रुस-युक्रेन युद्धका कारण इन्धनको मूल्यवृद्धि हुँदा घानासँगै अधिकांश अफ्रिकी मुलुकमा आर्थिक संकट बढेको छ।
पश्चिम अफ्रिकी मुलुक घानाले तेलजन्य पदार्थ खरिद गर्दा अमेरिकी डलरको सट्टा सुन प्रयोग गर्ने तयारी गरेको छ। घानाका उपराष्ट्रपति मुहमुदु बाबोमियाले मुलुकले तेलजन्य पदार्थको विनिमयका रूपमा सुन चलाउने नीति ल्याउने तयारी गरेको बताएका छन्।
तेल खरिदमा निर्यातकर्ताले अमेरिकी डलर माग गर्ने र घट्दो विदेशी मुद्रा सञ्चितिले जनजीवन महँगिएको र देशको मुद्रा (सिडी) कमजोर बनेको भन्दै नयाँ नीति अपनाउन लागिएको हो।
अर्थतन्त्रका लागि कोकाओ, सुन र कच्चा तेलमा आश्रित घाना अहिलेसम्मकै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ। संकट समाधान गर्न उसले राहत प्याकेजका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सम्झौता गरिरहेको अल जजिराले उल्लेख गरेको छ।
घानाले सार्वजनिक वित्तीय सहयोगका लागि भन्दै आईएमएफबाट ३ अर्ब अमेरिकी डलरको सहयोगका लागि सम्झौता गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
गत वर्षको अन्त्यतिर ९ अर्ब ७० करोड डलर रहेको घानाको विदेशी मुद्रा सञ्चिति रकम यसवर्षको सेप्टेम्बरसम्म ६ अर्ब ६० करोडमा झरेको थियो। तीन महिनाभन्दा पनि कम अवधिमा भएको आयात खर्च कटाउँदा मात्रै पनि विदेशी मुद्रा सञ्चिति ओरालो लागेको सरकारी तथ्यांक छ।
अमेरिकी डलरको साटो विनिमयका रूपमा सुन प्रयोग गरी घानाले मुद्रा सञ्चिति जोहो गरिराख्ने नीति अपनाउन लागेको अल जजिराले उल्लेख गरेको छ। आर्थिक संकटका बेला खर्च कटौती र राजस्व वृद्धि गर्न नयाँ विकल्प अघि सारिएको हो।
प्रस्तावित नयाँ नीतिलाई सन् २०२३ को पहिलो त्रैमासिकसम्म कार्यान्वयन गर्न सके मुलुकको भुक्तानी र राष्ट्रिय मुद्राको मूल्यह्रास घटाउने अपेक्षा गर्न सकिने उपराष्ट्रपति बावोमियाको भनाइ छ।
बिहीबार घानाको संसद्मा बजेट प्रस्तुत गर्दै त्यहाँका अर्थमन्त्री केनेथ ओफोरी–अट्टाले मुलुक ऋणको संकटमा फस्ने जोखिम बढेको र सिडीको मूल्यह्रासका कारण सार्वजनिक ऋण व्यवस्थापनको क्षमतामा समेत गम्भीर असर पर्ने चेतावनी दिएका थिए।
आन्तरिक व्यापारीले तेल आयात गर्दा विदेशी मुद्रा सटहीको आवश्यकता नहुने भएकाले तेल खरिदको भुक्तानीमा सुनको प्रयोग हुँदा इन्धन र दैनिक उपभोग्य सामग्रीको मूल्यमा विनिमयको प्रत्यक्ष प्रभाव नपर्ने उपराष्ट्रपतिको भनाइ छ।
विनिमयमा डलरको साटो सुनको प्रयोग हुँदा उल्लेख्य रूपमा संरचनात्मक परिवर्तन हुने उनको भनाइ छ। घानामा प्रस्तावित नीति विश्वमा प्रायः प्रयोगमा छैन। एकाध मुलुकले मात्रै तेलको व्यापारमा डलरको साटो उपभोग्य सामग्री लिएको पाइन्छ। विशेष गरी तेल उत्पादक मुलुकहरूले तेल अनुउत्पादन मुलुकहरूबाट अन्य उपभोग्य सामग्री लिएको पाइन्छ।
घाना कच्चा तेल उत्पादनकर्ता मुलुक हो। तर सन् २०१७ मा त्यहाँको तेल प्रशोधन केन्द्रमा विस्फोट भएयता प्रशोधित तेल खरिदका लागि घाना आयातमा निर्भर रहँदै आएको छ।
विशेष गरी सन् २०२२ मा घानामा पूर्ण विकसित आर्थिक मन्दी छाएको हो। जनवरीदेखि सेप्टेम्बर महिनासम्म मात्रै घानाको मुद्रास्फीति १३ दशमलव ९ प्रतिशतदेखि ३७ दशमलव २ प्रतिशतसम्म घटेको बताइएको छ। उच्च मुद्रास्फीतिको सामना गरिरहेको घानामा सरकारी ऋण बढिरहेको छ भने प्रत्यक्ष वैदेशिक लगानीमा समेत उतारचढाव झेलिरहेको छ।
अमेरिकी डलरको तुलनामा घानाको मुद्रा यतिबेला विश्वकै सबैभन्दा कमजोर बनेको छ। ब्लुमबर्ग ट्र्याकरका अनुसार घानाको मुद्रा सिडीको मूल्य सन् २०२२ मा ५० प्रतिशतसम्म कमजोर बनेको थियो।
पछिल्लो समय रुस र युक्रेनको युद्धका कारण इन्धनको मूल्यवृद्धि हुँदा घानासँगै अधिकांश अफ्रिकी मुलुकहरूले आर्थिक संकटको सामना गरिरहेका छन्। कोरोना महामारीका कारण संकटमा परेको अर्थतन्त्र लयमा आउँदै गर्दा युद्धले पुनः संकट थपेको अर्थविद्हरू बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
