Friday, April 26, 2024

-->

सर्लाही–२ : सत्ता गठबन्धनकै दुई उम्मेदवारबीच रोचक प्रतिस्पर्धा

सत्ता गठबन्धनबाट लोसपाका राजेन्द्र महतो र माओवादी केन्द्रको चिह्न लिएका महेन्द्र राय यादव दुवै उम्मेदवार भएपछि कांग्रेस समर्थकको मत निर्णायक हुने भएको छ।

सर्लाही–२  सत्ता गठबन्धनकै दुई उम्मेदवारबीच रोचक प्रतिस्पर्धा

मलंगवा (सर्लाही)– देशका धेरै क्षेत्रभन्दा सर्लाही–२ मा फरक चुनावी माहोल छ। यहाँ सत्ता गठबन्धनकै दुई दल नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच प्रतिस्पर्धा छ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रको चुनाव चिह्नमा महेन्द्र राय यादव र लोसपाका राजेन्द्र महतोबीच प्रतिस्पर्धा हुँदैछ। उनीहरूले ‘मित्रवत् प्रतिस्पर्धा’ भने पनि ‘काँटे कि टक्कर’को अवस्था छ। विपक्षी गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा एमालेका राजनारायण साह पनि उम्मेदवार छन्।

यो क्षेत्रमा सर्लाहीको सदरमुकाम मलंगवासमेत पर्छ। सर्लाही–२ मा २०७० सालको निर्वाचनमा महतो र यादवले पहिलोपटक प्रतिस्पर्धा गरेका थिए। त्यति बेला यादवले महतोलाई पराजित गरेका थिए। यादव तराई मधेश सद्भावना पार्टी (तमसपा) का नेता थिए भने यादव सद्भावना अध्यक्ष थिए।

२०७४ सालको निर्वाचनअघि ६ वटा मधेश केन्द्रित दल मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) बन्यो। दुवै एउटै दलमा भएपछि यादव सर्लाही–२ र महतो धनुषा–३ बाट उम्मेदवार भएर विजयी भए। तर, फेरि मधेश केन्द्रित छिन्नभिन्न भएका छन्। अहिले यादव र डा.बाबुराम भट्टराईले जसपा छाडेर संयुक्त अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी खोलेका छन्।

गएको कात्तिक ५ गते मधेस प्रदेशको राजधानी जनकपुरमा पाँचदलीय गठबन्धनद्वारा आसन्न निर्वाचनलाई लक्षित गरेर प्रदेश स्तरीय भेला आयोजना गरिँदा यादव त्यसमा सहभागी भए पनि मञ्चमा ठाउँ पाएनन्। बरु लोसपा नेता शरतसिंह भण्डारीले मञ्चमा ठाउँ पाए। पछि मन्तव्य राख्ने क्रममा माओवादी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले कार्यक्रममा त्रुटि भएको भन्दै असन्तुष्ट नहुन यादवलाई आग्रह गरे। 

सत्तारुढ गठबन्धनमा नेपाल समाजवादी पार्टी संलग्न थियो। तर, जसपा बाहिरिएपछि मनोनयन दर्ताको अघिल्लो दिन असोज २२ गते मात्र लोसपाले गठबन्धनमा प्रवेश पाएको हो। माओवादी केन्द्र र लोसपा दुवैले यो क्षेत्रमा दाबी गरेपछि गठबन्धनमा मित्रवत् प्रतिस्पर्धा गर्ने समाझदारी बनेको थियो। तर, दुवै उम्मेदवारले आफूलाई सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार दाबी गर्दै आएका छन्। 

महतोले कांग्रेस सभापति शेरबहादुर देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच असोज २२ गते भएको सहमतिअनुसार आफू गठबन्धनको आधिकारिक उम्मेदवार भएको दाबी गरे। उनले उकालोसँग भने, “पछि महेन्द्रजीले पनि यसै क्षेत्रबाट उम्मेदवार भएको हुनाले मित्रवत् प्रतिस्पर्धामा जाने सहमति भयो, जो जिते पनि गठबन्धनकै हुने भयौँ।”

तर, यादवले भने विगतको सहमति तोडेर महतो सर्लाही–२ मा उम्मेदवार भएको दाबी गरे। “उहाँको घर यस क्षेत्रमा होइन, १ नम्बरमा हो। २०७० सालमा महतोजी मसँग यस क्षेत्रमा पराजित हुनु भयो। त्यसपछि क्षेत्रको रेखांकन हुने बेला उहाँसँग सल्लाह गरी हामी दुवैले पहल गरेर उहाँको गाउँ क्षेत्र नम्बर १ मा पारियो। त्यसपछि अलगअलग क्षेत्रबाट चुनाव लड्ने समझदारी भएको थियो”, यादवले भने, “उहाँ फेरी यसै क्षेत्रमा आउन जरुरी थिएन। आफ्नो क्षेत्रमा उनले जित्ने आधार छैन, यहाँ मेरो क्षेत्रमा मलाई बद्नाम गरेर चुनाव जित्न खोजेका छन्।”

दुवैलाई कांग्रेसको भर
दुवै दल सत्ता गठबन्धनमा भएको हुनाले यादव र महतो कांग्रेसको मत तान्ने रणनीतिमा छन्। महतोका समर्थकले प्रचार गर्दा ‘नेपाली कांग्रेस र लोसपाका साझा उम्मेदवार’ बताउने गरेका छन्। त्यस्तै यादव समर्थकले नेपाली कांग्रेसको झण्डा र माओवादीको चुनावचिन्ह गोलाकारभित्र हँसिया हथौडा अंकित झण्डा र ब्यानर प्रयोग गर्ने गरेका छन्। 

सर्लाही २(क) मा कांग्रेसका जंगीलाल राय यादव उम्मेदवार छन्। उनले महतोलाई समर्थन गरेका छन्। महतोसँगै संयुक्त रूपमा मत मागिरहेका छन्। यसै क्षेत्रमा माओवादी केन्द्रका सुनिलकुमार साह उम्मेदवार छन्। उनले यादवलाई समर्थन गरेका छन्।

प्रदेशसभा (ख) बाट महतोले आफ्नै पार्टीका मेथुर चौधरीलाई उम्मेदवार बनाएका छन्। यस क्षेत्रमा उम्मेदवार बनेका कांग्रेसका कौशलकिशोर रायले भने यादवलाई समर्थन गरेका छन्। दुई प्रदेश क्षेत्रका कांग्रेस उम्मेदवारले प्रतिनिधिसभामा फरक उम्मेदवारलाई समर्थन गर्दा सो पार्टीका मतदाता भने अन्योलमा परेको एक नेताले बताए।

जातीय समीकरण मिलाउनु पनि दुवै उम्मेदवारका लागि चुनौतीपूर्ण रहेको स्थानीय सन्तलाल साहले बताए। महतो र महेन्द्र यादव दुवैले एक–एक जना यादव उम्मेदवारलाई प्रदेशसभामा उठाएको उनको भनाइ छ। महतोले प्रदेश क्षेत्रको (ख) मा कलवार जातीका मेथुरु चौधरीलाई र यादवले (क) मा साह थारका तेली जातिलाई साथमा राखेका छन्। यस क्षेत्रमा यादवको जनसंख्या उल्लेख्य छ। यादवबाहेक पँचपवनियाको जनसंख्या सबैभन्दा बढी छ। यी दुवै जाति रिझाउने रणनीतिमा महतो र यादव रहेको स्थानीयको भनाइ छ।

स्थानीयको मुद्दा– हुलाकी सडकको धूलो
सर्लाहीकै अन्य क्षेत्रको तुलनामा क्षेत्र नं. २ विकासमा पछि परेको स्थानीयको भनाइ छ। “तपाईं सदरमुकाम मलंगवाबाट मुख्य बाटो भएर पश्चिमतर्फ बढ्नुस्, जहाँसम्म धूलो उड्ने सडक छ, त्यो २ नम्बर क्षेत्र हो”, सर्लाही जयपुरका सन्तोष सिंहले भने, “जहाँबाट राम्रो कालोपत्रे बाटो शुरू हुन्छ त्यहाँदेखि क्षेत्र नम्बर ४ हो।” 

भौगोलिक हिसाबले क्षेत्र नं. ४ भन्दा २ सुगम भए पनि विकासमा पछि परेको उनी बताउँछन्। यहाँबाट यसअघि दुईपटक यादव र त्यसअघि महतोले जितेको हुनाले उनीहरूले विकासमा ध्यान नदिएको सिंह बताउँछन्।

गएको कातिक १७ गते यस क्षेत्रको कौडेना गाउँपालिकामा सडक बनाउन माग राख्दै स्थानीयले प्रदर्शन गरेका थिए। हुलाकी सडकमा कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानीय युवाहरूले ‘नो रोड, नो भोट’को नारा लगाएर सडक अवरुद्ध गरे। पुर्वी महोत्तरी र पश्चिम रौतहटमा हुलाकी सडक कालोपत्रे भए पनि सर्लाहीमा नभएको कौडेनाबासीको भनाइ छ। 

को हो महतो र यादवको पृष्ठभूमि?
व्यावसायिक पृष्ठभूमिका महतो २०४६ सालको राजनीतिक परिवर्तनपछि उनी नेपाल सद्भावना पार्टीमा आबद्ध भएर राजनीतिक यात्रा शुरू गरेका थिए। जनप्रशासनमा स्नातक गरेका उनी २०४७ सालमा केन्द्रीय समिति सदस्य बनेका थिए। 

उनी २०४८ र २०५१ सालको निर्वाचनमा सद्भावना पार्टीबाट सर्लाही–२ मा उम्मेदवारी भई पराजित भएका थिए। उनी त्यही क्षेत्रबाट पहिलोपटक २०५६ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। २०६४ सालमा पहिलो संविधानसभा सदस्यमा सर्लाही–४ बाट निर्वाचित भए। २०६६ सालमा पहिलोपटक र त्यसपछि पटकपटक उनी मन्त्री भइसकेका छन्।

यादव भने कम्युनिष्ट राजनीतिबाट आएका हुन्। उनी २०३६ सालमा विष्णुबहादुर मानन्धर नेतृत्वको कम्युनिष्ट पार्टीमा आबद्ध भएका थिए। उनी २०३८ सालमा सोही पार्टीको सर्लाही जिल्ला कमिटी सचिव भए। २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनाको लागि भएको आन्दोलनमा उनी संयुक्त वाममोर्चाको तर्फबाट आन्दोलन परिचालन समितिमा थिए। 

२०४८ सालको निर्वाचनमा उनी नेकपा (मानन्धर) बाट सर्लाही–१ मा उम्मेदवार भए पनि पराजित भए। त्यसको केही समयपछि नै एमाले प्रवेश गरे। २०५१ र ५६ सालमा उनी एमाले एमाले उम्मेदवार भएर त्यही क्षेत्रबाट विजयी भए।

२०६२/६३ को जनआन्दोलनपछि उनी एमाले छाडेर मधेश केन्द्रित राजनीतिमा लागे। उनी महन्थ ठाकुरले नेतृत्व गरेको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोप) संस्थापक हुन्। उनी २०६४ सालमा पहिलो संविधानसभामा समानुपातिक सभाषद् बनेका थिए।


सम्बन्धित सामग्री