काठमाडौँ– बाराको महागढीमाई नगरपालिका, लक्ष्मणवा घर भई काठमाडौँको हाँडीगाउँमा मोटरसाइकल वर्कशपमा काम गर्ने सञ्जय साह कामबाट बिदा लिएर सोहरैया मनाउन गाउँ गइसके। कात्तिक कृष्णपक्ष त्रयोदशी तिथिबाट शुरू हुने ‘यमपञ्चक’का पाँच दिनसम्म मनाइने तिहार मधेशको लागि ‘सोहरैया’ हो। दिपावली वा दिवाली पनि भनिने लक्ष्मीपूजाको दिनलाई भने बड्का (ठूलो) सोहरैया भन्ने चलन छ।
“वर्ष दिनमा आउने सोहरैया निकै रमाइलो हुन्छ, यो हाम्रो मुख्य पर्व हो। गाउँमा सबैसँग भेटघाट हुन्छ, विभिन्न परिकार खाने र साथीभाइसँग रमाइलो गर्ने बेला हो यो,” गाउँ जानुअघि सञ्जयले भने, “मानिसहरूले पटाका बजाउने गर्छन्, यतिबेला तास वा कौडि खेलेर भाग्य अजमाउन छुट पनि हुन्छ, त्यस कारणले जानै पर्यो। कामधन्दा त जीवनभरि चलिरहने हो।”
बड्का सोहरैयाको दुई दिनअगाडि १० दिनको लागि गाउँ गएका सञ्जय अब छठ सकाएर फर्किने छन्। बुधबार धनतेरस मनाउँदै यसपालि ‘सोहरैया शुरू हुँदैछ। त्यसपछि क्रबद्धध रूपमा जमदियरी, बड्का सोहरैया, गोवर्धन पूजा र भैया दुज (भाइटीका) मनाएर यो पर्व सकिन्छ।
बदलिँदो सोहरैया
“पहिलेजस्तो सोहरैयाको चटारो रहेन, सांस्कृतिक कुरा समाजमा भएका आर्थिक र समाजिक परिवर्तनसँगै जोडिएर स्वरूप फेर्नु स्वाभाविक हो। मुल आशय र मान्यता भने मधेशको सोहरैयको अहिले पनि कायमै छ, जुन पहाडमा मनाइने तिहारभन्दा धार्मिक तथा सांस्कृतिक मान्यतामा समान छ, तर विधि र परम्परामा भिन्न देखिन्छ,” मधेशको भाषा तथा संस्कृतिका जानकार आनन्द गुप्ता भन्छन्, “स्वच्छता अपनाउने, सुख–समृद्धिको कामना गर्ने र व्यक्तिगत, पारिवारिक र सामाजिक सम्बन्धहरूलाई सुदृढ बनाउने लोक परम्पराहरूको निरन्तरता हो सोहरैया।”
गुप्ताका अनुसार स्वच्छतामा लक्ष्मीको बास हुन्छ भन्ने मान्यता भएकोले यो बृहत्तर सरसफाइपछि मनाइने पाँच दिने पर्व हो। परम्परागत घरको छानो मर्मत गर्ने समय यही हो। त्यस्तै माटो, खर र खपडाजस्तै वर्षैपिच्छे अनिवार्य मर्मत गर्नुपर्ने घरहरू हुँदा र जनजीवन खेतीमा आधारित तथा खेती पशुधनमा आधारित रहेको समयमा अलि पहिलेसम्म सोहरैयाको चटारो बृहत् र धेरै दिनसम्म चल्ने खालको हुन्थ्यो। माटोको भित्ता बनाउन पियरी माटो (पहेँलो माटो) को प्रबन्ध गर्ने, माटोलाई प्रयोग गर्नका लागि सुकाएर रातभरि भिजाएर राख्ने, भुस मिसाएर मलिलो पारेपछि घर, गोठ र भकारीका भित्तामा परत चढाउने, सुकेपछि गोबरमाटोको लेप गर्ने र अन्तमा पहेँलो माटोले पोतेर चिटिक्क बनाउने काममा मानिसहरू हप्तौँ खर्चिन्थे।
“भित्तामा दियो राख्ने ठाउँ ‘दियरख’ बनाउनेदेखि विभिन्न कलात्मक आकृति बनाउने गरिन्थ्यो, अब त माटोको भित्ता र खरको छानो नै धेरै रहेन, मानिसहरूले घर पक्की बनाएपछि रंगरोगन र सरसफाइ त हुने भयो,” गुप्ताले भने, “घर आँगनसँगै टोलका सडक र गल्लीलाई पनि सफा पारिन्छ। यमपञ्चकको पुर्वसन्ध्यामा ढोका, काठका बाकस, कृषि ज्वाल र लाठी भाला जस्ता घरेलु हतियार बयलगाडामा हालेर नदी पोखरीमा लगेर धोएर सफा गरिन्छ। यी कामको साथसाथ किसानहरूले दोह्री शैलीमा भजन लोक भाका गाउने गर्छन्।”
दशैँलगतै आउने कोजाग्रत पूर्णिमादेखि १६औँ दिनमा पर्ने ‘सोहरैया’ अगाडि घर, टोल, दैनिक जीवनका साधनहरूलाई दुरुस्त बनाएर एक हिसाबले वर्ष दिनको लागि नवीकरण गर्ने गरिएको गुप्ताको भनाई छ। महिलाले हस्तकला प्रयोग गरेर बनाएको शुभ दिपावली ब्यानरको ठाउँमा अब रंगीबिरंगी रेडिमेड सामग्रीहरू भेटिन्छन्। हिन्दी सिनेमाको प्रभावस्वरूप शहरी क्षेत्रमा रंगोली बनाउने चलन बढेको गुप्ता बताउँछन्।
पाँचै दिनको बेग्लै महत्त्व
मधेशको लोकसंस्कृतिबारे जानकार अनिता साह सोहरैयाको पाँचै दिनको बेग्लाबेग्लै महत्त्व रहेको बताउँछिन्। उनका अनुसार पहिलो दिन कात्तिक कृष्णपक्ष त्रयोदशीमा धनतेरस मनाउँदै सुन, चाँदी, रत्न, भाँडाकुडा, सवारी साधन वा कम्तीमा एउटा कुचो किनेर घरभित्र भित्र्याउने गरिन्छ। यसले वर्षभरि लक्ष्मीको कृपा प्राप्त रहने लोकविश्वास छ। शहर बजारमा भने पसल, व्यपारिक प्रतिष्ठान र उद्योग कारखानामा नयाँ हाल्ने खाता (हिसाब किताब लेख्ने पुस्तिका) ल्याएर पूजा गरी गल्ला (पैसा राख्ने बाकस) भित्र राखिन्छ। कात्तिक कृष्णपक्ष त्रयोदशी तिथिमा आयुर्विज्ञानका प्रणेता मानिने धन्वन्तरी देवताको जन्मदिवस पर्ने भएर यसलाई धनतेरस भनिएको मान्यता पनि छ। आयुर्वेदका अभ्यासकर्ताहरूले यसलाई धन्वन्तरी जयन्तीका रूपमा पनि मनाउँछन्।
त्यस्तै, माटोको दियरी, कलश, पूजा सामग्री, मैनबत्ती, मिठाइ, लुगा, फर्निचर, कार्पेट, तन्ना, पर्दा लगायतको बिक्री धनतेरसरदेखि सोहरैयासम्म बढेको हुन्छ। धनतेरसको अर्को दिन गाईको गोबरले दैलो लिप्ने र साँझ गोबरमाथि एउटा दियो बाल्ने परम्परा छ। यमदेवका लागि समर्पित त्यो दीप घर-घर अगाडि देखिन्छ। यमदेवको नाममा दियो बालिने भएकोले यसलाई ‘यम दियरी’ भन्ने गरिन्छ। लक्ष्मीपूजाको बिहान उज्याले हुनुअगावै हँसियाले नाङ्लो ठटाएर महिलाहरू घरको कुनाकुनामा अवाज गर्छन्। दरिद्रता भगाउनका लागि यसो गरिने मान्यता छ।
पहिलेदेखि सफा परिएका चौकठ, ढोका, काठका बाकस, गाडा, हलो, कोदालो र घरेलु हतियार तथा कृषि औजारहरूमा गेरुवा माटोको चिन्ह लगाएर बिहानपख मूल सोहरैया शुरू हुन्छ। साँझ केराको बोट वा पात, फूलको माला लगाएर दैलो सजाइन्छ। साँझ दियोबत्तीले घर आँगन सजाएर उज्यालो बनाउने, लक्ष्मीको पूजा आराधना गर्ने र मिठाई तथा अन्य घरेलु पकवान बनाएर खाने/खुवाउने चलन छ।
भगवान रामले दशैँको दशमी तिथीमा रावणको वध गरेको र विभिषणलाई लंकाको गद्दीमा बसालेर अयोध्या आइपुगेको खुसियालीमा घरघरमा दियो बालिएको स्मरणमा दिपावली चलिआएको धार्मिक मान्यता रहेको साह बताउँछिन्। अहिले यस दिन माटोको दियरीसँगै विद्युतीय झिलीमिली र मैनबत्तीको प्रयोग हुन थालेको छ। परम्परागत दिपावलीको आकर्षण कायम राख्न मानिसहरूले माटोको दियोको प्रयोग भने छोडेका छैनन्। यो एक दिन जुवा खेलेर मनोरञ्जन गर्ने सामाजिक सहुलियत प्राप्त भएको हुन्छ।
भोलिपल्ट गोवर्धन अर्थात पशुधनको पूजा गर्ने चलन छ। दुई हप्ताको चटारोबाट निकास भएको यस दिनलाई परुवा पनि भनिन्छ। घरअगाडि गाईको गोबरले ‘गोवर्धन’ बनाइन्छ। अनिवार्य रूपमा पशुधनको आकृति पनि समावेश गर्दै गोबरले एउटा मानवबस्तीको रूपरेखा बनाएर त्यसलाई पूजा गर्ने चलन छ। यसलाई मानव र पशुधनको सहअस्तित्वको प्रतीक मानिन्छ।
पाँचदिने पर्वमालाको अन्तिम दिन ‘भैया दुज’ (भाइटीका) मनाइन्छ। यस दिन बिहान टोलका महिलाहरूले अघिल्लो दिन बनाइएको गोवर्धनका आकृतिहरूलाई एकत्रित गरी बाँसको लठीको टुप्पोले सामुहिक रुपमा कुट्ने चलन छ। यस बिधिलाई ‘गोधनकुटाई भन्ने गरिएको छ। यहाँ पूजाका लागि बालिएको दियोको शिखामा बनाइएको गाजल शुभ हुने मान्यता रहेको पेशाले शिक्षक रहेकी साहले बताइन्।
यहाँ बसेर गाइने लोकभाकामा दिदीबहिनीले दाजुभाइलाई बसेर श्राप दिन्छन् र पछि रेंगनीको काँडाले जिब्रोमा आफैले घोचेर आफूले गाएका शब्दहरूको नाश गर्ने प्रक्रिया गर्दछन्। यसरी भाकामा गाइएको श्राप आशिर्वादमा रुपमान्तरण हुने लोकमान्यता छ। दाजुभाईको कुनै खबाब नियति आउनेवाला छ भने गीतमै उत्पन्न गराएर गीतमै सकिदिएपछि त्यसको प्रभावबाट मुक्ति दिलाउने लोकचलन हो यो।
दाजुभाइलाई टीका लगाएर मुखमा केराउका दाना हाल्ने यस दिनलाई ‘बजडी’ पनि भनिन्छ। मिठाइ खुवाएर पिठ्युमा धाप दिएर दिदीबहिनीले आशीर्वाद दिन्छन्। दाजुभाइले भने दिदी बहिनीलाई दक्षिणा दिनुपर्छ। भैयादुजसँगै सोहरैयालाई बिदाई गरिन्छ, अनि शुरू हुन्छ छठको तयारी।