Thursday, May 09, 2024

-->

कम्प्युटर इन्जिनियरको चियापसल: भन्छन्– ‘कुनै पछुतो छैन’

'शुरूमा एउटा पढेर अर्कै काम गरियो भनेर निराश हुन्थेँ तर अहिलेचाहिँ कुनै पछुतो छैन। देशको अवस्था, बिदेसिएका युवाको पीडाका साथै पसलमा आउनेहरूले दिने प्रतिक्रियाबाट पनि उत्साहित भइरहेको छु।'

कम्प्युटर इन्जिनियरको चियापसल भन्छन्– ‘कुनै पछुतो छैन’

जनकपुरधाम– सूचना प्रविधिको युग। त्यसैमा कम्प्युटर इन्जिनियरिङमा स्नातक अर्थात् ‘बिटेक’ गरिसकेको युवा। यस्तो युवाले के गरिरहेका होलान्, कल्पना गर्नुहोस् त? 

सोही विषयमा स्नातकोत्तर अध्ययनको तयारीमा जुटेका, रोजेखोजेको कार्यालयमा सफ्टवेयर बनाइरहेका, बहुचर्चित विधा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटीलगायत काममा नयाँ–नयाँ प्रयोग गर्न अभ्यस्त। त्यसै नभए पनि आफ्नो सीप र कला प्रयोग गरेर जीवनयापन गरिरहेका त पक्कै होलान्। हरेकको मानसपटलमा यस्तै चित्र बन्छन्।  

तर धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोक निवासी कम्प्युटर इन्जिनियर राजेश कर्णको दिनचर्या भने हामीले कल्पना गरेभन्दा भिन्न छ। कम्प्युटरका पाटपुर्जा र थरिथरि सफ्टवेर बनाउन किबोर्ड चलाउनुपर्ने उनका हात यतिखेर स्वादिलो चियाका लागि चियापत्ती, पानी र चिनी अड्कल्दै छन्। जनकपुरधाम–२ स्थित किशोरी चोकमा एउटा सानो सटरमा चियापसल सञ्चालन गरिरहेका छन् राजेशले।

घरी असरल्ल राखिएका चिया गिलास टिप्छन्, घरी चिया पकाउँछन्। सपना विश्वविद्यालयमा आर्जन गरेको कम्प्युटर शिक्षा प्रयोग गर्नेछ तर विपनामा भने यसैगरी चियाको मात्रा नापिरहेका छन् उनी।

“आफ्नै क्षेत्रमा काम गर्ने रहर त कसैलाई हुँदैन र त्यस्तै रहर मलाई पनि थियो। तर रहरले मात्रै कहाँ हुँदोरहेछ? त्यसैको उदाहरण हुँ म पनि,” उनी खुलेर बोले, “मेरो त काम नै यस्तै छ। शुरूका केही दिन त नरमाइलो लाग्थ्यो, अहिले भने अभ्यस्त हुँदैछु”, पाक्दै गरेको चिया चलाउँदै राजेशले भन्नुभयो, “पारिवारिक परिबन्ध र खराब समय चलेपछि जति प्रयास गर्दा पनि हुँदैन रहेछ। विज्ञानमा विश्वास गर्ने म अचेल त भाग्यमा यस्तै गर्नुरहेछ भनेर चित्त बुझाइरहेको छु।”
  
यसरी तुहियो सपना
जनकपुरधामस्थित एक निजी विद्यालयबाट विसं २०६६ मा पहिलो श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण राजेशले स्नातकसम्मको शिक्षा भारतमा पढ्नुभएको छ। भारतको डाएनसी कलेज बेनीपट्टी, मधुबनीबाट प्लस टु साइन्स (प्रथम श्रेणी) र हिमाञ्चल प्रदेशस्थित बद्दी युनिभर्सिटी अफ इमर्जिङ साइन्स एण्ड टेक्नोलोजीबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक (बि–टेक)सम्मको अध्ययन पूरा गरेका छन्।

सन् २०१८ मा स्नातकसम्मको पढाइ सकेपछि राजेशले विश्वविद्यालयकै सिफारिसमा मासिक ५२ हजार भारु पाउनेगरी चण्डिगढको एउटा कम्पनीमा काम शुरू गरिसकेका थिए। तर जनकपुरस्थित घरमा रहेकी आमा ‘थ्रोट’ क्यान्सरबाट सिकिस्त भएपछि तीन महिनामै जागिर छाड्नुपरेको उनले सुनाए। 

“स्नातक सकिएपछि काम शुरू गरिसकेको थिएँ, तर तीन महिनामै छाडेर नेपाल आउनुपर्‍यो। त्यसपछिको सम्पूर्ण समय आमाको उपचारमा खर्चिएँ। एक वर्ष त दिल्लीस्थित एम्स अस्पताल धाउँदै बित्यो। त्यसक्रममा करिब २५–३० लाख रुपैयाँ खर्च भयो। त्यसयता हामी सबैको योजना भताभुंग भयो”, उनले दुःख पोखे।

हुँदाखाँदाको जागिर छाडेर नेपाल आएका राजेशको जीवनमा एक समय यस्तो आयो कि कसैले लाखौँ तलब दिन्छुभन्दा पनि काम गर्ने अवस्था रहेन। किनकि घरको काम उनले नै गर्नुपर्ने भयो। यहीबीचमा साढे चार वर्षअघि बुवाको मृत्यु भयो।

“बुवा बितेपछि आमाको सम्पूर्ण सहारा गुम्यो, हाम्रो भरोसा। त्यसपछि आमालाई एक्लै छाड्ने अवस्था रहेन। जागिरको अवसर पाएका बेला घरायसी समस्याले घेर्यो। आमालाई ठिक भएपछि सँगै बसेर केही गर्न पाए हुन्थ्यो भनेर जनकपुरमै धेरै प्रयास गरेँ, धेरैलाई गुहारे तर जागिर पाइँएन”, उनले भने।

नेपाल टेलिकमको जागिरबाट अवकाशप्राप्त बुवाको पेन्सनबाट घरव्यवहार चलाइरहेको बताउने राजेशले आफ्नो शिक्षा र ज्ञान प्रयोग गर्नुपर्छ भन्ने योजना नबनाएका पनि होइनन् तर आर्थिक अभावले पूरा गर्न सकेनन्। “जागिर पाइएन। खर्च बढ्दै गयो तर आम्दानी  छैन,” एकछिन निःशब्द हुँदै उनले भने, “श्रमको मूल्य पाउने जागिर नै पाइएन। १०/१२ हजारमा काम गर्न सकिएन।”

नेपालमा विकल्प नभएपछि उनले बिदेसिने निधो पनि गरे। त्यसबेला स्वास्थ्य बाधक बन्यो। राजेशले दुबईमा साइबर सेक्युरिटीका क्षेत्रमा काम गर्न एउटा कम्पनीमा विभिन्न चरण पार गरे। तर मेडिकल परीक्षण गर्दा रगतमा संक्रमण देखिएपछि त्यहाँ पनि जान पाएनन्। अहिले औषधि सेवन गरिरहेको उनले बताए।

सामान्य मध्यमवर्गीय परिवारका उनले ‘प्लस टु साइन्स’ आफ्नै लगानीमा पढे पनि बि–टेकचाहिँ छात्रवृत्तिमा पढेका हुन्। उनीमात्रै होइन उनका दाजुले पनि बायोटेक्नोलोजीमा स्नातकोत्तर (एमटेक)सम्मको अध्ययन भारतबाट र चीनबाट विद्यावारिधि गरेका छन्। लकडाउनको समयमा अध्ययन सकेर नेपाल फर्किएका उनी पनि पारिवारिक समस्याकै कारण घरमै अल्झिरहनुपरेको भाइ राजेश बताउँछन्।

आठ हजार तिर्नुपर्ने भएपछि चियापसल
आमालाई क्यान्सर भयो। त्यहीबीचमा बुवा बिते। परिवारको लय बिथोलियो। जागिरका लागि गरिएका प्रयास सफल भएनन्। भएको सीप प्रयोग गरेर केही गरौँ भन्ने सोचमा पुँजी बाधक बन्यो। “सबै प्रयास असफल भएपछि अहिले चिया पसल चलाइरहेको छु। एक लाख रुपैयाँ ऋण काढेर यो व्यवसाय शुरू गरेको पनि तीन महिना भयो। ठूलो चोट, सिकाइ र विवशतापछिको प्रतिफल हो,” उनले मलिन मुद्रामा भने।

यो व्यापार पनि एउटा पसलमा आठ हजार रुपैयाँ उधारो तिर्नुपर्दाको सकसपछि जन्मिएको हो। चियाका अम्मली राजेशले गएको दशैँतिहारकै समयमा उधारो खाने गरेको चियापसलेलाई आठ हजार ३०० रुपैयाँ तिर्नुपर्ने भयो। अनुमानभन्दा बढी पैसा तिर्नुपरेपछि त्यसै दिन चिया छोड्ने वा आफैँ चियापसल खोल्ने संकल्प लिएको राजेशको कथन छ।

उनी भन्छन्, “त्यही घटनापछि चियापसल खोल्ने निर्णयमा पुगेँ। एकातिर अरुलाई तिर्नुपर्ने चियाको पैसा जोगिने अर्कोतिर समयको सदुपयोग र दुई पैसा आम्दानी पनि हुने। त्यसपछि चियापसल शुरू गरेको हुँ।” राजेशले पसलको नाम ‘इन्जिनियर क्याफे’ राख्ने निधो गरेर बोर्ड बनाउन दिएका छन्। उनी विभिन्न प्रकारका चिया, कफी बनाउने सोचका साथ बजार अध्ययन गरिरहेको र अब यही व्यवसायलाई व्यवस्थित बनाउने योजनामा छन्।

“शुरूमा पढियो एउटा गरियो अर्कै भनेर निराश हुन्थेँ तर अहिलेचाहिँ कुनै पछुतो छैन। देशको अवस्था, बिदेसिएका युवाको पीडाका साथै पसलमा आउनेहरूले दिने प्रतिक्रियाबाट पनि उत्साहित भइरहेको छु। आगामी दिनमा के–के हुन्छ हेर्दै जाऔँ,” उनले भने।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्रकुमार महासेठ पनि एउटा शिक्षित र प्राविधिक शिक्षा पढेको युवाले रोजगारी नपाउनु चिन्ताको विषय भए पनि राजेशले रोजेको बाटोबाट आम युवाका लागि प्रेरणाको ठूलो सन्देश प्रवाह भएकामा खुशी व्यक्त गरे।

“देशमा कुनै पनि क्षेत्र र मान्छे उत्साहित छैनन्। युवाहरू विदेश धाइरहेका छन्। यो भीडमा एउटा शिक्षित युवाले चियापसल खोल्ने आँट गर्नु राम्रो कुरा हो। यसबाट अरुले पनि पाठ सिक्न जरुरी छ,” उनले भने।


सम्बन्धित सामग्री