काठमाडौँका सार्वजनिक पुस्तकालयमा कतै पाठक खचाखच छन् त कतै सुनसान हुन्छ। पुस्तकालय धाउनेहरू प्रायः लोकसेवा परीक्षा तयारी गरिरहेका र अनुसन्धानकर्मी हुन्छन्। साहित्यका पुस्तक पढ्न जाने भने थोरै हुन्छन्।
काठमाडौँ— सर्लाहीका जितेन्द्र यादव प्रायः सिनामंगलस्थित मंगल पुस्तकालयमा भेटिन्छन्। गुहेश्वरी माध्यमिक विद्यालयबाट बायाँतर्फ मोडिएपछि मन्दिर छेउमा सेतो रङको भवन मंगल पुस्तकालयको हो। “शान्त छ, पढ्ने वातावरण छ। त्यसैले यहाँ आएर पढ्न मन लाग्छ,” जितेन्द्र भन्छन्।
तर मंगल पुस्तकालयबारे धेरैलाई जानकारी नै छैन। जितेन्द्र काठमाडौँ आएको सात वर्षपछि आफ्ना साथीको सहयोगमा त्यहाँ पुगेका थिए। सिनामंगलममा कोठा भाडामा लिएर बस्ने उनी उक्त पुस्तकालय आउन थालेको तीन महिना भयो। उनले स्वास्थ्य सेवातर्फ लोकसेवा परीक्षा तयारी गरिरहेका छन्। बेलाबखत पुस्तकालयमा उपलब्ध कोर्सभन्दा बाहिरका पुस्तक पनि हेर्छन्।
सर्लाहीकै उषाकुमारी यादव पनि प्रायः मंगल पुस्तकालयमा दिन बिताउँछिन्। उषाले जितेन्द्रमार्फत पुस्तकालयबारे थाहा पाएकी हुन्। बैकिङ सेवाको परीक्षा तयारी गरिरहेकी उनलाई कोठामा बस्दाबस्दा दिक्क लाग्छ। उनी भन्छिन्, “कोठामा बस्दाबस्दा उकुसमुकुस हुन्छ, त्यसैले पुस्तकालय आउँछु। यहाँ शान्तसँग पढ्न पाइन्छ।”
मंगल पुस्तकालय जस्तो पढ्ने वातावरण र सुविधा उनी अरू ठाउँमा देख्दिनन्। “कफी खाना मन लागे कफी छ, पानी खाना मन लागे पानी छ। पढ्नका लागि किताबहरू छन्, शुल्क लाग्दैन। एउटा विद्यार्थीका लागि योभन्दा अरू चाहिँदैन जस्तो लाग्छ,” उषा भन्छिन्।
मंगल पुस्तकालयमा विद्यार्थी मात्र आउँदैनन्; दर्शन, इतिहास, राजनीति र समाज बुझ्न चाहनेहरू पनि आउँछन्। पुस्तकालयभित्र बसेर पढ्न शुल्क तिर्नु वा सदस्यता लिनु पर्दैन। स्वेच्छाले सहयोग गर्न भने पाइन्छ।
यो पुस्तकालय स्थानीय अगुवाहरूले ६ दशकअघि खोलेका हुन्। २०१५ सालतिर पुस्तकालय खोलिए पनि दर्ता भने २०४९ सालमा मात्र भएको पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष रामसुन्दर श्रेष्ठ बताउँछन्। उनी भन्छन्, “त्योबेला दर्ता भन्ने हुँदैन थियो। पढ्ने शोख भएकाहरूले २०/२५ वटा पुस्तक जम्मा पारेर खोलेका हुन्। पुस्ताकालयमा हाम्रा पुर्खाहरूको लगाब जोडिएको छ।”
त्यस बेला पुस्तकालय राखिएको ठाउँ वरिपरि चौर थियो। सानो टहरामा विभिन्न ठाउँबाट पुस्तक जम्मा पारेर पुस्तकालय बनाइएको थियो। अध्यक्ष श्रेष्ठ भन्छन्, “पहिला यो लाइब्रेरीमा पढ्नेको संख्या धेरै थियो। अहिले आएर कमैले मात्र पढ्छन्।”
पढ्नका लागि शुल्क नलागे पनि पाठक घट्दै गएको प्रति पुस्तकालय व्यवस्थापन समिति सचिव विकास गौतम चिन्तित छन्। “अहिले हाम्रो पुस्तकालयमा पढ्नेहरूको संख्या कम छ। पढ्ने रूचि कम भएर हो कि, मोबाइल, ल्याप्टपमा पढ्ने बानी भएर हो कि, पाठक आउन छाडेका छन्। अब नयाँ स्वरूपमा व्यवस्थापन गर्दैछौँ,” उनी भन्छन्, “सामाजिक सञ्जालले पुस्तक पठन संस्कृतिलाई कमजोर पारेको छ। फुर्सदको समयमा फेसबुक, ट्वीटर चलाएर समय बिताउछौँ। पढ्नु भनेको हामी कोर्स बुकलाई मात्र भन्छौँ।”
मंगल पुस्तकालयमा राजनीति, इतिहास, समाज र दर्शनसम्बन्धी स्वदेशी र विदेशी लेखकका पुस्तक छन्। विभिन्न निकाय र व्यक्तिहरूको सहयोगमा पुस्तकालयमा एक हजारभन्दा धेरै पुस्तक राखिएको सचिव गौतमले जानकारी दिए।
भृकुटीमण्डपको पुस्तकालयमा खचाखच
भृकुटीमण्डपमा रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा भने पाठकको कमी छैन। लाइब्रेरियन लक्ष्मी खतिवडा भन्छिन्, “पाठकहरू धेरै आउनुहुन्छ। लोकसेवा तयारी गर्ने विद्यार्थीहरू आउनुभयो भने कहिले त बस्ने ठाउँ पनि हुँदैन।”
२०६० सालमा स्थापना भएको पुस्तकालयमा बसेर पढ्न शुल्क लाग्दैन। पुस्तक घर लगेर पढ्न भने सदस्य बन्नुपर्छ। यो पुस्तकालयमा ५० हजारभन्दा धेरै पुस्तक छन्।
पुस्तकालयमा विद्यार्थीदेखि अनुसन्धानकर्तासम्म पुग्छन्। दुई वटा भवनमध्ये एउटा सधैँ भरिने खतिवडा बताउँछिन्। पुस्तकालयको तल्लो भवनमा राजनीति, इतिहास र साहित्यका पुस्तक छन्। माथिल्लो भवनमा प्रायः लोकसेवाका विद्यार्थी पढ्न आउँछन्।
यस्ता पुस्तकालयलाई राज्यबाट भने सहयोग हुने नगरेको लाइब्रेरियन खतिवडाको भनाइ छ। “राज्यले ध्यान दिएको छैन। त्यसैले राम्रोसँग लाइब्रेरी व्यवस्थापन हुन सकिरहेको छैन। यस्ता पढ्ने ठाउँतिर राज्यको नजर पुग्नुपर्ने हो, त्यसो भएन,” उनी भन्छिन्, “विभिन्न ठाउँबाट आएको अनुदानले लाइब्रेरी चलिरहेको छ। भरपर्दो बजेट छैन।”
यो पुस्तकालयले पाठकका रुचिअनुसार पुस्तकहरू उपलब्ध गराउने खतिवडाको भनाइ छ। “अनुसन्धान गर्नेहरू पुराना पुस्तक खोज्दै आउनुहुन्छ। उहाँहरूलाई त्यस्तै खालको पुस्तक उपलब्ध गराउनुपर्छ। लोकसेवाका परीक्षार्थीले पुस्तक आफैँ पनि ल्याउनुभएको हुन्छ,” उनी भन्छिन्।
अनुसन्धानकर्ताको केन्द्र मदन पुस्तकालय
ललितपुरको पाटनढोकामा रहेको मदन पुरस्कार पुस्तकालयमा कतिपय दुर्लभ पुस्तक पनि राखिएका छन्। यहाँ प्रायः अनुसन्धानकर्मी आउने गरेको पुस्तकालयको संकलन विभाग निर्देशक राजन सिंह बताउँछन्। तर यहाँ आउने पाठक पनि कोभिड महामारीपछाडि घटेको उनको भनाइ छ।
यहाँ एकपटकमा पुस्तक पढ्न चार जना, माइक्रो फिल्म हेर्न एक जना र डिजिटल कन्टेन्ट पढ्न एक जना बस्न सक्छन्। “कोभिडअगाडि बस्ने ठाउँ नपुग्ने हुँदा कतिपयले फोन गरेर नाम लेखाएर आउने गर्नुहुन्थ्यो। अहिले भने दैनिक सरदर चार जना आउनुहुन्छ,” निर्देशक सिंह भन्छन्, “प्रायः अनुसन्धानका लागि आउनुहुन्छ। कति चाहिँ गोरखापत्रका सूचना हेर्न वा लिन पनि आउनुहुन्छ। धेरै चाहिँ आफ्नो रिफेरेन्स पुष्टि गर्न आउनुहुन्छ।”
पुस्तकालयमा ४६ हजार पुस्तक, ५७ हजार पत्रपत्रिका, १६ हजार पर्चापम्प्लेट र ५१ हजार तस्वीर छन्। सन् १९४० को दशकमा कमलमणि दीक्षितले ‘कमलको नेपाली संग्रह’ नाम दिएर संकलन गरेका पुस्तकलाई १९५५ मा मदन पुरस्कार पुस्तकालयको रूप दिइएको हो।
विषयगत पुस्तकालय
काठमाडौँ उपत्यकामा निश्चित विषय र क्षेत्रलाई आधार बनाएर स्थापना भएका पुस्तकालय पनि छन्। त्यसको उदाहरण हो काठमाडौँको वसन्तपुरमा रहेको जुनकिरी नारीवादी पुस्तकालय।
यो पुस्तकालयमा महिलाको विषयमा केन्द्रित राजनीति, समाज, इतिहास र दर्शन सम्बन्धी पुस्तक छन्। २०७२ सालदेखि भ्वाइस अफ वुमन (भीओडब्लू) मिडियाबाट सञ्चालित पुस्तकालयमा जीवनी, कविता, आख्यान, गैरआख्यानलगायत विधाका २५ सयभन्दा बढी पुस्तक भएको निर्देशक पूजा पन्तले जानकारी दिइन्।
जुनकिरी नारीवादी पुस्तकालयले पाठकलाई समेत वर्गीकरण गरेको छ। बालबालिका, किशोरकिशोरी र वयस्कलाई फरक वर्गमा राखिएको छ। पुस्तकालयका सञ्चालक तथा व्यवस्थापक विभिन्न विद्यालयमा गएर बालबालिका तथा किशोरकिशोरीलाई पुस्तकालयमा पठाउन आग्रह गर्ने गरेका छन्।
यो सार्वजनिक पुस्तकालयमा सदस्य बनेपछि पुस्तक घरमा लगेर पढ्न पनि पाइन्छ। ज्ञानको माध्यमबाट महिला सशक्तीकरण र उत्थानमा सहयोग पुर्याउने जुनकिरी पुस्तकालयको उद्देश्य रहेको निर्देशक पन्तले बताइन्।
ललितपुरस्थित पाटनको पिंगल बाल पुस्तकालयमा भने बालबालिकाहरूका लागि पुस्तक छन्। यो पुस्तकालय साँझ ४ बजेदेखि साढे ६ बजेसम्म खुला हुन्छ।
मंगल, जुनकिरी र पिंगल मात्र नभई काठमाडौँका विभिन्न ठाउँहरूमा सार्वजनिक पुस्तकालय छन्। कतै सदस्य बन्नुपर्छ त कतै पर्दैन। तर सबैको साझा उद्देश्य पठन संस्कृतिको विकास गर्नु हो।
पुस्तकालय निर्माणमा सहयोग
सार्वजनिक पुस्तकालयको व्यवस्थापन र यसको अवधारणा पुरानो भए पनि काठमाडौँ उपत्यकाभित्र व्यवस्थापन भने फरक–फरक तरिकाबाट भइरहेको छ। यस्ता पुस्तकालय मूलतः समुदायको सहयोगमा सञ्चालित छन्। यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूले सहयोग पनि गरिरहेका छन्।

पुस्तकालय निर्माण र सञ्चालनमा ‘रिड नेपाल’ नामक संस्थाले पनि सहयोग गर्ने गरेको छ। रिड नेपालका उपनिर्देशक चिनिकाजी श्रेष्ठ भन्छन्, “समुदायलाई व्यवहारिक ज्ञान दिन समुदायमा आधारित पुस्तकालय निर्माणमा सहयोग गर्छौं। यसले चेतनाको स्तर बढाउन र ज्ञानको दायरा फराकिलो बनाउन भूमिका खेल्छ। हरेक समुदायमा सार्वजनिक पुस्तकालय जरूरी छ, हाम्रो प्राथमिकता बालबालिकामा छ।”
३३ वर्षअगाडि सोलुखुम्बुको जुनीबेशी गाउँबाट शुरू भएको रिड नेपालले अहिलेसम्म ४३ जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ। सगरमाथा आरोहण गर्न आएकी अमेरिकी नागरिक टोनी रिडले यो संस्थाको शुरूआत गरेकी थिइन्। उपनिर्देशक श्रेष्ठ भन्छन्, “पुस्तकालयमा पुस्तक र पढ्ने ठाउँ होस् भन्ने हाम्रो धारणा हुन्छ। त्योसँगै समाजलाई सुसूचित गर्नु पनि पर्छ, जुन रिडको अवधारण हो।”
रिड नेपालले गाउँ बस्तीहरूमा सार्वजनिक पुस्तकालय स्थापना गर्ने गरेको छ। तर यसमा समुदायको नै बढी सहयोग हुनुपर्ने उनी बताउँछन्।
‘रूम टु रिड’ नामक गैरसरकारी संस्थाले पनि सन् २००० देखि नेपालका विद्यालयमा पुस्तकालय निर्माण गर्न सहयोग शुरू गरेको थियो। त्यस्तै इन्फो नेपाल, नेस्ट वल्र्ड, म्याजिक यति संस्थाले विद्यालय तथा समुदायमा पुस्तकालय स्थापना गर्न सघाउने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
