Tuesday, April 23, 2024

-->

एक्ला कुलबहादुरको घर नै अटो, त्यो पनि भएन आफ्नो

कुलबहादुरले ह्विलचेयर बास्केटबल खेले। पौडिने, नाच्ने, गाउने गरे। राम्रो प्रशिक्षण पाए अहिले पनि खेलमा जम्ने हिम्मत छ। तर खेलेर खान पुगेन। चार वर्षदेखि अटो कुदाउँछन्। एक्ला कुलबहादुरको घरै अटो।

एक्ला कुलबहादुरको घर नै अटो त्यो पनि भएन आफ्नो
तस्वीर: प्रबिता/उकालो

सुर्खेत– वीरेन्द्रनगरका सडकमा कुलबहादुर बुढामगरको अटो आफ्नै गतिमा हुइँकिरहेको छ। उनी चार वर्षदेखि नेपालगन्ज, दैलेख तथा पश्चिममा बाबियाचौर र छिन्चुसम्म आउजाउ गरिरहन्छन्। चिनेजानेका मान्छेहरूले अब आश्चार्य मान्न छाडिसके, नचिनेकाहरू भने उनलाई हेरिरहन्छन्। अटोमा बस्न आइपुगेकाहरू उनको शारीरिक अपांगताबारे सोधखोज गर्छन्।

उनको देब्रे खुट्टा छैन। यस कारण अन्य व्यक्तिका लागि सहज र सामान्य देखिने काम उनका लागि चुनौतीपूर्ण छ। उनी जीवनका धेरै चुनौती पन्छाउँदै संघर्ष गरेर हिँडेका व्यक्ति। अठोटले नै उनलाई अटो चलाउन सक्ने बनाएको हो।

आफू कहिले र कसरी शारीरिक रूपमा अपाङग भएँ भन्ने कुलबहादुरलाई ठ्याक्कै याद छैन। उनी १५–१६ दिनको हुँदा आगोमा खसेर देब्रे खुट्टा गुमेको आफन्त बताउँछन्। त्यस बेला उनलाई निमोनिया भएको कारण चिसोबाट भगाउन आगोछेउमा राखिएको थियो रे। आमाले खाटमा एक्लै छाडेर बाहिर निस्कँदा आगोमा खसेका थिए रे। “पहिले धेरै थिएन। बिस्तारै घस्रँदै हिँड्न पनि थालेको थिएँ। पछि त खुट्टा नै गयो,” सुर्खेतको बलयकाँडागढीमा भेटिएका उनले सुनाए।

घर भन्नु के रहेछ र!
उनी जता जान्छन् उतै घर हो। जता बस्छन् त्यही परिवार हो। उनले सानैमा बाबुआमाबाट बिछोड हुनुपर्‍झयो। अनि त जोसँग बसे त्यही परिवार भयो।

कामको सिलसिलामा बाबुआमा उनीभन्दा टाढा बस्थे। केही समयपछि बाबुको मृत्यु भयो। आमाले पनि छाडेर अन्तै गइन्। उनलाई फुपूले हुर्काइन्। परिवारमा फुपू, एक दाजु र उनी थिए।

“बुबा बितेपछि आमाबाट माया पाइएलाजस्तो लागेको थियो, उहाँले पनि छाडेर जानुभयो,” कुलबहादुर भन्छन्, “अहिले दाइ दाङमा हुनुहुन्छ। विवाह गरेर बस्नुभएको छ। तर आफन्त भएर पनि भएजस्तो छैन। उनीहरूले मेरो वास्तै गर्दैनन्।”

बयलकाँडागढीमा रहेको घरमा हाल उनकी फुपू र उनी मात्र छन्। तर उनी कामका लागि अधिकांश समय बाहिरै हुन्छन्। चाडबाडमा वीरेन्द्रनगरबाट बयलकाँडा आउने यात्रु भए घर आउने गरेको उनले बताए।

एक्लो जीवन बिताइरहेका कुलबहादुरलाई गाह्रोसाह्रो हुँदा, बिरामी पर्दा कोही साथी होस् भन्ने लाग्छ। जीवनको लामो यात्रामा साथ दिने कोही होस् भन्ने लाग्छ। तर जुन कारण आफ्ना आमा, दाजु टाढिए र सम्र्पकविहीन छन्, सोही कारण अन्य व्यक्तिलाई आफ्नो बनाउन सक्ने आत्मबल नभएको उनको भनाइ छ। “बिरामी हुँदा तातोपानी तताएर खान दिने मान्छे भए हुन्थ्यो जस्तो लाग्छ। तर खोई, मलाई बुझ्ने मानिस पाउँछु कि पाउँदिन!” उनले भने। 

एसएसलीपछि अटोको भर
स्कुले जीवन नसक्दासम्म कुलबहादुरको दैनिकी बयलकाँडागढीमै बित्यो। स्कुल जाने, आउने। फुर्सदमा फुपूलाई सघाउने। दिनहरू सामान्य ढंगमा बितेका थिए।

२०७६ सालमा एसईई सकाएपछि फुर्सदको समयमा उनी केही नयाँ काम गर्न चाहान्थे। उनले शुरूमा मनोज कठायतसँग सिलाइकटाइको तालिम लिए। दुई महिना जति सिलाइकटाइमै बित्यो। तर उक्त काममा मन बसेन। सिलाइकटाइमा काम गर्ने दाइहरूले नै उनलाई एउटा संस्थाको अटो चलाउन सुझाव दिए।

उनी अटो चलाउन जान्दैन थिए। ९–१० कक्षा हुँदा अटो देखेका उनले चलाउने रहर भने गरिसकेका थिए। “त्यही रहरको काम भएर होला मैले १५ मिनेटमा अटो चलाउन सिकेको थिएँ। सिकेपछि सडकमा पनि निकालिहालेँ,” उनी भन्छन्, “पहिलोपटक सडकमा लैजाँदा ट्राफिक देख्दा डर लाग्यो। एकदुई ठाउँ लडेँ पनि। ट्राफिक प्रहरीको सहायतामा अटो उठाउनु पर्थ्यो।”

ट्राफिकले सोधपुछ गर्दा आफू अपांगता भएको व्यक्ति भएको र जीविका चलाउन अन्य उपाय नभएको बताउँथे। चलाउन सिके पनि अटो किनेर चलाउन सक्ने गक्ष थिएन। संस्थाको अटो वर्ष दिन चलाए। मासिक १०–१५ हजार दिने संस्थाको वाचा थियो। वाचा गरेजस्तो नभएपछि संस्थालाई नै अटो जिम्मा लगाइदिएको उनको भनाइ छ।

त्यसपछि बयलकाँडास्थित घर आएर तीन महिना जति बसे। सोही क्रममा उनलाई पुनः उक्त संस्थाबाट फोन आयो, पहिलेको पैसा पनि दिने वाचासहित। तर उस्तै व्यवहार दोहोरिएपछि छोडिदिए।

यसबीच चिनजानका दाइ प्रदीप मगरको अटो चलाउन थाले। उनले दुई वर्षसम्म अटो चलाए पनि रकम पाएनन्। रकमको साटो प्रदीपले अटो नै दिइदिए। यद्यपि, अटोको कागजपत्र नपाउँदा खासै चलाएका छैनन्। “त्यो अटो बनाउनै २–३ लाख रुपैयाँ लाग्छ। त्यतिको पैसा छैन मसँग,” उनी भन्छन्, “फेरि बनाउन पनि नेपालगन्ज पुग्नु पर्छ। तलमाथि केही भइहाल्यो भने मैले के गर्ने?”

अहिले आफ्नो नभए पनि अरूकै अटो चलाउँछन्। अटो चलाउँदा भोगेका विभेदका कथा त कति छन् कति! सबै दुःखसुख झेलेर उनी चार वर्षदेखि अटो चलाइरहेका छन्। “कहिले यात्रुसँग नोकझोक पर्छ। मेरो अवस्था देखेपछि दयामाया दर्शाउने पनि गर्नुहुन्छ,” उनले भने, “कहिलेकाहीँ ट्राफिकले चेकजाँच गर्दा शारीरिक अवस्थाबारे थाहा पत्तो नहुँदा हकार्छन्। जे छ ठीकै छ।”

यद्यपि, चार वर्षको अवधिमा कुनै दुर्घटना भएको छैन। दिनको १२ सय जति कमाउने उनी ६ महिनायता नगर बस चल्न थालेपछि आफ्नो कमाइ पनि घटेको बताउँछन्।

कुलबहादुरका शौखः बास्केटबल, पौडी र नृत्य
उनी बास्केटबल खेल्न मन पराउँछन्। ह्विलचेयर बास्केटबल खेलाडी पनि हुन्। करिब एक दशकअघि केही समय काठमाडौँ बस्दा ह्विलचेयर बास्केटबल खेलेको उनको भनाइ छ। आफ्नो टिमले त्यतिबेला आर्मीको टिमविरुद्ध खेल्ने अवसरसमेत पाएको उनले बताए।

“छिन्चुका प्रेम विकसहितको हाम्रो टिमले आर्मीको टिमसँग खेलेको थियो। उनीहरू बलिया, प्रशिक्षण लिएका र अनुभवी थिए,” उनले भने, “यहाँ सुर्खेतमा पनि हाम्रो टिम छ। तर प्रशिक्षकबिना खेलेर मात्र हामीलाई हुँदैन।”

प्रशिक्षक र तालिमको राम्रो व्यवस्था भइदिए अझै राम्रो खेल्न सक्ने आत्मबल भएको कुलबहादुर बताउँछन्। “आर्मीहरूको ट्रेनिङदेखि सबै राम्रो हुन्छ, हामी त यहाँ साथीभाइ मिलेर रुचिको रूपमा खेल्ने गर्छौँ।”

पौडीमा पनि शौख छ। उनी नाच्ने, गाउनेमा पनि सक्रिय छन्। बयलकाँडाबाट उनले प्यारासुट जम्प पनि गरेका छन्। आत्मबल बलियो भए शारीरिक अशक्तता बाधक नहुने उनी बताउँछन्। तर यी सबै खेल खेलेर बस्ने समय पो कहाँ छ र!

उनी त अहिले एउटा अटो आफ्नो नाममा होस् भन्ने कामना गरिरहेका छन्। आफूसँग भएको पनि नाममा आएको छैन। उनीसँग लाइसेन्स पनि छैन।

उनलाई अहिले जीवनमा कोही सहारा भए हुन्थ्यो भन्ने लाग्छ। बुढेसकालमा आफ्ना छोराछोरी सहारा बनिदिउन् भन्ने लाग्छ। २५ वर्षको उमेरसम्म आइपुग्दा जीवनमा धेरै उतारचढाव भोगेर पाकिसकेका छन्। “यसले विवाह गरेर के गर्ला! कसरी पाल्ला! कसले बिहे गर्ला! मानिसहरूले सुनाइरहन्छन्,” उनले भने, “मलाई पनि मेरा कुरा सुनिदिने मानिस भए हुन्थ्यो जस्तो लाग्छ।”

सुर्खेतका सडकमा उनको अटोले बेग मारिरहेको छ। उनको सपनाको बेग पनि रोकिएको छैन।

भिडियो


सम्बन्धित सामग्री