काभ्रेको मैखुरे र आसपास सम्साँझै खेतबारी पस्ने बँदेलले बाली तहसनहस बनाउन थालेपछि किसानले खेत नै बाँझो छाड्न थालेका छन्। बँदेलकै कारण कतिपय त बसाइँ नै हिँडेको स्थानीय बताउँछन्।
काभ्रे– छिटपुट घरहरू देखिन्छन् मैखुरे डाँडामा। अलि हुने–खानेहरू काठमाडौँतिर बसाइँ सरिसके। धेरैले नजिकैको पनौती र कुसादेवी बजारमा घरजग्गा किनेर उतै लागे। गाउँ रित्तिदै गयो। रित्तिने क्रम जारी छ।
पनौती नगरपालिका–२ कुुसादेवीमा पर्ने मैखुरेमै जन्मिएका विष्णुबहादुर तामाङलाई हिजोआज आफ्नो गाउँ उराठ लाग्छ। उनी भन्छन्, “पहिला कति रमाइलो थियो। गाउँमा चहलपहल थियो। हाम्रा दाजुभाइहरू यही गाउँमा बस्थे। अब सबै बसाइँ सरे, गाउँ भन्नु पनि के रह्यो र! फाट्टफुट्ट घरहरू छन्।”
यहाँका मान्छेहरूको मुख्य पेसा कृषि हो। पशु पाल्छन्। बारीमा आलु, मकै, तोरीलगायत बाली लगाउँछन्। तर अब बाली उठाउन धेरै हैरानी गर्नुपर्दैन, बँदेलले सखाप पारिदिन्छ। यही कारण स्थानीयले गाउँ नै छाडेर हिँड्न थालेका हुन्।

घर वरपर विष्णुृबहादुरको १५ रोपनी जग्गा छ। कम उत्पादन हुँदा पनि यहाँबाट २५ भारी मकै भित्र्याएको उनलाई याद छ। “योपटक जम्मा १५ घोगा मकै बाँकी रह्यो। सबै मकै बँदेलले सखाप पारिदियो,” उनले गुनासो गरे।
बँदेल रोक्न विष्णुबहादुरले तीन वर्षअघि बारी वरिपरि तारजाली लगाए। तर त्यसले पनि बँदेल रोकिएनन्। तारजाली नै भत्काएर खेतीपाती तहसनहस पारिदिए। योपटक भने आधा जग्गामा आलु रोपेर आधा बाँझै छाडिदिएका छन्।
विष्णुबहादुरका अनुसार पहिला मध्यरातमा मात्र आउने बँदेल अहिले सम्साँझै लस्कर लागेर खेतबारीमा पस्छन्। उनले घरमुनिको बारी हेर्दै भने, “म सानो हुँदा बँदेलको कुरै सुनिँदैन थियो। पछिल्लो समय त अचाक्ली भयो। बँदेलका सन्तानले डाँडाकाँडा ढाक्यो, यो हैरानी कहिलेसम्म बेहोर्नु पर्ने हो!”

तर विष्णुबहादुर जतिसुकै कष्ट भए पनि गाउँ छाड्ने मनस्थितिमा छैनन्। “ऋण गरेर बजारमा चार आना जग्गा त किनौँला रे, घर कसरी बनाउने? त्यसपछि के खाने? बरू यहीँ गाइबस्तु पाल्छु। दुध बेच्छु। जीवनभरि गाउँमै बस्छु,” उनले भने।
मैखुरेबाट १० मिनेटजति ओरालो लागेपछि सोही गाउँका भोला लामिछानेको खेतमा पुगिन्छ। भिरालो पहाडमा स–साना थुप्रै गह्राहरू छन्। त्यहाँ उनको ५० रोपनी जग्गा छ।
पूरै जग्गामा गत वर्ष भोलाले मकै लगाएका थिए। तर एक गेडो भित्राउन पाएनन्। बँदेलले सबै खाइदियो। यसपालि बाली नै नलगाएको कारण झारले बारी छोपेको छ। कहीँ कतै केरा र तरुल लगाएका छन्। तर बाँझो बारीलाई पनि बँदेलले छाडेन, उधिनेर ठूलाठूला खाल्डा बनाइदिएको छ।

खेतको डिलमा बसेर उनले भने, “५–७ वटा केराको बिरूवा रोपको थिएँ। १०–१२ बोट तरूलका झाङ थिए। कर्कलो थियो। अस्तिका दिन (तिहारअगाडि) केराको बोट लडाइदिएछ। तरूल भएका ठाउँमा मान्छेभन्दा गहिरा खाल्डा छन्। यसलाई रोक्ने केही उपाय भएन। मार्न पाइँदैन, तार लगाउँदा पनि रोक्न सकिएन।”
जग्गा बाँझो छाडेर हिजोआज भोला ज्यालामजदुरी गर्छन्। जति श्रम लगाए पनि खेतीबाट प्रतिफल लिन नसकिएको उनले गुनासो गरे। “यहीँको उत्पादनले हाम्रो ५–७ जनाको परिवार पालिन्थ्यो। मकै, आलु मनग्गे फल्थ्यो। अहिले गाउँभरीका मान्छेले खेत बाँझै राखेका छन्। खेतीपाती छाडेर बरु विदेश गएका छन्,” भोला भन्छन्।
केही दिनअघि भोलालाई उनकै बारीमा भेट्दा डिलमा धुम्धुम्ती बसिरहेका थिए। नजिकै उनकी बुहारी घाँस काटिरहेकी थिइन्। बारीछेउमा रहेको वनबाट बँदेल आएर आक्रमण गर्ला भनेर उनी बुहारीको साथी गएका थिए। दिउँसै पनि बँदेल आउने हुँदा खेतबारी जानु पनि खतरा भएको उनी बताउँछन्। “कयौँपटक यही आँखाले देखेको छु, एकपटक त ३–४ वटा बँदेल कर्कलो खन्दै रहेछन्। मलाई देख्ने बित्तिकै टाप कसे,” भोलाले भने।

मैखुरे मात्र होइन, वरिपरिका अन्य गाउँलाई पनि बँदेलले सताएको छ। मैखुरेबाट आधा घण्टा तल ओर्लिएपछि गोठखोला पुगिन्छ। यहाँ मैखुरेमा भन्दा बाक्लो बस्ती छ। खोँचको समथर भुभागमा मात्र हैन, भिराला भित्ताहरूमा पनि घरहरू देखिन्छन्। गाउँ नजिक घना वन छ। यही गाउँकी बासिन्दा हुन् कमला केसी।
कमलाको परिवार पूर्णरूपमा कृषिमै निर्भर छ। तर बँदेलले खेती सखाप पार्न थालेपछि अब उनलाई घर चलाउन मुस्किल हुने बताउँछिन्। उनी भन्छिन्, “सधैँ दुई थाङ्ग्रा मकै हुन्थ्यो, यसपटक एक थाङ्ग्रो फल्यो। जन्तुले आएर नाश गरेपछि हाम्रो खाने बाटै रोकिन्छ। घरमा खाने अन्न छैन, बच्चालाई स्कुल पठाउन पैसा छैन। बाली भित्राउन नपाएपछि बर्बाद भइहाल्छ नि!”
बँदेल रोकिन्छ कि भनेर कमलाले ५ हजार रुपैयाँ खर्च गरी तार किनेर खेतबारी घेरिन्। तार लगाएपछि बारीमा दुई बोरा आलु रोपिन्। तर घरमा भने एक बोरा आलु मात्र भित्र्याउन पाइन्, रोपेको जति पनि भित्रिएन।
हिजोआज कमलाको परिवार हरेक रात खेतमा जाग्राम बस्ने गरेको छ। उनीहरूलाई बँदेल मात्र हैन दुम्सीले पनि आजित बनाएको छ। दुम्सीले करेसाबारीमा लगाएको तरकारी पनि नष्ट बनाएको कमला बताउँछिन्। “तरकारी माडेर खानै नहुने बनाएको छ। आलु, सागसब्जी केही पनि बाँकी राखेन। बँदेलले झनै बिल्लीबाठ बनायो, हामी कहा जाउँ!” उनले भनिन्।
भिडियो कथा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
किसन पाण्डे
