काठमाडौँ उपत्यकाको समथर भागदेखि डाँडाको शिखरसम्म पाइने जलवायुको भिन्नताले गर्दा यहाँको वनस्पति समृद्ध छ। ती वनस्पतिको अध्ययन–अनुसन्धान र अवलोकनबाट आर्थिककोपार्जन गर्न सकिने ठूलो अवसर छ।
संसारमा पर्यटनको इतिहास हेर्ने हो भने पश्चिम र उत्तर युरोपेली देशका कुलीन वर्गका युवाले १७औँ शताब्दीतिर गरेका ‘ग्य्रान्ड टुर’लाई सम्झनु पर्छ। यो भ्रमणमा कुलीन वर्गका युवाहरू विशेषत: फ्रान्स, जर्मनी, इटली र ग्रीसमा घुम्ने गर्दथे। उनीहरूको मुख्य उद्देश्य आफूले घुमेका देशको इतिहास, कला र सांस्कृतिक सम्पदाबारे जान्नु थियो। पछि १८औँ शताब्दीतिर आएर धनीमानी वर्ग बिस्तारै संसारका विभिन्न भाग भ्रमण गर्न थाले र उक्त भ्रमण घुम्न, रमाइलो गर्न, अध्ययन–अनुसन्धान गर्न वा धार्मिक तीर्थ यात्राजस्ता उद्देश्यका निम्ति हुन थाले।
आज आएर यस्ता भ्रमण नै आधुनिक पर्यटनका विभिन्न रूप हुन्। प्राकृतिक सौन्दर्य, वनस्पति र जैविक विविधता अवलोकन र अध्ययन–अनुसन्धान, मानिसका परम्परा, संस्कृति, भाषा र भेषभूषाजस्ता कुराले बाह्य वा आन्तरिक पर्यटनमा ठूलो महत्त्व राख्छन्। नेपाल सानो तर विविधतायुक्त छ र हरेक ठाउँ अत्यन्त रोचक र चाखलाग्दा छन्। राजधानी काठमाडौँ पर्यटनका हिसाबले महत्त्वपूर्ण छ। काठमाडौँ उपत्यकामा रहेका विभिन्न विश्व सम्पदा मात्र नभएर वरपरका डाडाँहरू पनि उतिकै चासोका विषय हुन सक्छन्, किनकि यी डाँडाहरू वनस्पतिको विविधतामा प्रचुर छन्।
उपत्यकाको समथर भागदेखि डाँडाहरूको शिखरसम्म पाइने जलवायुको भिन्नताले गर्दा यहाँको वनस्पति समृद्ध छ। सन् १९८२ मा प्रकाशित ‘फ्लोरा अफ काठमाडौँ भ्याली’ का अनुसार काठमाडौँ उपत्यकामा १२९ भन्दा धेरै ढुसी प्रजाति, १३ सय १२ फूल फुल्ने वनस्पतिका प्रजाति, सात किसिमका कोणधारी (सल्लो जस्ता) प्रजाति, १ सय ६९ उन्यु र उन्युजन्य प्रजातिका साथै १०० भन्दा धेरै सुनगाभाका प्रजाति पाइन्छन्। यिनीहरूको अध्ययन–अनुसन्धान मात्र नभई अवलोकन गर्न र प्राकृतिक सौन्दर्यको आनन्द लिन हामीले ‘बोटानिकल टुरिजम’ अर्थात् वानस्पतिक पर्यटनको अवधारणा अघि सार्न जरुरी छ। यसो गर्यौं भने हामीले काठमाडौँको नजिकमा रहेका धेरै राम्रा ठाउँ छोटो समयमा घुमेर रमाइलो गर्न सक्छौँ। आन्तरिक पर्यटनको प्रचुर प्रवर्द्धन गर्न सक्छौँ। वानस्पतिक पर्यटनको सोचलाई मूर्त रूप दिन सक्छौँ।
कुल क्षेत्रफल ६६५ वर्ग किलोमिटर भएको काठमाडौँ उपत्यका करिब ३० किलोमिटर लामो र १७ किलोमिटर चौडा छ भने उपत्यकाको उचाइ १२ सय देखि २७ सय ८२ मिटरसम्म छ। काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटा प्रशासनिक जिल्लाहरू भएको उपत्यकालाई मुख्यतः पाँच अग्ला डाँडाहरूले घेरेका छन्। दक्षिण–पूर्वमा फूलचोकी (२७ सय ८२ मिटर), उत्तर–पूर्वमा नगरकोट (२१ सय ६६ मिटर), उत्तरमा शिवपुरी (२७ सय ३२ मिटर), पश्चिममा नागार्जुन (२ हजार ९५ मिटर) र दक्षिण–पश्चिममा चम्पादेवी (२२ सय ७८ मिटर)–चन्द्रागिरि (२५ सय ६१ मिटर) छन्।
यी डाडाँहरू वनस्पतिका हिसाबले जति समृद्ध छन्, त्यहाँको धार्मिक र सांस्कृतिक पक्ष पनि उत्तिकै महत्त्वपूर्ण छ। बौद्ध किंवदन्ती अनुसार यी चार दिशामा रहेका अग्ला डाँडाहरू उपत्यकाका चार पवित्र धार्मिक स्थलहरू हुन् भनेर विश्वास गरिन्छ। किराती कालमा पश्चिममा रहेको डाँडालाई जटामात्रोचा (हालको नागार्जुनको जामाचो) भन्ने गरिन्थ्यो।
दक्षिण–पश्चिममा रहेको डाँडालाई ध्यानोचा (हालको चम्पादेवी) भन्ने गरिन्थ्यो। दक्षिण–पूर्वमा रहेको डाँडालाई पुलोचा (हालको नागार्जुनको फूलचोकी) भन्ने गरिन्थ्यो र उत्तर–पूर्वमा रहेको डाँडालाई धिलाचो (हालको मनिचौथान) भनिने गरिन्थ्यो। बौद्धमार्गीहरू यी चार स्थानलाई परापूर्वकालमा विभिन्न भिक्षुका पवित्र ध्यानस्थल थिए भन्ने विश्वास गर्दछन्। हिन्दूहरू भने यी चार स्थानमा ‘चार नारायण’को पूजा गर्छन्। जमाचोतिर इचंगुनारायण, ध्यानोचातिर शिखानारायण, पुलोचातिर विशंखुनारायण र धिलाचोतिर चाँगुनारायणका थान तथा मन्दिर छन्।
वनस्पतिहरूको अवलोकन गर्नुका साथै अग्ला डाँडाहरूबाट विभिन्न दिशामा देखिने हिमाल तथा अन्य प्राकृतिक सौन्दर्य हेर्न र अनुभव गर्न हामीले उपत्यका वरपर केही घण्टादेखि केही दिनसम्मका भ्रमण गर्न सक्छौँ। नागार्जुन, शिवपुरी, ककनी–टोखा, सुन्दरीजलबाट चिसापानी हुँदै साँखु, गोदावरी–फूलचोकी, हातिवनबाट चम्पादेवी हुँदै चन्द्रागिरि–इन्द्र दह, सुन्दरीजल–चिसापानी–साँखु, गोदावरी–फूलचोकी, साँखु–नगरकोट–नाला, गोकर्ण, सूर्यविनायक क्षेत्रहरू र नदी किनारा घुम्नको लागि अत्यन्त महत्त्वपूर्ण ठाउँ हुन्।
काठमाडौँ उपत्यकाको वनस्पतिको विवरण
नेपालमा जम्मा ६ किसिमका कटिबन्ध क्षेत्र (जोन वा रिजन) छन्। ती उष्ण (एक हजार मिटरसम्म), उपोष्ण (एक हजार एक देखि दुई हजार मिटरसम्म), समशीतोष्ण (दुई हजार एक देखि तीन हजार मिटरसम्म), उपलेकाली (तीन हजार एकदेखि चार हजार मिटरसम्म), लेकाली (४ हजार एकदेखि पाँच हजार मिटरसम्म) र हिमाच्छादित (६ हजार मिटरभन्दा माथि) कटबन्धीय क्षेत्रहरू हुन्।
काठमाडौँमा पाइने दुई किसिमका कटबन्धीय क्षेत्रहरू उपोष्ण र समशीतोष्ण हुन्। मिहिन तरिकाले हेर्ने हो भने विभिन्न ठाउँको वनस्पति भिन्नाभिन्नै खालका छन्।
नागार्जुन क्षेत्र
बालाजुभन्दा माथि फूलबारी प्रवेशद्वारबाट यात्रा शुरू गरिने यो क्षेत्र एकदिने पैदल यात्राको लागि उपयुक्त गन्तव्य हो। धेरै छोटो अवधिको छुट्टी भएका तर प्रकृतिको आनन्द लिन चाहने मानिसका लागि प्रसिद्ध नागार्जुनको जामाचो गुम्बाबाट काठमाडौँ शहरका साथै लाङटाङ हिमाल शृङ्खलाको सुन्दर दृश्य देख्न सकिन्छ। यही नागार्जुन र उत्तरमा रहेको शिवपुरी डाँडाबाट शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको नामकरण गरिएको हो। जामाचो गुम्बा पुग्न ठाडो उकालो पैदल यात्रा वा मोटर बाटो हुँदै यात्रा गर्न सकिन्छ।
यहाँ फराकिलो पात भएका उपोष्ण कटबन्धीय वनस्पतिको जंगल व्याप्त छ। चिलाउने–कटुसको जंगल (एक हजार मिटर देखि एक हजार ८०० मिटरसम्म), कम उचाइमा रहेको समशीतोष्ण मिश्रित फराकिलो पातको जंगल (एक हजार ५०० देखि १८०० मिटरसम्म), सुक्खा कटुसको जंगल (एक हजार ८०० खोटे सल्लाको जंगल (एक हजार मिटरदेखि एक हजार ८०० मिटरसम्म) बाँझ–फलाट–गुराँसको जंगल (दुई हजार मिटरभन्दा माथि) पनि छ।
चिलाउने–कटुस जंगलका प्रमुख रूख चिलाउने, ढाल्ने कटुस, मुसुरे कटुस हुन्। कम उचाइमा रहेको समशीतोष्ण मिश्रित फराकिलो पातको जंगलका प्रमुख रूखहरू चिलाउने, फलाट, ढाल्ने कटुस, मुसुरे कटुस, फिरफिरे, सिलिंगी, काली काठ, मौवा, नालसुरा, जुरे मयल, पूँवाले, बयर, काफल र लालीगुराँस हुन्।
सुख्खा कटुसको जंगलमा पाइने रूख फलाट, अँगेरी, ढाल्ने कटुस, मुसुरे कटुस र वन चाँप हुन्। अन्य रूख फलाट, अङगेरी, लीगुराँस, बाँझ, अर्कौलो, खडिक, दबदबे, लेख मयल, फिरफिरे, गोगने र खस्रु हुन् भने यहाँ सुगा फूल, धुच्चु फूल, चुत्रो र निगालो पनि प्रशस्त मात्रामा पाइन्छन्। उचाइ बढेसँगै मिश्रित कटुस बिस्तारै शुद्ध कटुसको जंगलमा पारिणत हुँदै गएको देख्न सकिन्छ।
कम उचाइमा खोटे सल्लो तथा उच्च स्थानमा गोब्रे सल्लो देख्न पाइन्छ। सल्लाका जंगलमा पाइने विभिन्न वनस्पतिहरू मौवा, फलाट, अंगेरी, लालिगुराँस, फुर्से घाँस, रस धनीयारो र गठिहारे वा गाईतिहारे हुन्।
चिसा खोल्सा र खोँचमा उतिसको जंगल निक्कै नै देख्न सकिन्छ। यहाँका मुख्य झाडीजन्य वनस्पति घंगारु, ढँटेलो, बरूवा, जामने मान्द्रो, ऐँसेलु, भैँसीकाँडे गुलाब, केरी, खरेटो, घोडे खरी, सानो झिंगाने र धसिंग्रे हुन्। नागार्जुनको उतिस–चिलाउने–कटुसको जंगलको भुइँमा यथेष्ट मात्रामा निगालो र मालिंगोको झाडी पनि देख्न पाइन्छ भने वनमारा र काफलका विरुवा जंगलको सिमानामा देख्न पाइन्छ।
शिवपुरी क्षेत्र
उपत्यकाको उत्तरमा रहेको शिवपुरी क्षेत्रले शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको ठूलो भाग ओगटेको छ। पानीमुहानमा निकुञ्जको मुख्य कार्यालय रहेको छ भने यहाँबाट विभिन्न ठाउँमा जान सकिन्छ। प्रमुख पदमार्गहरू पानीमुहान–शिवपुरी शिखर, नागीगुम्बा–बागद्वार–चिसापानी, नागीगुम्बा–शिवपुरी शिखर, ककनी–शिवपुरी झुजे(झुले)–चिसापानी, सुन्दरीजल–चिसापानी, बुढानीलकण्ठ–मुड्खु भन्ज्याङ, बुढानिलकण्ठ–मुड्खु भन्ज्याङ–झुले–चिसापानी–सुन्दरीजल, इत्यादि हुन्।
यो क्षेत्रमा मुख्यतः चार किसिमको जंगल पाइन्छ। यहाँ सदाबहार मिश्रित फराकिलो पातयुक्त वन (एक हजार मिटरदेखि एक हजार ५०० मिटरसम्म), खोटे साल्लाको वन (एक हजार मिटरदेखि एक हजार ६०० मिटरसम्म), माथिल्लो मिश्रित कडा काठयुक्त वन (एक हजार ५ सय मिटरदेखि दुई हजार ७ सय मिटरसम्म) र कटुस–लालीगुराँसको वन (दुई हजार तीन सय मिटरदेखि दुई हजार ७०० मिटरसम्म) यथेष्ट रूपमा पाइन्छन्। वन क्षेत्रभन्दा माथिल्लो उचाइमा र कहीँ बीच–बीचमा साना खुला घाँसे मैदान पनि देख्न सकिन्छ।
सदाबहार मिश्रित फराकिलो पातयुक्त वनका मुख्य विरुवाहरू चिलाउने, ढाल्ने कटुस, मुसुरे कटुस, उतिस, पैन्युँ, मयल र कदम हुन्। खोटे साल्लाको वनमा काफल र मयल मुख्य विरुवाका रूपमा पाइन्छन्। माथिल्लो मिश्रित कडा काठयुक्त वनमा मयल, पांग्रा, ओखर, उतिस, फलाट, बंगा, खस्रु र लालीगुराँस देख्न सकिन्छ भने कटुस–लालीगुराँसको वनमा पाइने खस्रु, कटुस, पुंवाले, वन चाँप र सानो झिंगाने जस्ता विरुवाहरू व्यापक रूपमा पाइन्छन्। चार प्रकारका वनमा कालो शिरिष, ढाले कटुस, काफल, मुसुरे कटुसलगायत धेरै प्रजातिका सुनगाभा, ऐँसेलु, मगर काँची र अन्य प्रकारका फूलहरू पाइन्छन्। यस क्षेत्रबाट नेपालमा मात्र पाइने ऐँसेलु प्रजातिको ‘रुबस दोर्जेई’ र काग चुच्चे फूलको प्रजाति ‘थुन्बर्जिया कसजुवा’ संकलन र वर्णन गरिएका छन्।
ककनी–टोखा क्षेत्र
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने यो क्षेत्रलाई पनि अत्यन्त घना जंगलले ढाकेको छ। यो क्षेत्रमा भ्रमण गर्न सकिने मार्गहरू बुढानीलकण्ठ–टोखा, बुढानीलकण्ठ–टोखा–गुर्जे भञ्ज्याङ, ककनी–गुर्जे भञ्ज्याङ, गुर्जे भञ्ज्याङ–झोर, इत्यादि हुन्। यहाँ मुख्यतः उतिस, चिलाउने, ढाल्ने कटुस र लालीगुराँसको आधिपत्य छ। यस क्षेत्रबाट नेपालमा मात्र पाइने मगर काँची प्रजातिको ‘बेगोनिया नुवाकोटेएन्सिस्’ संकलन र वर्णन गरिएको छ।
सुन्दरीजल–चिसापानी–साँखु क्षेत्र
यो क्षेत्र पनि निकुञ्जको उत्तरमा पर्दछ भने यहाँ सुन्दरीजलदेखि चिसापानीसम्मको फलाट–कटुसको घना जंगल देख्न सकिन्छ। विशेषगरी वन क्षेत्र सुन्दरीबाट शुरू भएर मूलखर्क गाउँको माथिल्लो सिमाना हुदै चिसापानीसम्म पुग्छ। वन क्षेत्रभन्दा माथिल्लो उचाइमा साना खुला घाँसे मैदानहरू पनि पाइन्छन्। फलाट–कटुसको जंगलमा विभिन्न प्रजातिका सुनगाभा, उन्युका साथै घंगारु, मयल, मोलो, असारे आदि प्रजातिका वनस्पतिहरू पाइन्छन्।
धेरै घुम्न चाहनेलाई झुले गाउँबाट नगरकोट वा साँखु वा सिधै सुन्दरीजल वा सुन्दरीजल–मनिचौर–साँखु जाने विकल्प छ। यो क्षेत्रबाट मनास्लु देखिनुका साथै पूर्वतिर गौरीशंकर हिमाल र उत्तरतिर गणेश हिमाल, लाङटाङ, लिरुङ, दोर्जे लाक्पाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। साँखुदेखि बज्रयोगिनीसम्मको पदयात्राले वनस्पति मात्र नभएर नेवारी शहर र त्यहाँको संस्कृतिको पनि अनुभव गर्ने अवसर प्राप्त हुन्छ। यो क्षेत्रमा साली नदीजस्तो पवित्र तीर्थस्थल हुनुका साथै खोला किनारमा चिसो र ओसिलो जमिनमा पाइने विरुवाका यथेष्ट प्रजातिहरू अवलोकन गर्न सकिन्छ।
साँखु–नगरकोट क्षेत्र
यातायातबाट सजिलै पुग्न सकिने यो क्षेत्रमा उत्तर–पूर्वको गुल भञ्ज्याङ हुदै साँखु वा साँखु–गुल भञ्ज्याङ–नगरकोट–शिखरकोट–नाला–धुलिखेल हिँड्दा देखिने चिलाउने–कटुस–फलाट–लालीगुराँसको जंगलमा असारे, घोडेखरी, वनमारा, ऐँसेलु र घोडटाप्रे जस्ता वनस्पतिले थकान मेटाइ दिन्छन्। यो क्षेत्र अरू ठाउँभन्दा केही सुख्खा भएकाले कमै मात्रामा वनस्पतिका प्रजातिहरू पाइन्छन्।
गोदावरी–फूलचोकी क्षेत्र
उपत्यकाको दक्षिणपूर्वी भागमा रहेको गोदावरी–फूलचोकी क्षेत्र वनस्पतिका दृष्टिकोणले अन्य क्षेत्रजस्तै मनमोहक छ। गोदावरीमा रहेको राष्ट्रिय वनस्पति उद्यान जो कोहीले पनि घुम्नै पर्ने ठाउँ हो। यो सन् १९६२ मा स्थापना भएको हो र यहाँ एक हजारभन्दा धेरै किसिमका वनस्पति संरक्षण गरिएका छन्।
वनस्पतिमा रुचि राख्नेहरूको लागि जैविक विविधता उद्यान, भीभीआईपी वृक्षारोपण क्षेत्र, ढुंगे उद्यान, पानीको झरनासहितको विशेष बगैँचा, मौसमी फूल बगैँचा, सुनगाभा घर, सिउँडी घर, लालीगुराँस बगैँचा, मौसमी सजावटी फूल, जंगली सुनगाभा, औषधीय वनस्पति, दुर्लभ, लोपोन्मुख र रैथाने विरुवाको संकलन, ‘एथनोबोटानिकल गार्डेन’, ‘ट्रपिकल हाउस’, राज्याभिषेक पोखरी, विरुवा वर्गीकरण बगैँचा, लिली बगैँचा र जापानी बगैँचा त छुट्याउनै नहुने स्थानहरू हुन्। यसैगरी बसपार्क क्षेत्रमा रहेका चिलाउने, उतिस, कटुसका ठूला रूखसँगै ती रूखहरूमा झुण्डिएर उम्रेका विभिन्न प्रजातिका सुनगाभा प्रमुख आकर्षण हुन्।
गोदावरीको धाराबाट ठाडो हुँदै फूलचोकीको टुप्पोसम्म पुग्न सकिन्छ। गोदावरीदेखि फूलचोकीसम्मको सडक दूरी १६ किलोमिटर छ। जुनसुकै मौसममा पनि कुनै न कुनै फूल फुल्ने हुँदा विरुवामा रुचि हुने र विरुवाको तस्वीर खिच्न सौखिन जो कोहीका लागि अत्यन्त रोचक ठाउँ हो यो। गोदावरीबाट नौधारा, फलामखानी, चापाखर्क हुँदै गोदावरी बसपार्क र गोदावरी–लेले घुम्नयोग्य मार्ग हुन्।
यो क्षेत्रमा पाइने उतिस–चिलाउने–कटुस–फलाटको जंगलमा मिसिएका लालीगुराँस, गोगने र अन्य हरिया विरुवाहरूमा झुण्डिएर उम्रेका सुनगाभा, भुइँमा उम्रने लोक्ताजस्ता विरुवा र फूलचोकीको शिखरमा रहेको फूलचोकी माईको पवित्र थानको अनुभव गर्न पाउनु जो कोहीका लागि उत्तम अवसर हो। यिनीहरूका साथै फूलचोकीको टुप्पोबाट हिउँले ढाकिएको हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। यस क्षेत्रबाट नेपालमा मात्र पाइने वनस्पतिको एक प्रजाति ‘रयाबडोसिया फूल्चोकीइन्सिस’ संकलन र वर्णन गरिएको छ। यसैगरी यहाँबाट नेपालको लागि सुनगाभाको एक प्रजाति ‘सिफालन्थेरा इरेक्टा’ पनि संकलन र वर्णन गरिएको छ।
हात्तीवन–चन्द्रागिरि–इन्द्रदह क्षेत्र
प्रमुख तिर्थस्थल भष्मासुर र चम्पादेवी यस क्षेत्रका प्रसिद्ध मन्दिर हुन्। दुवै तिर्थस्थलमा कीर्तिपुर पाँगा, बोसान गाउँ, भत्केपाटी, मत्स्यगाउँ, विष्णुपाउ, चोभार, हात्तीवन, चाल्नाखेल, मातातिर्थ र थानकोटबाट सजिलै पुग्न सकिन्छ।
चिलाउने–कटुससँगै मौवाका साथमा उम्रेका शिरीषका रूख यहाँका प्रमुख वनस्पति हुन् भने कोइरालो, गुलाब, मलकाती, कुकुरदाइनोका प्रजातिहरू र भोर्ला यहाँ पाइने अन्य विरुवा हुन्। हात्तीवनको खोटेसल्लाको जंगल बिस्तारै कटुस प्रजातिका विरुवाहरूले उच्च स्थानहरूमा प्रतिस्थापन गरेको देख्न पाइन्छ भने गोब्रे सल्लाका रूखहरू चम्पादेवीको टुप्पो पुग्दा नपुग्दै देख्न पाइन्छ। भष्मासुरको शिखरमा भने फुर्के पात, जिब्रेघाँस, अरेटो, युरिलो, धुचु फूल, ऐँसेलु र जमिनमा उम्रने सुनगाभाहरू पाइन्छन्।
दूधपोखरी–मत्स्य गाउँको बाटो पनि वनस्पतिका हिसाबले निक्कै रोचक र महत्त्वपूर्ण मानिन्छ। हुन त मुख्य विरुवा चिलाउने–कटुस भए तापनि यहाँ जमिनमा भने थुप्रै किसिमका वनस्पति देख्न पाइन्छ।
थानकोटको अलि उत्तरमा रहेको इन्द्रदह क्षेत्रमा थानकोट, कलंकी र सतुंगलबाट पुग्न सकिन्छ। यहाँ भुइँमा उम्रने विरुवा, केही ठूला रूखहरू र तिनीहरूमा उम्रने बोटहरू प्रशस्त मात्रामा पाइन्छन्। यहाँबाट नेपालको लागि नयाँ वनस्पति भनेर ‘होया पोलिन्युरा’’ संकलन गरिएको छ।
सूर्यविनायक क्षेत्र
सूर्यविनायक वनको छोटो यात्रा पनि अनुभव गर्न लायक छ। सानो चिलाउने–कटुसको जंगलमा मनमोहक ‘डेन्ड्रोबियम हेटेरोकार्पम’ नामको सुनगाभा प्रचुर मात्रामा पाइन्छ। काफलसँगै चुल्सी, अंगेरी र विभिन्न प्रकारका उन्यु र उन्युजन्य प्रजातिका वनस्पतिहरू प्रशस्त संख्यामा पाइन्छन्। यो क्षेत्रमा जति वनस्पति प्रख्यात छन् त्यति नै सूर्यविनायक गणेश पनि प्रख्यात छ। जगाती–सूर्यविनायक–सिपाडोल प्रमुख पदमार्ग हो र यो जम्माजम्मी चार घण्टामा पार गर्न सकिन्छ।
गोकर्ण जंगल क्षेत्र
गोकर्ण उपत्यकाको उत्तर–पूर्वी भागमा अवस्थित छ र यहाँ मिश्रित चौडा पात भएका रूखहरूको जंगल छ। यहाँ मुख्यतः चिलाउने, मुसुरे कटुस, ढाले कटुस, फिरफिरे, सिरिंगे, काली काठ, मौवा, जुरे काफल काल्चे, काली पहेँलो, पहेँलो खपटे, सिलटिमुर र पुँवाले जस्ता वनस्पतिहरू पाइन्छन् भने जंगलमा लोक्ता, फितिफिया, दमाई फूल, केरी, वन काँगियो र राजकलीजस्ता सुन्दर फूलहरू पाइन्छन्। गोकर्ण उपत्यकाका विभिन्न स्थानबाट सडक हुँदै सजिलै पुग्न सकिन्छ।
नदी किनारा
काठमाडौँका अधिकांश नदी किनारहरू सडक वा उपत्यकाको बढ्दो बस्तीको विस्तारले ढाकिँदै गएका छन् तर नदी किनारमा धेरै जलचर विरुवाहरू, बाली–नाली, झार र घाँस प्रजातिका बोटविरुवाहरू देख्न सकिन्छ। अन्य विरुवाहरू भने बेथे, नखर सिम्बी, वनलुँडे र गाँजा हुन्।
नख्खु किनारै–किनार व्यक्तिगत इच्छाअनुसार केही घण्टादेखि दिनभरिको यात्रा गर्न सकिन्छ। बागमतीको किनार हिँड्दा भने सुन्दरीजल–गोकर्ण–पशुपति–शंखमूल–चोभारको बाटो जान सकिन्छ। कीर्तिपुर सुन्दरीघाट–चोभार पनि एक उत्तम मार्ग हो। यी मार्गमा सधैँ झार र घाँसका प्रजातिहरू हेर्न पाइन्छ।
काठमाडौँ उपत्यकाका अन्य उल्लेखनीय नदी शेषमती, मनोहरा र हनुमन्ते हुन्। यद्यपि, नदी किनारमा हिँड्न मन पराउने पदयात्रीहरूले गर्मी मौसममा सावधानी अपनाउन उपयुक्त हुन्छ अन्यथा वर्षा याममा नदी किनाराहरूमा यात्रा गर्दा अप्रत्याशित रूपमा वर्षाको पानीको मात्रा बढ्न गई भेलका कारण समस्या हुन सक्छ।
सारांश
काठमाडौँ उपत्याकाको वनस्पति अत्यन्त समृद्ध छ र यहाँ निम्न प्रकारका वनस्पतिको समूह छन्। उपत्यकाका समथर भाग र डाँडाहरूका भिराला पाखाहरूमा चिलाउने–कटुस–फलाट यथेष्ट मात्रामा छन्। कटुस–फलाट अलि माथिल्लो उचाइमा देख्न सकिन्छ भने खोटे सल्लाका जंगल चोभार, नागार्जुन, विशंखुनारायण, बडीखेल, हात्तीवन र शिवपुरीमा देख्न सकिन्छ।
बाँझ शिवपुरी, फूलचोकी, र चाद्रागिरीका पाखाहरूमा देख्न सकिन्छ भने बाँझ–गोब्रे सल्ला मनिचौर र नगरकोटमा देख्न सकिन्छ। यसैगरी गोगने र सदाबहार झाडी र सानो रूखका विभिन्न प्रजातिहरू फूलचोकीको बीचतिर भेटिन्छन्। खस्रुको जंगल शिवपुरी र फूलचोकीमा व्याप्त छ। लालीगुराँस भने उपत्यका वरपरका डाँडाहरूका भिराला पाखाहरूमा जताततै भेटिन्छ। यहाँ अन्य धेरै किसिमका फूल फुल्ले विरुवा, लेउ र काइका विभिन्न प्रजातिहरू पाइन्छन्।
काठमाडौँ उपत्यका वरपरका विरुवाहरूको विविध उपलब्धताले बाह्य र आन्तरिक पर्यटनको लोभलाग्दो सम्भावना छ। यहाँ वनस्पतिको अध्ययन–अनुसन्धान, अवलोकन र उचित आर्थिककोपार्जन गर्न सकिने ठूलो अवसर छ। त्यसैले संघीय, प्रदेश र स्थानीय सरकारले आन्तरिक तथा बाह्य दुवै पर्यटनको यथेष्ट प्रवर्द्धनमा ध्यान दिनुका साथै विभिन्न प्रकारका वनस्पति र तिनको योगको बारेमा स्थानीय ज्ञान संकलन र प्रवर्द्धन गर्न जरुरी छ।
यसका अतिरिक्त उपत्यकाका विभिन्न भागहरूमा आतिथ्य सुविधाहरूको प्रवर्द्धन र पैदल मार्गहरूको सुधारमा पनि ध्यान दिन जरुरी छ। स्थानीय जनताको सहभागिता र प्राकृतिक स्रोत साधनको सदुपयोग गर्न सकेमा साँच्चै नै पर्यटन उद्योगबाट हामीले सामाजिक र आर्थिक स्तरमा सुधार ल्याउन सक्छौँ। परम्परागत पर्यटनको प्रवर्द्धनका साथै समग्र र नयाँ अवधारणा अनुरूप पर्यटन उद्योगको सुधार र व्यवस्थापन गर्न जरुरी छ। तसर्थ, हामी एकजुट होऔँ, आफ्नो ज्ञान बाँडौँ बाहय मात्र नभई आन्तरिक हिसाबले काठमाडौँ उपत्यका वरपरको पर्यटन क्षेत्रको विकास गरौँ।
रोकाया चेक रिपब्लिकस्थित इन्स्टिच्युट अफ बोटनी तथा ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युटको चेक एकेडेमी अफ साइन्सेजमा कार्यरत छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
