Saturday, February 15, 2025

-->

रंगमञ्च
यो नमोबुद्ध, ती महासत्त्व

काभ्रे जिल्लास्थित नमोबुद्ध स्थापनाबारे प्रचलित मिथकका आधारमा बनाइएको नाटक ‘महासत्त्व’ वज्र कलाकुञ्जले मञ्चनको तयारी गरेको छ। ती महासत्त्व को थिए र तिनी कसरी बुद्ध कहलिए भन्ने सन्देश नाटकले दिन्छ।

यो नमोबुद्ध ती महासत्त्व

काठमाडौँ– काभ्रे जिल्लास्थित नमोबुद्ध स्थापनाको विषयमा एउटा मिथक छ।

राजकुमार महासत्त्व अन्य दुई राजकुमारसहित जंगल जान्छन्। उनीहरूले एउटी भोकाएकी बघिनी भेट्छन्। त्यो बघिनी शिकार गर्न नसक्ने अवस्थामा हुन्छे। महासत्त्वले बघिनीलाई आफ्नो शरीरका विभिन्न भाग काटेर खुवाउन थाल्छन्।

ती व्यक्ति अर्को जन्ममा बुद्ध हुन्छन्। तर नमोबुद्ध स्थापनाको मिथक यहीँ टुंगिदैन।

महासत्त्व जंगलमा कसरी र कोसँग पुगे? उनको पृष्ठभूमि के थियो? अर्को जन्ममा कुन बुद्ध भए? यी सबै सवालको जवाफ वज्रकला कुञ्जले मञ्चन तयारी गरेको नाटक ‘महासत्त्व’ले दिन्छ।

वज्र कलाकुञ्जले हरेक वर्ष सांस्कृतिक नाटक मञ्चन गर्दै आएको छ। वज्र कलाकुञ्जको यो साताँै नाटक हो। नाटक पुस २५ देखि माघ ५ गतेसम्म टेकुस्थित कौसी थिएटरमा मञ्चन हुनेछ।

प्राणी, करूणा र महादान
पाञ्चाल (अहिले पनौती) राज्यका राजा महारथ र रानी सत्यवतीका तीन सन्तानमध्ये कान्छा हुन् राजकुमार महासत्त्व। महासत्त्वका दुई दाइ महाप्रहालद र महादेव थिए। नाटक उनीहरूको बाल्यकालबाट शुरू हुन्छ।

तीनै सन्तान आमा सत्यवतीसँग नजिक छन्। कान्छा महासत्त्व अझ बढी आत्मीय छन्। उनी प्रकृति र प्राणीबारे आफ्नी आमासँग गफिन्छन्। 

एकपटक पाञ्चालमा ठूलो पूजा आयोजना हुन्छ, जसका लागि एउटा विशेष फूल चाहिन्छ। दरबार छाडेर टाढा यात्रामा कहिल्यै नगएका राजकुमारहरू सैनिकका साथ फूल लिन जान उत्सुक हुन्छन्। शुरूमा त राजारानीले अस्वीकार गर्छन्, तर अनेक बिन्तीभाउपछि जाने अनुमति पाउँछन्।

किशोरावस्थामा रहेका राजकुमारहरू उत्साह र उत्सुकतासँगै जंगल सयरमा हुन्छन्। सैनिकसँग यात्रा गरिरहेका उनीहरू भोकाएको बघिनी भएसम्म पुग्छन्। बघिनी बचाउन कान्छा राजकुमार महासत्त्व अगाडि बढ्छन्। 

प्रमुख पात्र महासत्त्व सानैदेखि जिज्ञासु स्वभावका हुन्छन्। बघिनीको प्राण बचाउने विषयमा महाप्रदहाल, महादेव र महासत्त्वबीच प्रकृतिको नियम र करूणाबारे रोचक संवाद हुन्छ। नाटकको सबल पक्ष नै संवाद हो, जुन सरल, सरस र ज्ञानवर्धक छ।

निर्देशक चन्द्रमान मुनिकार नाटक बौद्ध धर्मको सिद्धान्तबाट ओतप्रोत भएको बताउँछन्। मुनिकार भन्छन्, “बौद्ध धर्ममा नौ वटा ग्रन्थ छ। त्यसमा सुवर्णप्रभासुत्र्म शास्त्र अन्तर्गतको ब्याग्रिजातकबाट नाटक महासत्त्वको प्रसंग निकालिएको छ।”

६ महिनाको अध्ययन, अनुसन्धान र बौद्ध धर्मका विद्वानसँगको वार्तालापपछि नाटक तयार गरिएकोे उनी बताउँछन्। महासत्त्व शाक्यमुनि बुद्धको रूपमा जन्मनु अघि उनी महासत्त्व भएर जन्मिएको उनको भनाइ छ।

“बौद्धशास्त्रअनुसार शाक्यमुनि भएर जन्मनुअघि उनी ८४ हजार योनी जन्म लिएर ती जन्ममा कुशल कर्म र दान गरेका हुन्छन्। जसमा सबैभन्दा ठूलो दान हो, परमात्था महादान (आफ्नो प्राण आहुति) मार्फत परोपकार,” निर्देशक मुनिकार भन्छन्, “महासत्त्वले आफ्नो प्राण दान गरेर बघिनीलाई बचाएको कारण नै शाक्यमुनि बुद्धको रूपमा जन्म भएको हो।”

आमाको ममता 
“सन्तान भनेको आमाको अर्को शरीर हो,” नाटकको एक भागमा सत्यवती आफ्ना बालक राजकुमारहरूलाई भन्छिन्। पुतलीलाई समाउन खोजेका राजकुमारलाई उनले प्रकृतिका प्राणीलाई करूणा देखाउनु पर्ने र हानी पु¥याउन नहुने सिकाउँछिन्। 

पुतलीलाई सुन्दर देख्ने मानव प्रवृतिले झुसेलिकिरामा पनि सौन्दर्य देख्नु पर्ने आफ्ना सन्तानलाई बताउँछिन्। जुनसुकै प्राणीमा आफ्ना सन्तानप्रति अथाह माया र स्नेह हुने पनि बताउँछिन्। मावनीय भावना, प्राणी, प्रकृति र प्रेमको विषयमा आफ्नो सन्तानलाई ज्ञान दिन्छिन्।

सोही पाठ ‘महासत्त्व’ले आफ्नो जीवनमा अनुशरण गर्छन्। अन्य प्राणीका लागि आफ्नो जीवनको आहूति दिने महासत्त्व नै पछि शाक्यमुनि बुद्ध भएर जन्म लिने मिथक छ। महासत्त्वले जीवन आहूति दिएको ठाउँ अहिलेको नमोबुद्ध हो।

आफ्ना सन्तानहरूलाई हुने पीडाले आमालाई पनि पीडा पुग्ने नाटकमा देखाउन खोजिएको छ। सत्यवतीले पटकपटक यसै विषयमा आफ्ना सन्तानलाई सिकाउँछिन्, जसबाट तीन राजकुमारको स्वभाव र चिन्तन विकास हुन्छ। 

यद्यपि, महासत्त्वको मृत्युले गराउने सन्तान वियोगबाट उनी विक्षिप्त हुन्छिन्। आफ्नो सिद्धान्तबाट विचलित हुन्छिन्। उनलाई गहिरो चोट पुग्छ। 

नाटकमा धेरै उतारचढाव छैन। सरल र सरस शैलीमा बगेको छ। कुनै नकारात्मक पात्र अथवा परिस्थितिको चित्रण पनि छैन। सकारात्मक सन्देशमार्फत नाटकलाई पूर्ण गरिएको छ। यद्यपि, नाटकले दर्शकलाई कथामा बाँधेर राख्छ। नाटकको यो बलियो पक्ष हो।


सम्बन्धित सामग्री