देशभर लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव चलिरहँदा भुइँमान्छेमा भने उत्साह देखिएन। यसको कारकका रूपमा खासगरी विगतमा नेताहरूले गरेका बाचा पूरा नहुनु देखिन्छ।
काठमाडौँ– टोखा नगरपालिकास्थित वडा–१ मा पर्ने पब्लिक इङलिस सेकेन्डरी स्कुलको प्रांगण साबिकका दिनझै चलायमान छ।
अन्य दिन स्कुलमा पढ्ने बालबालिका र किशोरकिशोरीले गुन्जायमान हुने यस विद्यालयको प्रांगण आज भने यस क्षेत्रका बालिग (उमेर पुगेका) मतदाताहरू, निर्वाचन आयोगका कर्मचारी, सुरक्षामा तैनाथ प्रहरी र सेनाहरूको व्यस्तताले गुञ्जायमान छ।
सोही स्कुलको प्रांगण सामुन्ने रहेको मैदानअघि एउटा पुरानो साइकल रोकियो। साइकलबाट उत्रिए, ५१ वर्षिय विजय मोक्तान। साइकलको पछाडिको भागबाट डालो अनि केही खाने कुराका पोका उनले बिस्तारै निकाले।
डालोलाई बिस्तारै बदामले भरे। उनले अन्य पोकामा रहेका केराउ र चना झोलामै राखे। बदाम खाने बाहानामा हामीले उनलाई प्रश्न गर्यौं, “भोट हाल्नुभएन?”
“गइनँ”, सामान मिलाउँदै उनले छोटो उत्तर दिए।
“किन नि?”, फेरि प्रश्न गर्यौं।
“भर्खर दशैँ, तिहार मनाएर फर्केको। घर आउनेजाने भाडा कसरी बेहोर्ने ?” उनले भने।
यसअघिका चुनावमा घरमै भएकाले उनले मत हालेको थिए। यसपटक भोट खसाल्न नपाएकाले उनलाई न्यास्रो भने लागेको छ।
हामीलाई बदाम दिँदैगर्दा मोक्तानको फोन निरन्तर बज्न थाल्यो। स्मार्टफोनसँग खासै ‘फ्यामिलियर’ भइनसकेकाले होला उनले हामीतर्फ फोन फर्काउँदै उठाइदिन आग्रह गरे।
फोनमा कुराकानी सकिएपछि भने उनी केही निराश देखिए। फोनको अर्को साइडमा उनका छोरा रहेछन्। छोराले बदाम कतै बिक्री नभएको कुरा गरेपछि दिक्क लागेको सुनाए उनले।
“मोबाइल किन्न पैसा चाहियो भन्छ। दशैँमा घर जान पैसा भन्छ”, उनी भन्ने थाले, “पैसा कमाउन हुनेबेलासम्म नि दुःख भने बुझ्दैन। आज त उसलाई कलंकीतिर पठाइदिएको छु बदाम बेच्न। आज धेरै बिक्री हुनसक्छ।”
बारा निजगढ नगरपालिकाका–१२ का मतदाता उनी २० वर्षदेखि उनी कलंकीमा बस्दै आएका छन्।
कलंकीमा उनले सिजनल व्यापार गर्छन्। जाडोमा बदाम बेच्ने, गर्मीमा आइसक्रिम बेच्ने उनको व्यवसाय हो। उनी २० वर्षदेखि निरन्तर रूपमा यही व्यवसाय गर्दै आएका छन्।
पहिले काठमाडौँमा सडकमै बदाम बेच्थे। विगत २ वर्षयता उनी कंलकीदेखि दैनिक टोखा, झोरसम्म आउने गर्छन्।
“काठमाडाैँ महानगरले सडक व्यवसायमा कडाइ गरेसँगै यतातिर लागेँ ”, उनले भने, “सँधै आउन गाह्रो हुन्छ। गाडी भाडा बढेसँगै अस्तिको पाली घरबाट पुरानो साइकल ल्याएको छु।”
साइकल टोखा नगरपालिकाको कार्यालयमा राखेर उनी झोरसम्म बदाममसँगै यात्रा गर्छन्।
“घर–व्यवहार खर्च धान्नुपरेको छ। हाम्रोतिर खासै पैसा आर्जन गर्ने इलम पनि हुन्न। यही आएर सानोतिनो काम गरेको छु। धनिरहेको छु”, उनी भन्छन्।
चुनावमा किन घर जानुभएन भन्ने हाम्रो प्रश्नको विस्तारमा उनले आफू आफ्ना क्षेत्रका प्रतिनिधिको कामले सन्तुष्ट नरहेको बताए। अहिलेसम्म विभिन्न समयमा भोट हालेर जिताएपनि जनताको समस्या सम्बोधन नभएको र रोजगारी नपाएको उनको गुनासो थियो।
समस्याकै कारण ८ कक्षामा पढाइ छोडेकी छोरी घरपरिवार चलाउनै गाह्रो परेपछि खाडी पठाएको कुरा गम्भीर भएर उनले सुनाए।
उनी थप्छन्, “अहिले त छोरालाई पनि बदाम बेच्न लगाउँछु, सक्दिन बाबा खुट्टा दुख्छ भन्छ। दुःख नगरी हामी गरिबलाई कहाँ खान पुग्छ?”
****
काठमाडाैँ निर्वाचन क्षेत्र–६ स्थित टोखा नगरपालिकामा मतदान भइरहेको छ। सोही क्षेत्रको झोर, महांकालको मतदान केन्द्र पब्लिक इङ्लिस सेकेन्डरी स्कुल भएर उकालो लाग्दैछन् ४८ वर्षीया मणिराम अधिकारी। अधिकारी यहीँका स्थानीय हुन्। निर्वाचनको दिन घाँसको भारी बोकेर हिँडेका उनलाई केहीबेर पछ्याएपछि हामीले सोध्यौँ, “तपाईंलाई चुनाव लागेन?”
उनले भने, “अँह! मलाई चुनावको कुनै उत्साह छैन।”
घाँसको भारी पिँठ्युमा थोरै माथि ठेल्दै, पसिना पुछ्दै उनले थपे, “जनताको दैनिक जीविकाको प्रत्यक्ष सम्बोधन गर्ने व्यवस्था आउनुपर्छ। निमुखा वर्गलाई पेल्ने प्रवृति हुनुभएन।”
****
देश संघीयतामा गएर तीन तहका सरकार बनिसक्दापनि जनताले प्रभावकारी रूपमा शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत पक्षमा ध्यान नदिँदा विजय र मणिरामजस्ता कयौँ मतदाताले लोकतन्त्रको उत्सवमा भाग लिएनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
गोविन्द खत्री
