निफको सातौँ संस्करण चैतमा, ४० देशका ८८ फिल्म देखाइने

प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनीसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तर्क्रिया कार्यक्रम पनि सञ्चालन हुने आयोजकको भनाइ छ। 

काठमाडौँ– नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सातौँ संस्करण चैत पहिलो साता आयोजना हुने भएको छ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा निफको सातौँ संस्करण चैत १ देखि ५ गतेसम्म आयोजना हुन लागेको हो।

यस संस्करणमा समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मीका रोचक र अर्थपूर्ण छलफलका सत्र पनि सञ्चालन हुने बताइएको छ। ६० देशबाट प्राप्त ५०० बढी चलचित्रबाट निफले सातौँ संस्करणमा ४० देशका ८८ वटा फिल्म छानेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजक समितिका अध्यक्ष केपी पाठकले बताए। उनका अनुसार छनोटमा परेका थुप्रै चलचित्रहरू कान्स, लोकार्नो, बर्लिनाल आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका हुन्। 

आयोजकका अनुसार फेस्टिभललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा विभाजन गरिएको छ। दुवै भागमा फिचर चलचित्र, लघु फिल्म र वृत्तचित्र विधामा अवार्ड वितरण गरिने छ। प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनिसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तर्क्रिया कार्यक्रम पनि हुने आयोजकको भनाइ छ। 

यस वर्ष महोत्सवमा प्रदर्शन हुने चलचित्र क्यूएफएक्स सिनेमाका शाखाहरू, सिभिल मल, लबिम मल, भक्तपुर र छाया सेन्टरका हलमा प्रदर्शन हुनेछन्। मोफसलमा पहिलो संस्करण सम्पन्न गरेको निफले यो वर्षबाट एकै समयमा अन्य प्रदेशमा पनि महोत्सवलाई बिस्तार गर्ने तयारी गरिरहेको अध्यक्ष पाठकले बताए।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई एक हजार ५०० अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड प्रदान गरिने बताइएको छ। महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड, र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५०० राशिको बागमती अवार्ड प्रदान गरिनेछ। 

यसैगरी, नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी प्रदान गरिनेछ। सर्ट फिल्ममध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ।