Saturday, February 15, 2025

-->

४५ वर्षअघि विश्व सम्पदास्थल बनेको हनुमानढोकाः प्रहरी कार्यालय सर्‍यो, प्रहरीले छाडेन भवन

हनुमानढोका दरबारमा २०१२ सालमा जिल्ला प्रहरी कार्यालय राखियो। तर यो क्षेत्र २०३६ सालमा विश्व सम्पदा सूचीमा पर्‍यो। २०७२ सालको भूकम्पमा भवन क्षतिग्रस्त भयो र खाली गरियो, तर प्रहरीले अझै पहरा दिइरहेको छ।

४५ वर्षअघि विश्व सम्पदास्थल बनेको हनुमानढोकाः प्रहरी कार्यालय सर्‍यो प्रहरीले छाडेन भवन
पृष्ठभूमिको तस्वीर सौजन्य: मनोज मानुज

काठमाडौँ– पुरातत्त्व विभागले गत मंसिर ३१ गते सम्पदा अभियन्ता यादवलाल कायस्थलाई एउटा पत्र पठायो। पत्रमा विश्व सम्पदा सूचीमा रहेको बसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रको भवन महानगरीय प्रहरी परिसर काठमाडौँको नाममा रहेको उल्लेख छ। 

सम्पदा क्षेत्रमा रहेको जीर्ण भवनबाट प्रहरी कार्यालय हटाउनु पर्ने भन्दै करिब पाँच वर्षदेखि कायस्थले अभियान चलाइरहेका छन्। सम्पदा क्षेत्रमा प्रहरी कार्यालय रहनु शोभनीय नभएको उनको भनाइ छ।

उक्त भवन व्यवस्थापनमा भइरहेको पहलको जानकारी माग्दै कायस्थले पुरातत्त्व विभागलाई पत्र लेखेका थिए। विभागको जवाफी पत्रमा करिब ३ रोपनी क्षेत्रफलमा रहेको सो भवनको स्वामित्व प्रहरी परिसर काठमाडौँको नाममा रहेको उल्लेख छ। 

त्यहाँ साना र ठूला गरी पाँच वटा भवन छन् र सबै प्रहरीले प्रयोग गरिरहेका छन्। तीमध्ये उत्तरपूर्वी भागमा रहेको भवन २०७२ सालको भूकम्पले जीर्ण बनाएको छ। यी भवनहरू रहेको परिसरलाई इँटाको पर्खालले घेरिएको र पर्खालसमेत जीर्ण रहेको विभागले कायस्थलाई पठाएको पत्रमा जनाइएको छ।

भूकम्पपछि भवनमा रातो स्टिकर टाँसिएको छ। रातो स्टिकर टाँसिएको भवन भत्काइने सूचीमा हुन्छ। उक्त भवन हाल प्रयोगमा नरहेको कारण भत्काएर त्यहाँ खुला स्थान बनाउनुपर्ने अभियन्ता कायस्थ बताउँछन्।

मुख्य भवन क्षतिग्रस्त रहेको हुँदा अहिले अन्य भवनमा पहरा दिने केही प्रहरी मात्र बस्दै आएका छन्। प्रहरीले भवन भने भत्काउन दिएको छैन। 

ऐतिहासिक हनुमानढोका दरबार क्षेत्र २०३६ सालमा विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो। यहाँबाट प्रहरी कार्यालय हटाउनुपर्ने राय सम्पदा अभियन्ताहरूको मात्र नभई पुरातत्त्व विभागको पनि छ। विभागले कायस्थलाई पठाएको पत्रमा लेखिएको छ, “प्रहरी बस्दै आएको उक्त परिसरमा रहेका सबै संरचनाहरू सो क्षेत्रमा लागू गरिएको मापदण्ड विपरीत रहेको एवं हाल भूकम्पले जीर्ण अवस्थामा समेत रहेकाले सो भवन यथाशीघ्र भत्काउनु पर्ने विषयमा विभिन्न बैठकहरूमा छलफल पनि भएको हुँदा सम्बन्धित सम्पूर्ण निकायहरूबीचको आपसी समन्वयमा यथाशीघ्र भत्काउनुपर्ने  विभागको  धारणा छ।”

कोतवाली, मजिस्ट्रेट अफिस हुँदै प्रहरी परिसर
प्रहरीले ओगटेको उक्त भवनमा मल्लकालमा कोतवाली रहेको इतिहासकार देवीचन्द्र श्रेष्ठ बताउँछन्। कोतवाल (कोतवालीमा प्रहरीसरह खटाएका कर्मचारी)ले चोरी, डकैती नियन्त्रण गर्ने, अनुसन्धान गर्ने र आफूलाई तोकिएको क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने जस्ता भूमिका निर्वाह गर्थे।

उक्त भवननजिकै रहेको कोटिलिंगेश्वर महादेवको मन्दिर भने लिच्छविकालीन हो। कानूनी इतिहासका जानकार अधिवक्ता सञ्जय अधिकारीका अनुसार, लिच्छविकालीन समयको कोटिलिंगेश्वर महादेवको मन्दिर र नजिकै रहेको कालभैरवको मूर्ति तत्कालीन समयमा दिव्यपरीक्षा हुने स्थान थिए। कालभैरवको स्थापना राजा प्रताप मल्लले गरेका थिए।

कुनै प्रकारको मुद्दामामिला वा विवादको छिनोफानो गराउन देवीदेवता, तामा, तुलसी छोएर प्रतिज्ञा गराउने परम्परागत शैलीलाई दिव्यपरीक्षा भनिन्छ। “तत्कालीन समाजमा मुद्दाको फैसला र दण्ड व्यवस्थाका लागि कालभैरव तथा कोटिलिंगेश्वर महादेव दिव्यपरीक्षा लिइन्थ्यो,” अधिवक्ता अधिकारी भन्छन्, “यी दुई स्थानबाट सुरक्षा र अदालतका काम हुन्थे।”

कोतवाली खारेज भएसँगै त्यहाँ मजिस्ट्रेट अफिस बनेको इतिहासकार देवीचन्द्र श्रेष्ठ बताउँछन्। मजिस्ट्रेट अफिसले प्रशासनिक काम हेर्थ्यो। “०७ सालको क्रान्तिपछि कमिसनर मजिस्ट्रेट कार्यालय स्थापना भयो। काठमाडौँ, भक्तपुर, ललितपुरमा एक–एक वटा मजिस्ट्रेटका अफिस बने, जसमध्ये यो एउटा थियो,” उनी भन्छन्।

कुनै समय यहाँ नेपाली सेना पनि बसेको थियो। २०१२ सालपछि सेनाले नै उक्त स्थान प्रहरीलाई दिएको अवकाशप्राप्त प्रमुख सेनानी फनेन्द्रबहादुर थापा बताउँछन्। “प्रजातन्त्र आइसकेपछि पनि प्रहरीको संगठन भइसकेको थिएन, ट्राफिक प्रहरीसमेत सेना नै थियो,” उनी भन्छन्, “प्रहरीको संगठन विस्तार भएसँगै बिस्तारै कार्य विभाजन र हस्तान्तरण हुन थालेको थियो।”

 

प्रहरी ऐन २०१२ बनेपछि कोतवालीले गर्ने शान्ति सुरक्षाको जिम्मा औपचारिक रूपमा प्रहरीको भयो। अनि पहिलो पटक स्थापना भएको जिल्ला प्रहरी कार्यालय काठमाडौँका लागि सेनाले यी भवन छाडिदिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँको कार्यालय हनुमानढोकामा हुँदा त्यहाँ १३ वर्ष बिताएका अवकाशप्राप्त प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल अधिकारी पनि त्यहाँ २०१२ सालमा प्रहरी कार्यालय स्थापना भएको बताउँछन्। २००७ सालपछि सेनाको अधीनमा रहेको भवन प्रहरीलाई दिइएको र पहिलो जिल्ला प्रहरी कार्यालय स्थापना भएको उनको भनाइ छ।

अधिकारीका अनुसार २०७२ सालको भूकम्पअघि पनि स्थानीय तथा अभियन्ताले पटकपटक प्रहरी कार्यालय सार्न माग गरेका थिए। २०७२ सालको भूकम्पपछि जिल्ला प्रहरी परिसर (तत्कालीन महानगरीय प्रहरी परिसर काठमाडौँ)लाई टेकु सारिएको थियो। अहिले टेकुबाट पनि भद्रकालीमा बनाइएको भवनमा सारिएको छ। 

त्यो भवनमा नेपाल प्रहरीको महानगरीय प्रहरी अपराध महाशाखा पनि रहेको थियो। महाशाखा पनि भूकम्पपछि टेकुमा सर्‍यो। अहिले उपत्यका अपराध अनुसन्धान कार्यालयमा रूपान्तरित प्रहरीको यो युनिटका लागि टेकुमै भवन निर्माण भइरहेको छ। 

प्रहरीलाई हनुमानढोकामा रहेको भवनको प्रयोग र प्रयोजन दुवै नभएका कारण छाड्नु नै उपयुक्त हुने अवकाशप्राप्त डीएसपी अधिकारीको भनाइ छ। त्यहाँ पर्यटक प्रहरीको एक युनिट स्थापना गर्ने विकल्प रहेको उनी बताउँछन्।

“सम्पदा क्षेत्रमा मूर्ति तथा पुरातात्त्विक महत्त्वका सामग्री छन्। आन्तरिक र बाह्य पर्यटकको आवतजावतको चाप हुन्छ। त्यसैले पर्यटक प्रहरी कार्यालय स्थापना हुँदा राम्रो हुन्छ,” उनी भन्छन्, “यसले पुरातत्त्वको संरक्षण तथा विदेशी पर्यटकलाई पनि सहयोग हुन्छ।”

प्रहरीको इतिहास बोकेको भवनलाई पर्यटक प्रहरी कार्यालयका साथै संग्रहालयको रूपमा विकास गर्न सकिने विकल्प पनि आफ्नो कार्यकालमा दिएको अधिकारी सम्झन्छन्। संग्रहालयमा हुनमानढोका आउने पर्यटकलाई निःशुल्क भ्रमण गराउन सकिने सुझाव उनले दिएका थिए। 

सम्पदास्थल कि प्रहरी कार्यालय!
सम्पदा अनुसन्धानकर्ता मोनालिसा महर्जनको जन्म काठमाडौँको बसन्तपुरमै भएको हो। हुनमानढोका क्षेत्र उनको कुनै समय साथीसँग खेल्ने र पछिल्लो समय दैनिक हिँड्ने ठाउँ हो।

आफ्ना बुबाआमाले हनुमानढोकामा झ्यालखाना भएको सुनाउँदा उनी अचम्मित हुन्थिन्। रेडियोले हनुमानढोका कार्यालयमा मान्छे थुनिएको समाचार भन्दा त उनी झनै आश्चर्यमा पर्थिन्। “हनुमानढोकाभित्र कहाँ जेल छ जस्तो लाग्थ्यो। पछि पो थाहा भयो, हुनमानढोका भन्नुको अर्थ प्रहरी कार्यालय रहेछ,” उनी भन्छिन्।

यो ठाउँ विश्व सम्पदा क्षेत्रमा पर्ने हुँदा युनेस्कोको पनि चासो हुने मोनालिसा बताउँछिन्। “विश्व सम्पदा क्षेत्रभित्र पनि कोर र बफर एरिया हुन्छ। कोर एरियामा कुनै पनि भौतिक परिवर्तन गराउन पाइँदैन। बफरमा केही लचकता छ। मेरो अनुमानमा कालभैरव क्षेत्र बफर एरियामा पर्छ,” उनी भन्छिन्।

आगामी समयमा विश्व सम्पदा क्षेत्रमा के बनाउने र के नबनाउने सन्दर्भमा यो गतिलो उदाहरण हुनसक्ने उनी बताउँछिन्।

सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ यो ठाउँ प्रहरी कार्यालय भन्दा पनि हनुमानढोका भनेर चिनिएको बताउँछन्। “यहाँका बूढापाकालाई सोध्नुभयो भने प्रहरी चौकी भन्दैनन्, हनुमानढोका नै भन्छन्,” श्रेष्ठ भन्छन्।

हनुमानढोका नजिकै झोछेँका स्थानीयसमेत रहेका अभियन्ता श्रेष्ठ २०७२ साल अघिसम्म दरबार परिसरमा बिहानैदेखि लाग्ने प्रहरीका गाडीको लाइन सम्झन्छन्। उनका अनुसार, पहिले सो कार्यालयमा १४ वटा प्रभागका कैदीबन्दी ल्याइन्थ्यो। “कुनै पनि अनुसन्धानको क्रममा आरोपीलाई २४ घण्टा बढी थुन्न पाइँदैन। थप अनुसन्धान गर्नुपर्दा अदालत पेश गरेर यहीँ ल्याएर राखिन्थ्यो,” श्रेष्ठ भन्छन्।

सबै प्रभागका निरीक्षक बिहानको हाजिरीका लागि आउँदा सम्पदा क्षेत्रमै गाडी पार्किङ हुन्थ्यो। थुनुवा भेट्न आउनेका गाडी पनि हुन्थे। “त्यही कारण प्रहरी कार्यालय सार्न माग गरेका हौँ। २०७२ अघि पटकपटक बैठक बस्यौँ। भूकम्पलगत्तै उद्धारमा हाम्रो ध्यान गयो,” उनी भन्छन्, “त्योबेला हामीले यहाँ राखिएका थुनुवाको पनि उद्धार गरेका थियौँ।”

प्रहरी परिसरको भवन भत्काएर खुल्ला स्थान राख्ने सवालमा भने उनी अन्य अभियन्ताभन्दा भिन्न मत राख्छन्। हुनमानढोका परिसरको गरिमा र जनभावनालाई बुझेर सुरक्षा युनिटसहितको व्यवस्था नेपाल प्रहरीले निर्णय गर्न सक्नुपर्ने उनको भनाइ छ। “लामो समयदेखि प्रहरीसँग समन्वय भइरहेको छ। सौहार्द रूपमा विवाद समाधान हुनुपर्छ,” उनी भन्छन्, “तर नेपाल प्रहरीबाट अझै पनि स्पष्ट धारणा आएको छैन।”

हनुमानढोका दरबार क्षेत्रमा प्रहरी कार्यालय आवश्यक रहेको पूर्वडीएसपी अधिकारी बताउँछन्। “जनसेवा प्रहरी कार्यालय, न्यूरोड बजार क्षेत्रमा छ। टेकुले कालीमाटीसम्मको क्षेत्र हेर्छ। सोह्रखुट्टेको प्रहरी प्रभागले नयाँ बजारतर्फको हेर्नु परिहाल्यो,” उनी भन्छन्, “यो कोर एरियामा पर्यटक अथवा सम्पदा प्रहरी हुनुपर्छ।”

जनसेवा वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) रूकेश तन्डुकार यो विषयमा आधिकारिक धारणा नेपाल प्रहरीको नेतृत्वले नै दिन सक्ने बताउँछन्। यद्यपि, नेपाल प्रहरीको इतिहास भएको कारण प्रहरीको इतिहास झल्कने गरी योजना बन्नुपर्ने उनको मत छ।

“नेपाल प्रहरीको पहिलो जिल्ला प्रहरी कार्यालय यहीँ हो। यहाँ हाम्रो इतिहास जोडिएको छ, त्यही भएर त्यतिकै छोड्दैनौँ,” उनी भन्छन्, “सर्वसाधारणबाट आएका गुनासोलाई सम्बोधन गर्दै पुरातात्त्विक हिसाबबाट कसरी बनाउन सकिन्छ, त्यसमा हामी काम गरिरहेका छौँ।”


सम्बन्धित सामग्री