Friday, May 03, 2024

-->

डिजिटल सामानको अधिक प्रयोगले बालबालिकामा बढ्दैछ मायोपिया, जोगाउने कसरी?

साना बालबालिकालाई मायोपियाबाट जोगाउन उनीहरूलाई मोबाइल, ल्यापटप, भिडिओ गेम, टेलिभिजन वा यस्तै अन्य डिजिटल उपकरणबाट टाढा राख्नु नै सबभन्दा उत्तम उपाय हो।

डिजिटल सामानको अधिक प्रयोगले बालबालिकामा बढ्दैछ मायोपिया जोगाउने कसरी 
प्रतीकात्मक तस्वीर

काठमाडौँ– दक्षिणढोका, काठमाडौँका आठ वर्षीय अरुण श्रेष्ठको पढाइ एकाएक कमजोर भयो। दैनिक क्रियाकलापहरूमा अल्छीपन देखिन थाल्यो। उनी टाढाका वस्तुहरू नदेख्ने र नजिकका वस्तु पनि आँखा तानेर हेर्नुपर्ने जस्ता व्यवहार देखाउने र एकोहोरो हुन थाले।

छोराको व्यवहारमा किन परिवर्तन भइरहेको छ भन्ने कुरा बुबा–आमालाई थाहा थिएन। लगातार स्कुलबाट ‘कम्प्लेन’ आउन थाल्यो।

एकदिन विद्यालयबाट आएर मोबाइल चलाइरहेका अरुणलाई असहजसँग मोबाइल हेरिरहेको अवस्थामा आमाले देखिन्। मोबाइल चलाउँदा उनका दुवै आँखा धेरै पटक झिमझिम गरिरहेका थिए भने मोबाइल पनि आँखाको नजिकै ल्याएर कष्टसँग हेरिहेका थिए। 

छोराको व्यवहारमा आएको परिवर्तनबारे बालककी आमाले आफ्ना श्रीमान‍्लाई बताइन्। उनले पनि छोरालाई आँखाको समस्याबारे सोधे। अरुणले किताबका अक्षरहरू पहिलेको जस्तो सफा नदेख्ने र टाढाको वस्तु हेर्न समस्या हुने गरेको बताए। त्यसको तीन दिनपछि उनीहरू छोरालाई लिएर तिलगंगा आँखा अस्पताल गए। 

आँखा जाँचपछि चिकित्सकले अरुणलाई ‘मायोपिया’ अर्थात् दृष्टिदोष भएको पत्ता लगाए। उनलाई आवश्यक पर्ने ‘पावर’ अनुसारको चस्मा भने केही समयपछि मात्र लगाउन मिल्ने सल्लाह दिए।

त्यस्तै, गौशालाकी १२ वर्षीय बालिका प्राप्ति न्यौपाने ७ वर्षको उमेरमा मायोपियाबाट पीडित भइन्। टाढाको वस्तु नचिन्ने, बोर्डमा लेखेका अक्षरहरू नदेख्ने, पुस्तक पनि आँखानजिकै पुर्‍याएर पढ्ने जस्ता व्यवहारहरू देखेर विद्यालयका शिक्षकहरूले आँखा जँचाउन सुझाव दिए। उनलाई पनि अभिभावकहरूले  तिलगंगा आँखा अस्पताल लगेर परीक्षण गराउँदा मायोपियाकै समस्या देखियो। डाक्टरले औषधि र चस्मा प्रयोग गर्ने सल्लाह दिए। 

ती बालिका प्रायः कोठामै बसेर पढ्ने र खाली समयमा मोबाइल हेर्ने गर्थिन्। मोबाइल तथा इलेक्ट्रोनिक सामानको प्रयोगका कारण छोरीमा मायोपिया भएको हुन सक्ने उनकी आमा बाताउँछिन्। 

तिलगंगा आँखा अस्पतालमा कार्यरत डा. सिर्जना अधिकारीका अनुसार कडा खालको मायोपियाले आँखामा ‘रेटिनल डिट्याचमेन्ट’ अर्थात् रेटिना च्यातिने र प्वाल पार्नेसम्मको जोखिम बढाउन सक्छ। यसले अन्धोपन निम्त्याउन पनि सक्छ। उनी भन्छिन्, “मायोपिया भएका व्यक्तिले तीनदेखि ६ महिनाको अन्तरमा नियमित आँखा जाँच गराइराख्नुपर्छ।”

नेपालको विभिन्न ठाउँका बालबालिकाहरूबीच गरिएका अध्ययनहरूबाट कुल बालबालिकामध्ये ठाउँअनुसार कम्तीमा तीनदेखि बढीमा २२ प्रतिशतसम्म बालबालिकामा मायोपियाको समस्या देखिएको अध्ययनले देखाएको छ।

नेसनल लाइब्रेरी अफ मेडिसिनमा सन् २०२० मा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार सोलुखुम्बु जिल्लाका विभिन्न गाउँमा बसोबास गर्ने २.९ प्रतिशत बालबालिकामा मायोपिया भएको पाइयो भने सबैभन्दा बढी कठमाडौँमा बस्ने तिब्बती मूलका बालबालिकामध्ये २१.९ प्रतिशतमा मायोपिया देखियो। 

मायोपियाको समस्या विश्वव्यापी चुनौतीको रूपमा देखिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ। उसको पछिल्लो तथ्यांकअनुसार हाल करिब २ अर्ब ६० करोड मानिसहरू मायोपियाको समस्याबाट पीडित छन्। तीमध्ये १९ वर्ष मुनिका बालबालिकाको संख्या ३ करोड १२ लाख छ। सन् २०५० सम्ममा मायोपियाका बिरामीको संख्या बढेर पाँच अर्ब पुग्ने डब्ल्यूएचओको अनुमान छ।

नेपालमा बढ्दै ‘स्कुल मायोपिया’
मायोपिया विश्वव्यापी रूपमा बढिरहेको बाल्यकालको दृष्टि कमजोरीको प्रमुख कारणमध्ये एक हो। संसारमै यसबाट प्रभावित बालबालिकामध्ये ८० देखि ९० प्रतिशत स्कुले उमेरका छन्। उनीहरूमा देखिने मायोपियाको समस्यालाई ‘स्कुल मायोपिया’ भनिन्छ। यसको संख्या तीव्र रूपले बढिरहेको छ। पहिलो चरणमै थाहा हुने भएकाले स्कुल मायोपियाका बिरामीले उपचारमा पाउने पहुँचसमेत वृद्धि भइरहेको तिलगंगा आँखा अस्पतालकी डा. अधिकारी बताउँछिन्। 

तिलगंगा आँखा अस्पतालकी डा. सिर्जना अधिकारी।

उनले ‘नेपाल जर्नल नेत्रमोल’का लागि सन् २०१३ मा तयार पारेको तथ्यांकअनुसार औसत १३ वर्ष उमेरका १४० बालबालिकाको दृष्टि परीक्षण गर्दा त्यतिबेलै पनि ३६ बालबालिका मायोपियाको समस्या देखिएको थियो। यो संख्या २५.७१ प्रतिशत हो। त्यसबेला अध्ययनमा सामेल विद्यार्थीहरूमध्ये २७ प्रतिशतमा मायोपियाको व्यापाकता रहेको देखिएको थियो।

त्यस्तै, दुई सय जना बालबालिकालाई सहभागी गराएर सन् २०१६ मा अध्येता होल्टन र उनको समूहले गरेको अध्ययनले ६ महिनामा ०.१८, एक वर्षमा ०.१७ र दुई वर्षमा ०.१९ प्रतिशतका दरले मायोपिक बालबालिकाहरू थपिइरहेको देखायो। अध्ययनको समयमा मायोपियाको वृद्धिदर आर्यभन्दा मंगोल जातिका बालबालकिामा बढी देखिएको थियो। अहिले विश्वव्यापी रूपमा मायोपियाको व्यापकता २२.९५ प्रतिशत रहेको छ।  

आँखा उपचारमा संलग्न चिकित्सकहरूको संस्था नेपाल नेत्रज्योति संघले सन् २०२२ सम्ममा देशका विभिन्न विद्यालयहरूमा अध्ययनरत १० लाखभन्दा बढी विद्यार्थीहरूको आँखा जाँच गरेको थियो। तीमध्ये चार प्रतिशत बालबालिकामा मायोपिया देखिएको संघले जनाएको छ।

सूचना प्रविधिको विकाससँगै आममानिसले आफ्ना क्रियाकलापलाई चलायमान बनाउन घण्टौँसम्म मोबाइल, ल्यापटप, टेलिभिजनजस्ता डिजिटल माध्यमहरूमा समय बिताउने गर्दा नयाँ पुस्तामा मायोपियाको समस्या दिनदिनै बढ्दै गइरहेको चिकित्सकहरूको भनाइ छ।  

के हो मायोपिया?
मायोपिया आँखामा हुने एक प्रकारको दृष्टिदोष हो। उमेरअनुसार यो समस्या बढ्दै जाने गर्छ र आँखाको पर्दा पातलो हुँदै च्यातिने पनि हुन सक्छ। समयमै यसको उपचार गर्न सकियो भने मात्र असर कम गर्न सकिन्छ। शुरूआती चरणमै पहिचान नभएको खण्डमा यसले जटिल रूप लिने विशेषज्ञहरू बताउँछन्।

मायोपिया भएका बालबालिकामा दृष्टिशक्ति कमजोर हुन्छ। पढ्ने बालबालिकाले बोर्डमा लेखिएका अक्षर वा आकृति देख्न कठिनाइ महसुस गरेमा वा टाढाको सरसामान प्रष्टसँग नदेखेमा मायोपिया भएको हुन सक्छ। कतिपय अवस्थामा यस्तो समस्या बालबालिकामा सजिलै थाहा नहुन पनि सक्छ। त्यसैले विद्यालय पढ्ने बालबालिकाको आँखा बेलाबेला जाँच गराउने गर्नुपर्छ।

मायोपियाको लक्षण, कारण, रोकथाम र उपचार
बालबालिकामा लागेको मायोपियाको प्रारम्भिक पहिचान गर्न उनीहरूमा आँखा झिमझिम गर्ने, आँखाबाट आँशु आउने, टाउको दुख्ने, कुनै वस्तु हेर्दा अप्ठ्यारो भएर आँखा टेढो पार्ने वा चिम्लिने जस्ता क्रियाकलाप गरे/नगरेको ख्याल राख्नुपर्ने आँखारोग विशेषज्ञहरूको सल्लाह छ। 

मायोपियाको समस्या विभिन्न कारणले हुनसक्छ। कुनै बालबालिकालाई जन्मजात रूपमै देखा पर्छ। किनभने यो वंशानुगत र वातावरणीय प्रभाव दुवै कारणले हुन्छ। परिवारमा कसैलाई दृष्टिदोष भएमा ती व्यक्तिबाट जन्मिएका बालबालिकामा पनि दृष्टिदोष अर्थात् मायोपिया हुनसक्ने सम्भावना रहन्छ। 

पछिल्लो समय कम्प्युटर, मोबाइलमा तथा भिडियो गेममा धेरै समय बिताउने बालबालिकालाई मायोपियाको जोखिम बढ्दै गएको छ। त्यसबाहेक लामो समयसम्म घोरिएर पुस्तक पढ्ने र जन्मजात आँखा डेढो भएको अवस्थामा पनि बालबालिकामा मायोपिया हुन्छ।

यो समस्या जुनसुकै उमेरका व्यक्तिलाई पनि हुने गरे पनि स्कुल पढ्ने बालबालिकामा बढी देखिने गरेको छ। बाल्यकालमा देखिएको मायोपियाको बेलैमा उपचार नभएमा ठूलो भएपछि पनि यसको असर बढ्दै जाने र वृद्वावस्थामा समेत दुःख दिने हुनसक्छ। 

साना बालबालिकालाई मायोपियाबाट जोगाउन उनीहरूलाई मोबाइल, ल्यापटप, टेलिभिजन वा यस्तै अन्य डिजिटल उपकरणबाट टाढा राख्नु सबभन्दा उत्तम उपाय भएको सम्बन्धित विशेषज्ञहरू बताउँछन्। बाहिरी वातावरणमा सकेसम्म बढी घुलमिल गराउने, समय-समयमा आँखा जाँच गराइराख्ने र चिकित्सकको सल्लाहअनुसार औषधि लिने या अन्य उपचार विधि अपनाउने जस्ता कुरामा अभिभावकले ख्याल गर्नुपर्ने उनीहरूको राय छ। 

चिकित्सकहरूका अनुसार एक पटक मायोपिया अर्थात् दृष्टिदोष भइसकेपछि दृष्टि फेरि सामान्य अवस्थामा फर्किने सम्भावना निकै कम हुन्छ। तथापि यसको उपचारका लागि विभिन्न प्रविधिहरू आइसकेका छन्। 

दृष्टि धमिलो भएको आँखामा चस्मा लगाएर यसको उपचार गर्न सकिन्छ। चस्मा लगाउँदा बालबालिकाले राम्रोसँग देख्न सक्छन्। व्यक्तिको अवस्थाअनुसार आवश्यक मात्रामा औषधिको प्रयोगले पनि दृष्टि बढाउन मद्दत गर्छ। उमेर बढ्दै गएपछि लेजर शल्यक्रिया गरेर अथवा कन्ट्रोल लेजर लगाएर उपचार लिन सकिन्छ। तर, लेजर शल्यक्रिया सबैलाई गर्न सकिँदैन।


सम्बन्धित सामग्री