Monday, May 06, 2024

-->

के मानिस १४१ वर्षसम्म बाँच्न सक्छन्?

अहिलेसम्म सबैभन्दा बढी बाँचेको कीर्तिमान फ्रान्सकी जिना काल्मेन्टको नाममा छ। उनी १२२ वर्ष बाँचेकी थिइन्। सन् १८७५ मा उनी जन्मिँदा मान्छेको औसत आयु ४० वर्ष मात्र थियो।

के मानिस १४१ वर्षसम्म बाँच्न सक्छन्

कति वर्षको उमेरलाई बुढ्यौली मान्ने आफैँमा जटिल विषय हो र धेरैको व्यक्तिगत धारणा हुनसक्छ। तर मानिसको अधिकतम आयु कति हो भन्ने प्रश्नमा अधिकांशको उत्तर १०० वर्ष वा त्योभन्दा दुई चारवर्ष अघिपछि भएको अनुमान हुनसक्छ।

भविष्यमा मानिस १४१ वर्षसम्म पनि बाँच्न सक्छन् भन्ने सुन्दा अपत्यारिलो लाग्नसक्छ। अमेरिकाको जर्जिया विश्वविद्यालयका अनुसन्धानकर्ताको अध्ययनले भविष्यमा मानिसहरू १४१ वर्षसम्म बाँच्नसक्ने देखाएको छ। अहिले बाँचिरहेका मानिसहरूकै आयु १४१ वर्षसम्म हुनसक्ने बताइएको छ। 

अध्ययनअनुसार महिला १३० र पुरूष १४१ वर्षसम्म बाँच्नसक्ने देखिएको विश्वविद्यालयका सहायक प्रोफेसर डाक्टर डेभिड म्याकर्थी बताउँछन्। हालसम्म वैज्ञानिकहरूले मानिस अधिकतम १२० वर्षसम्म बाँच्ने कुरालाई विश्वास गर्दै आएका थिए। 

अहिलेसम्म सबैभन्दा बढी बाँचेको कीर्तिमान फ्रान्सकी जिना काल्मेन्टको नाममा छ। उनी १२२ वर्ष बाँचेकी थिइन्। सन् १८७५ मा जन्मिएकी उनको १९९७ मा मृत्यु भएको थियो। उनी जन्मिँदा मान्छेको औसत आयु ४० वर्ष मात्र थियो।

तर नयाँ अध्ययनले मानिस काल्मेटको आयुभन्दा थप दुई दशक बाँच्नसक्ने देखाएको हो। बेलायतमा सन् १९४० मा जन्मिएका मानिसहरू अधिकतम १२५ वर्षसम्म बाँच्ने संभावना आधा आधा रहेको भनिएको छ। यस्तै, हाल ८० को दशकमा बाँचिरहेका अधिकांश मानिस सन् २०६५ सम्मै जीवित हुनसक्ने अध्ययनले देखाएको छ। 

मानिसको जीवनकालबारे बुझ्न विभिन्न १९ देशमा मानिसको आयु बढिरहेको वा खुम्चिएको छ भन्ने अध्ययन गरिएको थियो। जसमा अधिकांश देशमा आयु बढेको पाइएको थियो। 

यद्यपि, सानो दायरामा अध्ययन गरिएकाले यसमा पूर्णरूपमा विश्वास नगर्न पनि अनुसन्धानकर्ताहरूको सुझाव छ। आफूहरूको अध्ययन पूरा हुने सम्भावना ५०-५० प्रतिशत रहेको उनीहरूको भनाइ छ।
 


सम्बन्धित सामग्री