Sunday, May 05, 2024

-->

‘पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन’

आफूले खाएर बचेको तरकारी बारीबाट नै बिक्ने भएपछि बजारको सहज पहुँच भएका गृहिणी पनि उद्यमशील बनेका छन्।

‘पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन’
तस्वीर: रासस

कमलामाई– सिन्धुलीको कमलामाई नगरपालिका–४ की ढाटीमाया दर्जीले ३० वर्षदेखि फुटपाथ व्यापार गरिरहेकी छन्। 

मुख्य सडक दायाँबायाँ, स्थानीय हाटबजार र सदरमुकाम सिन्धुलीमाढी बजार क्षेत्रमा साग र निगुरो बेच्ने उनले यसबाटै गुजारा चलाइरहेकी छन्। ३० वर्षअघि ३० रुपैयाँमा छ मुठा फापरको साग किनेर बेचेको उनलाई हिजोजस्तै लाग्छ। “व्यापार गर्न ठूलो लगानी चाहिँदैन। थोरै लगानीमा पनि शुरू गर्न सकिन्छ,” उनले भनिन्, “कति छिटो समय बितेछ।” 

त्यसबेला उनका आँखा चम्किला, दाँत भरिला थिए। कपालको रङ कालो, शरीरको छाला भरिलो थियो। आँखा धमिलो हुँदै गएका छन्। दाँत झरेर सकिनै लागिसके। कपालको कालो रङ उडेर सेतै भएको छ। शरीरको छाला चाउरिँदै गएको छ। तर, उनले व्यापार छाडेकी छैनन्। 

७९ वर्षीया दर्जी सानो लगानीमा स–साना व्यापार गरेरै जीवन र जीविका धान्दै आएकी छन्। रोगले थलिएका श्रीमान्‌को दरिलो आड र भरोसा उनलाई छ। घरायसी दैनिक खर्चदेखि चाडपर्व र औषधि, स्वास्थ्योपचार खर्चसम्म उनले नै जोहो गर्नुपर्छ। 

यसका लागि सरकारले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताले पनि सघाएको छ। सिन्धुलीमाढीमा शनिबार लाग्ने हाटमा व्यापार गर्न आएकी उनी व्यापार गर्न छाड्दा खर्च धान्न मुस्किल पर्ने बताइन्। 

शनिबारे हाटबजारमा दशैँ नजिकिएकाले खसी व्यापारीको भीड थियो। कपडा, भाडाँकुँडा, तरकारी व्यापारीलगायत ठूलो लगानीमा व्यापार गर्ने व्यापारी थिए। सेवाग्राहीको उस्तै खचाखच। त्यही भीडमा निलो प्लास्टिक बिच्छ्याएर अदुवा, लसुन, गुन्द्रुक, जिरे खुर्सानी भाग लगाएर उनी बेच्न बसेकी थिइन्। फुटपाथमा गरेको व्यापारमा दैनिक पाँच हजार रुपैयाँसम्म कारोबार हुने उनले सुनाइन्। “मौसम अनुसारको स्थानीय उत्पादन किसानको बारीबाट किनेर बजार ल्याएर बेच्दा घाटा हुँदैन,” उनले भनिन्, “थोरै लगानीमा सानै भए पनि जसले व्यापार शुरू गर्छ, उसले भोकै बस्नु पर्दैन। व्यापार नै जीविका धान्ने बलियो आधार बन्छ।” 

ढाटीमाया दर्जीले जसरी व्यापार गरेर आत्मनिर्भर बनेका महिलाको यकिन तथ्यांक जिल्लाका कुनै निकायसँग छैन। सानो लगानीमा सानै व्यापार गरेर कमाइरहेका र समाजमा उदाहरणीय कहलिँदै गएका महिला भने सिन्धुलीमाढी बजार क्षेत्रको फुटपाथमा बाक्लै भेटिन्छन्।

 कमलामाई–५ बोजेकी फूलमाया वाइबा सिन्धुलीमाढीमा साप्ताहिक रूपमा लाग्ने शनिबारे हाट, धुराफाँटमा लाग्ने बुधबारे हाट, भिमानमा लाग्ने शुक्रबारे हाट र अन्य दिन बजार क्षेत्रको फुटपाथमा मौसमी तरकारी, तरकारीजन्य वस्तु तथा कागती, अम्बा, बयरजस्ता फलफूलको व्यापार गर्छिन्। 

श्रीमान् बितेपछि तीन सन्तानको हुर्काइ, पढाइसहित घरव्यवहारको जिम्मेवारी उनको काँधमा आयो। २० वर्षअघि व्यापार शरू गरेकी थिइन्। यसबाट अहिले उनी आत्मनिर्भर बनेकी छन्। महिनामा १५ हजारभन्दा बढी नाफा हुने गरेको छ। “खेतीपाती गरेर खाऊँ भने आफ्नो जग्गा छैन, यही व्यापारको कमाइबाट खर्च टार्छु। भान्छामा प्रयोग हुने सामान बिक्दैन कि भन्ने चिन्ता हुँदैन। सबैलाई दैनिक खान चाहिन्छ,”,उनले भनिन्।

कमलामाई–६ की देवकुमारी आले सिजनअनुसार हरियो मकै पोलेर बेच्छिन्। किसानसँग प्रतिगोटा १० का दरले हरियो मकै किनेर पोलेर २० देखि ३० सम्म बेच्ने गरेको उनले सुनाइन्। सिजनअनुसारका स्थानीय उत्पादन हरियो अकबरे खुर्सानी, अमला, बेसार र सागसमेत बेचेर नाफा कमाएको पैसाले घरव्यवहार चलाउँदै आएकी छन्। “व्यापार राम्रो भएको महिना १७ हजारसम्म कमाएको छु,” उनले भनिन्, “व्यापार गर्न लजाउनु हुँदैन, आफ्ना हातगोडा चलुन्जेल आफ्नै पौरखमा बाँच्नुपर्छ।” 

आफूले खाएर बचेको करेसाबारीको उत्पादन थोरै भए पनि बारीबाटै बिक्ने भएपछि जिल्लाका मुख्य सडकले छोएका र बजारको सहज पहुँच भएका गृहिणी पनि मेहनती र उद्यमशील बन्दै गएका छन्। पहिले खेर जाने जंगली फलदेखि खेतबारी र करेसाबारीमा उत्पादन भएका तरकारीजन्य वस्तु तथा सिजनअनुसारका फलफूल पछिल्लो समय आफैँ बजार पुर्‍याएर बिक्री गरी आम्दानी लिन थालेका छन्। यसले यहाँका महिलालाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउँदै लगेको छ। 


सम्बन्धित सामग्री