काठमाडौँ– बुद्धिराज बज्राचार्य (८८)को दैनिकी बिहान ८ बजेबाट शुरू हुन्छ। बिछ्यौना छाडेपछि एक घण्टा पूजामा बिताउँछन्। दिउसो १२ बजे खाना खाएपछि दुई घण्टा सुत्छन्। रातिको सुत्ने समय चाहिँ १० बजे हो। उनको नियमित काम केही छैन।
“उमेर र स्वास्थ्यको हेक्का राख्नुपर्ने कारण हाल खानपिन र आराममै समय गइरहेको छ,” उनी भन्छन्। तर उनले जीवनको अधिकांश समय सक्रिय राजनीति र समाजसेवामा बिताए। वडाध्यक्ष हुँदै ललितपुरको मेयर र मन्त्रीसम्म भए। उद्योग वाणिज्य संघ ललितपुरको कार्यवाहक अध्यक्ष भए। पछिल्लो समय पुरातात्त्विक सम्पदा पुनर्निर्माणमा जोडतोडले लागे।
बुद्धिराजले केके मात्र गरेनन् र! नाच पनि देखाए। तत्कालीन प्रधानमन्त्री मोहनशमशेर जबराले त उनीसमेतलाई बोलाएर नाच देखाउनै लगाए। पाटनका राजा श्रीनिवास मल्लले शुरू गरेको सांस्कृतिक नाच ‘गँ प्याख’मा उनले महालक्ष्मीको भूमिका निभाउँथे। उक्त नाचको चर्चा चुलिएपछि मोहनशमशेरले बोलाएका थिए।
“यो २००८ सालको कुरा हो, हामीलाई नाच देखाउन दरबारमा डाकियो। नाचबाट खुशी भएर प्रधानमन्त्री मोहनशमशेरले मलाई २५ रूपैयाँको चाँदी बकस दिनुभएको थियो, त्यो अझै पनि सम्हालेर राखेको छु,” वज्राचार्य भन्छन्।
उनी ७ वर्षको उमेरदेखि नै गीत गाउँथे। स्वर मीठो भएका कारण सबैले ‘कोइली’ भन्थे। “त्यो बेला मेरो बोली र अनुहार चिटिक्क थियो रे, केटीको जस्तै मीठो स्वर भएको कारण कोइली नाम राखेका थिए,” उनी भन्छन्। उनले ७ वर्षकै उमेरमा भजनभण्डलीमा गीत गाउँथे। उनी ११ वर्षकै उमेरमा ज्ञानमाला भजन मण्डलीमा आबद्ध थिए र अहिले पनि छन्।
उनले २०१० सालदेखि बुबाको व्यापारलाई सघाउन थाले। उनका बुबा बाबुकाजी वज्राचार्यको पसल काठमाडौँको न्युरोडमा थियो। उनीहरू ठूला घरानाका लागि लुगा सिलाउँथे। उनले तीन वर्ष बुबासँगै काम गरे। त्यसपछि आफैँले पाटनमै व्यापार थाले। उनी हार्डवेयर, सुनचाँदी व्यवसायका उपकरणहरू, रङरोगन आदिको व्यापार गर्थे। पाटनमा पहिलोपटक प्लाइउड बेच्न आफूले नै थालेको उनी बताउँछन्।
उनी २०३६ देखि २०३७ सालसम्मको ललितपुर उद्योग वाणिज्य संघको उपाध्यक्ष चुनिएका थिए। २०३८ सालमा संघको कार्यवाहक अध्यक्ष भए भने २०३९ देखि २०४० सालसम्म अध्यक्ष भए।
५४ वर्षअघि वडाध्यक्ष
वज्राचार्यले व्यापार र राजनीतिलार्य सँगै अघि बढाएका थिए। २०२७ सालमा उनी तत्कालीन ललितपुर नगरपालिका वडा नंं. १७ को वडाध्यक्ष भए। उनको राजनीतिक जीवनको यो शुरूआत मात्र थियो। जोश र जाँगरसहित राजनीतिमा प्रवेश गरेका युवा थिए। वडाध्यक्ष भएपछि आफूले सुपथ मूल्यको पसल खोलेको, कपडामा तान बुन्ने घरेलु उद्यमीलाई रोजगारी दिन थालेको उनी बताउँछन्। त्यसैगरी, आफ्नो कार्यकालमा ८९ मुद्दा छिनोफानो गरेर वडालाई मुद्दामुक्त बनाएको पनि उनको भनाइ छ। त्यस बेला ललितपुर नगरमा उनको चर्चा चुलिएको थियो।
वज्राचार्य २०३२ सालमा पहिलोपटक ललितपुर नगरपालिकाको प्रधानपञ्च भए। प्रधानपञ्चको रूपमा उनले लगातार ११ वर्ष काम गरे। २०४६ सालमा पुनः प्रजातन्त्र आएपछि एमालेबाट उनी २०५४ देखि २०५९ सालसम्म ललितपुरको नगरप्रमुख भए। २०६० सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट पुनः नगरप्रमुख मनोनीत भए।
पञ्चायतकालमा ललितपुरको प्रधानपञ्च भएकै बेला तत्कालीन नेकपा मार्क्सवादीका अध्यक्ष मनमोहन अधिकारीसँग आफ्नो राम्रो सम्बन्ध भएको उनी बताउँछन्। त्यति बेला पनि आफूले कम्युनिष्ट पार्टीका लागि काम गरेका थिए। पछि त्यही सम्बन्धले उनी एमालेबाट ललितपुरको नगरप्रमृुख बनेका थिए।
आफू नगरप्रमुख हुँदा पुल्चोकस्थित नगरपालिकाको भवन बनाएको उनी बताउँछन्। ललितपुरको भवन बनाउँदा छिमेकी काठमाडौँ नगरपालिकाको स्थायी भवन थिएन। “काठमाडौँ महानगरपालिकाको त अझै पनि आफ्नै भवन छैन, भक्तपुरले बनायो क्यारे,” उनी भन्छन्।
ललितपुरका भवनसहितका संरचना भने त्यहाँ रहेका पोखरी मासेर बनाइएको हो। उनका अनुसार पहिला त्यहाँ चार वटा पोखरी थिए। “एउटा पोखरी त्रिपद्म हाइस्कुलले कब्जा गरेर भवन बनायो,” उनी भन्छन्, “एउटामा मैले नगरपालिकाको भवन बनाए। अर्कोमा मदन स्मारक विद्यालय छ। एउटा पोखरीको अंश अझै बाँकी छ।”
यो भवनबाहेक जाउलाखेलमा राजा वीरेन्द्रको प्रतीमा, ललित मण्डप, कुपन्डोलस्थित बागमती पुलमा रहेको कलात्मक स्वागतद्वार पनि आफ्नै कार्यकालमा बनेको उनको भनाइ छ। नगर क्षेत्रमा सडक बत्ती व्यवस्थापन पनि आफूले नै गरेको उनी बताउँछन्। उनले आफूले गरेका काम बिर्सिएका छैनन्, लामो फुटपाथ व्यवस्थापनदेखि वृक्षरोपणसम्मको लामो फेहरिस्त बताए।
राजा ज्ञानेन्द्रको सरकारमा मन्त्री
वज्राचार्य अन्तिमपटक तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट मनोनीत भएर २०६० सालमा ललितपुरको नगरप्रमुख भएका थिए। अर्को वर्ष २०६१ सालमा उनी राजाबाटै गठन गरेको मन्त्रिमण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री नियुक्त भए। नेपाली कांग्रेस र उनी आबद्ध नेकपा एमालेसहितका दल सडक आन्दोलनमा हुँदा उनी राजाबाट मनोनीत मन्त्रीको हैसियतमा झन्डावाल गाडीमा हुइँकिइरहेका थिए।
मन्त्री भएर आफ्नो बलबुताले भ्याएसम्म काम गरेको उनी दाबी गर्छन्। “मैले सत्यमोहन जोशीको अध्यक्षतामा एउटा कमिटी गठन गरी देशभरका सांस्कृतिक सम्पदाको अभिलेख राख्न शुरू गरेको थिएँ। अफसोस्, त्यसको एक प्रति पनि आफ्नो लागि राख्न पाइनँ,” उनी भन्छन्।
२०६३ सालको शुरूमै जनआन्दोलनका कारण राजा ज्ञानेन्द्रले सत्ता छाड्नुपर्यो। उनको मन्त्रिमण्डल पनि विघटन भयो। “संसारमा नित्य कोही पनि हुँदैन, अनित्य हुन्छ,” उनी भन्छन्, “राजा पनि दरबार छाडेर आफ्नो घर जानु पर्यो, हामी मन्त्री क्वाटर छोडेर फर्कनु पर्यो।”
१७ महिना मन्त्री हुँदा वज्राचार्य राजा ज्ञानेन्द्रको सवारी मन्त्री चयन भएका थिए। “सवारी मन्त्री भनेको राजपरिवार जहाँ–जहाँ भ्रमणमा निस्कन्छन् त्यहाँ प्रतिनिधि मन्त्रीको रूमा जाने व्यक्ति हो,” उनी भन्छन्, “भ्रमणमा राजपरिवारबाट हुने भाषण पनि सवारीमन्त्रीले गर्नु पर्थ्यो।” यसो हुँदा त्यस अवधिमा उनले २०० वटा भाषण लेखे। उनी अहिले तिनै भाषणको संग्रह गरेर पुस्तक प्रकाशन गर्ने तयारीमा छन्।
बेलायतकी महारानी र स्पेनका राजाबाट तक्मा
राजनीतिकर्मी, व्यापारी र समाजसेवीका रूमा सक्रिय जीवन बिताएका उनले घरको भित्तामा आफूले पाएका सम्मान र कदरपत्रहरू झुन्ड्याएका छन्। सात तले घरको हरेक तलामा सम्मान र कदर पत्र छन्। “मैले करिब १३६ वटा कदरपत्र पाएँछु। भित्तामा राखिएका बाहेक अझै दुई वटा बाकसभित्र पनि छन्,” उनी भन्छन्, “ती राख्ने ठाउँ छैन, कहाँ राख्ने टुंगो भएन।”
बेलायतकी महारानीले एलिजाबेथले दिएको तक्मा भने उनका लागि विशेष छ। “मेरो कामको चर्चा बेलायतमा महारानी समक्ष पुगेको रहेछ। एलिजाबेथ महारानीले मेरोबारेमा राजा वीरेन्द्रसँग कुराकानी गर्नुभएको रहेछ। अर्को दिन मलाई दरबारमा बोलाइयो,” उनी भन्छन्, “म, एलिजाबेथ र राजा बसेर कुराकानी भयो। पछि एलिजाबेथले भिक्टोरिया पदक दिएर जानुभयो।”
नेपाल भ्रमणमा आएको बेला स्पेनको राजा हुआँ कार्लोसले पनि उनीसँग भेट्ने इच्छा गरेका थिए। यद्यपि, आफू जापान भ्रमणमा रहेको कारण भेट हुन नसकेको वज्राचार्य बताउँछन्। तर उनले पनि तक्मा छाडेर गएका थिए। “पहिले मेरो घर ६ फुट हाइटको थियो, घरमा भेटघाटका लागि मानिस आउँदा ‘प्रधानपञ्चजी घर बनाउनु पर्यो’ भन्थे, अहिले यति ठूलो घरमा पनि पत्र अट्न सकेको छैन,” ठट्यौली पारामा उनले भने।
पाटनका सम्पदा संरक्षणमा सक्रिय
वुद्धिराज वज्राचार्यलाई अहिले पनि पाटनका कला र सम्पदाको चिन्ता छ। कुराकानीका क्रममा उनी पटकपटक यही विषय उठान गर्छन्। मर्मतसम्भार र पुनर्निर्माणमा चासो दिन्छन्।
अहिले पाटनको विहार पुनर्निर्माण भइरहेको छ। उनी त्यही विषयबाट कुराकानीको शुरूआत गरेका थिए। “पाटनमा भएकामध्ये एकदुई वटा विहार जीर्ण अवस्थामा छन्। नत्र अरू बाँकी रहेका छैनन्,” उनी भन्छन्, “पाटनको कुमारी चयन हुने रत्नाकर महाविहारको काम ४ करोड ९० लाख रुपैयाँमा हुँदैछ। वडा नं. २१ को गोपीचन्द्र महाविहार १४ करोडको लागतमा र त्यति नै लागतमा सुन्धारा तलको गुइष्ठ महाविहारको काम भइरहेको छ।”
पाटनका १८ विहार र बहीको पुनर्निर्माणमा उनको प्रत्यक्ष संलग्नता छ। उनी यरोधर महाविहारका आजु अर्थात् ज्येष्ठ सदस्य हुन्। उनले बौद्ध विहार संघको अध्यक्ष भएर २० वर्षसम्म काम गरे। “कुनाकाप्चाका केही स्थान छाड्ने हो भने पाटनका अधिकांश सम्पदा पूर्णरूपमा निर्माण भइसकेका छन्, यसमा मैले आफ्नो योगदान दिन पाउँदा मनमा बेग्लै सन्तोष, अमनचैन महसुस हुने रहेछ,” उनी भन्छन्।
पाटनको कलासम्पदाको लागि मात्र विभिन्न कालखण्ड गरी करिब १ अर्ब रुपैयाँको आयोजना व्यवस्था गरेको उनी बताउँछन्। यसमा भारत सरकारले साथ दिएको पनि उनले बताए। उनले आफ्नो राजनीतिक, व्यवसायिक र सामाजिक कामको बयान गरिसकेपछि ललितपुरको कला, सम्पदा संरक्षणकै विषय उठाएर कुराकानीको बिट मारे।