भारत-पाक युद्धमा चिनियाँ संलग्नताले दक्षिण एशियामा पार्ने प्रभाव

चीनको सक्रिय सहयोगले पाकिस्तानलाई रणनीतिक लाभ भएको छ। जसको कारण अहिले आएर सम्पूर्ण दक्षिण एशियाको शक्ति सन्तुलन बिथोलिएको छ।

सन् २०१९ मा भारत र पाकिस्तानबीच भएको झडप विशेषतः पाकिस्तानको बालाकोटमा भारतले गरेको हवाई हमला र त्यसपछिको घटनाक्रममा इलेक्ट्रोनिक साधनहरूको प्रयोगले महत्त्वपूर्ण भूमिका खेलेको थियो। यी साधनहरूको प्रयोगले दुवै पक्षको रणनीति, सुरक्षा र सूचना संकलन क्षमतामा उल्लेखनीय प्रभाव पारेको थियो। २०१९ को भारत-पाकिस्तान झडपमा इलेक्ट्रोनिक साधनको प्रयोगले युद्धको स्वरूपलाई नयाँ मोड दियो। अब युद्ध केवल मैदानमा नभई साइबर र इलेक्ट्रोनिक डोमेनमा पनि लडिनेछ भन्ने स्पष्ट देखियो।

२०२५ मेमा फेरि एक पटक दक्षिण एशिया सशस्त्र संघर्षको साक्षी बन्न पुग्यो, जहाँ भारत र पाकिस्तानबीचको तनाव युद्धमा परिणत भयो। यद्यपि, भारत र पाकिस्तानबीच युद्ध कुनै नौलो नभए पनि यस पटकको युद्धलाई फरक बनाउने मुख्य कारक चीनको प्रत्यक्ष सैन्य सहयोग रह्यो। विशेष गरी पाकिस्तानको वायुसेनामा चिनियाँ प्रविधि र जनशक्ति संलग्न हुनाका कारण भारतलाई अनपेक्षित रूपमा सुरक्षात्मक अवस्थामा आउन बाध्य पार्‍यो। यस द्वन्द्वको  परिस्थितिले दक्षिण एशियाको सुरक्षा सन्तुलन, भूराजनीति, कूटनीतिक सम्बन्ध, क्षेत्रीय सहकार्य र सैन्य होडमा दीर्घकालीन असर पार्नेछ।

भारत र पाकिस्तानबीचको सीमा मामला; विशेष गरी कश्मीरको विषय सन् १९४७ देखिको ऐतिहासिक विवाद हो। सन् २०२५ मा पुनः काश्मीरको पहलगाममा पर्यटकहरूको हत्या हुँदा सुरु भएको विवादले जटिल रूप लिँदा दुई राष्ट्रबीच लडाइँ सुरु भयो। प्रारम्भिक झडपहरू सीमित थिए तर पाकिस्तानले चीनबाट प्राप्त आधुनिक जे १० लडाकु विमान, पिल १५ मिसाइल, ड्रोन प्रणाली र साइबर वारफेयर युनिटहरूको उपयोग गर्दा युद्धमा नाटकीय परिवर्तन आयो। जसका कारण पाकिस्तानको वायुसेना आकस्मिक रूपमा सशक्त देखा पर्‍यो र भारतलाई सुरक्षात्मक रणनीति अवलम्बन गर्न बाध्य तुल्यायो।

पाकिस्तान-चीन सम्बन्धमा पाकिस्तानमा चीनको लगानीका कारण अझै सुदृढ र बहुआयामिक बन्दै गएको देखिएको छ। यी दुई देशबीचको "सर्वकालीन रणनीतिक सहकार्य साझेदारी" (अल वेदर स्ट्राटेजिक कोअपरेटिभ पार्टनरसिप) ले राजनीतिक, आर्थिक, सैन्य र कूटनीतिक क्षेत्रहरूमा गरिने सहयोगलाई प्रतिबिम्बित गर्छ। चीन-पाकिस्तान आर्थिक करिडोर (सीपेक), बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) र संयुक्त सैन्य अभ्यासहरूले यी दुई राष्ट्रको सम्बन्धलाई मजबुत पारेको छ। सन् २०२५ को युद्धमा चीनले पाकिस्तानको पक्षमा प्रत्यक्ष सैन्य समर्थन र सहयोग जनाउँदा यो सम्बन्धले नयाँ रणनीतिक आयाम प्राप्त गरेको छ। अब यो सम्बन्ध केवल आर्थिक वा कूटनीतिक नभएर स्पष्ट सैन्य गठबन्धनको रूपमा पनि अघि आएको छ। पाकिस्तानले विगत चार वर्षयता वायुसेनालाई साधन श्रोत र चीनमा तालिमद्वारा तैयारी गर्दा भारतीय ईन्टेलिजेन्स निकायले कसरी न्यून मूल्यांकन गरे, त्यो अचम्म लाग्दो छ।

अमेरिका, जापान, अस्ट्रेलिया र युरोपेली संघले भारतको पक्षमा प्रत्यक्ष समर्थन जनाउनु भन्दा पनि दुवै राष्ट्रलाई द्वन्द्व समाधान गर्नेतिर अनुरोध गरे, तर चीनविरुद्ध प्रत्यक्ष हस्तक्षेप गर्ने हिम्मत गरेनन्। यस घटनाले भारतमा विदेश नीति र रक्षा नीतिबारे खुल्ला बहस सुरु भएको छ।

चीनको सक्रिय सहयोगले पाकिस्तानलाई रणनीतिक लाभ उपलब्ध गराएको छ, जसको कारण अहिले आएर सम्पूर्ण दक्षिण एसियाको शक्ति सन्तुलन बिथोलिएको छ। परम्परागत रूपमा क्षेत्रीय शक्तिको रूपमा रहँदै आएको भारत अब बहुआयामिक खतराको सामना गरिरहेको छ। एकातर्फ पाकिस्तान र अर्कातिर चीनबाट।

यस घटनाले अन्य दक्षिण एशियाली राष्ट्रहरू (नेपाल, बांग्लादेश, श्रीलंका र भुटान) लाई पनि भविष्यमा असमञ्जसमा पार्ने छ। उनीहरू अब कुनै एक शक्तिकेन्द्रतर्फ झुक्ने वा तटस्थ बस्ने रणनीतिक गन्तव्यमध्ये एक छनोट गर्न बाध्य हुनेछन्। भारतले छिमेकी राष्ट्रहरूसँग आफ्नो स्वार्थअनुसार गर्ने व्यवहारमा कतिको सुधार गर्छ, त्यसले पनि भविष्यको सम्बन्ध निर्धारण गर्ने छ। छिमेकबारे भारतीय सञ्चार माध्यमले गर्ने अतिरञ्जित समाचारमा पनि भारतले नियन्त्रण गर्न जरुरी छ।

यस युद्धले भारतलाई अन्य राष्ट्रको मात्र भर नपरी भविष्यमा रक्षा प्रविधिको क्षेत्रमा नयाँ लगानी गर्न उत्प्रेरित गर्नेछ। भारतले क्वाड (अस्ट्रेलिया, भारत, जापान र अमेरिका) राष्ट्रहरूसँग सैनिक सहयोग बढाउने र इजरायल, फ्रान्स र रुससँग थप रक्षा सम्झौता गर्न सक्ने सम्भावना बढेको छ। अर्कोतर्फ पाकिस्तानले चीनबाट नयाँ विमान, ड्रोन, हाइपरसोनिक मिसाइल र हवाई रक्षा प्रणाली प्राप्त गरिराख्नेछ। यसले दक्षिण एशियामा हतियारको नयाँ होड थालनी गराउनेछ, जसले दीर्घकालमा अस्थिरता निम्त्याउन सक्नेछ।

यस युद्धमा चीनले पाकिस्तानलाई साइबर क्षेत्रमा पनि सहयोग गरेको देखिएको छ, जसले गर्दा भारतका सुरक्षा, सञ्चार, ऊर्जा र वित्तीय संस्थाहरूका डाटा चोरी भए, प्रणालीमा असर देखिए।  भविष्यमा यस्ता घटनाहरूमा बढोत्तरी देखिने छ। यस्ता अनौपचारिक युद्ध भविष्यमा पारम्परिक युद्धभन्दा बढी खतरापूर्ण हुने संकेत गरेको छ। दक्षिण एशियामा अब साइबर सुरक्षा पनि राष्ट्रिय सुरक्षाको मुख्य स्तम्भ बन्नेछ। भारत, पाकिस्तान र दक्षिण एशियाका अन्य राष्ट्रले पनि साइबर क्षमताको सुदृढीकरण गर्नुपर्ने छ।

यतिखेर, दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) जस्तो क्षेत्रीय सहयोग संस्था मृत प्राय: नै छ। दक्षिण एशियाली देशहरूले अब चिनियाँ कर्जा र परियोजनाहरू (बीआरआईअन्तर्गत) लिँदा सचेत हुनुपर्ने देखिन्छ। भारत पनि अब वैकल्पिक क्षेत्रीय व्यापार सञ्जाल निर्माणतर्फ लाग्ने सम्भावना छ, बिम्स्टेक र इन्डो-प्यासिफिक इकोनोमिक फ्रेमवर्क (आईपीइएफ) लाई उसले प्राथमिकता दिनेछ।

चीनले अब भारतविरुद्ध पाकिस्तानलाई मात्र होइन, दक्षिण एशियामा आफ्नो प्रभाव जमाउने रणनीति लिएको देखिन्छ। यसले भारतको प्रभावलाई सीमित गर्दै बांग्लादेश, नेपाल, श्रीलंका र मालदिभ्समा पनि आफ्नो कूटनीतिक रणनीति अझ तीव्र पार्ने छ।

भारतले यसको उत्तर स्वरूप जापान, भियतनामलगायत पूर्वी एशियाली राष्ट्रहरूसँग सहकार्य झनै बढाउने छ। प्रशान्त क्षेत्रको शक्ति सन्तुलनमा पनि उसले भूमिका बढाउने छ।

यसै पनि आर्थिक समस्या, बेरोजगारी र अन्धविश्वासमा जकडिएका भारत र पाकिस्तानका सर्वसाधारण नागरिकहरू युद्धका कारण थप पीडित हुने गरेका छन्। चिनियाँ सहायताका कारण पाकिस्तानमा राष्ट्रवादी भावना बढ्न झनै सहयोग गरेको छ, जबकि भारतमा चीनविरुद्ध असन्तोष चुलिएको छ। यसले दुवै देशमा आन्तरिक राजनीतिको दिशा बदलिने सम्भावना पनि देखिन्छ। सामाजिक सञ्जाल, सञ्चार माध्यम र समाचार प्रणालीहरू युद्धप्रतिको जनधारणालाई आकार दिने कारक बन्दै गएका छन्। भारतमा स्वदेशी उत्पादन, आत्मनिर्भरता र सुरक्षालाई प्राथमिकता दिने जनचेतना बलियो हुँदै गएको छ।

अन्त्यमा, २०२५ को भारत-पाकिस्तान युद्धमा चीनको प्रत्यक्ष सहभागिताले केवल दुई मुलुकबीचको द्वन्द्व मात्र नभई सम्पूर्ण दक्षिण एशियाको सामरिक, कूटनीतिक, आर्थिक, र सामाजिक संरचनामा गहिरो असर पार्ने महत्त्वपूर्ण घटना बनेको छ। चीनको पाकिस्तान प्रतिको समर्थनले शक्ति सन्तुलन बिथोलिएको छ भने भारत अब आफ्नो रणनीतिक सोच, साझेदारी र सुरक्षा नीति पुनः सच्याउन बाध्य भएको छ। आगामी दशकमा दक्षिण एशिया नयाँ शक्ति संघर्षको मैदान बन्न सक्छ, जहाँ केवल सैन्य क्षमता मात्र होइन, आर्थिक, प्राविधिक र कूटनीतिक रणनीति निर्णायक हुनेछन्।

(मल्ल नेपाल प्रहरीका पूर्वडिआइजी हुन्। विचार खण्डमा छापिएको सामग्री लेखकको निजी हो।)