पुस्तक ‘पुँजीवाद: भ्रम, वास्तविकता र तथ्य’ सार्वजनिक

यो पुस्तक जर्मन इतिहासकार तथा समाजशास्त्री राइनर जिटलम्यानद्वारा लिखित 'इन डिफेन्स अफ क्यापिटालिजम’ को नेपाली अनुवाद हो।

काठमाडौँ– इतिहासकार तथा समाजशास्त्री जर्मन नागरिक राइनर जिटलम्यानद्वारा लिखित दुई पुस्तक 'सेट योरसेल्फ बिगर गोल्स' अंग्रेजीमा र ‘इन डिफेन्स अफ् क्यापिटालिजम’ को नेपाली अनुवाद 'पुँजीवाद: भ्रम, वास्तविकता र तथ्य' सार्वजनिक भएको छ।

काठमाडौँस्थित होटल येलो प्यागोडामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा, सोधक तथा समृद्धि फाउन्डेसनकी निर्देशक अर्पिता नेपाल र लेखक जिटलम्यानको उपस्थितिमा मंगलबार दुवै पुस्तकको विमोचन गरिएको हो। सकुनकुमार जोशी, टेकनारायण ढकाल र नरेन्द्र विक्रम जि.सीले पुस्तक अनुवाद गरेका हुन्।

विमोचनमा जिटलम्यानले 'पुँजीवाद: भ्रम, वास्तविकता र तथ्य'मा आफूले पुँजीवादका बारे संसारभर व्याप्त भ्रमहरूको तथ्यपरक चिरफार गर्न खोजेको बताए। लेखकले सो प्रयोजनका लागी पुँजीवादलाई लाग्ने १० किसिमका आरोपहरूको सूक्ष्म छानबिन गरी ऐतिहासिक प्रमाणहरूको सहयोगले ती आरोपहरूको सत्यतामा खोट औँल्याएका छन्।

“सन् १८२० देखि २०२२ सम्मको अवधिमा संसारभरि गरिबीको रेखामुनि जीवन बिताउनेहरूको अनुपात ९० प्रतिशतबाट ९ प्रतिशतमा झरेको छ। योसँगै अर्बपतिहरूको संख्या पनि बढेको छ। यसले पुँजीवादले आर्थिक समृद्धि लिएर आएको स्पष्ट हुन्छ,” लेखक जिटलम्यानले भने।

अर्को वक्ता अर्पिता नेपालले यो पुस्तक अर्थशास्त्रीय अवधारणाहरूलाई सरल तरिकाले बुझाउन खोजेको बताइन्। “संसारको सबै देशजस्तै नेपालको पनि आफ्नै विशिष्टता छ र यस मौलिक वास्तविकतासँग मेल खाने धेरै उदाहरणहरू किताबमा पाएँ,” उनले भनिन्।

त्यस्तै अर्का वक्ता सांसद झाले देशमा आर्थिक पुनर्संरचनाको बहस चलिरहेका बखत यस पुस्तकले नयाँ प्रश्नहरूको उठान गर्न सहयोग गर्ने बताए। देशमा कानूनसम्मत पुँजी उपयोग गरेर धनआर्जन गर्ने कामलाई नकारात्मक दृष्टिकोणबाट हेर्ने समस्या व्याप्त रहेकाले समग्र देशको सम्मुनतिका लागि समाजका सबै वर्गको समृद्धि आवश्यक रहेको बिर्सन नहुने उनको भनाइ थियो।