निर्धक्क भई मतदान गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको अपिल

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन्।

काठमाडौं– निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातालाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आह्वान गरेका छन्।

आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मतदान हुँदै छ। प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको ऐतिहासिक अवसरमा निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका हुन्। 

निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा २०७९ मंसिर ४ गते आइतबार आ-आफ्ना मतदान केन्द्रमा उपस्थित भई निर्धक्क भएर मतदान गर्नु हुन निर्वाचन आयोग सम्पूर्ण मतदातालाई हार्दिक अनुरोध गर्दछ।”

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भइसकेको पनि थपलियाले बताए। “निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अगाडिबाट शुरू भएको प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ को पालनामा आयोगले विशेष सजगता अपनाएको छ,” थपलियाले भने।

यस अवधिमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन टोली र मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य भइरहेको पनि आयोगले जनाएको छ। विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट प्राप्त सूचनालाई पनि आयोगले जानकारीमा लिई आवश्यक निगरानी र नियमन गरिरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए।

उनले भने, “निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावरण बनाउन दृढ संकल्पित रहेकोले यस कार्यमा सबैको सकारात्मक सहयोग र इमानदार प्रयत्न हुनेछ भन्ने विश्वास व्यक्त गर्दछ।”