहरूले परियोजना अघि बढाइरहे। जब कंकर्ड सन् १९७६ मा व्यावसायिक उडानका लागि तयार भयो, त्यो बेला उनीहरूको प्रारम्भिक अनुमानभन्दा कैयौँ गुणा बढी रकम खर्च भइसकेको थियो। साथै, समय, साधन र अन्य स्रोत पनि।
खर्च यति धेरै हुनेवाला छ कि परियोजना अगाडि बढाउनुभन्दा नबढाउनुमै फाइदा छ भन्ने जान्दाजान्दै पनि ती दुई देशले पैसा पानीझैँ हालिरहे। हरेकपल्ट उनीहरूलाई लाग्थ्यो कि यत्रो स्रोत, समय र साधन आखिर खर्च भई नै त सक्यो। त्यसमा पनि भावनात्मक लगाव अनि दुवै मुलुकको प्रतिष्ठाको विषय थियो परियोजना। आफ्नो २७-वर्षे व्यावसायिक उडानका हिसाबले कंकर्डले अनुपम र अद्वितीय भएकोले इतिहासमा आफ्नो नाम त लेखायो, तर आर्थिक रूपमा यो एक सफल परियोजना भने थिएन। कंकर्डको विफलताको कथाले अर्थशास्त्रीहरूलाई भने एउटा उपयोगी शब्दावली भने छोडेर गयो — ‘द कंकर्ड फ्यालासी’। त्यसको आशय या अर्थ हुन्थ्यो, ‘समय, स्रोत र पैसा लगानी भइसकेपछि कुनै परियोजना या प्रयास जारी राख्नू।’
अर्थशास्त्रीय लेखन या ‘बिजनेस लेसन’का हिसाबले यो शब्दावलीको प्रयोग बढी गरिने भए तापनि कंकर्ड फ्यालासी—जनित पूर्वाग्रह आमजीवनमा पनि देखिने र अनुभव गरिने कुरा हो। कसरी यसले ‘र्यास्नल थिंकिङ’ र मानवीय व्यवहारलाई नै प्रभावित गरिरहेको हुन्छ र यसले कसरी राजनीति र समाजमा नकारात्मक असर पार्न सक्छ भन्ने विषय पनि शायद महत्त्वपूर्ण हुनसक्छ।
नेपालमा निकै बहस गरिने दुई प्रमुख मुद्दा छन्—सुध्रिन नसकेको राजनीति (तथा सुध्रिन नसकेका नेता) र राजनीति र ब्युरोक्रेसीको घातक सम्मिश्रणले मलजल गरेको बढ्दो भ्रष्टाचार। कतिपय मुद्दामा भ्रष्टाचार गरिएको धनराशिको मात्रा सुन्दा अचम्मै लाग्ने अवस्था छ। घुस रकम अब करोडमा होइन, अर्ब/खर्बमा सुनिन्छ। एकै जनाउपर मात्रको भ्रष्टाचारको रकम कसरी अर्ब पुग्छ होला? राजनीतिज्ञ होस् या कर्मचारी, भ्रष्टाचार गर्नेलाई कुनै न कुनै दिन उसको भेद खुल्छ भन्ने कुरा थाहा नभएको होला भन्ने कुरा त पत्याउन सकिन्न। एक तहसम्मको भ्रष्टाचार गरिसकेपछि — पैसा कमायो, घर बनायो, गाडी किन्यो, परिवार व्यवस्थित गरिसक्यो, आदि इत्यादि।
तर अझै पनि भ्रष्टाचार गर्न कसैलाई केले प्रेरित गर्छ होला त? किनकि यो बेलासम्म ऊ यही कंकर्ड फ्यालासीले ग्रस्त भइसकेको हुन्छ। अथवा अर्को शब्दमा ‘संक कस्ट फ्यालासी’। व्यक्तिलाई लाग्छ, उस/उनले यत्रो लगानी गरी त सकियो— समय र स्रोत (पैसा)सँगै ‘नेक्सस’ बनाउने काममा समेत, जसको दायरा समयक्रममा निकै ठूलो भइसकेको हुन्छ। भ्रष्टाचार जब एक ‘परियोजना’मा परिणत भइसक्छ, यो दौरान गरिसकिएको लगानी, कर्ताका लागि ‘संक कस्ट’ भइसकेको हुन्छ र व्यक्ति उक्त ‘परियोजना’ त्याग्न चाहँदैन।
कहिलेकाहीँ नेपालमा यस्तो बहस पनि सुनिन्छ — नेपालमा उही अनुहार, उही पुराना नेताको वर्चस्व भयो, दलमा युवा नेतृत्वमा आएनन् या आउन सकेनन्, त्यसकारण राजनीति सुध्रिन सकेन। दुई वटा कुरा अनुमान गरौँ। पहिलो, पुराना नेताले जुन स्थान बनाएका छन्, त्यो बनाउन उनीहरूको लगानी (स्रोतसाधन) कति छ। राजनीतिमार्फत प्राप्त उच्चतम पद, प्रतिष्ठा र पैसा सबै हासिल गरी सकेपछि किन कोही व्यक्ति आमनागरिकझैँ सामान्य जीवनमा फर्किन चाहँदैन? त्यत्रो लगानी गरिसकेपछि यो राजनीति नामको ‘पेसा’लाई कसैले सहजै किन अचानक छोड्ला?
अर्को, जुन ‘युवा’ पुस्ताको हामी कुरा गरिरहेका छौँ, उनीहरूलाई पनि नेतृत्वमा पुग्न गर्नुपर्ने लगानी कम त छैन। मान्छे ‘आफ्नो’ बनाउनु पर्ला, स्रोतसाधन खर्च गर्नुपर्ला र त्यो खर्च गर्नुपर्ने स्रोतसाधन पनि जुटाउनुपर्ला। अब समयकालमा त्यो ‘युवा’ नेतृत्वमा आयो भने उसले पनि हिसाब गर्ने उही ‘संक कस्ट’ नै हो।
जब राजनीतिज्ञ र कर्मचारी यही कंकर्ड फ्यालासीमा फस्दै जान्छन्, भ्रष्टाचार झन् गहिरो रूपमा प्रणालीगत समस्या बन्दै जान्छ। यसले एउटा सानो निश्चित तप्कालाई त धनी बनाउँदै लान्छ तर अधिकांश जनताको जीवनस्तर झनझनै तल झार्दै लान्छ। अहिले भइरहेको त्यही हो। भाषणमा जति मीठा र घतलाग्दा कुरा गरे पनि आखिर व्यवहारमा खासै परिवर्तन देखिएको छैन।
केही महिनापहिले द न्यु योर्कर पत्रिकामा एउटा लेख छापिएको थियो, जसमा लेखकले टोलस्टोयको 'हाउ मच ल्यान्ड डज अ म्यान नीड?' कथाले कसरी पैसा, मनोविज्ञान र इकोनोमिक थिंकिङ (आर्थिक सोच)मा प्रकाश पार्छ भन्ने चर्चा गरेका छन्। उपन्यासको मुख्य पात्र पाहोमले जमिनका लागि जुन दौड लगाउँछ र उसलाई अझै अलिकति दौडिऔँ न त भन्ने जुन भावना आउँछ, त्यहाँ पनि निरन्तर कंकर्ड फ्यालासीले काम गरिरहेको हुन्छ। पाहोमको नजरबाट त्यो उसको र्यास्नल थिंकिङ नै होला, तर वास्तवमा कंकर्ड फ्यालासीले निरन्तर उसको स्थापित मान्यता र व्यवहारलाई विकृत गर्दै लान्छ।
नेपाली नेताले यदाकदा भन्ने गरेको सुनिएकै हो — ‘राजनीति जोगी बन्नलाई गरेको त हैन नि!’ र नेताको आलोचना गर्दा अधिकांश प्रयोग गरिने वाक्य हो— ‘चप्पल लाएर शहर आएका नेता अब महलमा बस्ने, ठूला, चिल्ला गाडीमा घुम्ने भए।’ यी दुवै वाक्य समग्रमा गलत छैनन्, सही छन्। यी दुवै वाक्यमा निहित अर्थ कहीँ न कहीँ त पैसा, अर्थ या भ्रष्टाचार नै हो।
नेपालमा भ्रष्टाचारको अर्थ मूलतः आर्थिक दुरुपयोग वा व्यक्तिगत स्वार्थका लागि गरिने लेनदेनको रूपमा मात्र बुझ्ने गरिन्छ। खास यसलाई भ्रष्ट आचार, भ्रष्ट आचरण या भ्रष्ट व्यवहारका रूपमा बढी प्रचलित गर्नुपर्ने हो। सबै राजनीतिज्ञ या कर्मचारीका आचरण र व्यवहार भ्रष्ट थिए होला त या हुन्छ होला त? यहाँ भ्रष्टाचारको सन्दर्भमा राजनीतिज्ञ र कर्मचारी मात्र किन भनिएको होला भने भ्रष्टाचारको उद्गम नै त्यहीँबाट हुँदै समाजका विभिन्न क्षेत्रमा फैलने हो।
कंकर्ड फ्यालासी–जनित पूर्वाग्रहले मलजल गर्ने अत्यधिक प्राप्तिको उत्कट लालसाले जब मानिस/समाजलाई भ्रष्ट बनाउँदै लाग्छ, व्यक्तिले आफ्नो मूल्य/मान्यता बिर्सन थाल्छ। इच्छा र चाहना जसरी पनि पूरा गर्ने प्रयासमा जब मूल्य/मान्यता भत्किँदै जान्छन् उसले यो पनि बिर्सन थाल्छ कि उसका कदम केही महत्त्वपूर्ण नैतिक प्रश्नका घेरामा छन् र उसका नैतिक जबाफदेहिता र जिम्मेवारी पनि छन्। उसले कति भएपछि पुग्छ र कति भएपछि मनग्य होला भन्ने बारेको र्यास्नल थिंकिङ गुमाइसकेको हुन्छ।
नेपाली राजनीति र राजनीतिज्ञ (सरकार र सरकार सञ्चालक) तथा ब्युरोक्रसी (स्थायी सरकार) कंकर्ड फ्यालासीबाट यति गहिरो रूपमा ग्रस्त भइसक्यो कि– यस्तो लाग्छ, त्यहाँ न नैतिक लगाम छ न सामाजिक। यो प्रवृत्तिले पूरै समाजलाई नै कंकर्डकै गतिमा ओरालो यात्रामा दौडाइरहेको छ, मानौँ कि जबसम्म यो 'क्र्यास' हुँदैन, तबसम्म यसलाई रोक्न सकिने कुनै उपाय नै छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
