पानी नआएर पारा तातिरहेको फाफुराले जलदेवतालाई खाउँला जसरी हेरेर भन्यो, ‘संसार कहाँबाट कहाँ पुगिसक्यो। तपाईं उही दन्त्यकथाको युगमा हुनुहुन्छ। जहिले नि कुनै दाउरेले बञ्चरो हराएर मात्रै तपाईंलाई गुहार्छ?’
केही दिन अघिको कुरा हो। रात चकमन्न थियो। भूतले खाजा खाने बेला भएको थियो। संसद्कोे अधिवेशन चलिरहेको बेला सांसदज्यूहरू दिउँसै निदाए जसरी मानिसहरू निन्द्रादेवीको अँगालोमा फ्वाँफ्वाँ भइरहेका थिए। अचानक फाफुराको निन्द्रा खल्बलियो। अर्ध निन्द्रामा फाफुराले चाल पायो, फाफुरी उसकोे नौनीजस्तो मुलायम कुहिनाको हाडको चुच्चोले फाफुराका करङहरूमा जलतरंग बजाउँदै रहिछ। फाफुराको निन्द्रा खुलेको थाहा पाएर उसले मोहक स्वरमा साउती गरी, “उठ फाफुरा, पति हुनुको दायित्व पूरा गर।”
फाफुरा उसको आदेश पालना गर्न जर्याकजुरुक उठ्यो। अचेल हप्ताको दुई पटक रातिको साढे १२ बजे र एक पटक बिहान ब्रम्हमूहूर्तमा फाफुरीले फाफुरालाई यसैगरी पति हुनुको दायित्व पूरा गर्नका लागि उठाएरै छोड्छे। चाहे जुनसुकै बेला निदाएको होस्, जतिसुकै मिठो निन्द्रामा किन नहोस्, फाफुराले पति हुनुको दायित्व पूरा गर्नका लागि नउठी सुख्खै पाउँदैन। त्यति गरेन भने फाफुरालाई पनि मुगुतिर पठाइदिन्छु भनेर उसले उर्दी जारी गरिसकेकी छे। अब तपाईंहरूको मगजले पक्कै केही खुराफाती कुरा नै सोचेको होला, त्यसैले त आँखा सन्काउँदै तपाईंहरू फाफुरालाई प्रश्न गर्न तयार हुनुभएकोे छ, “आधा रातमा यसरी कुन दायित्व पूरा गर्न तँलाई उठाउँछे हँ फाफुरा?”
गणतन्त्र आएपछि आममानिसको जीवन सहज हुन्छ, देशको कुनाकुनामा सम्वृद्धिको सूर्योदय हुन्छ भन्ने तपाईं–हाम्रो आशामा हिमालको चिसो पानी खन्याए जसरी तपाईंहरूको आशामा पानी खन्याउँदै फाफुरा भन्न चाहन्छ– मोटर चलाउनू, पानी तान्ने प्रयास गर्नू। किनभने हप्ताको दुई दिन राति साढे १२ बजेदेखि र एक पटक बिहान ४ बजेदेखि केही समयका लागि खानेपानी संस्थानले हाम्रो टोलको धाराको लाइनमा पानी छोडिदिने दिन हो। बेला न कुबेला यसरी आउने भनेर यातना दिने पानीका लागि एकैजनाले निन्द्रा खराब गर्न सकिन्न भनेर फाफुरा र फाफुरीले महिनैपिच्छे पालैपालो उठ्ने प्रजातान्त्रिक तालिका बनाएका छन्। त्यसैले त्यो पानी मोटर लगाएर तान्ने पतिको दायित्व पूरा गर्न फाफुरा उठ्ने गर्छ।
अब हेर्नुस्, जलस्रोतको धनी यो देशमा धाराको पानी ‘छोडेको’ बेलामा पनि त्यसलाई मोटर लगाएर नतानिकन पाइपबाट टंकीसम्म पानी आउँदैन भन्ने त तपाईंहरूलाई थाहै होला। हुन त ‘पानी आउने दिन’ भन्नुभन्दा ‘पानी आउने सम्भावना भएको दिन’ अथवा ‘पानी आउने भनिएको दिन’ भन्नु बढी उपयुक्त हुन्छ। किनभने योे मुलुकमा सरकार कति समय टिक्छ, कुन चाहिँ सचिव कुन चाहिँ भ्रष्टाचारको कुरामा कति बेला खोरमा जाकिन्छ भन्ने कुराजस्तै पानी पनि भनेको बेला, भनेको दिन आउँछ भन्ने निश्चित हुन्न। तर पनि ‘तिमी आउँछ्यौ भन्ने आशैआशमा’ भन्ने गीत कन्दै रात बिरात मोटर चलाउन फाफुरा उठ्नै पर्छ। तर संसारमा तीन वटा कुरा कुन बेला आउँछ भन्ने कसैले भन्न सक्दैन। भुईंचालो, मानिसको काल र धारामा पानी।
भोलि विज्ञानले प्रगति गरेर भुइँचालो र काल ठ्याक्कै कुन बेला आउँछ भन्न सकिएला तर पानी कुन बेला आउँछ भन्ने कसैको बाउबाजेले भन्न सक्दैन। साढे १२ बजे आउने भनिएको पानी कहिले १० बजे नै आउन थालेको हुन्छ, कहिले १ बजेबाट आउन थाल्छ, कहिले २ बजे आउँछ भने कहिले आउँदै–आउँदैन। फेरि हप्ताको दुई दिन भने पनि ठ्याक्कै त्यही दुई दिन भन्ने हुँदैन। कहिले पानी आएको तीन दिनपछि चौँथो दिनमा, कहिले दुई दिनपछि तेस्रो दिनमा त कहिले पाँच दिनपछि छैठौँ दिनमा फेरि पानी आउन सक्छ। अथवा एक हप्ता पूरै नआउन पनि सक्छ।
धाराको पाइपमा पानी नभनेको बेला आउने र भनेको बेला नआउने किन हुन्छ भन्ने कुराको पछाडि ठूलो रहस्य हुँदोरहेछ जुन फाफुराले निकै हण्डर खाएर पत्ता लगाएको छ। पानीको कुरा सोच्दासोच्दा २४ घण्टा नै छरछिमेकीमा कसैले मोेटर चलाएको हो कि भनेजस्तो आवाज फाफुराको कानमा आउन थालिसकेको छ। केही महिनाअघि फाफुरीले पनि कानमा त्यस्तै आवाज आइरह्यो भनेर गुनासो गरेपछि तीन जना डाक्टरलाई देखाएको कुरा फाफुराले सम्झियो। पहिलोले टन्सिलको, दोस्रोले माइग्रेनको र तेस्रोले यो डिप्रेसनको लक्षण हो भनेर मनोचिकित्सक कहाँ जान सुझाएको थियो। तर पानी तान्न उठ्ने पालो सकिएपछि फाफुरीको त्यो समस्या बन्द भएर आफ्नो शुरू भएपछि फाफुरालाई कारण थाहा भयो।
अघिल्लो हप्ता पनि तोकिएको कुनै रात कुनै समय पानी आएन। नभनेको अरू रात पनि कुनै छिमेकीको मोटर चलेको जस्तो तर्कनाले बीचबीचमा ब्युँझँदै फाफुरा तल झरेर मोटर चलाउन गइरह्यो। तर पानी त आर्थिक सम्वृद्धि, विकास, पूर्वाधार निर्माण वा १२ कक्षा सकेर पढ्न बाहिर गएका विद्यार्थीजस्तो भयो– ज्यान गए नआउने। यही ताल हो भने कुन दिन फाफुरा ‘पानी बहुला’ भएछ र हातमा कतारोे लिएर ‘पानी आयोे...’ भन्दै टोेलमा नांगैै कुदिरहेको देख्नुभयोे भने पनि अचम्म नमान्नुहोला।
यस हप्ता पनि पानी आएन भने घरमा खाना पाक्दैन, लुगा सफा हुँदैन, शौचालय गन्हाउन सक्छ भनेर फाफुरीले बेलैमा सचेत बनाइसकेकी थिई। त्यसैले त्यस रात त पानी आओस् भनेर पशुपतिनाथ गुहार्दै फाफुरा तल मोटर राखेको ठाउँतिर गयो। मोटर चलाएपछि पनि ढुक्क भएर बस्न कहाँ पाइन्छ र! पानी आएको बेलामा पनि मूत्रनलीमा दीर्घ विकार भएको पिसाबको रोगीले लघुशंका गरे जसरी तुरुक्क आउँदै लुरुक्क लुक्दै, फेरि तुरुक्क आउँदै र तप् तप् गर्दै पाइपबाट झर्ने गर्छ। त्यो हिसाबले त बरु कुनै दिन मेलम्ची आयोजन पूर्ण होला तर ८–१० हजार लिटरको भूमिगत टंकी पूरै भरिँदैन भन्ने फाफुरालाई थाहा छ।
यसो १००–५० लिटर पानी खसेछ भने पनि कान्छा भनेर सम्बोधन गरिएका रुद्रमणिले अरुणा लामाका लागि आकाशबाट सुनको तारा खसाइदिए बराबर मान्नुपर्छ। फाफुरा त्यस दिन पनि मोटर चलाएर पानीको टंकीको ढक्कन खोलेर पानी झरे नझरेको हेर्न थाल्यो। तर पटकपटक संसद्कोे अधिवेशन जसरी मोटर चलाउँदै र बन्द गर्दै गर्दा पनि जसरी जति संसद् चले पनि अर्थहीन हुन्छ, मोटर चलेको पनि अर्थहीनै भयो। न त्यता केही ठोस कुरा आउँछ, न यता कुनै तरल कुरा आयो। उताजस्तै फुस्सफुस्स हावा मात्रै आइरह्यो। त्यस दिनकोे निन्द्रा पनि फोकटमा खराब भयो भनेर विरक्त मान्दै फाफुराको मुखबाट निस्क्यो, “हे भगवान।”
कुन बेला कसैले बोलाउला भनेर जलदेवता पानीको ट्यांकीमा ढुकेर बसेका रहेछन् क्यार। हातमा तीन वटा बञ्चरोे बोकेर प्रकट भइहाले; सुन, चाँदी र फलामको। ङिच्च हाँस्दै जलदेवताले भने, “ल भन् बालक, यी तीनमा तेरो बञ्चरो कुन हो?”
पानी नआएर पारा तातिरहेको फाफुराले जलदेवतालाई खाउँला जसरी हेरेर भन्यो, “संसार कहाँबाट कहाँ पुगिसक्यो। तपाईं अझै उही दन्त्यकथाको युगमा हुनुहुन्छ। के जहिले पनि कुनै दाउरेले बञ्चरो हराएर मात्रै तपाईंलाई गुहार्छ?”
फाफुराको रौद्ररूप देखेर जलदेवता एकछिन झस्किए, अनि मीठो स्वरमा सोधे, “त्यसो भए तिमीले यो रातको बेला मलाई किन सम्झिएका हौ त फाफुरा? भन म तिम्रा लागि के गर्न सक्छु?”
कांग्रेसको साधारण सदस्यको अगाडि प्रकट भएर देउवाले के माग्छस् भन्दा उसको जस्तो गति हुन्छ, देउताले प्रकट भएर सोद्धा फाफुरा त्यति नै पुलकित भयो। पानीको संकट टर्ने भयो भनेर ऊ दंग पर्योे। उसले हात जोडेर भन्यो, “प्रभु यो सरकारले यसै पनि पञ्चामृत जसरी पानी बाँड्छ। त्यो पनि भनेको बेला र भनेको समयमा आउँदैन। हुनेखानेले त ट्यांकरको पानी मगाउँछन्। तर फाफुराजस्तो श्रमजीविले त २२–२५ सय रुप्याँ पर्ने ट्यांकरको पानी किनेर चलाउन सक्दैन। लौन जनि गरेर पानी आउने दिन र समयको सही जानकारी दिनुपर्यो प्रभु।”
जलदेवताले खुइय्य गर्दै लामो सास फेरेर ओठ लेप्य्राए। अनि आफ्नो शिर दायाँबायाँ हल्लाउँदै रुन्चे स्वरमा भने, “यो त मैले पनि ठ्याक्कै यसो हो भनेर भन्न सक्दिनँ फाफुरा।”
जलदेवताले समेत त्यसो भनेपछि फाफुराको रहे–सहेको आश पनि मर्यो। उसले सोध्यो, “तपाईं जलदेवतालाई नै थाहा नभए कसलाई थाहा हुन्छ त भगवान?”
जलदेवताले भने, “यो कुरा चाचालाई मात्रै थाहा हुन्छ। उनैले मात्र भन्न सक्छन्।”
चाचा! जलदेवताको पनि चाचा को रहेछ? उसले सोध्यो, “तपाईंको चाचाको नाम चाहिँ के भगवान हो? कहाँ भेटिनुहुन्छ उहाँ? जनि गरेर त्यति पनि बताइदिनु भए हुन्थ्यो।”
जलदेवताले हाँस्दै भने, “तिमीले कुरा बुझेनौ फाफुरा। उनी मेरा चाचा होइनन्। उनी नेपाल जगत्का चाचा हुन्। चाचा भनेको खानेपानी संस्थानको एक कर्मचारीका प्रजाति हुन्। चाचा, अर्थात् चाबी चालक। कुन ठाउँमा कुन बेला र कसरी पानी पठाउने वा नपठाउने भन्ने कुरा उनीहरूकै हातमा हुन्छ। तसर्थ तिमीले आफ्नो एरियाका चाचालाई भेटेर, उनलाई के चढाएर कसरी हुन्छ प्रसन्न बनाएपछि एउटा खुफिया समूहको सदस्यता पाउनेछौ। तिमी खुफिया समूहको सदस्य नहुन्जेल तिम्रा पितृका सात पुस्ताले पनि कुन बेला पानी आउँछ भनेर भन्न सक्दैनन्। खुफिया समूहको सदस्य भइसकेपछि मात्र तिमीलाई ह्वाट्सएप् वा भाइबरको एउटा समूहमार्फत कुन दिन र कुन बेला पानी आउँछ भन्ने जानकारी प्राप्त हुनेछ। अरूले थाहा पाएर फोकटमा तान्लान् भनेर दिन र समय फरकफरक हुने गर्छ। खानेपानी संस्थानले औपचारिक रूपमा निष्काशन गरेको तालिका हात्तीको देखाउने दाँत मात्र हो। तिमीजस्ता मूर्खहरू त्यसको आधारमा निन्द्रा खराब गरीगरी पानी आउला भन्ने आशमा बिरामी पर्छौ। अब कुरा बुझेको हो फाफुरा?”
“यो त गैरकानूनी काम भएन र जलदेवता? आम नागरिकले खानेपानी संस्थानलाई पानीको लागि शुल्क तिरिसकेपछि त भनेको समयमा पानी पाउनुपर्ने होइन र?”
“तिमी नेपालमा बसेर के कानूनी, के गैैरकानूनी, के नियमानुसार हुनुपर्ने र के नहुनुपर्ने भन्ने कुरा गर्दैछौ फाफुरा? यहाँ कुन कुरामा नीति नियम र कानूनअनुसार काम भएको छ र तिमी मेरो पोर्टफोलियोवाला पानीमा मात्र समस्या देख्छौ? हो जसरी पहिले बिजुलीको कृत्रिम अभाव सिर्जना गरेर इन्भर्टर र ब्याट्री व्यवसायीसँग मिलेमतोेमा केही मानिसहरूले कुर्कुस्त कमाए, उद्योेगपतिहरूलाई छुट्टै फिडरबाट बत्ती पोसेर १८–१८ घण्टा तिमीहरूलाई अँध्यारोमा राखे, त्यसै गरी पानीमा पनि कृत्रिम अभाव सिर्जना गरेर ट्यांकर तथा मिनरल भनिने जार तथा बोतलका पानीवालाहरूसँग मिलेर यो शहरलाई काकाकुल बनाइरहेका छन्। तिमी विचार गर त, ठूला कलकारखाना, होटल, रेष्टुराँ, गाडी सर्भिसिङ वालाहरूका लागि चाचाहरूलाई मासिक हजार–पन्ध्र सय रुपियाँ चढाउनु कुन ठूलो कुरा भयो! झन् तिम्रो घर वरिपरि कुनै ठूला हाउजिङहरू छन् भने त तिमीले बुझिहाल, मोटो पाइप जोडेर त्यहाँ पानी लगिएको हुन्छ। अनि अरूले थाहा पाउने समयबाहेकका समयमा त्यहाँ पानी छाडिएको हुन्छ। तिमीहरूजस्ता कीराफट्याङ्ग्राहरूको घरतिर मसिनो पाइपमा कहाँबाट कति पानी जान्छ आफैँ सोच। तिम्रा वरिपरिका टाठाबाठा घरेलु प्रयोगवालाहरूले पनि ट्यांकरलाई २२ सय रुप्याँ तिर्नूभन्दा चाचालाई चारपाँच सय रुप्याँ बुझाउनु फाइदाजनक भयो कि भएन त?”
जलदेवताको कुरा सुनेर फाफुराको तेस्रो आँखा खुल्ने र सातैवटा चक्र जागृत हुने एकैपटक भैहाल्यो। उसले भन्यो, “ओहो, भनेसि त यी चाचा भन्ने कर्मचारी त मालामालै होलान् नि हैन र?”
जलदेवताले भने, “तिम्रो कुरा सही हो। चाचाहरूलाई आफ्नो तलब त भुसुना बराबर। तर तिमीले चाचालाई चढाएको दक्षिणा सबै उसैले मात्र कहाँ खान पाउँछ र? त्यसको भाग माथि कहाँकहाँसम्म बाँडिन्छ तिमी सोच्न पनि सक्दैनौ। हेर फाफुरा, मेरै आँखाअघि यो सब भइरहेको छ। तर के गर्नु! कलियुग भएको हुनाले मैले पनि टुलुटुलु हेरिरहने बाहेक अरू केही उपाय छैन। त्यसैले मैले तिमीलाई दिनसक्ने सल्लाह यही हो। तिम्रो इलाकाको चाचा कोहो पत्ता लगाऊ र उसैैको शरणमा जाऊ। तिम्रा सारा दुःख उनैले हर्नेछन्। योभन्दा बढी म पनि तिमीलाई सहयोग गर्न सक्दिनँ।”
यति भन्दै सोझासाझा जनताको बचत बटुलेका सहकारी सञ्चालक सरह जलदेवता अलप हुँदा भए।
फाफुराले यही कुराको नालीबेली फाफुरीलाई सुनायो। उसले सोधी, “चाचालाई खोज्न कहिले जाने त?” फाफुराले प्वाक्क भन्यो, “भतिजा।”
फाफुरी वाल्ल परी। फाफुराले हाँस्दै अर्थ्यायो, “भतिजा भनेको भरे तिर जाउँला।”
अनि त्यसपछि फाफुराको मिशन शुरू भयो– चाचाको खोजी। कोलम्बसलाई भारत खोज्ने भनेर अमेरिका पुग्न जति गाह्रो भएथ्यो होला, चाचा खोज्न फाफुरालाई त्योभन्दा बढी गाह्रो भयो। बीचमा त उसले हार मानेर मिशन परित्यागै गर्न लागेको थियो। तर त्यति जाबो पत्ता लगाएर सेटिङ गर्न पनि नसक्ने हुतिहारा भनेर फाफुरीले फाफुराभित्रको पुरुषलाई नै चुनौती दिन थालिसकेकी थिई।
बल्लबल्ल पाँचसात जनाको पछि लागेर फकाइफुल्याइ गरेर एउटा किराना पसलको साहुजीका माध्यमबाट फाफुरालाई चाचाको फोन नम्बर प्राप्त भयो। त्यसमा सम्पर्क गर्ने चार दिनको अथक प्रयासपछि बल्लबल्ल चाचाले फोन उठाए र भेट्नका लागि भोलिपल्टको एउटा ठाउँ तोकेर समय दिए। उनले बोलाएको ठाउँ भनेको मूल सडकमा उनले चाबी घुमाउने प्वाल भएको ठाउँ थियो। फाफुरा त्यहाँ पुग्दा उनी फलामको एउटा लामो लौरो सडकको प्वालमा घुसारेर घुमाउँदै थिए। आजको २१औँ शताब्दी र आर्टिफिसियल इन्टेलिजेन्सको युगमा पानी वितरण र नियन्त्रण गर्ने त्यो अत्याधुनिक र वैज्ञानिक प्रविधि देखेर फाफुरा चमत्कृत भयो। एक पटक यस देशको नागरिक भएकोमा गर्वले फुलेर उसको ढुक्कुरे छाती २८ बाट ३० इन्चीको भयो।
नासालाई मात खुवाउने प्रविधिबाट कतैको पानी बन्द गरिसकेपछि चाचाले राणा शासनको बेला जुद्धशमशेरले र अहिले दाइभाउजूले आफ्नो द्वारमा माथा टेक्न आएको ‘फरियादी’लाई हेरे जसरी फाफुरालाई हेर्दै भने, “ल भन्नुस् के भयो?”
फाफुराले पनि पाएको मौकामा तारानाथ स्टाइलमा रटटटटटट धारामा पानी नआएर साह्रै दुःख पाएको गुनासो चाचाको पाउमा पोखिहाल्यो। साथै आफ्नो घर भएको सडकको व्यहोरा पनि। चाचाले दयालु आँखाले फाफुरालाई हेरे, एकछिन गम खाए, दुई पटक जति हुम्...हुम् गर्ने वाणी कण्ठबाट निकाले। फाफुरा तपस्या सफल भएपछि प्रकट भएका महादेव भगवानले कुन बेला तथास्तु भन्लान् भने जसरी प्रतीक्षा गरिरह्यो।
केही बेर सोचेर ठूलै उपकार गरे जसरी चाचाले भने, “ल ठीक छ। मैले बुझेँ। तालिकाअनुसार त त्यो एरियामा हिसाबले भोलि बिहान ४ बजे पानी आउनुपर्ने हो। तर म त्यो टाइममा खोल्दिनँ। आजै राति ११ बजे खोलिदिन्छु। तपाईं त्यो बेलामा चेक गरेर हेर्नुस्। मजाले पानी तान्नुस्। बाँकी कुरा त्यसपछि गरौँला।”
नभन्दै त्यस रात ११ बजे तालिकामा नभएको बेला फाफुराको मोटरले पानी तान्यो। लगभग तीन घण्टासम्मै मजाले पानी आयो। पानी आउन बन्द भएको एकै छिनमा चाचाको फोन पनि आयो। फाफुराले चाचालाई आभार प्रकट गर्यो र फेरि पानी आउने कहिले र कसरी थाहा हुन्छ भन्ने जिज्ञासा प्रकट गर्यो। चाचाले भने, “जहाँबाट तपाईंले मेरो नम्बर पाउनुभएको हो, त्यही पसलमा जानुस्। बाँकी कुरा तिनै साहुजीले गर्नेछन्।”
ती साहुजी चाचाका ‘बुकिङ तथा कलेक्सन एजेन्ट’ रहेछन् भन्ने कुरा फाफुरालाई थाहा भइहाल्यो। त्यहाँ गएर चाचाको मासिक सेवा शुल्क बुझाएपछि आफूलाई पनि खुफिया समूहको सदस्यता प्राप्त हुने अनि कुन बेला पानी आउने हो– भाइबरमा खबर आउने हुन्छ भन्ने पनि उसले बुझिहाल्यो। यसरी अन्ततोगत्वा सरकारले खटाइखटाइ दिने धाराको पानीजस्तो साधारण कुरा पनि सहज रूपमा प्राप्त गर्नका लागि लडाउनुपर्ने तिगडम र गर्नुपर्ने जुगाडबारे ढिलै भए पनि पत्ता लगाएरै छोडेकोमा फाफुराले आफ्नो ढाडमा आफैँलाई धाप मार्दै भन्यो, “जय होस् तँ बज्याको।”
अनि त्यसकोे साथै आफू यति महान देशको यति महान नागरिक भएकोमा नाकको छाला खुइलिने गरी आफैँले आफूलाई लोप्पा खुवाउँदै फाफुराले घोक्रो स्वरमा नेपाली हुनुको मूलमन्त्र र गौरवगाथा गायो, “म त झिल्के यस्सै राम्रो–यस्सै राम्रो, उस्सै राम्रो नेपाली हुनाले।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
