अहिलेसम्म एमालेबाट तीन, स्वतन्त्र पार्टीबाट दुई र माओवादी केन्द्र तथा नागरिक उन्मुक्ति पार्टीबाट एक–एक जना महिला प्रतिनिधिसभामा निर्वाचित भएका छन्।
काठमाडौँ– प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ सात महिला उम्मेदवार मात्र जितेका छन्। १६५ निर्वाचन क्षेत्रमध्ये १२७ क्षेत्रको नतिजा आउँदा अब बाँकी क्षेत्रबाट पाँच महिला उम्मेदवारको जित्ने सम्भावना छ।
जित्ने सम्भावना भएकामध्ये नेपाली कांग्रेसबाट तीन तथा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबाट थप एक–एक महिला उम्मेदवार छन्। एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम गरेका छन् भने कांग्रेस उम्मेदवार तीनै जना पछि परेका छन्।
विजयी सात महिला उम्मेदवारमध्ये नेकपा एमालेबाट तीन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई तथा नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीबाट एक–एक जना छन्। महिला उम्मेदवार काठमाडौँ–२, ललितपुर–३, कास्की–२, बारा–३, धनुषा–३, दाङ–२ र कैलाली–१ बाट विजयी भएका हुन्। मतगणना भइरहेका तीन स्थानमा महिला उम्मेदवार अगाडि वा तीव्र प्रतिस्पर्धामा छन्। थप दुई क्षेत्रमा केही पछि परेका छन्।
नेकपा एमालेले ११ महिला उम्मेदवार उठाएको थियो। तीमध्ये दाङ–१ बाट एमालेकी शान्ता चौधरी नेकपा एकीकृत समाजवादीका मेणमणि चौधरीसँग र क्षेत्र नं. ३ मा कोमल वली कांग्रेसका दीपक गिरीसँग पराजित भए। त्यसैगरी एमाले उम्मेदवारहरू बाग्लुङ–२ बाट मन्जु शर्मा, कञ्चनपुर–३ बाट निरुदेवी पाल र डोटी–१ बाट गौरीकुमारी वली पराजित भए। नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्री एमालेका गोकर्ण विष्टसँग पराजित भइन्। राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल पनि पराजित भइसकेकी छिन्।
नेकपा माओवादी केन्द्रले नौ जना महिला उम्मेदवार उठाएको थियो। काठमाडौँबाट मात्र चार जना महिला उम्मेदवार उठाएकोमा चारै जना पराजित भए। ललितपुर–३ बाट पम्फा भुसाल, काठमाडौँ–२ बाट ओनसरी घर्ती, काठमाडौँ–७ बाट मानुषि यमि भट्टराई र काठमाडौँ–९ बाट कल्पना धमलाले पराजय बेहोरे।
नेपाली कांग्रेसबाट उम्मेदवार भएका पाँच जनामध्ये दुई जना पराजित भइसकेका छन्। अर्घाखाँचीबाट पुस्पा भुसाल र मकवानपुर–१ बाट डिना उपाध्याय पराजित भएका हुन्। स्वतन्त्र पार्टीले १२ महिला उम्मेदवार उठाएको थियो। जसमध्ये दुई जना निर्वाचित हुँदा एक जनाले अग्रता कायम गरिरहेकी छन्।
यी हुन् निर्वाचित सात महिला
कास्की–२ मा एमालेकी विद्या भट्टराई १६ हजार ९९८ मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४९५ मत ल्याए। २०४६ सालबाट विद्यार्थी राजनीति शुरू गरेकी भट्टराई २०५५ सालमा अनेरास्ववियुको सचिव भएकी थिइन्। २०६३ सालमा एमाले उपत्यका महिला कमिटी सचिव र २०६७ मा संघीय मामिला विभाग सदस्य भएकी उनी केही समय प्राध्यापनतिर लागिन्। तर, श्रीमान् रवीन्द्र अधिकारीको निधनपछि उनी फेरि राजनीतिमा सक्रिय भएकी हुन्। यसअघि उनी उपनिर्वाचनमार्फत प्रतिनिधिसभा पुगेकी थिइन्।
धनुषा–३ बाट एमालेकी जुलीकुमारी महतो विजयी भएकी छन्। उनले ३३ हजार ३५५ मत पाउँदा लोसपाका अनिलकुमार झाले २३ हजार ६८६ मत पाएका छन्। यसअघि महतो २०६४ सालको संविधानसभा र २०७४ को आमनिर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित भएकी थिइन्। उनी २०७८ सालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भएकी थिइन्।
बारा–३ मा ज्वालाकुमारी साह २० हजार २५१ मतसहित विजयी हुँदा जसपाका रामबाबुकुमार यादवले १७ हजार २७९ मत पाए। उनी २०५४ सालदेखि भूमिगत भएर तत्कालीन नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट राजनीति शुरू गरेकी थिइन्। उनी २०७४ सालमा मधेस प्रदेशसभामा बारा ३ (क) बाट निर्वाचित भएकी थिइन्। साह पछिल्लोपटक ओली नेतृत्वको सरकारमा १३ दिनका लागि कृषिमन्त्रीसमेत भएकी थिइन्।
स्वतन्त्र पार्टीबाट दुई महिला निर्वाचित भएका छन्। काठमाडौँ–२ बाट स्वतन्त्र पार्टीकी सोविता गौतम १५ हजार २९९ मतसहित निर्वाचित भइन्। उनका प्रमुख प्रतिस्पर्धी एमालेका मणिराम फुयाँलले ११ हजार ५५५ मत प्राप्त गरे। सोही क्षेत्रबाट उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेलले ११ हजार १४ र माओवादी केन्द्रकी ओनसरी घर्तीले ९ हजार ४४९ मत पाए। यो क्षेत्रमा एमाले उम्मेदवारबाहेक प्रमुख तीन दलले महिला उठाएका थिए।
दोलखामा जन्मिएकी गौतम अधिवक्ता हुन्। राजनीतिमा आउनुअघि उनी सञ्चारकर्मी पनि थिइन्। रवि लामिछानेले स्वतन्त्र पार्टी गठन गरेपछि उनी राजनीतिमा आएकी हुन्।
ललितपुर–३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की ३१ हजार १३६ मतसहित विजयी भएकी छन्। उनका प्रतिस्पर्धी एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए। सत्ता गठबन्धनबाट उम्मेदवार भएकी माओवादी केन्द्रकी पम्फा भुसालले ८ हजार ७६९ मत पाइन्। यो क्षेत्रमा प्रमुख तीन दलमध्ये एमालेका मात्र पुरुष उम्मेदवार थिए।
विजयी बनेकी कार्की चिकित्सक हुन्। उनी यसअघि २०७८ पुस २ गते चार वर्षका लागि मेडिकल काउन्सिल सदस्य पनि निर्वाचित भएकी थिइन्। पाटन अस्पतालमा जरनल सर्जन रहेकी उनले उम्मेदवार बन्नका लागि जागिरबाट राजीनामा दिएकी थिइन्।
दाङ–२ मा एमाले महासचिव शंकर पोखरेललाई १९६ मतले हराउँदै सत्ता गठबन्धनबाट उम्मेदवार भएकी माओवादी केन्द्रकी रेखा शर्मा विजयी भइन्। शर्माले २६ हजार ८७७ मत पाउँदा पोखरेलले २६ हजार ६८१ मत पाइन्।
माओवादी स्थायी कमिटी सदस्य शर्माको संसदीय यात्रा भने २०७० सालबाटै शुरू भएको हो। उनी २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट निर्वाचित भएकी थिइन्। २०७२ कात्तिकदेखि एक वर्ष सामान्य प्रशासनमन्त्रीसमते भएकी उनी पहिलोपटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवार भएकी थिइन्।
कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठले ३० हजार ४०४ मतसहित विजय हासिल गर्दा उनका निकटतम् प्रतिस्पर्धी रामजनम चौधरीले १८ हजार ८१ मत पाए। श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष र टीकापुर घटनामा थुनामा रहेका रेशम चौधरीकी श्रीमती हुन्।
जितका लागि संघर्षमा पाँच उम्मेदवार
सुनसरी–३ बाट एमालेकी भगवती चौधरी तेस्रो प्रयासमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट सांसद बन्ने होडमा छिन्। उनी अहिले कांग्रेसका विजयकुमार गच्छदार र स्वतन्त्र पार्टीका कमलबाबु मैनालीभन्दा अगाडि छिन्। चौधरीले मतान्तर फराकिलो बनाउँदै लगेकी छिन्।
चौधरी २०७० सालको संविधानसभा र २०७४ सालको आमनिर्वाचनमा सोही क्षेत्रबाट गच्छदारसँग पराजित भएकी थिइन्। उनी २०६४ सालको संविधानसभा सदस्यमा मनोनित भएकी थिइन् भने २०६८ मा वन तथा भूसंरक्षण राज्यमन्त्रीको जिम्मेवारी पनि सम्हालेकी थिइन्।
उदयपुर–१ मा एमालेकी मन्जुकुमारी चौधरी कांग्रेसका नारायण खड्कालाई पछ्याइरहेकी छन्। चौधरी २०७० सालमा संविधानसभा सदस्य थिइन्। उनी २०७२ सालमा शहरी विकास राज्यमन्त्री पनि भएकी थिइन्।
तेह्रथुमबाट कांग्रेसकी सीता गुरुङ प्रत्यक्षतर्फ एमालेका विजय सुब्बासँग प्रतिस्पर्धामा छिन्। गुरुङले २०४६ सालबाट राजीतिक यात्रा सुरु गरेकी थिइन्। उनी २०६४ र २०७० सालको संविधानसभामा समानुपातिक प्रणालीबाट चुनिएकी थिइन् भने २०७४ सालको आमनिर्वाचनमा तेह्रथुमबाटै पराजित भएकी थिइन्। मतान्तर घटाउँदै लगेकी गुरुङ गणना अन्तिमतिर पुग्दा थोरै मतले मात्र पछाडि छिन्।
मोरङ निर्वाचन क्षेत्र नं २ मा कांग्रेस नेता सुजाता कोइराला ऋषिकेश पोखरेलसँग पछाडि परेकी छन्। २०४६ सालदेखि नेपाली कांग्रेसबाट राजनीतिमा सक्रिय कोइराला संविधानसभाको पहिलो निर्वाचनमा सुनसरी–५ बाट पराजित भएकी थिइन्। २०७४ सालको प्रतिनिधिसभामा भने समानुपातिक सांसद भइन्। उनी माधव नेपाल नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री भएकी थिइन्। अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका मिनेन्द्र रिजाल विजयी भएका थिए।
सिरहा–२ मा कांग्रेसकी चित्रलेखा यादव दोस्रो स्थानमा छिन्। जसपाका राजकिशोर यादवले अग्रता लिइरहेका छन्। सो क्षेत्रमा जनमत पार्टीका विनोदकुमार यादव पनि प्रतिस्पर्धामा छन्। कांग्रेस उम्मेदवार चित्रलेखा पूर्वउपसभामुख हुन्। उनले २०५६ सालमा प्रतिनिधि सभा सदस्य भएकी थिइन्। २०७० सालको संविधानसभा र २०७० को प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट निर्वाचित भएकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
