Monday, April 29, 2024

-->

टाइटानिक डुबेको ११२ वर्षसम्म पत्ता नलागेका चार रहस्य

टाइटानिक हिउँको विशाल ढिस्कोमा ठोक्किएर डुबेको थियो। इंग्ल्यान्डको साउथ ह्याम्पटनबाट अमेरिकाको न्यूयोर्कतर्फ गइरहेको यो पानीजहाज पहिलो यात्रामा नै डुब्दा एक हजार ५०० जनाको मृत्यु भएको थियो।

टाइटानिक डुबेको ११२ वर्षसम्म पत्ता नलागेका चार रहस्य

आन्ध्र महासागरको उत्तरी क्षेत्रमा डुबेको टाइटानिक नामको पानीजहाज हेर्न गएका पाकिस्तानी र बेलायती धनाढ्य चढेको पनडुब्बी आइतबार (जुन १८) देखि बेपत्ता छ। क्यानडाबाट करिब ६५० किलोमिटरको दूरीमा रहेको उक्त पानीजहाज समुद्र सतहबाट तीन हजार ८४३ मिटर तल छ।

टाइटानिक ११२ वर्षअघि हिउँको विशाल ढिस्कोमा ठोक्किएर डुबेको थियो। पानीजहाज इंग्ल्यान्डको साउथ ह्याम्पटनबाट अमेरिकाको न्यूयोर्कतर्फ गइरहेको थियो। कहिल्यै नडुब्ने मानिएको उक्त जहाज दुर्घटनामा पर्दा करिब एक हजार ५०० जनाले ज्यान गुमाएका थिए। बीबीसीले यो जहाजका चार रहस्य खोतलेको छ।

१. कहिल्यै नडुब्ने बताइएको थियो
यो जहाज बनाउँदा कहिल्यै नडुब्ने दाबी गरिएको थियो। यसको निर्माण आयरल्यान्डको हाल्र्यान्ड एन्ड वोल्फ कम्पनीले गरेको थियो। यसलाई त्यो समयको अत्याधुनिक र विशाल पानीजहाज मानिएको थियो। हरेक जाँच गरेर बनाइएको जहाज हिउँको विशाल ढिस्कोसँग ढोक्किने कल्पना भने नगरिएको बीबीसीले उल्लेख गरेको छ।

ब्राजिलको रियो दि जेनेरियोस्थित संघीय विश्वविद्यालयको इन्जिनियरिङ विभागका प्राध्यापक अलेक्जेन्डर द पिन्हो अल्होले भनेका छन्, “विशाल हिउँको ढिस्कोको टक्कर यति जोडदार थियो कि, जहाजको मुख्य भागको आधासम्म प्वाल परेको थियो। जहाजको छतसम्म पानी पुगेको थियो र पूरै भरिएको थियो।”

सबै परीक्षण गरिएको जहाजमा हिउँसँग हुने टकरावको परीक्षण किन भएन भन्ने अहिले पनि रहस्य छ।

२. कप्तानलाई ‘ब्लू ब्यान्ड’ पाउने लालसा
आन्ध्र महासागर सबैभन्दा तीव्र गतिमा पार गर्ने जहाजलाई सन् १८३९ देखि ‘ब्लू ब्यान्ड’ दिइन्थ्यो। टाइटानिकलाई यो सम्मानको सबैभन्दा बलियो हकदार मानिएको थियो। इंग्ल्यान्ड र जर्मनीबीच त्यसबेला तीव्र गतिमा कुद्ने रेल बनाउने होड नै चलेको थियो। 

विशाल र तीव्र गतिमा कुद्ने जहाजलाई आधिकारिक रूपमा ब्लू ब्यान्डको सम्मान मिल्थ्यो र यसका लागि पहिलो यात्रा महत्त्वपूर्ण मानिन्थ्यो। त्यतिबेला टाइटानिकको कप्तानले पनि यो सम्मान पाउन जहाजको गतिलाई बढाएका थिए। प्राध्यापक अल्होका कप्तानलाई बाटोमा विशाल हिमखण्ड भएको सूचना मिलेको भए पनि उनले गति कम नगरको जिकिर गर्छन्। यसमा ब्लू ब्यान्डको लालसा नै भएको उनको भनाइ छ।

३. टाइटानिक ‘एक्लै’ थिएन
टाइटानिक बनाउँदा यसलाई सञ्चालन गर्ने ह्वाइट स्टार लाइन कम्पनीले सँगै अरू तीन जहाज पनि बनाएको थियो। संयोग के छ भने, यी तीनै वटा जहाज कुनै न कुनै दुर्घटनामा परेका छन्। जबकि, यी तीन वटै जहाजलाई त्यतिबेला विश्वको सबैभन्दा सुरक्षित मानिएको थियो।

यी जहाज सन् १९०८ देखि १९१५ को बीचमा बनाइएको थियो। १९०८ मा ओलम्पिक, १९०९ मा टाइटानिक र १९११ मा जागेन्टिक जहाजको उत्पादन शुरू भएको थियो। ओलम्पिक जहाजको सेवा सन् १९११ मा शुरू भएको थियो। यो जहाज सन् १९१८ मा एउटा युद्धपोतसँग ठोक्किएको थियो। यसलाई मर्मत गरेर सन् १९३५ सम्म सञ्चालन गरिएको थियो।

सन् १९१२ अप्रिल १० बाट सेवा शुरू गरेको टाइटानिक अप्रिल १४ मा दुर्घटनामा परेको थियो। जाइगेन्टिकको नाम बदलेर ब्रिटानिक बनाइएको थियो। यो जहाज सन् १९१६ नोभेम्बरमा डुबेको थियो। 

४. पानीजहाजमा थिएन ‘लाइफ बोट’
यो दुर्घटनापछि पानीजहाज सुरक्षाको अनुसन्धान शुरू भयो। दोस्रो विश्वयुद्धपछि जहाजमा राडार राख्न शुरू गरिएको थियो। यसअघि आँखाको दृष्टिको भरमा जहाज चलाइन्थ्यो। त्यसका लागि नाबिकलाई उचाइमा राखिन्थ्यो, जसले ठूला हिमखण्ड देखेपछि कप्तानलाई खबर गर्थे।

टाइटानिक दुर्घटनामा एक हजार ५०० जनाको मृत्यु भयो। यति ठूलो संख्यामा मृत्युको प्रमुख कारणमध्ये एउटा ‘लाइफ बोट’ नहुनु पनि हो। पानीजहाजमा एउटा पनि ‘लाइफ बोट’ थिएन। यसलाई कहिल्यै नडुब्ने जहाजको रूपमा स्वीकार गरिएको कारण लाइफ बोट नराखिएको प्राध्यापक अल्होको भनाइ छ। 


सम्बन्धित सामग्री