टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘हिजोआजका कुरा’माथि चलचित्र बन्ने भएको छ। योसँगै लामो समयसम्म टेलिभिजनमा प्रशारण भएर बन्द भएको हिजोआजका कुरा ठूलो पर्दामा आउने भएको हो।
काठमाडौँ- नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृंखला ‘हिजो आजका कुरा’ मार्फत अभिनेता तथा निर्देशक सन्तोष पन्तले आफ्नो परिचय स्थापित गरे।
छ सय ९९ भाग प्रसारण भएर कीर्तिमान बनाउन सफल टेलिशृंखलालाई तत्कालीन समयमा टेलिभिजनमा पर्खिने दर्शकको कमी थिएन। विसं २०५३ मा शुरू हुँदा टेलिशृंखलाको नाम ‘आज भोलिका कुरा’ राखिएको थियो। तत्कालीन नेपाल टेलिभिजनको महाप्रबन्धक नीर शाहकै सहयोगमा शुरू भएको टेलिशृंखला १७ भागपश्चात् ‘भोलिको कुरा’ स्वाभाविक नभएपछि ‘हिजो आजका कुरा’ बन्यो। पाक्षिक कार्यक्रम लोकप्रिय भएपछि साप्ताहिक बन्यो।
उक्त समयमा झुपडीदेखि दरबारसम्म रुचाइएता पनि देशमा आएको राजनीतिक परिवर्तनसँगै विसं २०६३ मा यो हास्य टेलिशृंखला बन्द भयो। दर्शकले ‘हिजो आजको कुरा’ हेर्ने इच्छा देखाएपछि अभिनेता पन्तले निजी क्षेत्रको टेलिभिजन कान्तिपुरमा दुई वर्षसम्म एक सय १७ भाग प्रसारण गरे। लोकप्रियता नपाउँदा निजी टेलिभिजनसँगको यात्रा लामो भएन। सोह्र देखि १८ घण्टासम्म हुने विद्युत् भार कटौतीले यसलाई धेरै दर्शकसम्म पुग्न दिएको थिएन। अभिनेता पन्तले पुनः यसलाई सानो पर्दामा नभई ठूलो पर्दामा ल्याउने तयारीमा जुटेका छन्।
उनकै छोरा साकार पन्तले ‘हिजो आजको कुरा’ फिल्ममार्फत निर्देशनमा डेब्यु गर्दै छन्। अभिनेता सन्तोष भन्छन्, “पुस्तान्तरण गरेको हुँ। नयाँ पुस्तालाई नयाँ सोच भएकै मेकर्स चाहिन्छ भनेर छोरालाई अगाडि सारेको हुँ।” फिल्ममा हिजो आजकै भइरहेका कुरा देखाइएको उनले बताए। फरक सोचका कुरा, बेथितिका कुरा, बिदेसिनेका कुरा, बिदेसिएका कुरा, मतभेदका कुरालाई समेटेर फिल्म तयार गरिएको छ। टेलिशृंखलाको रूपमा लोकप्रिय भएपछि ठूलो पर्दामा ल्याउँदा ‘द मुभी’ लेखिएको छ। “यसलाई टिभीकै शृंखला नबुझियोस् भनेर मुभी नै लेखेका हौँ। टेलिभिजनको दर्शकलाई हलसम्म ल्याउने तयारी छ”, अभिनेता पन्तले भने।
फिल्ममा उनको जोडी टेलिफिल्ममा झैँ रमा थपलिया छन्। “फिल्ममा अभिनय गर्दा टेलिफिल्मका दिन सम्झिए। निकै रमाइलो भयो। रिलको जोडीसँग फेरि सहकार्य भयो”, रमाले भनिन्। हिजो आजका कुरालाई फिल्मको रूप दिन पाउँदा साकार उत्साहित छन्। “हिजो आजका कुरा हेर्ने र यसलाई रुचाउने ठूलो पर्दामा पाउँदा पक्कै खुसी हुनुहुनेछ। हामीले साख झर्ने काम गरेका छैनौँ। मेरो लागि यहीँ शीर्षक लिएर डेब्यु गर्नु अवसरसँगै चुनौती पनि छ”, साकारले भने।
फिल्ममा ऋचा शर्मा, दिव्य देव, रीमा विश्वकर्मा, केकी अधिकारी, स्व. जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, विनय कुइँकेल, अनुष्का अधिकारी, नीराजनप्रसाद अर्याल, सविन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतको अभिनय रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
