Sunday, May 05, 2024

-->

‘बलिया’ १२ स्वतन्त्र उम्मेदवार, जो दलहरूका लागि बन्दैछन् चुनौती

पार्टीले टिकट नदिँदा स्वतन्त्र उम्मेदवारी दिएका नेताहरू पार्टीकै आधिकारिक उम्मेदवारलाई चुनौती बनेका छन्।

‘बलिया’ १२ स्वतन्त्र उम्मेदवार जो दलहरूका लागि बन्दैछन् चुनौती

काठमाडौँ– गएको स्थानीय तह निर्वाचनमा काठमाडौंंमा बालेन शाह र धरानमा हर्क साङपाङ र धनगढीमा गोपाल हमाल प्रमुखमा विजय भए। दलहरूले सुशासनलाई बेवास्ता गरेको, जनसरोकारका मुद्दालाई नजरअन्दाज गरेको र भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाउँदै ठूला शहरमा स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई मतदाताले पत्याए।

त्यति मात्र नभइ दलहरूले ‘उचित मूल्यांकन नगरेको’ भन्दै बागी उम्मेदवारी दिएका कतिपयले पनि जित हासिल गरे। जनकपुरमा मनोज साह र बर्दिबासमा प्रह्लाद क्षेत्रीले बागी उठेरै विजयी भए।

स्थानीय तह निर्वाचनमा स्वतन्त्रहरूको जितको प्रभाव आमनिर्वाचनमा पनि देखिएको छ। कुनै दलमा सक्रिय नभएकादेखि दलहरूबाट टिकट नपाएकाहरूसम्म स्वतन्त्र उम्मेदवार बनेका छन्। धेरैजसो चाहिँ गठबन्धनका कारण अर्को दलको भागमा परेको क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेका छन्। कतिपय क्षेत्रमा स्वतन्त्र उम्मेदवारले दलका उम्मेदवारलाई हम्मे बनाइरहेका छन्।

जित हासिल गर्न सक्ने वा दलका उम्मेदवारलाई हराउन (वा जिताउन) सक्ने भन्दै कतिपय उम्मेदवारको चर्चा भइरहेको छ। देशभर चर्चामा रहेकामध्ये १२ ‘बलिया उम्मेदवार’ यस्ता छन् :

घनश्याम भूसाललाई सत्ता गठबन्धनको समर्थन
विद्यार्थी राजनीतिबाट चर्चा पाएका घनश्याम भूसालले मार्क्सवादी विचारको व्याख्या र विस्तारमा लामो समय खर्च गरे। २०३५ सालबाट उनी राजनीतिक दलमा संलग्न भएका थिए। २०५३ सालको उपनिर्वाचनमार्फत उनी पहिलोपटक प्रतिनिधिसभा सदस्य बनेका हुन्। २०६५ सालमा एमालेको केन्द्रीय सदस्य बने। दुईपटक मन्त्री बनिसकेका भुसाल २०७१ सालमा एमालेको उपमहासचिव भए। उनी २०७४ सालको आमनिर्वाचनमा रूपन्देही–३ बाट निर्वाचित भएका थिए। 

यसपटक उनी आफ्नो पुरानै निर्वाचन क्षेत्र वा रुपन्देही–१ मध्येबाट उम्मेदवारको आकांक्षी थिए। तर, एमाले अध्यक्ष केपी ओलीले दुवै क्षेत्रबाट टिकट नदिएपछि पार्टी परित्याग गरी रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनलाई सत्ता गठबन्धनले समर्थन गरेको छ।  

एमालेले यो क्षेत्रबाट छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ। एमालेका एक स्थानीय नेताका अनुसार भखैरै पार्टी प्रवेश गरेकालाई स्थानीय तहको निर्वाचनमा टिकट दिएको भन्दै विश्वकर्मासँग पार्टीकै एउटा खेमा असन्तुष्ट छ। त्यो मत आफूतिर आउने भूसालको आशा छ। “मैले निष्ठाको राजनीति गर्न खोजेको हुँ। बदलामा नेतृत्वले टिकट दिएन। तर, मेरा जनताले मलाई विश्वास गरेर संसद्‍मा पठाउँछन् भन्ने विश्वास छ,” भूसालले भने। 

गत आमनिर्वाचनमा भूसालले रूपन्देही–३ मा ३२ हजार ८६६ मतसहित राप्रपाका दीपक बोहोरालाई पराजित गरेका थिए। बोहोराले २७ हजार ४४२ मत पाएका थिए। एमाले वाम गठबन्धनमा थियो भने, बोहोरालाई कांग्रेसको समर्थन थियो। यसपटक बोहोरा कांग्रेसकै बालकृष्ण खाँणसँग प्रतिस्पर्धामा छन् भने भूसालले क्षेत्र परिवर्तन गरेका छन्।

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूतर्फ रुपन्देही–१ मा कांग्रेसले ३२ हजार ९९९, एमालेले ३० हजार ३९४, राप्रपाले १४ हजार ५५२, जसपाले ६ हजार ६९५, माओवादीले चार हजार २०२, एकीकृत समाजवादीले एक हजार २४३ मत पाएका थिए। यहाँ सत्ता गठबन्धनको मत ३८ हजार ४४४ र एमाले तथा राप्रपाको ४४ हजार ९४६ मत थियो। तर, एमालेको ठूलो संख्यामा मत भूसालले पाउने हुँदा उनी बलियो रहेको पूर्व शिक्षक एवं नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता ऋषि आजातले बताए।

एमालेको टिकट छाडेर स्वतन्त्र भएका प्रभु साह
प्रभु साह २०५४ सालको स्थानीय निर्वाचनमा एमालेबाट रौतहटको पतौरा गाविसको वडाध्यक्षमा निर्वाचित भएका थिए। २०५७ सालमा मौलापुर चिरचिरास्थित प्रहरी चौकीको भवनमा तत्कालीन नेकपा माओवादीसँग मिलेर आगजनी गरेपछि उनी फरार भएका थिए। फरार अवस्थामै त्यति बेला भूमिगत रहेको माओवादी प्रवेश गरेका थिए। 

गएको वर्ष नेकपा विभाजन हुँदा उनी एमालेमा रहे। केही समय एमाले मधेश प्रदेशको अध्यक्ष भए। तर, अध्यक्ष केपी शर्मा ओली निकट रघुवीर महासेठसँग सम्बन्ध राम्रो हुन सकेन। ओलीले महासेठको साथ दिएर उनलाई मधेश प्रदेश अध्यक्षबाट हटाए। ज्वाला साहले मधेश प्रदेशको अध्यक्षको जिम्मेवारी पाइन्।
एमालेको १०औँ महाधिवेशनपछि  महासेठ पार्टी सचिव र इन्चार्ज बने। उनलाई एमालेले टिकट दिए पनि आफू पक्षका अन्य नेतालाई टिकट नदिएको भन्दै साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराए।

उनी रौतहट–३ बाट पहिलो र दोस्रो संविधानसभा तथा २०७४ सालको आमनिर्वाचन जितेका थिए। पटकपटक मन्त्री बनिसकेका साहको प्रभाव आफ्नो निर्वाचन क्षेत्रमा राम्रो भएको एमाले प्रदेश कमिटीकै एक नेताले बताए। “साह विवादमा आइरहने, विद्रोह गरिरहने पात्र हुन्। तर यसपटक साहले नै जित्ने अवस्था छ”, ती नेताले भने। 

तर, साहको जितमा अन्य स्वतन्त्र उम्मेदवार चुनौती बनेका छन्। यद्यपि, सत्ता गठबन्धनको समर्थन भएकाले उनी जितका लागि बलिया उम्मेदवार हुन्। “मलाई उपेन्द्र यादव नेतृत्वको जसपासँग एमालेले चुनावी तालमेल गरेको चित्त बुझेको थिएन। त्यसमाथि जित्ने आधार भएकालाई पनि टिकट दिइएन। त्यसैले मैले विद्रोह गर्न बाध्य भएँ”, साहले भन्छन्। 

गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा एमालेले सबैभन्दा बढी २१ हजार ७२९ मत पाएको थियो। तर, यति बेलासम्म उनी एमालेमै थिए। त्यस्तै, कांग्रेसले १९ हजार २४१, एकीकृत समाजवादीले ११ हजार ७३६, माओवादी केन्द्रले ११ हजार २७९ र जसपाले ९ हजार ४८३ मत पाएका थिए।

पार्टीका सबै पदबाट राजीनामा दिएका हेमराज भण्डारी 
धनकुटाका हेमराज भण्डारी माओवादी केन्द्रका युवा र सम्भावना बोकेका नेता थिए। उनी २०५६ सालमा दिनानाथ शर्मासँगै नेकपा मसालबाट तत्कालीन नेकपा माओवादी प्रवेश गरेका थिए। माओवादी शान्ति प्रक्रियामा आएपछि उनी पहिलो संविधानसभा सदस्यमा धनकुटा–१ बाट विजयी भएका थिए। 

माओवादी केन्द्रको पोलिट ब्युरो सदस्य रहेका उनले गएको असोज ९ गते पार्टीको साधारण सदस्यसमेतबाट राजीनामा दिए। त्यसै दिन उनले धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए। उनीसँगै धनुकटा माओवादीका सबै कमिटीका अधिकांशले राजीनामा घोषणा गरेर उनलाई साथ दिइरहेका छन्।

उनलाई एमालेसँग असन्तुष्ट रहेकाको पनि समर्थन छ। एमाले उम्मेदवार राजेन्द्र राईले कार्यकर्तालाई काखा र पाखा गरेको भन्दै कतिपय समर्थक असन्तुष्ट भएका र उनीहरूले भण्डारीलाई समर्थन गरेको एक नेता बताउँछन्। कांग्रेसले सूर्यबहादुर थापापुत्र सुनिललाई उम्मेदवार बनाएपछि ‘कोइराला खेमा’ले पनि उनलाई सहयोग गरिरहेको ती एमाले नेताले बताए। 

उनको जन्मथलो तमोरपारि चौबिसे क्षेत्रको मत पाउने उनका समर्थक बताउँछन्। त्यसैगरी जसपाले पनि अघोषित रूपमा उनैलाई समर्थन गरिरहेको छ। धनकुटामा जसपा र एमाले गठबन्धन छैन। जसपाबाट रकम चेम्जोङ प्रदेशसभामा उम्मेदवार छन्।

धनकुटाका सामाजिक अभियन्ता जीवन राई इमान्दार र स्वच्छ छवि भएको कारण भण्डारी बलियो उम्मेदवार भएको बताउँछन्। “धनकुटाबासीलाई विकास चाहिएको छ। उहाँले यहाँको विकासमा सक्रियता देखाइरहनु भएको छ। केन्द्र र जिल्लालाई जोड्ने कोशिश गर्नु भएको छ। त्यसैले उहाँ माओवादीमा रहेको भए पनि मत पाउनुहुन्थ्यो।  स्वतन्त्र उठ्दा झनै फाइदा भएको छ,” राइले भने। 

भण्डारीले आफू गलत अभ्यासको विरोधी भएको कारण पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएको बताए। “पार्टीलाई ठीक ढंगले चलाउन मैले पटकपटक सुझाव दिएँ, नेतृत्वबाट पालना भएन। म जनताकै मतमा निर्भर छु, यसपटक मेरो जितमा म ढुक्क छु”, भण्डारीले भने। 

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा एमालेले ३६ हजार ३३६, कांग्रेसले २८ हजार १८२, माओवादीले पाँच हजार ४५८, जसपाले दुई हजार २९३ र एकीकृत समाजवादीले एक हजार ७२८ मत पाएका थिए।

कांग्रेसको मतको भरमा अजय द्विवेदी
२०४९ सालको पहिलो स्थानीय निर्वाचनमा अजय द्विवेदी नेपाली कांग्रेसका तर्फबाट वीरगन्ज नगरपालिकाको उपमेयर निर्वाचित भएका थिए। शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस विभाजन हुँदा उनी कांग्रेस प्रजातान्त्रिकको जिल्ला सभापति भएका थिए। २०६४ सालको संविधानसभा निर्वाचनमा उनी पर्सा–२ बाट निर्वाचित भएका थिए। 

द्विवेदी २०७४ सालको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयरमा पराजित भएका थिए। उनी यसपटक पर्सा–१ बाट प्रतिनिधिसभाको उम्मेदवार आकांक्षी थिए। तर, सत्ता गठबन्धनबाट लोसपाका लक्ष्मणलाल कर्णले टिकट पाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका छन्। पार्टी निर्णयविरुद्ध उम्मेदवारी दिएको भन्दै कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। 

शुरूआतमा देउवा खेमामा रहेका उनी १३औँ अधिवेशनबाट विमलेन्द्र निधीको पक्षमा लागे। उनले बागी उम्मेदवारी दिएपछि जिल्लास्थित देउवा खेमाका नेता असन्तुष्ट छन्। तर, कांग्रेसको शेखर कोइराला पक्षमा रहेका राजेन्द्र अमात्य समूहले आफ्नो साथ दिएको द्विवेदी बताउँछन्।

कांग्रेस क्षेत्रीय सभापति अरविन्द गुप्ता पनि द्विवेदीको पक्षमा पर्सा कांग्रेसको एउटा खेमा लागेको बताउँछन्। “अजय द्विवेदीको पक्षमा म र हाम्रो समूह छ, वीरगञ्जका आमजनता नै उहाँको पक्षमा छन्”, गुप्ताले भने। 

एमालेसँगको गठबन्धनमा यो क्षेत्रबाट जसपाका प्रदिप यादव उम्मेदवार छन्। तर, एमाले नेताहरू यादवसँग असन्तुष्ट भएका कारण त्यो मत पनि आफूहरूले पाउने द्विवेदी पक्षको भनाइ छ। एमालेका एक केन्द्रीय सदस्य पनि द्विवेदीले मत पाउने बताउँछन्। उनले भने, “वीरगन्जमा यसपटक हाम्रो नेतृत्वले सही उम्मेदवार छानेन। गलत पात्रलाई मत दिनुभन्दा अर्को पार्टीको सही पात्रलाई मत दिनु राम्रो भन्ने हाम्रो निष्कर्ष छ। त्यसैले हामी पनि द्विवेदीको पक्षमा उत्रिएका छौँ।” 

गत स्थानीय तहको निर्वाचन यो क्षेत्रमा पर्ने वडाबाट वडाध्यक्षको मतअनुसार कांग्रेसले २० हजार ८१९, एमालेले १६ हजार ९३५, जसपाले १५ हजार ३२८, लोसपाले तीन हजार ३१३, एकीकृत समाजवादीले दुई हजार ९२ र माओवादी केन्द्रले एक हजार ९९५ मत ल्याएका थिए।

कांग्रेसले टिकट नदिएपछि अमरेशकुमार सिंह बागी
सर्लाहीका अमरेशकुमार सिंह तीनपटक सांसद भइसकेका छन्। उनी २०६३ सालमा अन्तरिम व्यवस्थापिकाको सदस्य बनेका थिए। २०७० सालको दोस्रो संविधानसभामा सर्लाही–६ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। २०७४ सालमा सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उनलाई यसपटक कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

आफू सभापति शेरबहादुर देउवाको कटु आलोचक भएका कारण टिकट नपाएको उनको गुनासो छ। सर्लाही–४ मा कांग्रेसले नागेन्द्रकुमार रायलाई टिकट दिएको छ। अर्कोतिर सत्ता गठबन्धनमै रहेको दल माओवादीका शिवपुजन रायले नागेन्द्रकुमार रायविरूद्ध छोरी मधुमालालाई स्वतन्त्र उम्मेदवार बनाएका छन्। एमालेले भने जसपाका राकेश मिश्रलाई समर्थन गरेको छ।

नागेन्द्र राय क्षेत्रभन्दा बाहिरको उम्मेदवार भएको भन्दै कतिपय कांग्रेस कार्यकर्ताले सिंहलाई साथ दिएका छन्। सो क्षेत्रका कांग्रेसका एक नेताले भने, “अमरेशकुमार पार्टीको केन्द्रदेखि तलसम्म हेपिनुभयो। जबकि, उहाँ जिल्लाको विकासमा चासो राख्ने र पार्टीमा पनि सक्रिय नेता हो। हामी उहाँलाई समर्थन जुटाउने कोशिशमा छौँ। उहाँले जित्नु हुन्छ।” 

लामो समय राजनीति र आफ्नो क्षेत्रको विकासमा सक्रिय भए पनि केन्द्रले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएको सिंहले बताए। यो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूतर्फ कांग्रेसले २३ हजार १३१, माओवादी केन्द्रले १८ हजार ६१५, लोसपाले १४ हजार ७३१, एमालेले ११ हजार ६७४, जसपाले ६ हजार ४३३, र जनमत पार्टीले २ हजार ६१२ मत ल्याएका थिए। 

मनोज मेयाङ्बोलाई एमाले समर्थकको भर
मनोज मेयाङ्बो २०४० सालदेखि वाम राजनीतिमा सक्रिय छन्। पञ्चायतविरोधी आन्दोलनमा लागेका उनी २०४९ सालमा एमालेबाट तत्कालीन धरान नगरपालिकाको उपमेयर र २०५४ सालमा मेयर भएका थिए।

२०६४ सालमा पहिलो संविधानसभा निर्वाचनमा सुनसरी १ बाट एमालेका उम्मेदवार बनेका मेयाङ्बो माओवादीका किरण राईसँग पराजित भएका थिए। त्यसपछिका पाँच वर्षसम्म नागरिक समाजको अध्यक्ष भएर नागरिक आन्दोलनको अगुवाइ गरेका थिए।

उनी एमालेको प्रदेश समिति सचिवालय सदस्य थिए। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा धरानको मेयरको उम्मेदवार आकांक्षी पनि थिए। तर, मञ्जु भण्डारीले टिकट पाए पनि जित हासिल गर्न सकिनन्।

आगामी प्रतिनिधिसभाका लागि एमालेले सुनसरी–१ बाट निवर्तमान सांसद जयकुमार राईलाई सर्वसम्मत सिफारिस गरेको थियो। तर, एमालेले जसपाका उम्मेदवार अशोक राईलाई समर्थन गरेपछि मेयाङ्बोले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। सत्ता गठबन्धनबाट माओवादी केन्द्रका मुक्साहाङ सुब्बा उम्मेदवार छन्।

सुनसरी–१ मा धरान उपमहानगरपालिका, रामधुनी नगरपालिकाको वडा नं. ६, ७, बराह नगरपालिकाको वडा नं. १, २, ३, ४, ५ पर्छन्। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा पर्ने वडाध्यक्षतर्फ एमालेले ३३ हजार ४५३, कांग्रेसले २६ हजार ६६४, माओवादीले सात हजार १८ र राप्रपाले चार हजार ७४ मत पाएका छन्।

सत्ता गठबन्धनले नपत्याएका नरेन्द्रबहादुर खड्का
डोटीको उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नरेन्द्रबहादुर खड्काले सुदूरपश्चिमको राजधानी दिपायललाई बनाउन अभियान नै चलाएका छन्। २०४८ सालदेखि कांग्रेसको राजनीति गरिरहेका उनी यसपटक प्रतिनिसभा उम्मेदवारको आकांक्षी थिए। तर, सत्ता गठबन्धनले एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री प्रेम आलेलाई उम्मेदवार बनाएपछि उनले पार्टी त्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन्।

कांग्रेसले सुदूरपश्चिम प्रदेश सभापतिसमेत रहेका वीरबहादुर बलायरलाई कैलाली–४ मा सारेर आलेका छाडिदिएको छ। एमालेले डोटीमा गौरी वलीलाई उठाएको छ। 

खड्का आफूले विगतमा गरेका कामकै आधारमा जित्ने दाबी गर्छन्। “मैले कति काम गरेको छु त्यो डोटीका जनताले देख्ने कुरा हो। पार्टीले मलाई अन्याय गर्यो। जनताले मलाई न्याय गर्छन् भन्नेमा विश्वस्त छु”, उनले भने। 

गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा डोटीमा कांग्रेसले ३४ हजार ०४७, एमालेले २४ हजार ९१६, माओवादी केन्द्रले सात हजार ७८९, एकीकृत समाजवादीले तीन हजार २०५ मत पाएका थिए।

कांग्रेसले निष्कासन गरेका पुष्करनाथ ओेझा
पुष्करनाथ ओझाले २०३४ सालमा धनगढीको त्रिनगर माविमा कक्षा ८ पढ्दै गर्दा नेवि संघबाट राजनीति शुरू गरेका थिए। उनी कैलाली–३ बाट २०५६ सालको आमनिर्वाचनमा निर्वाचित भएका थिए। त्यसपछि उनी सूचना तथा सञ्चार राज्यमन्त्री भए। २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा पनि उनी चुनाव लड्न चाहन्थे। तर, पार्टी सभापति शेरबहादुर देउवाले डडेल्धुरा र कैलाली–६ मा एकैपटक उम्मेदवारी दिएपछि उनी पछि हटेका थिए। देउवाले दुवै ठाउँमा जितेपछि कैलाली छोडेर डडेल्धुरा रोजे। त्यसपछि भएको उपनिर्वाचनबाट उनी निर्वाचित भए।

२०७४ सालमा पनि ओझा कैलाली–५ बाट आकांक्षी थिए। तर, देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि उनी रूष्ट बनेका थिए। राणा वामगठबन्धनबाट एमालेका उम्मेदवार नारदमुनी रानासँग पराजित भइन्। चुनावमा असहयोग गरेको भन्दै ओझालाई पार्टीले कारबाही गरेको थियो।

यसपटक कैलाली–५ बाट एकल सिफारिसमा परेकी राणाले ओझाको साथ नपाउने भएपछि समानुपाति प्रणाली रोजिन्। त्यसपछि कारबाही फुकुवा गरेर कांग्रेसले उनलाई टिकट दिने चर्चा भएको थियो। तर, पार्टीले टिकट नदिएपछि ओझा बागी उठेका हुन्। यो क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त र एमालेका नारदमुनि राना उम्मेदवार छन्। 

गत स्थानीय तहको निर्वाचनमा मतको आधारमा एमालेभन्दा गठबन्धन झन्डै दोब्बर मतले अगाडि छ। कैलाली–५ मा पर्ने धनगढी उपमहानगरकाका १९ वटै र कैलारी गाउँपालिकाका दुईवटा गरी २१ वटा वडामा वडाध्यक्षले पाएको मतका आधारमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको ३२ हजार ६०० र एमालेको १७ हजार ४२० मत छ। कांग्रेस एक्लैको २२ हजार ७७९ मत छ।  

तर कांग्रेस असन्तुष्ट समूहले ओझालाई साथ दिएका छन्। पार्टीहरूप्रति जनताको वितृष्णा नै आफूले चुनाव जित्ने आधार भएको दाबी गर्छन्। “राजनीतिक दलका नेताहरूले गरेको व्यवहारले जनता निराश छन्। यो सबै पार्टीमा देखियो। गठबन्धनको पक्षमा जनता छैनन्। त्यसैले मलाई मत आउँछ”, उनले भने।

कैलाली कांग्रेसका पूूर्वसभापति पूर्ण कुँवरका अनुसार कांग्रेसका धेरै स्थानीय नेता ओझाको पक्षमा मत मागिरहेका छन्। “पुष्पकरनाथ ओझालाई यहाँका जनताले राम्ररी चिनेका छन्। उहाँले गरेका कामका आधारमा हामीले फेरि जिताउन लागेका हौँ। पार्टीले कारबाही गर्छ भने भोग्न तयार छौँ”, उनले भने।

गोविन्दराज जोशी लगातार बागी
बीपी कोइरालाबाट प्रभावित भएर १५ वर्षको उमेरमा कांग्रेसमा लागेका उनले २०२६ सालमा नौ सदस्यीय तनहुँ जिल्ला समिति गठन गरेका थिए। उनी २०४८, २०५१ र २०५६ सालमा तनहुँबाट प्रतिनिधिसभा सदस्य बनेका थिए। कांग्रेसको १०औँ महाअधिवेशनबाट उनी सहमहामन्त्री बनेका थिए। पटकपटक मन्त्री भइसकेका उनी पहिलो संविधानसभा निर्वाचनमा पहिलोपटक माओवादी केन्द्रका उम्मेदवारसँग पराजित भएका थिए। भ्रष्टाचारको मुद्दा लागेपछि उनले २०७० सालको संविधानसभा चुनावमा टिकट पाएनन्। 

उनले २०७४ सालमा रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवार बनेपछि कांग्रेसले उनलाई पार्टीबाटै निष्कासन गरेको थियो। तर, भ्रष्टाचार मुद्दाका कारण उजुरी परेपछि उनको उम्मेदवारी खारेज भएको थियो। यसपटक पनि उनी पौडेलविरुद्ध नै बागी उठेका छन्। 

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा जोशीले छोरा दीपकराजलाई मेयरमा उम्मेदवार बनाएका थिए। उनलाई एमालेले समर्थन गरे पनि पराजित भएका थिए। 
जिल्लाको विकासका लागि गरेको विगतका कामका आधारमा आफू विजयी हुने जोशीको दाबी छ। “पार्टीले मलाई कारवाही गरेकोले म पार्टीविहीन छु। तर, जनताको बलियो साथ छ। तनहुँको विकासमा मेरो योगदान छर्लङ्गै छ। थप विकासका लागि म सांसद हुन आवश्यक छ,” जोशीले भने।

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूतर्फ कांग्रेसले ३३ हजार १०६, एमालेले २२ हजार २१० र माओवादीले आठ हजार ४७४ मत पाएका छन्। 

सामाजिक अभियन्ता नरबहादुर कार्की 
जाजरकोट कार्की गाउँका नरबहादुर कार्कीले २०५४ सालमा एमालेबाट वडा सदस्य जितेका थिए। तर, त्यो बेला राजनीति छोडेर अध्ययनमा लागेका उनले स्टेट युनिभर्सिटी अफ बंगलादेशबाट जनस्वास्थ्य विषयमा स्नातकोत्तर गरे। कम उमेरमै सामाजिक अभियन्ताका रूपमा चिनिएका उनले युनिसेफ, डब्लुएचओलगायत अन्तर्राष्ट्रिय संघसंस्थामा संलग्न भर नेपालसँगै युद्धग्रस्त मुलुकहरूमा उत्प्रेरणा जगाउने तथा सामाजिक मुद्दाबारे आवाज उठाउने काम गरे। ‘वर्ल्ड कोचिङ कंग्रेस’ले विश्वका सय शक्तिशाली ‘इन्टरनेशनल लाइफ कोच’को सूचीमा उनलाई पनि राखेको थियो। 

२०७४ सालमा माओवादीले जाजरकोटबाट प्रदेशसभा सदस्यका लागि टिकट दिने वाचा गरेपछि उनी पुनः राजनीतिमा फर्केका थिए। तर एमाले र माओवादीबीचको तालमेलका कारण टिकटबाट बञ्चित भए। त्यसपछि उनले तत्कालीन अवस्थामा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई समर्थन गरे। तर लामो समय त्यो पार्टीमा रहेनन्, पुनः सामाजिक अभियन्ताकै रूपमा सक्रिय भए। 

यसपटक उनले जाजरकोटबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनबाट जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत र एमालेका निरज आचार्य छन्। कार्की भने माओवादी र एमालेसँग असन्तुष्ट कार्यकर्ताको मत आफूले पाउने बताउँछन्। 

“जनयुद्धकालदेखिका घाउहरू पुरिएका छैनन्। कांगेसको एउटा समूह माओवादीलाई मत दिन चाहँदैन। माग पूरा नभएको भन्दै माओवादी कार्यकर्ताहरू पनि पार्टीसँग असन्तुष्ट छन्। त्यो मत मलाई आउने छ”, उनले भने। एमालेले पनि सत्तामा पुगेपछि जनतालाई बिर्सिएकाले मतदाता सन्तुष्ट नरहेको उनको दाबी छ।

गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूतर्फ एमालेले २४ हजार चार, कांग्रेसले २२ हजार ३४२, माओवादीले १८ हजार ६२२ र एकीकृत समाजवादीले दुई हजार ३३४ मत पाएका छन्। 

आफ्ना वाचा अनुसार काम नगरेको भन्दै जाजरकोटबासी रिसाएकाले उनीहरूको मत कार्कीलाई जानसक्ने खलंगाका समाजसेवी विनोद शाही बताउँछन्। “परम्परागत राजनीतिक दलका नेताहरूले जनतालाई झुक्काए। अब जनताले उनीहरूलाई विश्वास गर्ने आधार छैन। जाजरकोटको मुड पनि त्यस्तै छ”, शाहीले भने। 

रञ्जु दर्शना पहिला विवेकशील, अहिले स्वतन्त्र
काठमाडौैँमा जन्मिएकी र उच्च शिक्षा हासिल गरेकी रञ्जु दर्शना डा. गोविन्द केसीको अभियानमा संलग्न भएर सडक आन्दोलनमा होमिएपछि चर्चामा आएकी थिइन्। सामाजिक अभियानबाट राजनीतिमा होमिएकी उनी विवेकशील नेपाली दलमा संलग्न भएर २०७४ सालमा २१ वर्षकै उमेरमा काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी थिइन्। एमालेका विद्यासुन्दर शाक्यले ६४ हजार ९१३ मत पाएर विजयी हुँदा दर्शनाले २३ हजार ४३९ मत पाएर तेस्रो भएकी थिइन्।

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकतापछि जन्मिएको विवेकशील साझा पार्टीमा रविन्द्र मिश्रसँग विचार नमिलेको भन्दै दर्शनाले २०७८ पुस ८ मा पार्टी त्यागेको घोषणा गरिन्। आसन्न चुनावका लागि उनी काठमाडौँ–५ बाट उम्मेदवार बनेकी छिन्। सो क्षेत्रमा एमालेबाट ईश्वर पोखरेल र सत्ता गठबन्धनबाट कांग्रेसका प्रदीप पौडेल उम्मेदवार छन्। 

आफ्नो चुनावी अभियानमा उनले संसदमा पुगेपछि अनियमितता र भ्रष्टाचारको भण्डाफोर गर्ने बताउँदै आएकी छिन्। “उम्मेदवारी दर्ता गर्दा जति उत्साहित थिएँ त्योभन्दा बढी घरदैलो अभियानमा उत्साही छु। मप्रति युवा देखि वृद्धवृद्धाहरूले निकै अपेक्षा गर्नु भएको छ। परम्परागत दलहरूले आफ्नो प्रतिबद्धताअनुसार काम नगरेको र भ्रष्ट हुँदै गएको जनताको निष्कर्ष छ”, दर्शनाले भनिन्।

गत आमनिर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका पोखरेलले कांग्रेसका प्रकाशशरण महत र विवेकशील नेपाली दलबाट स्वर्गीय उज्जवल थापालाई पराजित गरेका थिए। गएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूतर्फ एमालेले १९ हजार ७०, कांग्रेसले १४ हजार ८५३, राप्रपाले दुई हजार ८२२, एकीकृत समाजवादीले एक हजार ८२७ र माओवादी केन्द्रले एक हजार ९६८ मत पाएका थिए।

स्वतन्त्र मेयरको 'समर्थन'मा पोषण थापा
महोत्तरी–१ बाट माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले दुवै संविधानसभा निर्वाचन र २०७४ सालको आमनिर्वाचनमा विजय हासिल गरे। सत्ता गठबन्धनबाट यसपटक पनि उनी उम्मेदवार छन्। एमालेले भने लक्ष्मी महतोलाई उम्मेदवार बनाएको छ।

यो क्षेत्रमा माओवादी केन्द्र र कांग्रेसको बलियो संगठन छ। तर, कांग्रेसले माओवादी केन्द्रलाई छाडिदिए पछि कार्यकर्ता असन्तुष्ट बनेका छन्। कांग्रेसका पोषण थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उनलाई बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्री समूहको समर्थन रहेको बताइएको छ।

गएको वैशाखमा भएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका राजु खड्कालाई क्षेत्री प्रमुखमा विजयी भएका थिए। कांग्रेस प्रदेश कमिटीले उनलाई दिएको टिकट खोसेर केन्द्रले चिरञ्जीवी हमाललाई उम्मेदवार बनाएपछि क्षेत्रीले समूह नै बनाएर बागी उम्मेदवारी दिएका थिए। क्षेत्रीको समूहले चार जना वडाध्यक्षसहित प्रमुख र उपप्रमुख जितेको थियो।

थापा यातायात व्यवस्था कार्यालय बर्दिबासमा अधिकृत थिए। सरकारी जागिरबाट राजीनामा दिएर उनी उम्मेदवार बनेका हुन्। उनलाई क्षेत्री समूहले समर्थन गरेका कारण बलियो स्थितिमा रहेको मानिएको छ।


सम्बन्धित सामग्री