दाहाल-लामिछाने-ओलीको यो ‘भेन्ट्रिलक्विस्ट-पपेट’ खेलमा राज्य संयन्त्रको चरम दुरुपयोग गरी जसरी एक व्यक्तिमाथि जाइलाग्ने काम भयो, त्यसले भोलिका दिनका लागि खतरनाक नजिर बसालेको छ।
भवनियापुर गाउँदेखि नेपालगन्ज शहर खासै टाढा नभए पनि सानो छँदा जाने मौका कहिलेकाहीँ मात्र जुर्थ्यो। शहर गएका बेला मेलाको याम पर्दा/मदारी आएको बेला परे त गजबै भइहाल्ने, जोडबल गरेर भए पनि 'सर्कस' हेरिन्थ्यो। हाम्रा लागि जेजस्तो खेला पनि 'सर्कस'। एउटा प्रस्तुतिले चाहिँ खुबै ध्यान तान्थ्यो, चमत्कार नै भएझैँ लाग्थ्यो। एक जना मान्छे एउटा कठपुतली (पपेट) हातमा समाएर गजबको प्रदर्शन गर्थ्यो– बोली ‘पपेट’को मुखबाट आउने भावभंगीमा र ‘एक्सन’ सबै कठपुतलीको। यो सबै तमासा गराउने मान्छे भने स्थिर उभिन्थ्यो, भावविहीन चेहरा बनाएर। धेरै समयपछि मात्र थाहा पाइयो, त्यो कलालाई अंग्रेजीमा ‘भेन्ट्रिलक्विज्म’ भन्दो रहेछ। अनि त्यस्तो कला प्रदर्शन गर्नेलाई 'भेन्ट्रिलक्विस्ट'। नेपालमा पनि ‘पुतली’ नचाउने/गीत गाउने कुशुले जाति-समुदाय छन् क्यार!
यदाकदा टेलिभिजनबाहेक प्रत्यक्ष त्यस्तो प्रदर्शन हेर्न नपाएको त धेरै भयो, तर त्यो कलाचाहिँ हाम्रा राजनीतिज्ञले बडो राम्रो तरिकाले परिमार्जन गरेर ‘भेन्ट्रिलक्विज्म’को अभ्यास र प्रदर्शन जोडतोडले गरिरहेको अनुभव भई नै रहेको छ।
गत हप्ता सर्वाधिक चर्चामा रहेको मुद्दा हो, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी। जुन नाटकीय ढंगबाट उनको गिरफ्तारी भयो, त्यसमा प्रतिशोधको राजनीतिक गन्ध त छँदै छ, अझ खतरनाक के पनि छ भने राज्यद्वारा निसृत वैधानिक शक्तिलाई बदनियत राख्दै एक नागरिकविरुद्ध गरिएको प्रयोग, जुन सिद्धान्तत: अख्तियारको दुरुपयोग नै हो। र त्यसको केन्द्रमा छन् गृहमन्त्री रवि लामिछाने। तर घटनाक्रम नियाल्ने हो भने यसका मास्टर भेन्ट्रिलक्विस्ट प्रधानमन्त्री पुष्पकमल दाहाल हुन् भन्नेमा कुनै शंका छैन। दाहालका लागि गृहमन्त्री लामिछानेजस्तो पपेट यो बेलामा अर्को कुनै हुनै सक्दैन थियो। कान्तिपुरमा प्रकाशित समाचारले लामिछाने आक्रोशित त छँदै थिए, आफ्नो कुर्सी बचाउन जे पनि गर्न सकिन्छ भनेर सार्वजनिक अभिव्यक्ति दिएका दाहाललाई समेत यो राम्रो मौका थियो। सिरोहियाको गिरफ्तारीपछि दाहालले दिएको अभिव्यक्तिबाट नै थाहा हुन्छ कि भेन्ट्रिलक्विस्टका रूपमा उनी नै उभिरहेका थिए।
तर प्रश्न उठ्न सक्ला – दाहाल, जोप्रति उक्त पत्रिकाले खासै आक्रामक रवैया अपनाएकै छैन, किन लामिछानेलाई पपेट बनाएर आफू भेन्ट्रिलक्विस्टको भूमिका खेल्न पुगे त?
राजनीतिक चतुर्याइँ गर्दागर्दा धूर्तताको तल्लो स्तरमा ओर्लिसकेका दाहालसँग अब न्यूनतम नैतिकता पनि बाँकी छैन नै, संघीय संसद्मा मात्र ३२ जनाका बाबजुद प्रधानमन्त्री पद ओगट्ने मौका जुन उनले पाएका छन्, त्यो उनी कुनै हालतमा गुमाउन चाहन्नन्। यही बीचमा गिरीबन्धु टी–इस्टेटबारे नीतिगत भ्रष्टाचारको मुद्दा जसै सतहमा आयो, दाहालका तात्कालिक पालनहार केपी ओली सलबलाउन थाले। सहकारी ठगीका साथै उक्त मुद्दा पनि जोडतोडसाथ उठ्ने निश्चित प्राय: थियो, जसको केन्द्रबिन्दु ओली हुने थिए। अचानक ओलीले भेन्ट्रिलक्विस्टको रूप ग्रहण गरे, नैतिकताको तल्लोभन्दा तल्लोबिन्दु पार गर्न पनि नहिचकिचाउने अवस्थामा पुगिसकेका दाहाललाई ओलीकै पपेट बन्न पनि के आपत्ति भयो र?
दाहाल–लामिछाने–ओलीको यो भेन्ट्रिलक्विस्ट–पपेट खेलमा राज्य संयन्त्रको चरम दुरुपयोग गरी जसरी एक व्यक्तिमाथि जाइलाग्ने काम भयो, त्यसले भोलिका दिनका लागि खतरनाक नजिर बसालेको छ। गिरफ्तारीमा तमाम प्रक्रियागत त्रुटि त छँदै छन्, अझ थुनामा राखेर अनुसन्धान गर्न नपर्ने मुद्दामा थुनामा राखेर अनुसन्धान अगाडि बढाइएको छ। मुद्दा हाललाई अदालत प्रवेश गरिसकेको अवस्थामा त्यसको न्यायिक निरूपण त होला नै।
एक मिडिया समूहको अध्यक्षको गिरफ्तारीले प्रेस स्वतन्त्रता खतरामा पर्यो कि परेन भन्ने विषयमा छुट्टै बहस गर्न सकिने भयो, मुख्य मुद्दा के हो भने लोकतान्त्रिक मुलुकमा कसैको व्यक्तिगत स्वतन्त्रता र कानूनी अधिकार प्रथमतः हनन हुनु हुँदैन। लोकतन्त्र र संविधान नागरिकका अधिकार सुनिश्चित गर्न, नागरिकका स्वाभिमानको सुरक्षा गर्नका लागि हुन्, न कि कुनै नागरिकलाई बदनाम गराउन, अनादर गर्न र नीच देखाउन। कुनै पनि कानूनी राज्यमा हरेक नागरिकले आफ्नो पक्ष राख्ने मौका सुरक्षित राख्दछ। तर त्यो सामान्य अधिकार पनि कुण्ठित गर्दै धरपकडको राजनीति गर्नुले जहाँ एक नागरिकको अपमान गरेको छ, त्यहीँ नेपाल एक कानूनी राज्य हो भन्ने मान्यताको उपहास पनि गरेको छ।
समाजमा यो भेन्ट्रिलक्विस्ट-पपेट खेलले यसरी नराम्रोसँग जरो गाड्दै गएको छ कि ‘हट बटन’ राजनीतिलाई बढवा मिल्दै गएको छ, हरेक मुद्दामा एक किसिमको ‘सांस्कृतिक युद्ध’ छेडिएको छ। अझ राष्ट्रवादको जामा ओढेर कुनै निश्चित समूह, समुदायविरुद्ध छेडिने यस्तो युद्धका लागि नयाँ–नयाँ भेन्ट्रिलक्विस्टको जगजगी बढ्दो छ।
सामाजिक सञ्जाल हेर्दा मिडियाप्रतिको बढ्दो नकारात्मकता अत्यासलाग्दो छ। नेपाली मिडियाका कमजोरी नभएका हैनन्, तर सबैभन्दा ठूलो कमजोरीचाहिँ यसको दक्षतामा भन्दा पनि अहंमा छ। आफूबाट गल्ती हुनै नसक्ने र बाँकी अरूलाई गलत नै साबित गर्न खोज्ने प्रवृत्तिले नोक्सान हुने आफूलाई नै हो भन्ने कुरा पनि मिडियाले आफै बुझ्न जरुरी छ। जबाफदेहिता पत्रकारिताभन्दा पनि व्यक्तिलक्षित समाचारको बिगबिगी पनि नभएको होइन।
अहिले भेन्ट्रिलक्विस्ट–पपेट खेल खेलिरहेका दाहाल, लामिछाने र ओली कोही पनि प्रेस स्वतन्त्रता र वाक् स्वतन्त्रताका हिमायती होइनन्। लामिछाने जो कुनै बेला मिडियाको नाममा ‘जज, जुरी र एक्जक्युस्नर’झैँ गरेर अराजकता फैलाइरहेका थिए, उनीबाट पत्रकारिता बारेको सही बुझाइ आस गर्नु नै बेकार हो। मिडियाप्रतिको उदारताका बारेमा दाहाल र ओलीमा खासै भिन्नता छैन।
तर कुरा के पनि हो भने यदि लोकतन्त्रका लागि प्रेस स्वतन्त्रता अनिवार्य शर्तका रूपमा मिडियाले बहस गर्छ भने नागरिकका वैयक्तिक वाक् स्वतन्त्रताको पनि उत्तिकै जोडदार तरिकाले प्रतिरक्षा गर्नु जरुरी होइन र?
कुनै पनि घटना अचानक घट्दैन, त्यसको एउटा ‘प्याटर्न’ त हुन्छ नै। धेरै महिना त भएको छैन, दाहाल सरकारले नै हो नेपालमा टिकटक बन्द गर्ने हठात् निर्णय गरेको। ज्ञात रहोस्, आज प्रेस स्वतन्त्रता खतरामा भनेर धुवाँदार आवाज उठाइरहेको नेपाली कांग्रेस त्यो बेला दाहाल सरकारको मुख्य सत्तासाझेदार थियो। टिकटक बन्द गर्ने दाहाल सरकारको उक्त निर्णयभन्दा पनि बढी खतरनाक थियो उसको आशय। नेपाली मिडिया आफैँले पक्कै पनि बिर्सेका त छैनन् होला नै उनीहरूले दाहाल सरकारको उक्त कदमलाई कसरी ‘कभर’ गरेका थिए।
त्यसैले यहाँ को भेन्ट्रिलक्विस्ट र को पपेट हो भन्ने त समयअनुसार फेरिई नै रहेको छ। कानूनी शासन, लोकतन्त्रको सुरक्षा, संविधानको परिपालना, प्रेस र वाक् स्वतन्त्रताका लागि आफ्ना तर्फबाट सक्दो भूमिका खेलेको नेपाली मिडियालाई घटनाक्रमले एउटा पानीढलोमा चाहिँ ल्याइपुर्याएको छ। उसले पनि आत्मनिरीक्षण गर्न जरुरी छ। जमाना फेरिइसक्यो, समय बदलिइसक्यो, जबाफदेहिता खोज्ने मिडिया आफै पनि जनता/पाठक/दर्शकको सूक्ष्म परीक्षणमा छन्।
आफ्नो विश्वसनीयताको सुरक्षा गर्ने जिम्मा मिडिया आफैमाथि छ, मिडिया पनि सचेत हुन जरुरी छ कि जानअजानमै भए पनि उसको पछाडि कोही अर्को भेन्ट्रिलक्विस्ट त छैन। के ऊ आफै पनि राजनीति र समाजलाई गाँज्दै लगिरहेको भेन्ट्रिलक्विज्मको नयाँ भेरियेन्टको सिकार भइरहेको त छैन?
(लेखक द काठमान्डू पोस्टका पूर्वसम्पादक हुन्। उकालोको विचार खण्डमा प्रकाशित सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
