गाजा क्षेत्रको शरणार्थी शिविरमा आगलागी हुँदा २१ जनाको मृत्यु

प्यालेस्टाइनको गाजा क्षेत्रमा रहेको शरणार्थी शिविरमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ। आगलागीको कारण यकिन हुन सकेको छैन।

प्यालेस्टाइनको गाजा क्षेत्रस्थित जावालिया शरणार्थी शिविरको एक घरमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ। 

गाजा क्षेत्रमा रहेको तीन तले आवासीय भवनको तेस्रो तलबाट आगलागी शुरू भएको थियो। भण्डारण गरिएको मट्टितेलका कारण आगलागी थप फैलिएको बताइएको छ। 

आगलागीको कारण यकिन हुन सकेको छैन। तर, ग्यास लिक भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको एपीले उल्लेख गरेको छ। 

गाजा क्षेत्रका ८ वटा शरणार्थी शिविरमध्ये जावालिया एक हो।

आगलागीमा जलिरहेका महिला तथा बालबालिकालाई चाहेर पनि बचाउन नसकिएको प्रत्यक्षदर्शीले बीबीसीलाई बताएका छन्। प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले घटनाप्रति दुःख व्यक्त गर्दै शुक्रबार राष्ट्रिय शोकको घोषणा गरेका छन्।

यस्तै, इजरायलका रक्षामन्त्री बेन्नी गान्टस्ले घाइतेलाई उपचारका लागि इजरायली अस्पतालमा ल्याउन र मानवीय सहायताका लागि कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

गाजा विश्वमै सबैभन्दा जनसंख्या भएको शहरमध्ये एक हो। त्यहाँ २३ लाख मानिसको बसोबास छ। गाजाका ८ वटा शरणार्थी शिविरमा मात्रै ६ लाख मानिस बसिरहेको राष्ट्रसंघले बताउँदै आएको छ।