Monday, April 22, 2024

-->

चिचर र घोगी घरबासका पहिचान

घरबास सञ्चालकले चिचर, घोगी र माछाका परिकारले नै पाहुनाहरूको स्वागत गर्ने गरेका छन्।

चिचर र घोगी घरबासका पहिचान

नवलपरासी– नवलपुरका घरबास (होमस्टे)मा आउने पर्यटकलाई चिचर (अनदीको चामल पानीको बाफले उसिनेर पकाएको परिकार), घोगी र माछाका परिकारले आकर्षित गरेको छ।

घरबास सञ्चालकले चिचर, घोगी र माछाका परिकारले नै पाहुनाहरूको स्वागत गर्ने गरेका छन्। चिचर, घोगी र माछा अब यहाँको थारू समुदायले सञ्चालन गरेका घरबासको पहिचान बनेको छ। 

नवलपुरमा सञ्चालित अमलटारी, चिलाहा रतवल, पिप्रहर, शिसवार माझी मुसहर सामुदायिक घरबासलगायतका घरबासमा आउने पाहुनाले स्थानीय परिकारमा चिचर, घोगी र माछाका परिकार नै रोज्ने गरेका पाइएको छ। “हाम्रो घरबासमा आउने पाहुना आफैँले चिचर खोज्नुहुन्छ, हामीले दैनिकजसो  चिचर पकाउने गरेका  छौँ,” अमलटारी सामुदायिक घरबासका सञ्चालक नरबहादुर महतोले भने, “थारू समुदायले खाने परिकार हिजोआज पर्यटकको रोजाइ बनेका छन्।”

चिचरसँगै नुमैचा (भुटेर तयार पारिएको नुन खुर्सानीको धुलो) समेत घरबासमा आउने पाहुनाको रोजाइमा पर्ने गरेको महतोले बताए। घरबासमा पर्यटकलाई  बिहानको खाजामा सधैँजसो चिचर, नुमैचा र माछा पस्किने गरिएको छ।

“अमलटारी घरबास भन्ने बित्तिकै पाहुना चिचर, घोगी र माछा सम्झिन्छन्”, अमलटारी घरबासका अध्यक्ष पे्रमशंकर मर्दनिया थारूले भने। थारू समुदायको प्रचलित परिकार घरबासको समेत पहिचान बनेको उनले बताए। नेपाल घरबास एसोसिएसनका केन्द्रीय अध्यक्षसमेत रहेका मर्दनिया थारूका अनुसार स्थानीय परिकारको संरक्षण र बजारीकरणमा घरबासले सहयोग पुर्‍याएको छ। साथै ती घरबासलाई स्थानीय परिकारले समेत चिनाउन भूमिका निर्वाह गरेको छ।

“घरबासले स्थानीय रहनसहन र खानपानलाई बजारीकरण त गर्‍यो नै, बजारीकरण कै क्रममा नवलपुरका घरबासको पहिचान चिचर, घोगी र माछा बन्यो”, मर्दनियाले भने, “घरबासलाई थारू परिकारले समेत चिनाएको छ।” 

चिलाहा रतवल घरबासका अध्यक्ष नन्दप्रसाद महतोका अनुसार घरबासमा आउने सबैजसो पर्यटकले स्वादका लागि समेत नयाँ परिकार मानेर चिचर खाने गरेका छन्। थारू समुदायले सञ्चालन गरेका घरबासमा मात्रै प्रायः  चिचर, नुमैचा, घोगीजस्ता परिकार पाइने हुँदा अन्यत्रबाट आउने पाहुनाका लागि फरक स्वाद हुने उनले बताए।

“थारू समुदायले मात्रै विशेषरूपमा पकाउने परिकार भएकाले अन्यत्र सजिलै पाइँदैन, धेरैका लागि नयाँ परिकार हुन्छ, हामीले त्यही नयाँ स्वाद पाहुनालाई पस्किन्छौँ”, अध्यक्ष महतोले भने। घरबासमा चिचर, घोगी, माछासँगै सोझुवा रोटी, गुन्द्रुकको चटनी, स्थानीय हाँस, कुखुराको मासुलगायतका परिकार तयार पार्ने गरिएको उनको भनाइ छ।

अमलटारी घरबासमा मकवानपुरबाट आएका चिरञ्जीवी अर्यालले चिचर नौलो परिकार लागेको बताए। हेर्दा भातजस्तै भए पनि विशेषरूपले पकाएकाले फरक लागेको उनको भनाइ छ। “चिचरसँगै माछा र घोगी मिसाएर खाँदा फरक स्वाद लाग्यो”, अर्यालले भने।

थारू समुदायले पहिला तागत दिने खानाका रूपमा चिचर खाने गरेको थारू समुदायका अगुवा एवं कावासोती–१४ का वडाध्यक्ष तुलसीराम थारूले बताए। अनदीको चामलको तयार पारिने हुँदा पोषिलो हुने र यसले शरीरमा तागत  दिने, जिउ दुखेको सञ्चो गराउने भएकाले चिचर खाने गरिएको उनको भनाइ छ। “पहिले पहिले बढी श्रममूलक काम गर्नुपर्ने हुँदा आडिलो भोजनको रूपमा साथै जिउ दुखेको सञ्चो हुन्छ भनेर अनदिको चामल उसिनेर खाने गरिन्थ्यो”, उनले भने।

शरीरमा उर्जा बढाउने हुँदासमेत जाडो मौसममा चिचर खाने चलन रहेकामा अहिले अन्य समयमा समेत चिचर खाने गरिएको छ। मुख्य गरी माघी पर्वमा अघिल्लो दिन पकाउने र माघ १ गते यो परिकार खाने गरिएको छ। यसलाई पुसको अन्तिम दिन पकाउने तथा केराको पातमा डल्लो पारेर परालले बाँधेर धानको भुसको मन्द आगोमा राख्ने गरिन्छ। अनी माघीको दिन चिचर निकालेर खाने गरिन्छ।  


सम्बन्धित सामग्री