शैक्षिक गुणस्तर पहिचान परीक्षा : जुम्लाको सिंजामा पालिकाभरका ४६ विद्यार्थी मात्र पास हुँदा अन्यत्र पनि उठ्यो प्रश्न
जुम्ला जिल्लाको सिंजा गाउँपालिकाले शिक्षाको गुणस्तर पहिचान गर्ने उद्देश्य अनुरूप सञ्चालन गरेको कक्षा ८ को विशेष परीक्षाको नतिजाले विद्यार्थीमा शिक्षाको गुणस्तर नराम्रोसँग खस्किएको देखिएको छ।
सिंजा (जुम्ला)– जुम्ला जिल्लाको सिंजा गाउँपालिकाले यस वर्ष कक्षा ८ को परीक्षालाई फरक तरिकाबाट सञ्चालन गर्यो। गाउँपालिकाका शिक्षा शाखा प्रमुख शंकर धितालका अनुसार सबै प्रश्नपत्र विज्ञको समूहले तयार पार्यो। अनि पाँच वटा केन्द्रमा गाउँपालिकाले नै केन्द्राध्यक्ष तोकेर सबै केन्द्रमा पालिकाका प्रतिनिधिसमेत रहने गरी परीक्षा सञ्चालन गरियो। यसरी सञ्चालित परीक्षाको नतिजाले भने विद्यार्थीमा शिक्षाको गुणस्तर निकै कमजोर रहेको देखाएको छ।
“हामीले हाम्रो शिक्षाको गुणस्तर पहिचान गर्ने उद्देश्यले विशेष मापदण्ड बनाएर कक्षा ८ को परीक्षा सञ्चालन गरेका थियौँ। तर त्यसको नतिजाले शैक्षिक गुणस्तर निकै खस्किएको पाइयो,” उनी भन्छन्, “यसमा शिक्षक मात्र दोषी नभएर सिक्ने विद्यार्थी र सिक्न लगाउने अभिभावकको पनि कमजोरी छ। यसलाई सुधार्न हामी योजनाबद्ध ढंगले लाग्छौँ।”
गाउँपालिकाको शिक्षा शाखाका अनुसार गाउँपालिकाभरिबाट कक्षा ८ को पालिकास्तरीय परीक्षामा २७४ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ४६ जना मात्र उत्तीर्ण भए। यो निकै कमजोर नतिजा रहेको शिक्षा शाखा प्रमुख धिताल बताउँछन्। गाउँपालिकाले लिएको कक्षा ८ को परीक्षामा १२ विद्यालयमध्ये देउती, महादेव, जनज्योति र कालिका आधारभूत विद्यालयबाट कुनै पनि विद्यार्थीले परीक्षा उत्तीर्ण गर्न सकेनन्।
अत्यन्त न्यून संख्यामा विद्यार्थी उत्तीर्ण भएपछि दुई विषय लागेका विद्यार्थीलाई ग्रेडवृद्धि गरेर पास गराइएको थियो। ग्रेडवृद्धि गर्दा थप ४९ जना विद्यार्थी पास भएका थिए। गाउँपालिकाले शिक्षाको गुणस्तर मापनकै उद्देश्यले यस वर्ष कक्षा ८ मा विशेष परीक्षा सञ्चालन गरेको थियो। “हामीले हाम्रा विद्यालय र पठनपाठनको अवस्था कहाँ छ भनेर पहिचान गरेर योजनासहित अघि बढ्नका लागि यो काम गरेका थियौँ,” उनी भन्छन्।गणितमा सबैभन्दा बढी फेल
विशेष परीक्षामा गणित विषयमा सबैभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन्। गाउँपालिकाका अनुसार गणित विषयमा फेल हुने विद्यार्थीको संख्या ६० प्रतिशत छ भने त्यसपछिको बढी अंग्रेजी विषयमा फेल भएका छन्। गणित विषयमा जुम्लासहित कर्णाली प्रदेशमै सबैभन्दा कम विद्यार्थी उत्तीर्ण हुने गरेको एक अध्ययनले देखाएको छ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरले गरेको कक्षा ८ का विद्यार्थीको गणित, विज्ञान, नेपाली र अंग्रेजी विषयको गुणस्तर परीक्षणमा सबैभन्दा कमजोर विद्यार्थी कर्णाली प्रदेशमा देखिएका हुन्। ३७.७ प्रतिशत विद्यार्थीले न्यूनतम मापदण्ड पनि पार गर्न सकेका छैनन्। केन्द्रका निर्देशक नारायण झाका अनुसार ५०० अंकभन्दा माथिलाई राम्रो गुणस्तर मान्न सकिन्छ। तर सरदरमा गणित विषयमा विद्यार्थीको प्राप्तांक ४८३ छ।
सन् २०२० मा प्रकाशित परीक्षण रिपोर्टअनुसार सन् २०१७ मा भन्दा त्यसको तीन वर्षपछिको गुणस्तर झन् खस्किएको उक्त अध्ययनले देखाएको छ। प्रदेशगत रूपमा कर्णाली प्रदेश सबैभन्दा कमजोर रहेको छ। कर्णाली प्रदेशले प्राप्त गरेको अंक ४६० छ। त्यसपछि कमजोर रहेको सुदूरपश्चिम प्रदेशले ४६२ अंक प्राप्त गरेको छ। गणित विषयमा सबैभन्दा राम्रो अंक बागमती प्रदेशको छ जसले प्राप्त गरेको अंक ५०९ हो।
विद्यार्थीको सीप तथा गुणस्तर जाँचको नतिजालाई ६ तहमा वर्गीकरण गरिएको छ जसअनुसार ६०६ भन्दा माथिको अंकलाई एड्भान्स तह र ४४८ देखि ५०१ सम्मलाई निपूर्ण तह–१ मानिएको छ। ३९५ देखि ४४८ बीचको अंक प्राप्त गर्ने विद्यार्थी संख्या ४६.३ प्रतिशत र निपूर्ण तह–१ को ४४८ देखि ५०१ अंक प्राप्त गर्ने विद्यार्थी पनि ४६.३ नै रहेको अध्ययनले देखाएको छ।
शिक्षाविद् डा. विनय कुसियत विद्यार्थीको सिकाइलाई पाठ्यक्रम, सिकाइ र शिक्षणविधिसँग जोडेर हेर्नुपर्ने बताउँछन्। “गणित विषयमा अवधारणात्मक विधिबाट पढाउनुपर्नेमा त्यो नगरिकन विद्यार्थीले बुझे कि बुझेनन् भन्ने कुरा मतलब नराखी पढाउने काम गरिएको छ। शिक्षकको सिकाउने विधि उपयुक्त छैन जसले गर्दा विद्यार्थी कमजोर भएर गएका छन्,” उनी भन्छन्, “गणितको जग कमजोर भयो भने विद्यार्थीले पढाइ छोड्दै जान्छन्। त्यसकारण पनि गणित विषयमा बढी केन्द्रित गर्नुपर्छ। जुन विद्यार्थीको गणितमा जग राम्रो छ तिनले मात्र राम्रोसँग बुझ्छन्। शिक्षकलाई तालिम पर्याप्त मात्रामा नपुगेको देखिन्छ।”
जुम्लासहित कर्णाली प्रदेशको हकमा गरिबीको अवस्थाले पनि विद्यार्थीको पढाइमा प्रभाव पारेको उनको विश्लेषण छ। “सम्पन्न परिवारका मानिसले आफ्ना बच्चा गणितमा कमजोर भए भने विद्यार्थीलाई अतिरिक्त कक्षा पनि लगाउँछन्। तर गरिब परिवारलाई त्यो सम्भव हुँदैन,” उनी भन्छन्, “जुम्लाजस्तो जिल्लामा अभिभावकको गरिबी र विपन्नताले पनि त्यो सम्भव नभएको हुन सक्छ। त्यस्तो अवस्थामा विद्यार्थीलाई पढाइको मतलब हुँदैन। बच्चाहरू खाली स्कुल जाने मात्र हुन्छ। यिनीहरूको समस्यालाई अभिभावकले ध्यान दिन सकेका हुँदैनन्।”

राष्ट्रिय योजना आयोगको बहुआयामिक गरिबी सूचांक–२०२१ ले कर्णाली प्रदेशमा गरिबीको दर ३९.५ प्रतिशत रहेको देखाएको छ।
मोबाइलको मारमा सिकाइ
कक्षा ८ मा यति कमजोर नतिजा आउनुमा प्रविधि मुख्य कारण रहेको सरोकारवालाहरू बताउँछन्। मालिका माध्यमिक विद्यालय धाप, सिंजाका प्रध्यानाध्यापक परेकराज खत्री मोबाइल फोनको लतले विद्यार्थीमा पढाइको गुणस्तर खस्किँदै गएको बताउँछन्।
“अभिभावकले छोराछोरीलाई मोबाइल फोन दिने अनि उनीहरू मनोरञ्जनमा रमाउँदा त्यसको असर उनीहरूको पढाइमा पर्यो,” उनी भन्छन् “अरू पनि कारणहरू होलान्। तर मुख्य कुरा चाहिँ मोबाइल फोनले विद्यार्थीको पढाइमा बाधा पुर्याएको छ।”
शैक्षिक गुणस्तर परीक्षण केन्द्रको अध्ययनमा पनि जुन विद्यार्थीले व्यक्तिगतरूपमा मोबाइल फोनको प्रयोग गर्दैनन् उनीहरूको गणित विषयमा नतिजा अरु विद्यार्थीको भन्दा राम्रो भएको देखिएको छ। अध्ययनमा मोबाइल फोन नबोक्ने भन्दा मोबाइल फोन बोक्ने विद्यार्थीको नतिजा खराब रहेको देखिएको छ।
उक्त अध्ययनले पनि प्रअ परेकराज खत्रीको भनाइलाई पुष्टि गर्छ। खत्रीका भनाइमा जुन विद्यार्थीले मोबाइल फोन बोक्छन् उनीहरू फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालमा व्यस्त रहने गर्छन्। “हामीले सकेसम्म विद्यार्थीलाई मोबाइल फोन नदिन भन्छौँ, तर अभिभावकबाट त्यसको पालना भएको पाइँदैन,” उनी भन्छन्।
बालबालिकालाई मोबाइल फोनबाट टाढा राख्न अभिभावकको भूमिका निर्वाह महत्वपूर्ण हुने शिक्षाविद् कुसियत बताउँछन्। “आफ्नो छोराछोरी विद्यालय मात्र गएको छ कि, कस्तो पढेको छ। मोबाइल फोनमा के गरिरहेको छ? यस्ता कुरामा अभिभावकले ध्यान दिनुपर्छ,” उनी भन्छन् “मोबाइल फोन बच्चाको आवश्यकताको विषय नै होइन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
