ऐतिहासिक हतुवागढीको संरक्षण गरिँदै, संग्रहालय बनाउने योजना

हतुवागढी गाउँपालिका–१ मा रहेको यस गढीलाई आधार बनाएर तत्कालीन किरात राजाले शासन गरेको इतिहास छ।

भोजपुर– ऐतिहासिक क्षेत्र भोजपुरको हतुवागढीमा शिलालेखको अनावरण गरिएको छ। पूर्वको महत्त्वपूर्ण गढीको रूपमा रहेको गढीको सेनाले संरक्षण गर्दै आएको छ। 

हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले गढी संरक्षणसँगै विकासको लागि गाउँपालिकाले आवश्यक काम गरिरहेको बताए। गढी क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

“यो हाम्रो ऐतिहासिक गढी हो,” अध्यक्ष राईले भने, “यसको विकास तथा संरक्षणमा गाउँपालिकाले पनि काम गरिरहेको छ। पर्यटनसँग जोडेर संरक्षणमा ध्यान दिएका छौँ। यसको आसपासमा संग्रहालय निर्माण गर्ने सोच लिएका छौँ।” 

खण्डहर बनेको गढीको स्थानीय र सेनाको अग्रसरतामा संरक्षण गरिएको समाजसेवी ईश्वरमान राईले बताए। हतुवागढी गाउँपालिका–१ मा रहेको यो गढीलाई आधार बनाएर तत्कालीन किरात राजाले शासन गरेको इतिहास रहेको उनको भनाइ छ। 

यो गढी समुद्री सतहबाट एक हजार ६३८ मिटर उचाइमा छ।