दक्षिण कोरियाले १६ देशबाट कोरियाली भाषा परीक्षा लिएर कामदार लैजान्छ। यी कामदार कोरियाको ‘सांस्कृतिक दूत’ पनि भएका छन्। अहिले विश्वभरि नै कोरियाली खाना, संगीत, फिल्म, फेसनको प्रचलन बढिरहेको छ।
काठमाडौँ– नेपाली युवाहरूमाझ अहिले कोरियाली भाषा सिक्ने लहर चलेको छ। भाषा सिक्ने र वैदेशिक रोजगारीमा दक्षिण कोरिया जाने सपना बोकेर देशका कुना–कुनाबाट बर्सेनि हजारौँ युवा काठमाडौँ आइपुग्छन्। बागबजारमा केही चलेका कोरियाली भाषा केन्द्रहरू त यति भरिभराउ हुन्छन् कि, त्यहाँ बस्ने ठाउँसमेत मिल्दैन।
काठमाडौँमा कोरियाली भाषा सिकिरहेका धनगढीका सुजन खत्री भन्छन्, “बिहानको सिफ्टमा प्याक भएर मैले साँझको सिफ्टमा कक्षा लिइरहेको छु।”
भाषा परीक्षा तयारीका लागि गत मंसिरमा काठमाडौँ आएका उनीसहित तीन जना मिलेर मैतीदेवीमा कोठा भाडामा लिएका छन्। सुजन भन्छन्, “हुन त धनगढीमा पनि भाषा सेन्टर छन्, तर काठमाडौँमा बसेर तयारी गरे अझै राम्रो होला भनेर आएका हौँ।”
नेपालीहरू ठ्याक्कै कहिलेदेखि दक्षिण कोरिया जान थाले भन्ने यकिन सरकारी तथ्यांक छैन। नेपाल र दक्षिण कोरियाबीच सन् २००७ मा ईपीएस प्रणालीबाट कामदार पठाउने सम्झौता भएपछि सन् २००८ देखि नेपालीहरू कामदारका रूपमा सरकारी तवरबाट त्यता जान थालेका हुन्। दक्षिण कोरियाको रोजगारीका लागि १८ देखि ३९ वर्ष उमेर समूहका व्यक्ति भाषा परीक्षामा सहभागी हुन पाउँछन्। यो वर्ष ईपीएसमार्फत दक्षिण कोरियाको रोजगारीमा जानको लागि एक लाख ६५ हजारभन्दा बढीले भाषा परीक्षाका लागि आवेदन दिएका छन्।

वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस शाखाका अनुसार कोरियाली भाषा उत्तीर्ण गरेर अहिलेसम्म ४० हजारभन्दा धेरै नेपाली दक्षिण कोरिया गइसकेका छन्। सन् २०२३ मा भाषा परीक्षा उत्तीर्ण गरेका करिब २१ हजार नेपाली कोरिया जाने पर्खाइमा छन्। सन् २०२४ मा पनि विभिन्न क्षेत्रमा (उत्पादनमूलक, कृषि र जहाज निर्माण) गरी २० हजारभन्दा बढी दक्षिण कोरिया जानेछन्। कोरिया जाने मुख्य आधार ‘भाषा परीक्षा उत्तीर्ण’ नै भएकाले लाखौँ नेपाली ‘आफ्नो भाषा नै बिर्सिने गरी’ कोरियाली भाषा घोकिरहेका छन्। यसरी हेर्दा जनसंख्याको ठूलो हिस्सा कोरियाली भाषा पढ्न तथा बोल्न सक्ने भइसकेको छ।
नेपाली युवाहरूमाझ कोरियन फेसनको आकर्षण पनि बढ्दै गएको छ। ‘कोरियन कट’ कपाल बनाउनेदेखि ‘कोरियन गेटअप’ गर्नेहरू बढ्दै गएका देखिन्छन्। कोरियन फेसन यति फैलिरहेको छ कि देशका विभिन्न शहरमा कोरियाको ‘फास्ट फेसन डिजाइनर ब्रान्ड’ योयोसोलगायत अनेक नाम दिएर ‘कोरियन स्टोर’ खुल्न थालिसकेका छन्। ती स्टोरमा कोरियन ब्रान्डका कपडा, जुत्ता तथा अन्य शृंगार लगायतका वस्तुहरू पाइन्छन्।
सुन्धारास्थित काठमाडौँ मलमा सञ्चालित रोसा कलेक्सनले कोरियन ज्वेलरीसमेत बिक्री गर्दै आएको छ। रोसा कलेक्सनकी रोशनी धामी युवाहरूमाझ ‘कोरियन प्रोडक्ट’को आकर्षण बढेको बताउँछिन्।
“कोरियन सामान भनेपछि टिनेजरहरू हुरुक्कै हुन्छन्, कोरियन गेटअपलाई नै फेसन मान्छन्,” उनी भन्छिन्, “कोरियन प्रोडक्ट टिकाउ, आकर्षक तथा फेन्सी हुन्छन्, त्यसले गर्दा पनि टिनेजरहरूको रोजाइमा परेको हुनसक्छ।”
अहिले कोरियन जुत्ता, कोरियन ब्लेजर, कोरियन ब्याग, कोरियन घडी आदि बजारको ‘हाइलाइट’मा छन्। नेपाली बजारमा ‘कोरियन मेकअप प्रोडक्ट’को माग पनि उस्तै छ। सन् २०२२ मा मात्रै कोरियाबाट ८ लाख ७७ हजार अमेरिकी डलर बराबरको शृंगार सामग्री नेपाल भित्रिएको थियो।
नेपालमा पछिल्लो समय ‘कोरियन फुड’को बजार पनि बढ्दै गएको छ। काठमाडौँमै ५० भन्दा धेरै कोरियन रेस्टुरेन्ट खुलिसकेको बताउँछन्, कोरियन रेस्टुरेन्ट व्यावसायी प्रेम गुरुङ। जावलाखेलमा घैँटे चियासँगै कोरियन बारबिक्यु रेस्टुरेन्ट चलाइरहेका गुरुङ आफैँ पनि वैदेशिक रोजगारीका क्रममा १४ वर्ष दक्षिण कोरिया बसेका थिए।

कोरियन फुड खोज्दै आउने नेपालीको संख्या पछिल्लो समय बढ्दै गएको उनको अनुभव छ। “मैले चियाबाट शुरू गरेको हो, अहिले कोरियन रेस्टुरेन्ट पनि खोलेको छु, कोरियन फुड्सको माग भएकै कारण सोचेअनुसार चलिरहेको छ,” उनले भने।
कोरियन बारबिक्यु, खिम्ची, गग्नब, हाङकुक साराङलगायत रेस्टुरेन्टले काठमाडौँमा कोरियन खानाका पारखीको भोक मेटाइरहेका छन्।
कोरियन संगीत, कोरियन फिल्म र नाटक पनि नेपालीहरूको रोजाइमा परेका छन्। विश्वभर चर्चा कमाएको कोरियाली सांगीतिक ब्यान्ड बीटीएसका फ्यानहरूको जमात नेपालमा पनि धेरै भइसकेको छ। बीटीएस लेखिएका लुगा तथा झोलाहरूको प्रयोग उस्तै छ। अनलाइन बजार तथा सामाजिक सञ्जालतिर यस्ता सामग्रीहरूको विज्ञापन निकै हुने गरेको छ। नेपालमा कोरियन संस्कृतिप्रतिको आकर्षणलाई हेरेर कोरियाले वार्षिक रूपमा कोरियन फिल्म फेस्टिभल पनि गर्दै आएको छ।
झन्डै पाँच करोड २० लाख जनसंख्या भएको द कोरियाको क्षेत्रफल नेपालको भन्दा पनि कम १ लाख ३३९ वर्गकिलोमिटर मात्रै छ। दोस्रो विश्वयुद्धपछि सन् १९४५ अगस्ट १५ मा जापानबाट स्वतन्त्र भएको पूर्वी एशियाको एक सानो देशले छोटो समयमा विश्वभर आफ्नो भाषा तथा संस्कृतिको छाप छोड्दै छ।
भाषाको भरोसा
कुनै पनि देशको भाषा त्यो देशको संस्कृतिको आधार हो। कोरियाली भाषा अल्टिक भाषा परिवारसँग सम्बन्धित छ। कोरियाली भाषा लेखन लिपि हांगुलको आविष्कार सन् १४४६ मा राजा सेजोंगको शासन कालमा भएको मानिन्छ जसको उद्देश्य त्यहाँका जनतामा शिक्षाको प्रसार गर्नु थियो। अहिले त्यो भाषा कोरियामा रोजगारी गर्न जानेको लागि ‘अनिवार्य’ बनेको छ।
दक्षिण कोरिया अल्पविकसित राष्ट्रबाट द्रूत गतिमा विकसित राष्ट्रमा फड्को मारेको देश हो। कोरियाले आफ्नो देशमा काम गर्न नेपाललगायत विभिन्न १६ देशबाट ईपीएसमार्फत भाषा परीक्षा पास गराएर श्रमिक भित्र्याउँछ। त्यहाँको पत्रिका कोरिया हेराल्डका अनुसार २०२३ मेसम्म मात्रै यी देशहरूबाट रोजगारीका लागि नौ लाख २३ हजार श्रमिक कोरियाली बजारमा प्रवेश गरिसकेका छन्। रोजगारीकै लागि यी १६ वटै देशमा नेपालको जस्तै कोरियाली भाषा परीक्षा सञ्चालन हुन्छन्। कोरियाली भाषाको तयारी गर्नेहरू पनि त्यति नै हुन्छन्। यसरी रोजगारी दिनको लागि दक्षिण कोरियाले आफ्नो देशको भाषा सिकाइरहेको छ।

यति मात्र होइन, कोरियाली संगीत तथा चलचित्र बुझ्न पनि भाषा सिक्नेहरू बढेका छन्। भाषा सिकाउने एप डुओलिंकको वार्षिक सर्वेक्षणअनुसार अघिल्लो वर्षसम्म कोरियाली भाषा जापानपछि दोस्रो धेरै सिकिने एशियाली भाषाभित्र पर्छ भने विश्वमा सातौँमा पर्छ।
चलचित्र र संगीतको लहर
दक्षिण कोरियाली संगीत र चलचित्रहरूका दर्शक त्यो देशको आकारको तुलनामा धेरै छन्। के–ड्रामा होस् या के–पप, कोरियाली संस्कृतिले विश्वभरि प्रचार पाएको छ।
सन् १९९९ मा रिलिज भएको उत्तर कोरिया र दक्षिण कोरियाबीचको जासुसीसम्बन्धी चलचित्र ‘स्विरी’ सबै पूर्वी एशियाली देशहरूमा सफल भएको थियो। त्यसपछि सन् २००० को ‘एटम इन माइ हार्ट’, २००१ को ‘माइ सेसी गर्ल’ र २००४ को ‘विंटर सोनाटा’ले कोरियन चलचित्रको लोकप्रियतालाई बलियो बनायो। सन् २०१९ को चलचित्र ‘प्यारासाइट’ले त ओस्कारको उत्कृष्ट चलचित्रसहित विश्वव्यापी रूपमा १९७ वटा पुरस्कार जितेको छ। यस्तै, कोरियाको टेलिशृंखला ‘स्क्वीड गेम’ विश्वमै सफल टेलिशृंखला मानिन्छ।
कोरियाली संस्कृतिलाई विश्वव्यापी बनाउन त्यहाँको संगीत अर्थात् के–पपको पनि उस्तै हात छ। रमाइलो इलेक्ट्रोनिक धुन, गजबको नृत्य साथै कोरियाली कलाकारहरूको आकर्षक प्रदर्शनको अद्वितीय मिश्रणका कारण के–पपले कोरियाको संस्कृतिलाई विश्वव्यापी बनाउन भूमिका खेलेको छ।
विश्वभर पाँचौँ धेरै सुनिने गीतमा कोरियाली गीत पर्छन्। विश्वभर अंग्रेजी, स्पेनिस र हिन्दीपछि कोरियाली गीत धेरै सुनिन्छ। कोरियाका युवतीहरूको सांगीतिक समूह ‘ब्ल्याक पिंक’ तथा युवाहरूको ब्यान्ड बीटीएस क्रमशः १२औँ र १५औँ धेरै सब्स्क्राइबर भएका युट्युब च्यानल बनेका छन्।
यस्तै, कोरियन गायक साईको ‘गंगनम स्टाइल’ शायद संसारभरका धेरै मानिसहरूले सुनेको पहिलो कोरियाली गीत हो। पाँच वर्षमा युट्युबमा तीन अर्बभन्दा बढी पटक हेरिएको थियो। युट्युबमा यो सन् २०१७ सम्म विश्वको सबैभन्दा धेरै हेरिएको भिडियोसमेत रह्यो।
अहिले अन्तर्राष्ट्रियस्तरमा यी कलाकारहरूको आवाजको ठूलो प्रभाव छ। बीटीएस ब्यान्ड सदस्यहरूले संयुक्त राष्ट्र महासभामा दिगो विकास लक्ष्यहरू र ब्ल्याक पिंकले संयुक्त राष्ट्र जलवायु परिवर्तन शिखर सम्मेलनमा जलवायु परिवर्तनबारे बोलेका छन्। यसले दक्षिण कोरियाली ‘सफ्ट पावर’को वर्तमान अवस्थालाई पनि प्रतिबिम्बित गर्छ।
कुनै पनि देशको कला संस्कृतिले थपेको देशको शक्ति ‘सफ्ट पावर’ हो। दक्षिण कोरियाको सरकारले यस एजेन्डालाई सक्रियतापूर्वक अगाडि बढाएको छ। कोरियामा ‘कल्चरल कन्टेन्ट इन्डस्ट्री’ भनेर छुट्टै निकाय छ। साढे पाँच अर्ब डलर बजेटको साथ यसले कोरियाली पप संगीत, फेसन, सामूहिक मनोरञ्जन र चलचित्रहरूको विकासमा काम गर्छ। जसको परिणाम कोरियाली संस्कृतिले संसारलाई कब्जा गरेको छ। कोरियाले त्यसको आडमा आफ्नो मार्केटिङ मात्र गरेको छैन, पर्यटनमा वृद्धि र अन्तर्राष्ट्रिय लगानी आकर्षित पनि गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
