सद्भाव बिथोलिनेखालका घटनाक्रम तीव्र बनेपछि मंगलबारदेखि कर्फ्यु लगाइएको नेपालगन्जमा सद्भाव बिथोल्न केही समूह सक्रिय रहेको सूचना साढे तीन महिनाअघि नै गृहमन्त्रालय पुगेको थियो।
नेपालगन्ज– पश्चिम नेपालको ठूलोमध्येको शहर नेपालगन्जमा सामाजिक सद्भाव बिथोलिने खालका घटनाक्रम तीव्र बनेपछि मंगलबार दिउँसोदेखि अनिश्चितकालका लागि कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार र मंगलबार नेपालगन्जमा भएका घटनाले सुरक्षा र शान्ति भंग हुने अवस्था देखापरेको भन्दै कर्फ्यु आदेश जारी गरेको हो। बुधबार पनि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी छ।
सामाजिक र धार्मिक अगुवादेखि राजनीतिक दलका नेता–कार्यकर्ता, उद्योगी–व्यवसायी, पेशाकर्मी लगायतले संयम अपनाउन र आपसी सद्भावमा आँच आउने कुनै क्रियाकलाप नगर्न अपिल गरिरहेका छन्। बुधबार अपराह्न बसेको सर्वपक्षीय बैठकले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउनेजस्ता कानून विपरीत कार्य गर्ने जोकोहीलाई तत्काल कानून बमोजिम कारबाही गर्ने निर्णय गरेको छ।
त्यस्तै, सामाजिक सद्भाव कायम राख्ने र अब उप्रान्त सद्भाव भड्किन नदिने प्रतिबद्धतासहित सबै क्षेत्र, तह र तप्काको उल्लेख्य प्रतिनिधित्व हुनेगरी सद्भाव र्याली आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ।
सामाजिक सञ्जालमा लेखिएको स्टेटस र त्यसमा दिइएको प्रतिक्रियाले शुरू भएको तनाव बढ्दै जाँदा नेपालगन्जमा मंगलबार बिहान दुई समुदायबीच मुठभेडको अवस्था सिर्जना भएको थियो। त्यसपछि, प्रशासनले लगातार कर्फ्यु लगाएरै तनाव साम्य पार्ने प्रयास गरिरहेको छ। कर्फ्युपछि नेपालगन्जमा तोडफोड, आगजनी र प्रदर्शन रोकिएको छ। तर जुनसुकै बेला तनाव बढ्न सक्ने आशंकामा नेपालगन्ज त्रस्त छ।
सामाजिक अगुवाहरूले सम्भावित खतरा आकलन हुँदाहुँदै पनि समयमै प्रशासन र प्रहरी गम्भीर नदेखिएकाले नेपालगन्जमा सद्भाव बिथोलिने अवस्थामा पुगेको बताएका छन्। सद्भाव कायम गर्न अहोरात्र खटेका एक सामाजिक अगुवाले बुधबार साँझ भने, “कर्फ्यु आदेश जारी गर्दा सीडीओले जारी गरेको सूचना देखिहाल्नुभो, त्यो सद्भावका हिसाबले संवेदनशील सूचना थिएन। प्रहरी र प्रशासनले परिस्थितिलाई गम्भीर रुपमा लिनै सकेन। हामी अहिले त्यसैलाई मत्थर पार्न जुटेका छौँ।”
साढे तीन महिनाअघि गृहमन्त्रीलाई गरिएको लिखित अनुरोध
भदौ दोस्रो साता पूर्वको शहर धरान र त्यसपछि मधेश प्रदेशको मलंगवा ‘धार्मिक अतिवाद’को आगोबाट बल्लबल्ल जोगिए। सद्भाव बिथोल्ने यस्तै प्रयत्न नेपालगन्जमा भएको नागरिक अगुवाहरूको भनाइ छ।
तर नेपालगन्जमा धार्मिक तथा सामाजिक सद्भाव बिथोल्ने योजनाबद्ध प्रयास भइरहेको सूचना सरकारले धरान र मलंगवा घटनाभन्दा पहिल्यै पाएको थियो। नेपालगन्जमा बस्ने पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले गएको असार ३ गते नै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पत्र लेखेर यसबारे विस्तृत जानकारी गराएका थिए।


“बाँके जिल्लामा अहिले धर्मका नाममा कैयौँ व्यक्ति, समूह र संस्था उन्मादी देखिएका छन्। उनीहरूका गतिविधि आफ्नो धर्म सम्प्रदायको संरक्षण र प्रबर्धन गर्नुभन्दा पनि अमुक धर्ममा आस्था राख्नेहरूविरुद्ध दुष्प्रचार र आरोपित गर्न लक्षित हुन्छन्। जसले गर्दा यहाँको सामाजिक सद्भावमा जोखिमपूर्ण अवस्थाले बढावा पाइरहेको छ,” उनले गृहमन्त्रीलाई पठाएको पत्रमा लेखेका थिए, “यस्ता गतिविधिउपर निगरानी गर्ने र नियन्त्रणमुखी उपाय अपनाउनेतर्फ जिल्लास्थित सुरक्षा तथा प्रशासनिक अंगहरूबाट खासै सक्रियता र जिम्मेवारी बहन देखिँदैन। यी सबै कारणले गर्दा धार्मिक समुदायका व्यक्तिहरू दबाबमा परी घुटन महसुस गरिरहेका छन्। उनीहरूको घुटन आफूविरुद्धका गतिविधिहरूको प्रतिकारमा नबदलियोस् भन्नेतर्फ राज्य यथाशीघ्र चनाखो हुन जरुरी छ।”
पत्रमा उनले ‘यी समग्र परिस्थितिलाई गृहमन्त्रीले मनन गर्ने’ आशा व्यक्त गर्दै लेखेका थिए, “वर्तमानमा भएको चुकले भविष्यका सम्भावित घटनालाई परिस्थितिजन्य भन्नुपर्ने अवस्था आउन दिनुहुने छैन भन्ने अपेक्षाका साथ सामाजिक सद्भाव चाहने बाँकेबासीका तर्फबाट तपाईंलाई यो पत्र लेखेको हुँ। आशा छ, यो विषयमा गृहमन्त्रीज्यूको ध्यानाकर्षण हुनेछ, शान्ति सुरक्षाको पर्याप्त इन्तजाम हुनेछ। र, धार्मिक–सामाजिक सद्भाव जोगाउँदै विद्यमान शासन व्यवस्था नै मास्ने प्रतिगामी शक्तिहरूको कुत्सित मनसाय पूरा हुन नदिन कारबाही प्रक्रिया अघि बढाइनेछ।”
गृह मन्त्रालयले यसपछि कस्तो सजगता अपनायो भन्ने त प्रष्ट छैन, तर मंगलबार नेपालगन्जमा कर्फ्यु लगाउने अवस्था आएपछि धेरैले प्रहरी–प्रशासनले समयमै परिस्थितिलाई गम्भीर रुपमा नलिएको बताएका छन्। गृहमन्त्री श्रेष्ठ बुधबार मात्र सर्लाहीको सदरमुकाम मलंगवामा पुगेर त्यहाँ केही सातादेखि देखापरेको तनावबारे जानकारी लिएका छन्।
राईले बुधबार साँझ उकालोसँग भने, “हिजो कर्फ्यु लागिसकेपछि गृहमन्त्रीज्यूले दुईपटक फोन गर्नुभो। तपाईंले पहिले भने जस्तै अवस्था आयो भन्नुभो। पहिले नै परिस्थितिलाई गम्भीरतापूर्वक लिइएको भए यो अवस्था आउँदैनथ्यो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
