कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका वीरपाल कुमालका तीन पुस्ताले माटोका भाँडाकुँडा बनाएर बिताए।
वीरपालका बाजे भीमपाल सात दशकअघि भारतबाट बसाइँ सरेर नेपाल आएका थिए। बाजेले गर्दै आएको काम उनका बुबा चिरौँजीलालले पनि निरन्तरता दिए। अहिले त्यही काम वीरपालले सम्हाल्दै आएका छन्।
उनीसँग चार कठ्ठा चार धुरको जग्गाधनी प्रमाणपत्र पनि छ। त्यो जग्गा निकुञ्ज विस्तारित क्षेत्रमा पर्दा उनले सट्टाभर्ना पाउन भने सकेका छैनन्। तत्कालीन पिपलाडी गाउँपालिकाको भत्तपुरीमा रहेको जग्गाको सट्टाभर्ना नपाएका हुन्। “देशमा त्यसबेला संटकाल लागेको हुँदा विस्थापित हुनुपर्यो,” उनले भने, “जग्गाधनी प्रमाणपत्र भए पनि जग्गा पाउन सकिएको छैन।”
तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षको विस्तारित क्षेत्र भत्तपुरीबाट विस्थापनमा परेपछि भाडामा जग्गा लिएर माटोका भाँडा बनाउँदै आएका छन्। विभिन्न ढाँचामा आकर्षक गमला, लोटा, करुवा, घैँटो, गोलक बनाउँछन्। उनले बनाएका भाँडाकुँडा १५ देखि बढीमा २५० रुपैयाँमा किन्न पाइन्छ। यद्यपि ती वस्तुको मूल्य बजारमा फरक छ।
यसबाट वार्षिक चार लाख कमाइ हुने उनले सुनाए। माटो, दाउरा, जग्गाको भाडा, कामदारको ज्यालामा दुई लाख ५० हजार जति खर्च हुने गरेको छ। बचेको रकमले घरखर्च चल्छ। “काम गरेर कमाएको रकम खर्च परिवारको लत्ताकपडादेखि राशनपानीमै हुन्छ,” उनले भने, “बिरामी परे अरूसँग सापटी लिनुपर्दछ।”
अन्य भारतीयले भारतबाटै भाँडाकुँडा ल्याएर सस्तोमा बिक्री गर्दा बजारमा प्रभाव परेको उनले बताए। “अवैध रूपमा बजार क्षेत्रमा भारतीयले माटोका भाँडाकुँडा खुला राजस्व नतिरीकन भित्र्याउने गरेका छन्,” वीरपालले भने, “मेरै नाम लिएर बेच्छन्। वडा कार्यालय र प्रहरीलाई यसबारे खबर गर्दा पनि अवैध कारोबार रोकिएको छैन। परिवारको रोजीरोटी खोसिन थालेको छ।”
अन्य काम गर्नेका लागि सरकारले अनुदानको व्यवस्था गर्दै आए पनि कुमालेका लागि कुनै कार्यक्रम नभएको उनले सुनाए। वडाध्यक्ष नवलसिंह रानाले पुर्खौंदखि वीरपालको परिवारले काम गर्दै आए पनि नागरिकता नपाउँदा अनुदानलगायत सुविधा दिन नसकिएको बताए।
“कानूनी प्रक्रिया पूरा गर्न नागरिकता चाहिन्छ,” उनले भने, “त्यो नभएपछि कुनै पनि कार्यक्रममा समावेश गर्न सकिँदैन।”