आलुका करिब चार हजार प्रजाति हालको दक्षिणी पेरु र उत्तरपश्चिम बोलिभियाको क्षेत्रमा पाइने भएकाले उक्त क्षेत्रमा आलुको उत्पत्ति भएको हो भन्ने निर्क्योल गरिएको छ। त्यहाँको रैथाने बाली आलु हो।
नेपाल कृषिप्रधान देश हो र यहाँ ६० मिटर (केचनाकवल, झापा)देखि करिब चार हजार ७०० मिटर (खुम्बु, सोलुखुम्बु)को उचाइसम्म खेतीपाती गरिन्छ। तथ्यांकअनुसार हाम्रो देशको करिब ७० प्रतिशत जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खेतीमा संलग्न छन् र देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषिको योगदान २७ प्रतिशत छ। यसरी कृषिबाट उत्पादन गरिने बालीले किसानलाई जीविकोपार्जन गर्न वा व्यापार गरी नाफा कमाउन सहयोग गर्छ। प्रयोगका आधारमा वर्गीकरण गर्ने हो भने बाली विभिन्न प्रकारका छन् र ती खाद्यबाली, घाँसेबाली, रेसादार बाली, तेलहन बाली, सजावटी बाली र औद्योगिक बाली (नगदेबाली) हुन्।
उत्पत्तिका हिसाबले बालीलाई रैथाने (इन्डेमिक), स्थानीय वा स्वदेशी (नेटिभ) र बाह्य (एक्जोटिक) प्रकारमा वर्गीकरण गर्न सकिन्छ। यद्यपि, आजकल नेपालमा यी तीन किसिमलाई पर्यायवाची शब्दका रूपमा गलत किसिमले प्रयोग गरी हामीले खेतीपाती गर्ने कैयौँ किसिमका बालीलाई स्थानीय वा स्वदेशी र रैथाने भन्ने गरिएको छ। प्राकृतिक रूपमा संसारको एक मात्र भौगोलिक स्थानमा खेती गरिने बाली मात्रै ‘रैथाने बाली’ हो। आफ्नै देशको कुनै खास क्षेत्र, पारिस्थितिकी र वासस्थानमा प्राकृतिक रूपमा विकसित र उत्पन्न भएको बाली ‘स्थानीय वा स्वदेशी बाली’ हो। भन्नाले हाम्रो देशमा उत्पन्न नभई अन्यत्रबाट ल्याएर खेतीपाती गर्ने गरिएको बाली ‘बाह्य बाली’ हो।
नेपाली बाली र प्रकार
सन् २०१७ मे २२-२३ मा धुलिखेलमा भएको दोस्रो राष्ट्रिय कार्यशालाबाट प्रकाशन गरिएको ‘कन्जर्भेसन एन्ड युटीलाइजेसन अफ एग्रिकल्चर प्लान्ट जेनिटिक रिसोर्सेस इन नेपाल' (नेपालमा कृषि वनस्पति आनुवंशिक स्रोतहरूको संरक्षण र उपयोग) नामक दस्ताबेजका अनुसार नेपालमा ५७७ प्रजातिका बिरुवा वा बाली खेती गरिन्छन्। खेती गरिएका प्रजातिमध्ये ४८४ स्वदेशी र ९३ बाह्य प्रजातिका बाली छन्। यी ४८४ स्वदेशी बिरुवामध्ये जम्मा ६४ प्रजातिका बालीको पूर्णतः खेतीपाती गरिन्छ भने १४५ प्रजाति बागवानीका लागि र २७५ प्रजाति घरपालुवा जनावरको घाँसका लागि उमार्ने गरिन्छ।
नेपालमा खेतीपाती गरिने मुख्य कृषि उत्पादनमा धान, मकै, गहुँ, जौ, कोदो, फापर, आलु, जुट, कपास, उखु, विभिन्न किसिमका दाल, फलफूल, सागपात, चिया, कफी, अदुवा, लसुन र खुर्सानीजस्ता बाली पर्छन्। यी भिन्नाभिन्नै प्रजाति संसारका निश्चित ठाउँमा उत्पत्ति भई मानिसको अन्तर्देशीय आवतजावतसँगै संसारभरि फैलँदै नेपाल आइपुगेका हुन्। लामो समयसम्म खेतीपाती गर्ने गरेकाले धेरै किसिमका बालीलाई हामीले ‘हाम्रा रैथाने’ प्रजाति भनेर सम्बोधन गरिरहेका छौँ, जुन वैज्ञानिक र भौगोलिक परिभाषाले पूर्ण रूपमा त्रुटिपूर्ण छ।
कहाँबाट उत्पन्न भए हाम्रा बाली?
विभिन्न प्रजातिका बालीको उत्पत्ति बुझ्न हामीले निश्चित प्रकारको बाली र तिनका नजिकका जंगली प्रजातिको विविधताबारे बुझ्न जरुरी हुन्छ। यी दुई कुरालाई आधार मानेर रसियन वैज्ञानिक निकोलाई भाभिलोभले पहिलो पटक सन् १९२४ मा संसारमा हामीले खेतीपाती गर्ने कुनै पनि प्रजाति अकस्मात् नभई निश्चित क्षेत्रमा बिस्तारै विकास गरिएको थियो भन्दै तीन वटा ‘उत्पत्तिको केन्द्र (वा विविधताको केन्द्र)’बारे आफ्नो विस्तृत तर्क अघि सारेका थिए। पछि उनले संसारमा तीन केन्द्रलाई परिमार्जन गरी सन् १९२६ मा पाँच केन्द्र, सन् १९२९ मा ६, सन् १९३१ मा सात केन्द्र, सन् १९३५ मा आठ केन्द्र र सन् १९४० मा पुनः सात केन्द्रहरूको पहिचान गरेका थिए। भाभिलोभले उत्पत्ति केन्द्र पहिचान गर्नुको मुख्य उद्देश्य संसारको कुन भागबाट कुन बालीको उत्पत्ति भएको हो भनेर विश्वलाई बुझाउनु थियो।
प्राचीन कृषि सभ्यता र विभिन्न पहाडी क्षेत्र भाभिलोभका लागि विशेष रुचिकर र महत्त्वपूर्ण थिए। उनी आफैँ र उनका कर्मचारीले सन् १९२० देखि सन् १९४२ बीच संसारभरका बालीका विभिन्न प्रजाति संकलन गर्न सयभन्दा धेरै पटक भ्रमण गरे। यी भ्रमणबाट उनले २ लाख ५० हजारभन्दा धेरै नमूना र १० हजारभन्दा धेरै बाली र तिनका जंगली प्रजाति जम्मा गर्न सफल भए। यसका साथै उनले संसारभरबाट अरू थप प्रजातिका नमूना मगाएर जम्मा पनि गरे।
उनले प्रतिपादन गरेको ‘हाइपोथेसिस’ के थियो भने उत्पत्ति केन्द्रहरूमा बाली प्रजातिहरूको आनुवंशिक विविधता उच्चतम रहन्छ। यो भनेको के हो भने यदि संसारको कुनै ठाउँमा निश्चित प्रकारको बाली प्रजाति र त्यो बालीसँग सम्बन्धित जंगली प्रजाति यथेष्ट मात्रामा पाइन्छन् भने उक्त ठाउँ त्यो निश्चित प्रकारको बालीको उत्पत्ति केन्द्र वा विविधताको केन्द्र हुन सक्छ। उदाहरणका लागि आलुका करिब ४ हजार प्रजाति हालको दक्षिणी पेरु र उत्तरपश्चिम बोलिभियाको क्षेत्रमा पाइने भएकाले उक्त क्षेत्रमा आलुको उत्पत्ति भएको हो भन्ने निर्क्योल गरिएको छ।
यसैगरी भिलोभले आफूले प्रतिपादन गरेको ‘हाइपोथेसिस’ प्रमाणित गर्न धेरै प्रजातिका बालीबारे अन्वेषण र र मूल्यांकन गरी विभिन्न समयमा अद्यावधिक गर्दै अन्ततः आठ वटा मुख्य उत्पत्ति केन्द्र र चार वटा उत्पत्ति केन्द्रको विस्तृत रूपमा पहिचान गरेका थिए। यसरी उनले आफ्नो किताब ‘सेन्टर्स् अफ ओरिजिन अफ कल्टिभेटेड प्लान्ट्स’ र ‘फाइभ कन्टिनेन्स्’जस्ता किताबमा विस्तृत रूपमा कुन उत्पत्ति केन्द्रबाट कुन प्रकारको बालीको उत्पन्न भएको थियो भन्ने कुरा तथ्यांकसहित वर्णन गरेका छन्। यसरी भाभिलोभले वनस्पति र खेतीपाती गर्ने बालीको आनुवंशिक स्रोत र संरक्षणमा ठूलो योगदान पुर्याएका छन्। उनका सिद्धान्त विश्वभर गहन र सर्वस्वीकार्य कृषि सिद्धान्तका रूपमा रहेका छन्।
भाभिलोभले एशिया महाद्वीपमा तीन मुख्य उत्पत्ति केन्द्र तोकेका छन्। मध्य र पश्चिमी चीन, कोरिया, जापान र ताइवानलाई समेटेर पूर्वी एशियाली उत्पत्ति केन्द्र तोके। फापर, भटमास, गहुँ, कोदोका केही प्रजाति, दालका प्रजाति, उखुको केही प्रजाति, गाँजा, कपास, धेरै तरकारी बाली (प्याज, लसुन, गाजर, मुला, बन्दागोभी, काँक्रो, पालुंगो, इत्यादि) र फलफूल (पेस्ता, नासपाती, बदाम, अंगूर, स्याउ, इत्यादि) को मूल उत्पत्ति क्षेत्र हो। संसारमा खेती गरिएका २० प्रतिशत वनस्पति यस क्षेत्रबाट उत्पन्न भएका हुन्।
उष्णकटिबन्धीय भारत, इन्डो-चीन, दक्षिणी चीन र दक्षिणपूर्वी एशियाका टापुहरूमा हिन्दुस्तानी (इन्डियन) उत्पत्ति केन्द्र छ भनेर भाभिलोभले तोकेका छन्। उनका अनुसार यो केन्द्रमा धान, उखु, उष्णकटिबन्धीय दालका प्रजाति, मसला, फलफूल र तरकारी प्रजातिको उत्पत्ति भएको औँल्याएका छन्। संसारमा खेती गरिएका २० प्रतिशतभन्दा धेरै वनस्पति यहाँ उत्पन्न भएका हुन्।
अन्तर-एशियाली केन्द्रले पश्चिमी एशिया, इरान, सिरिया, प्यालेस्टाइन, जोर्डन, अफगानिस्तान, भित्री एशिया र उत्तरपश्चिमी भारतको भित्री पहाडहरू ओगटेको छ। यहाँ गहुँ र दालका प्रजाति, ओट, राइ, फलफूल, मेथी र धेरै प्रजातिका घाँसे बाली उत्पन्न भएका हुन् भन्ने विश्वास गरिन्छ। संसारमा खेती गरिएका महत्त्वपूर्ण वनस्पतिको लगभग १५ प्रतिशत यहीँ उत्पन्न भएका हुन्।
यसरी विस्तृत रूपमा हामीले खेती गर्ने बाली कहाँबाट आयो भनेर कृषि, बाली विज्ञान र वनस्पतिशास्त्रको सहायताले पत्ता लगाउन सकिन्छ। भाभिलोभका अनुसार नेपाल कुनै पनि बालीको उत्पत्ति केन्द्र होइन। यद्यपि बालीका प्रकार र तिनीसँग सम्बन्धित जंगली प्रजातिका अनुसार नेपालको उत्तरी-पश्चिमी जिल्लाहरू हुम्ला र जुम्ला गहुँका केही प्रजातिको प्राथमिक (प्राइमेरी) नभएर माध्यमिक (सेकेन्डरी) उत्पत्ति केन्द्र हुन सक्छ भनेर नेपाली कृषिविज्ञहरूले आफ्ना तर्क अघि सारेका छन्।
यसैगरी नेपाल कोदो र फापरको पनि माध्यमिक उत्पत्ति केन्द्र हुनसक्छ। हामीले खेती गर्ने बालीका सम्बन्धित जंगली प्रजातिमा नेपालमा कुल ४० प्रजातिका आठ किसिमका अन्न, ५५ प्रजातिका २४ किसिमका दाल, ६८ प्रजातिका १८ किसिमका तरकारी, ७३ प्रजातिका ४८ किसिमका फलफूल, ७३ प्रजातिका २४ किसिमका मसला र १७ प्रजातिका चार किसिमका घाँसे बाली रहेको तथ्यांक दीपा सिंह र उनका समकक्षीहरूले ‘क्रप वाइल्ड रिलेटिभ: स्टेट्स, कन्जरभेसन एन्ड यूटीलाइजेसन इन नेपाल’ लेखमा उल्लेख गरेका छन्।
उपसंहार
हामीले खेतीपाती गर्ने विभिन्न बालीका प्रजाति संसारका कुनै न कुनै ठाउँबाट भित्रिएका हुन्। अधिकांश प्रजाति बाह्य प्रकारका छन् भन्दा अनुपयुक्त नहोला। उत्पत्तिको केन्द्रका अनुसार भन्ने हो भने नेपालमा कुनै पनि बाली ‘रैथाने’ छैनन्। लामो समयदेखि खेतीपाती गरेका हुनाले केही बालीलाई हामीले ‘स्थानीय वा स्वदेशी बाली’ भन्ने गरेका छौँ, जुन आंशिक रूपमा गलत हो। बरु केही बालीका प्रजाति नेपालमा भू-प्रजातीय (ल्यान्डरेस) भने छन्। भू-प्रजातीय बाली भनेको स्थानीय परम्परागत कृषि विधिद्वारा सुधारिएको निश्चित बालीको प्रकार हो।
जुम्लाको मार्सी धान (ओराइजा स्याटिभा उपप्रजाति जापोनिका) भू-प्रजातीय बाली हो। नेपालमा जम्मा २० प्रकारका ४१ भू-प्रजातीय बाली छन्। भू-प्रजातीय बालीको उत्पादन सामान्यतया कम भए तापनि स्थानीय परिस्थितिहरूमा तिनी अनुकूल भई उम्रने क्षमता उच्च हुन्छ। यस्तो पाटोमा कृषिविदहरूले सरल भाषामा कलम चलाउन आवश्यक छ। यसरी हामीले हचुवामा बाह्य बालीलाई हाम्रा ‘स्वदेशी’ वा ‘रैथाने’ शब्दले इंगित गर्दा वैज्ञानिक रूपले गलत हुन्छ। हामीले बरु ‘उच्च हिमाली’, ‘जैविक’, ‘रसायन मुक्त’, स्वदेशी उत्पादन’, स्थानीय उत्पादन’जस्ता नाम प्रयोग गर्न उचित हुन्छ। हामीले उत्पादन मात्र होइन, उत्पादित बालीबारे यत्रतत्र छरिएर रहेका ज्ञानको उपयोग गरी आफ्नो उत्पादनको यथार्थ तथ्य जान्ने कोशिश गर्नुपर्छ।
रोकाया इन्स्टिच्युट अफ बोटनी र ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युट, चेक एकेडेमी अफ साइन्सेस, चेक रिपब्लिकमा वनस्पतिविद्का रूपमा कार्यरत छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
