नुवाकोटमा आमाछोरीको हत्या, एकजना पक्राउ

नुवाकोटको दुप्चेश्वर–५ का २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको थियो।

नुवाकोट– नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन्।

सोही स्थानका २१ वर्षीय सोनम तामाङलाई प्रहरीले मंगलबार बिहानै पक्राउ गरेको हो। स्थानीय २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको थियो।

घटनालगत्तै साेनम फरार रहेको पाएपछि काठामाडौँतर्फ जान लागेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी रुपक खड्काले बताए। खड्काका अनुसार घटनास्थलमा सोनमले बोकेको घरेलु हतियार र उनको चप्पल भेटिएको छ।

धारिलो हतियारले घाँटीसहित शरीरको विभिन्न अंगमा प्रहार गरेर आमाछोरीको हत्या गरेको प्रहरीकाे अनुमान छ। घरको आँगनमा आमा र पिँढीमा छोरीको शव भेटिएको प्रहरीले जनाएकाे छ।