Tuesday, May 07, 2024

-->

एक ‘अराजक’ कलाकारको भित्ताप्रेम

सर्वसाधारणले कला बुझ्दैनन् वा बुझ्न सक्तैन भन्ने मानसिकता चिर्न भित्तेचित्र अभियान चलाइरहेका कलाकार लक्ष्मण श्रेष्ठ भन्छन्– घरका भित्ता तथा पर्खाल सार्वजनिक हुन्, चित्र कोर्न पाउनुपर्छ।

एक ‘अराजक’ कलाकारको भित्ताप्रेम

ठमेलस्थित काठमाडौँ गेस्ट हाउसका सञ्चालक तथा आर्ट कलेक्टर राजन शाक्यले पेन्टिङ फिर्ता लैजान कलाकार लक्ष्मण श्रेष्ठलाई भनेपछि उनी दोधारमा परे।

“उहाँ राम्रो कलाकार हुनुहुन्छ। उहाँको कलाको सुरक्षा दिन हामी असमर्थ छौँ,” आर्ट कलेक्टर राजनले लक्ष्मणकै उपस्थितमा उकालोलाई भने, “भोलि कतै कलामा नोक्सान पुग्यो भने त्यसको मूल्य चुक्ता गर्न नसक्ने हुँदा फिर्ता लैजान आग्रह गरिएको हो।” उनको एक पेन्टिङको मूल्य ६२ लाख रुपैयाँ राखिएको छ।

उक्त पेन्टिङ लिन लक्ष्मण ठमेल जाँदै गर्दा उनले उकालोसित आफ्ना अरू १६ पेन्टिङ घरधनीले कब्जामा राखेको बताए। “घरभाडा तिर्न सकेको छैन। त्यसैले पेन्टिङ जफत गरेर राखेका छन्,” उनले सुनाए।

कलाकार लक्ष्मण मूलतः भित्ता, पर्खालमा चित्र कोर्ने कलाकार हुन्। त्यसका साथै उनले खाली समयमा बनाएका पेन्टिङको ठूलो संकलन पनि छ। आफूलाई सडक कलाकारकै रूपमा परिचित हुन रुचाउने लक्ष्मण तर्क गर्छन् “भित्ता र पर्खालमा कला व्यक्त गर्ने मेरो अधिकार हो।”

लक्ष्मणको भनाइमा सडकतिर फर्किएका घरका पर्खाल घरधनीको सम्पत्ति होइन, त्यो सार्वजनिक हुन्छ। ‘मेरो पर्खाल’ भन्नेलाई उनी जवाफ फर्काउँछन्– ‘लक योर वाल’ अर्थात् तिम्रो पर्खाल बन्द गर।

“सडकतिर भागलाई बन्द गर्नु असम्भव छ। छैन भने सडक सबैको साझा हो। भीख मागेर सडकमै सुत्ने होस् वा सयतले घरका धनी, सडक सबैले समान उपभोग गर्न पाउँछन्। सडकतिर फर्किएको पर्खालमा कसैको दाबी रहनुहुन्न,” यस्तो मान्यता राख्छन् खाली भित्ता, पर्खाल खोज्दै दिनभर पैदल सडकसडक हिँड्ने ४० उमेर आसपासका कलाकार श्रेष्ठ।

लामो पातलो कपाललाई पछाडि लगेर पोको पारेका उनी पहिरनमा पनि बेपर्बाह छन्, चप्पल लगाएर दिनभर खाली भित्ता खोज्दै हिँड्छन्। उनको यो रहर, पेसा दुवै हो।

आफूलाई ‘स्ट्रिट आर्टिस्ट’ भन्न रुचाउने लक्ष्मण कला कठिन हुन्छ, बुझ्न गाह्रो छ भनेर जुन भाष्य निर्माण गरिएको छ त्यसलाई मेटाउन चाहन्छन्। कलालाई सहज र सरल तरिकाले बुझ्न सकिन्छ र यो जीवनोपयोगी हो भन्ने दृष्टिकोण सामान्य मानिसमा पुर्‍याउने अभियान बोकेर हिँडेका उनी समाजले आफूलाई ‘अराजक’को बिल्ला भिराइदिएकोमा भने दुखेसो पोख्छन्।

हुन पनि उनको गतिविधि हेर्दा त्यस्तै लाग्छन्। ग्यालरीमा कला प्रदर्शन भइरहेको हुन्छ, उनी भने सडकको किनार वा पर्खालमा आफ्ना पेन्टिङ झुन्ड्याएर प्रदर्शनी गर्छन्।

“राजनीतिक चेतको सन्देश राखेर पर्खाल पेन्टिङ गर्ने, घरधनीसँग विमति राख्ने, झै–झगडा देख्दा अराजक नै देखिन्छ,” उनको गतिविधिलाई लामो समयदेखि नियालिरहेका भीमसेन गोला बस्ने ६५ वर्षीय भद्रवीर गौतम बताउँछन्। उनले भित्तामा पेन्टिङ गर्न भीमसेन गोला क्षेत्रबाट नै शुरू गरेका थिए।

“उनी भित्तामा पेन्टिङ गर्थे, उनी गई सकेपछि घरधनी धमाधम मेट्न थाल्थे। उनी आएर रोक्थे,” अर्का स्थानीय सरला रेग्मी भन्छिन्, “अनि झै–झगडा शुरू हुन्थ्यो।” त्यसपछि लक्ष्मण पर्खालमा ‘लक योर वाल’ लेख्थे। यद्यपि, भीमसेन गोलाका विभिन्न ठाउँका पर्खालमा यो शब्द  लेखेको देख्न सकिन्छ।

सार्वजनिक भित्ता पेन्टिङकै विवादका कारण गएको ३ महिनामा २ पटक प्रहरी हिरासतमा रात बिताए कलाकार श्रेष्ठले। कालोपुल नजिकैको भित्तामा पेन्टिङको ‘आउट लाइन’ कोर्दै गर्दा उनलाई प्रहरीले समातेको थियो। “घरधनीसँग अनुमति नलिई भित्तामा पेन्टिङ बनाउन खोजेको अभियोगमा प्रहरीले मलाई कस्टडीमा तीन दिनसम्म राख्यो,” उनी सम्झन्छन्।

उनी सडकतिर फर्केको भित्तामा पेन्टिङ गर्न कसैसँग अनुमति लिनुपर्छ भन्ने पक्षमा छैनन्। हिरासतमा रहँदा प्रहरीलाई उनको प्रतिउत्तर थियो– सार्वजनिक पर्खालमा चित्र कोर्न पाउनुपर्छ, गल्ती स्विकारदिनँ। तीन दिनको हिरासतपछि प्रहरीले उनलाई छाडिदियो। “मैले प्रहरी हिरासतमा थप आफ्नो अभियानलाई सशक्त रूपमै लैजाने अभिव्यक्ति दिएर निस्किएँ,” उनी दृढ सुनिए।

आजको मितिमा उनको कला हेर्न सकिने शहरको केन्द्रमा रहेको सार्वजनिक ठाउँ वीर अस्पतालको भित्ता हो।

भोटाहिटी छेउको भरखरै निर्माणाधीन भवनको पर्खालको पुरै स्थानमा उनले पेन्टिङ बनाएका छन्। उनका अनुसार अलि लामो समयसम्म रहेको त्यो कला कुनै पनि बेला महानगर वा कसैको आँखाको तारो बन्न सक्छ। र तत्काल मेटिन समय लाग्दैन।  

शहरका धेरै पर्खालमा उनले पेन्टिङ बनाए, तर कुनै तत्कालै मेटिए त कुनै महिनौँ रहे। उनी आफ्नो कलालाई विभिन्न नाम दिएर भित्तामा ग्यालरी बनाउने प्रयत्न गर्छन्।

भित्तामा पेन्टिङ गर्दा अधिकांशको गुनासो हुन्छ– भित्तो फोहोर बनाइदियो। तर कलाले कस्तो सन्देश प्रवाह गरेको छ त्यो हेरिँदैन।

“हामी आफ्नो मस्तिष्कको फोहोर देख्दैनौँ, पर्खालको चाहिँ देख्छौँ, तर जहाँ मस्तिष्क सफा गर्ने अभिव्यक्ति दिने कला भित्तामा हुन्छ,” लक्ष्मण आफ्नो कलाको बचाउ गर्छन्।

वीर अस्पतालको पर्खालमा रहेको चित्रको पनि उनले नाम दिएका छन्– मस्तिष्कको कुनामा।

पहिला उनले आफ्नो मस्तिष्कमा सामाजिक–राजनीतिक चेतसहित पेन्टिङको खाका बनाउँछन्, ‘खोज’ उनकाे अभियान हाे, अनि पेन्टिङ गर्न थाल्छन् जस्तै– ‘घरघरमा भ्रष्टाचारी’, ‘मौन तन्त्र’, ‘संसद् र जनता’, ‘आफू मस्त देश अस्तव्यस्त’, ‘भ्रूण हत्या सचेतना’, ‘संकटमा प्राकृतिक कुचीकार’ ‘विकास र विनाश’, ‘चासो कसलाई’, ‘जलाएकी म’ आदि।

लक्ष्मणको चित्र यात्रा
सानैदेखि चित्र कोर्न सिपालु सिद्धहस्त लक्ष्मण भन्छन् “थाहा पाएदेखि नै चित्र बनाउँथेँ।” हरेक वस्तु, रूप हुबहु उतार्न खप्पिस थिए। दश कक्षा पढ्दासम्म उनी चित्रकारको रूपमा विद्यालय घरपरिवारमा परिचित भइसकेका थिए।

तर, चित्र कोर्ने कलालाई पेसा बनाउन सकिन्छ भन्ने विश्वास न परिवारलाई थियो न तत्कालीन समाजलाई। कमजोर आर्थिक अवस्था भएका कारण अभिभावकले चित्र कोर्ने कामलाई काम नै मान्दैनथे। “सानो होटल चलाएर बसेको बाबुआमाले चित्रको महत्त्व बुझ्ने कुरा पनि भएन, मलाई पनि यो कुनै राम्रो काम हो भन्ने लागेन,” लक्ष्मण बाल्यकाल सम्झन्छन्।

एसएलसीपछि वाणिज्य विषय अध्ययन गरे। स्नातक गरेपछि अकाउन्टेन्ट जागिर खाए। चित्र कोर्न छाडिसकेका थिए। नेपालगन्ज घर भएका लक्ष्मण काठमाडौँमा जागिरमा व्यस्त थिए। साथीसँगै कोठा भाडामा लिएर बसेका थिए। एक दिन साथीले उनलाई अंग्रेजी दैनिक पत्रिका ‘हिमालय टाइम्स’ मा छापिएको एक तस्वीर देखाए।

“त्यो नै मेरो जीवनको टर्निङ पोइन्ट बन्यो,” आज पनि ती दिन सम्झँदै लक्ष्मण भन्छन्, “दुई चराले आफ्नो बच्चालाई चारो खुवाउँदै गरेको र अर्कोचाहिँ, स्वयम्भूको बुद्ध मूर्तिमा चढाइएको लड्डु खान खोजिरहेका चराहरू।”

चित्र देखेपछि तुरुन्तै बजार पुगेर रङ, चार्ट पेपर किनेर ल्याइ चित्र बनाएको सम्झिँदै उनी भन्छन् “त्यो देखेपछि मेरो पूरै मनमस्तिष्क आँधीले रुख हल्लाएझैँ हल्लायो, मैले स्कुलमा बनाएका चित्र सम्झिएँ।”

उनले त्यो चित्र एउटा चिया पसलमा झुन्ड्याएका थिए। चिया पसलका एक ग्राहक जो कानून व्यवसायी थिए, उनलाई त्यो चित्र राम्रो लागेछ। उनले हजार रुपैयाँमा चित्र किने, त्यो क्षण लक्ष्मणले भुलेका छैनन्। “त्यसपछि मैले थाहा पाएँ मसँग भएको कलाको महत्त्व,” उनले उत्साहित हुँदै भने।

त्यसपछि उनी आफ्नो काम छाडेर नेपालगन्ज पुगेँ। उनका बाबुआमाले सानो होटल चलाउँछन्, उनीहरूको अहिले पनि त्यही व्यवसाय हो।  “म आन्तरिक रूपमा बदलिइसकेको थिएँ। आर्टिस्ट बन्ने धूनले रंगमगिएको थिएँ। घरको नाजुक आर्थिक स्थितिप्रति मेरो ध्यान गएन। त्यसबापत परिवारको अबगाल छँदै थियो,” उनी भन्छन्, “तर मेरो जीवनप्रतिको दृष्टिकोण पत्रिकाको तस्वीरले परिवर्तन गरिसकेको थियो। रातदिन नभनी चित्रकारिताको यज्ञमा आफूलाई होमे।” यो सन् २०१० तिरको कुरा हो। त्यसपछि लगातार सिर्जनामा डुबिरहेका छन्। वर्षैपिच्छे नयाँनयाँ चित्र बनाइरहेका छन्।

उनी कलाका विधाबारे जानकार थिएनन्। मूर्त, अमूर्त, यथार्थपरक, आधुनिक कुनै ज्ञान थिएन। मनमा जस्तो भाव उठ्थ्यो उनी पेन्टिङमा त्यस्तै उतार्थे।

चित्र बनाउने धुन यसरी सवार भयो, उनी मुम्बई पुगे। उनले सुनेका थिए, ठूला कलाकारले चक्कुले चित्र बनाउँछ भन्ने। आफूले बनाएका केही पेन्टिङ र थोरै पैसा बोकेर मुम्बईको जेजे स्कुल अफ आर्ट पुगेका उनी त्यहाँ भर्ना हुन सकेनन्। लक्ष्मण भन्छन्, “बनाएका सबै पेन्टिङ समुद्रमा फ्याँकुँझैँ लाग्यो। तर फेरि नेपाल आएर पढ्छु भनेर फर्किएँ।”

नेपाली मूलका भारतीय कलाकार लक्ष्मण श्रेष्ठसँग लक्ष्मण।

काठमाडौँ आएर उनी ललितकला क्याम्पसमा भर्ना भए। पढ्नका लागि पैसा थिएन, त्यसमाथि काठमाडौँको बसाइँ। “स्कुलमा काम गरेँ। चिया पसलमा बसेर गफ सुन्न थालेँ,” उनी सुनाउँछन्।

चिया पसलमा बसेर उनको मस्तिष्कको अर्को पाटो खुल्यो। घण्टौँ मानिसहरू गफ गरेर बस्ने, तर देशका लागि केही नगर्ने? उनलाई पोल्न थाल्यो। यसरी गफिएर केही हुन्न।  उनको अभियान शुरू भयो।  आफ्नो कलामार्फत एक उद्घोष गरे। ‘आफू मस्त देश अस्तव्यस्त’ शीर्षकमा अबिर छरेर नेपालगन्जको न्यूरोड, टीकापुर र काठमाडौँको वीर अस्पतालअघि कला प्रदर्शन गरे।

उनका शब्दमा देशप्रेम झल्किन्छ। नेपालगन्ज न्यूरोडस्थित एउटा घरको भित्तामा १६ घण्टा लगाएर चित्र बनाए। ‘भद्रगोल देशका व्यस्त नागरिक’ शीर्षकको उनको चित्रको सन्देश थियो– सबै पेसाकर्मीले संकोचको घेरा तोडेर देशका लागि दिनमा कम्तीमा दश मिनेट सोचिदिए धेरै फरक पर्छ।

२०६८ सालमा राष्ट्रिय ललितकला प्रदर्शनीमा ‘विविध अनुहार’ र ०६९ सालमा ‘नडराऊ’ शीर्षकको उनको चित्र छानिएको थियो। उनी त्यतिखेर कलाकार किरण मानन्धरसँग छलफल गर्थे, आइडिया लिन्थे। लक्ष्मण भन्छन्, “मेरा प्रतिभा देखेर कला समीक्षक रमेश खनालले काष्ठमण्डप आर्ट क्लासमा भर्ना गरिदिए।” उनले ६ महिना स्कलरसिपमा त्यहाँ कला सिके।

आफ्नो कलालाई देशभित्र मात्र सीमित नराखी विश्वव्यापी रूपमा फैलाउन चाहन्छन्। उनी भन्छन्, “त्यसैका लागि प्रयत्नरत छु।”

कलाको बजार र कलाकारको अवस्था

भित्ता र पर्खालमा आफ्नो कलामार्फत अभिव्यक्ति दिँदा उनलाई कुनै आम्दानी हुँदैन। अन्य व्यावसायिक काम गर्दा पाएको आम्दानी उनी पर्खाल र भित्तामा खर्चिन्छन्। “सधैँ पैसाका हाहाकारमा जीवन गुज्रेको छ,” लक्ष्मणको भोगाइ छ। उनका नजरमा मानिसका दैनिक खर्च खुम्च्याउँदै लगेको अहिलेका अवस्थामा मजस्ता कलाकारहरूलाई जीवन धान्न मुस्किल छ। चित्रकलाको बजार नेपालमा छैन। तर बजार छैन भन्दैमा त्यसै बस्न गारो हुन्छ। चित्र बनाउँदा खर्च त हुन्छ। कतिपयले सित्तैमा पनि चित्र माग्छन्। त्यति बेला भने चित्रकारको उत्साह मर्ने उनको अनुभव छ। 

बाबुआमाको एक्लो छोरा हुन् उनी। दुई दिदीबहिनीको बिहे भइसक्यो। घरमा आमाबुवा वृद्ध अवस्थामा पुगिसके। बिहेका लागि दिनहुँ भनिरहन्छन् उनलाई। तर उनको उमेर चार दशक पुगिसक्यो। भएको होटल चलाउन सक्ने अवस्थामा आमाबुवा छैनन्। उनलाई शहरमा बिहानबेलुकी खानसमेत धौधौ छ, घरभाडा तिर्न नसकेर घरधनीले पेन्टिङ कब्जामा राखेको छ। उनी भन्छन्, “यस्तो अवस्थामा कसरी बिहे गर्नु।”

जीवन त बाँच्नै पर्छ। आखिर मर्नु पनि। हार किन खाने? उनी भन्छन् “प्रोसेसमा मजा छ।” आर्थिक अभावले गाँजिरहँदा उनको सिर्जनामा भने कुनै असर पार्दैन। “आर्थिक अभावसँगै मैले मेरो कामलाई कहीँ विश्राम नदिई विस्तार गर्दै लगेको छु। म रोकिएको छैन,” उनी दृढताका साथ भन्छन् “मेरो अभियान, मेरो कामको एक दिन कदर हुन्छ।”

उनको शब्दमा यो ‘प्रोसेस’ हो र यसमा उनी आनन्दित हुन्छन्। स्कुल, रेस्टुरेन्ट, होटल आदि ठाउँबाट उनलाई चित्र बनाउने काम आउँछ। उनको आयआर्जनको पाटो त्यही नै हो। “त्यही रकमबाट बाँचेको छु,” लक्ष्मण  भन्छन्।

साधारण मानिसलाई ग्यालरीसम्म पुर्‍याउने अभियान
उनी सामान्यजनलाई सडकका कला हेरेर ग्यालरीसम्म पुर्‍याउने अभियान चलाइरहेको बताउँछन्। अहिले कुनै सामान्य मानिस ग्यालरीमा पुग्दैनन्। उनका अनुसार चित्रकलाप्रति अजंगको अँध्यारो पाटोबाट कलाका अग्रजहरू पनि मुक्त हुन सकेनन्। कठिन रूपमै बुझ्न र कला गारो हो भन्ने दृष्टिकोण नै उनीहरूमा रह्यो।

उनलाई लाग्छ, चित्र एक खाले वर्गको पेवा जस्तो बनेको छ। साधारण जनताले कला बुझ्दैनन् वा बुझ्न सक्तैन भन्ने मानसिकता समाजमा फैलाइएको छ। र त्यस्तो भएको पनि छ। सामान्य मानिसको कलाप्रतिको चासो र उत्सुकता कहीँ भेटिँदैन। एक खालको वर्गको मात्र कलाप्रति वर्चस्व हो किझैँ उनलाई लाग्छ। र कलाकारले पनि साधारण जनसम्म कला पुर्‍याउन खोजेको जस्तो उनलाई लागेन।

उनका अनुसार जसरी साहित्य भनेको सहज र सरल तरिकाले सबैले बुझ्न सक्ने विद्या भनियो, चित्रकला पनि त्यस्तै हो। त्यस्तै हुनुपर्छ। कुनै निश्चित वर्गले मात्र बुझ्ने होइन। सामान्यभन्दा सामान्य मानिसले बुझ्ने हुनुपर्छ। लक्ष्मण भन्छन्, “भित्तामा चित्र कोरिनुपर्छ। प्रत्येक सडकका पर्खाल चित्र कोर्नका लागि खुल्ला हुनुपर्छ।”

उनका विचारमा पर्खाल लगाउनेहरूले नै कलाकारलाई आह्वान गर्नुपर्छ, आफ्नो सडकतर्फको पर्खालको भित्तामा चित्र कोर्न। त्यति मात्र होइन। चित्र कोर्ने कलाकारलाई त्यसबापत पारिश्रमिक दिन सक्ने क्षमता पनि घरधनीले राख्न सक्नुपर्छ। त्यसो गर्न सक्ने व्यक्तिले मात्र समाजप्रतिको आफ्नो कर्तव्य र जिम्मेवारी वहन गर्न सक्छन्। त्यसपछि मात्र समाजमा परिवर्तन आउँछ। समाज परिवर्तनका ठूल्ठूला कुरा सुनिन्छन्।

आज संसारको परिवर्तन सडकबाटै भएको हो। देश परिवर्तनको अजेन्डा सडक भएर नै जनता र शासकसम्म पुगेको हो। तर लक्ष्मणको त्योभन्दा बेग्लै तर्क छ, “त्योभन्दा शक्तिशाली बन्न सक्छ रित्ता र खाली पर्खाल। त्यहाँ कलाकारले मानिसको पुरै मानसिकता बदल्ने कला रोप्न सक्छन्।”


सम्बन्धित सामग्री