चन्द्रागिरी नगरपालिका वडा नम्बर २ मा साबिकका करिब २१ वटा पानीका मुहानमध्ये ६-७ वटा सुकिसकेका छन्। बाँकी पनि क्रमश: सुक्ने अवस्थामा छन्।
काठमाडौँ– वर्षभरिजसो नै पानी नसुक्ने भोटेखोल्सा बर्षायाममा ठूलो बेगले बग्ने गर्थ्यो। तीजका ब्रतालु महिलाहरू यहीँ जम्मा हुन्थे। ढुंगेधारामा टाउको थाप्नै डराउनुपर्ने बेगको छाँगो थियो। महिलाहरूलाई नुहाइधुवाइ सकेर चपाएका दत्तिवन सेलाउन अन्त जानु पर्दैनथ्यो।

चन्द्रागिरी नगरपालिका- २ मा रहेको भोटेखोल्सा स्थानीय मात्र नभई वरपरका टोलवासीको निम्ति पनि पानीको प्रमुख स्रोत थियो। मुहाननजिकै 'इन्टेक' बनाएर कोइरालाथोकदेखि तीनथानासम्मका बासिन्दाले यहीँको पानी उपभोग गर्थे।

यसै खोल्साको छेउमा गीता सिग्देलको घर छ। घरभन्दा करिब १७० मिटरमुनि सुरुङमार्ग निर्माणको काम चलिरहेको छ। निर्माणका गतिविधिले जमिनमा कम्पन हुँदा यहाँका घरहरूमा दरार देखिन थालेका छन्। सुरुङ खनिएका कारण यस क्षेत्रका कैयौँ पानीका मुहानहरूसमेत सुक्न थालेका छन्।

त्यही कारण यसपालि भोटेखोल्सामा मनसुनी वर्षा नसकिँदै चिस्यान छैन। सुख्खा बालुवा र झारहरूले खोल्सा भरिएको छ। पानी सुकेपछि ब्रतालुहरू जम्मा नहुँदा यसपटकको तीजमा यो खोल्सा सुनसान रह्यो। भोटेखोल्साबाट केही पर छ ऐँसेलुचौर। साँझपख टहल्दै गरेकी स्थानीय सुशिला सिग्देलले पानीको मुहान सुक्दै गएको बताइन्। उनका अनुसार अघिल्लो वर्षसम्म पर्याप्त पानी बग्ने मुहानहरू अहिले सुख्खा छन्।

२०७२ सालको भूकम्पले जमिन खल्बल्याउँदा केही समय बिथोलिएको मुहान पछि सुचारु भएको थियो। हाल निर्माण भइरहेको नौबिसे नागढुंगा सुरुङमार्गको कारण मुहानहरू एकाएक सुक्न थालेको उनले बताइन्। उनका अनुसार आयोजनाले घरैपिच्छे धारा वितरण गरेता पनि दैनिक १/२ घन्टा भन्दा पानी नआउँदा समस्या चर्को छ।

सुशिलासँगै भेटिएकी स्थानीय कान्छी सिग्देलले खेतबारी सिँचाइ हुन छाडेको बताइन्। हिउँद-बर्षा नै पानी पर्याप्त हुने मुहानमा भदौदेखि नै पानी कम भएको थियो। "बाटो आयो, विकास आयो, राम्रो भयो। हामीलाई त्यसप्रति कुनै आपत्ति होइन, तर पानी पिउन पाउनुपर्यो , हामीले खोजेको त्यत्ति हो ," सिग्देलले उकालोसँगको संवादमा भनिन्।

चन्द्रागिरी नगरपालिका वडा नम्बर २ का अध्यक्ष भाइकृष्ण तामाङका अनुसार यस वडामा चालु रहेका करिब २१ वटा पानीका मुहानमध्ये ६-७ वटा सुकिसकेका छन्। बाँकी मुहान पनि क्रमश: सुक्ने अवस्थामा छन्। स्थानीयले आन्दोलन र संघर्ष गरेपछि आयोजनाले अहिले 'डिप बोरिङ'बाट पानी निकालेर वितरण गरिरहेको छ। साथै मुहानका पुराना इन्टेक र ट्यांकीहरूमा पनि ट्यांकरबाट लगिएका पानी राखेर बाँडिएको छ। तर यो पर्याप्त र दिगो नभएको वडा अध्यक्ष तामाङ बताउँछन्।

"स्थानीयले पटकपटक आन्दोलन र संघर्ष गर्दा भएका लिखित सम्झौताको सुनुवाइ हुन सकेन, त्यसैले हामीले देशका कार्यकारी प्रमुख (प्रधानमन्त्री) हाम्रोमा आइपुग्दा सबै कुरा राख्यौँ। अहिले प्रतिवेदन पनि आइसकेको छ। अब पुन: प्रधानमन्त्रीलाई भेटेर त्यसको कार्यान्वयन गर्न अनुरोध गर्छौं", अध्यक्ष तामाङले भने। सुरुङ मार्गका घरहरू चर्किने लगायतका अरू समस्या पनि रहेको उनले बताए।

गत भदौ १६ गते चन्द्रागिरी नगरपालिकामा आयोजित एक कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष वडा नम्बर २ का अध्यक्ष तामाङले निर्माणधीन सुरुङमार्गका कारण आफ्नो वडामा खानेपानीलगायतका विभिन्न समस्या सिर्जना भएको र सुनुवाइ नभएको गुनासो राखेका थिए। लगत्तै प्रधानमन्त्रीले आयोजना प्रमुखलाई फोन सम्पर्क गरेर एक हप्ताभित्र समस्या र समाधानसहितको प्रतिवेदन बुझाउन आयोजना प्रमुखलाई निर्देशन दिएका थिए। त्यसअनुरूप आयोजनाले अध्ययन गरेर प्रतिवेदन पेश गर्यो।

प्रतिवेदनमा जग्गा अधिग्रहण, सुरुङ खन्ने क्रममा जमिन कम्पन हुँदा घरहरूमा परेको प्रभाव, स्थानीयले भोगेका खानेपानीको अभाव लगायतका समस्या र तिनका समाधानको उपाय समेटिएका छन्। स्थानीय मुहानमा आउने पानी रसाएर निर्माणाधीन सुरुङ मार्गको मुखबाट बगिरहेकाले त्यही पानी 'लिफ्ट' गरेर सुक्खाग्रस्त क्षेत्रको अभाव पूरा गर्नु उपयुक्त हुने देखिएको पनि वडाध्यक्ष तामाङको भनाइ छ। तर यो विकल्पबारे नगरपालिकामा छलफल जारी छ।
थप कथा यो भिडियोमा:
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
