Thursday, January 16, 2025

-->

पुस्तक बजारः पुरस्कार पाए मात्र बिक्छन्!

कुनै पनि पुस्तकको सफलता र असफलताको निर्धारण बिक्रीले मात्र नगर्ने कतिपय लेखक र प्रकाशकको धारणा छ। तर ठूला पुरस्कार पाएकाबाहेक अन्य पुस्तक कम मात्र बिक्ने गुनासो किन बारम्बार सुनिन्छ?

पुस्तक बजारः पुरस्कार पाए मात्र बिक्छन्

काठमाडौँ– “मेरो पहिलो पुस्तक चिना हराएको मान्छे डाइमन्ड कपी बिक्यो। डाइमन्ड कपी भनेको एक लाख प्रतिभन्दा बढी हो,” लेखक तथा कलाकार हरिवंश आचार्य भन्छन्, “आफ्नो कृति धेरैभन्दा धेरै मानिसले हेरिदिए, पढिदिए खुशी लाग्छ।”

पहिलो पुस्तक नै ठूलो संख्यामा पाठकमाझ पुग्नु आफ्नो लागि माया र सम्मानको विषय भएको आचार्य बताउँछन्। उनले धेरै वटा प्रहसन तथा फिल्मका ‘स्क्रिप्ट’ लेखिसकेका थिए। तर पुस्तक लेखेको अनुभव थिएन। “कलाकारितामा लामो समय स्क्रिप्ट लेखन गरियो। रंगमञ्च, टेलिचलचित्र, फिचर फिल्म लेखेको छु। तर किताब प्रकाशन नगरेसम्म लेखकको मान्यता नपाइने रहेछ,” उनी भन्छन्।

२०७० वैशाखमा प्रकाशन भएको चिना हराएको मान्छे फाइन प्रिन्टबाटै उनको दास्रो पुस्तक हरिबहादुर बजारमा आयो। अहिले आफू निबन्ध संग्रहको पान्डुलिपि तयारीमा रहेको आचार्य बताउँछन्। 

युवा लेखक सुविन भट्टराई पछिल्लो उपन्यास इजोरिया प्रकाशन भएको दुई वर्ष बितिसकेको छ। यो अवधिमा ८० हजार प्रति पुस्तक बिकेको उनको भनाइ छ। “समर लभसाया एक लाख प्रतिभन्दा बढी बिक्री भए। मनसुन ५० हजार प्रतिभन्दा बढी बिक्यो,” उनी भन्छन्, “पाठकको यो मायाले मेरो १२ वर्षको लेखन साधनालाई पूर्ति गरेको छ।” 

उनी अहिले फिल्मको स्क्रिप्ट लेख्न सक्रिय छन्। सँगै आफ्नो नयाँ किताब लेख्ने योजना पनि बनाइरहेका छन्। “दशैँ र तिहारको बीचमा नयाँ कृतिको योजना बनाउने विचारमा छु, फिल्मको काम पनि चलिरहेको छ। अहिले मेरा प्राथमिकता यी दुई नै हुन्,” भट्टराई भन्छन्।

उनी प्रेम र सम्बन्धका विषयमा लेख्ने आख्यानकारका रूपमा चिनिन्छन्। तर इजोरिया (२०७९) समाजसँग नजिकको कथा भएका कारण पाठकले मन पराएको उनी बताउँछन्। “त्यसअघिका उपन्यास र कथा व्यक्तिगत अनुभव र कल्पनाशीलताको आधारमा थिए,” उनी भन्छन्, “इजोरियालाई जनकपुरको कथावस्तुले जीवन्त बनायो, जहाँ थोरै कल्पनाशिलता र वर्तमान समयको आधिकारिकतामा बढी काम भयो।”

कुन आधारमा बिक्छन् पुस्तक?
सेतो धरतीबाट मदन पुरस्कार जितेका लेखक अमर न्यौपानेका कृति पनि धेरै पढिनेमा पर्छन्। २०६८ सालमा शिक्षण पेसा छाडेर उनी पूर्णकालीन लेखन यात्रामा लागेका थिए। अहिले भने नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य छन्।

पुस्तक बिक्री हुने सूत्र केही नहुने लेखक न्यौपाने बताउँछन्। कुनै पनि कृतिको विषय र गुणस्तर बिक्रीको आधार हुन सक्ने उनले बताए। हालै एकसाथ प्रकाशित सुधीर शर्माका दुई पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह: नेपालको भोट–चीन सम्बन्ध र भारत’ र ‘हिमालपारिको हुरी: गणतन्त्रपछि फेरिएको नेपाल–चीन सम्बन्ध’ धेरै बिक्री भएको उनको अनुमान छ। “चाहे साहित्यक अथवा गैरसाहित्यक कृति होस्, त्यसको गहिराइले पाठकलाई तान्छ,” उनी भन्छन्, “यसबाहेक भाषामा सरलता अर्को मानक हुन सक्छ।”

गहन विषयलाई अन्त्यन्त सरल ढंगले प्रस्तुत गर्दा पाठक कमाउन सकिने न्यौपाने बताउँछन्। “क्लासिजमदेखि पोस्ट मोर्डनिजमसम्म आउँदा जटिल विषयलाई सहज पार्न सकिने रहेछ। भाषाले पनि पाठक निर्माणमा ठूलो भूमिका खेल्छ,” उनी भन्छन्, “यसको ज्वलन्त उदाहरण नारायण वाग्लेको पल्पसा क्याफे हो।”

लेखकको ‘सिग्नेचर’ शैलीले पनि ‘फ्यानबेस’ निर्माण गर्ने उनको अनुभव छ। आफ्नो शैलीले नै बिस्तारै पाठक बनाउँदै जाने उनको अनुभव छ। आफ्नो पहिलो कृति पानीको घाम (२०६६) का लागि प्रकाशक खोज्नु पर्ने चुनौतीबीच जर्मनीको एक संस्थाबाट ३५ हजार रुपैयाँ फेलोसिप पाएको र त्यसैले पुस्तक छापेको उनी बताउँछन्।

दोस्रो पुस्तक सेतो धरती फाइन प्रिन्टबाट छापियो। “किताबबाट कहिले पैसा आउँछ भनेर पनि लेखनीमा होमिएको थिइनँ तर पहिलो किताबदेखि नै पैसाको लागि दुःख गर्नु परेन,” न्यौपाने भन्छन्, “सेतो धरती दुई हजार प्रति छापिएको थियो। पछि धेरै स्केलमा छापियो। २०६८ सालमा मदन पुरस्कार पाएपछि २०–२५ हजार पुस्तक एक हप्तामा प्रिन्ट भयो।”

२०७९ सालमा ऐँठन उपन्यासका लागि मदन पुरस्कार पाएका लेखक विवेक ओझा पाठकको प्रतिक्रिया महत्त्वपूर्ण हुने बताउँछन्। कृति प्रकाशनको वर्षौंपछि पनि पाठकमा पार्ने प्रभाव, उठान गर्ने बहस आदिलाई पुस्तकको सफलताको प्राथमिक सुचक मान्छन्। “मैले लेखेको पुस्तकले ३–४ वर्ष अझै प्रभाव पार्‍यो भने त्यसले खुशी र सन्तुष्टि दिन्छ,” उनी भन्छन्, “त्यसका साथै अधिकभन्दा अधिक पुस्तक बिक्रीले लेखकलाई खुशी पार्ने नै भयो।”

बजारमा पुस्तक बिक्री नभएको भन्ने भनाइ ठीक नभएको ओझाको कथन छ। बरु, विद्यार्थी, पाठक, प्रकाशक र शैक्षिक संस्थाहरूबाट हुनु पर्ने बौद्धिक बहसमा कमी भएको उनी बताउँछन्। पुस्तक बिक्रीको संख्या घटेको भन्दा पनि पाठक ‘सेलेक्टिभ’ भएको उनको भनाइ छ। पाठकले पठन माध्यम पनि परिवर्तन गरेका छन्। अब अडियो बुक र ई–बुकमा पनि पाठक विभाजित भएको उनी बताउँछन्।

पुस्तक सफल हुन लेखकले विषय चयन, प्रस्तुति, कथाको उठान र अन्त्यजस्ता तत्त्वलाई महत्त्व दिनुपर्ने ओझाको भनाइ छ। “कतिपय अवस्थामा सिद्धान्त र मान्यताले रोक्ला तर कथाभित्र यी सबै गौण हुनुपर्छ। कथाले वाद, सिद्धान्तलाई आदर गर्न नसक्ला, यसले कथाको स्पष्टता दिन्छ,” उनी भन्छन्। 

आर्थिक मन्दी र बदलिएको प्रविधि
प्रकाशनगृह बुकहिलका भूपेन्द्र खड्का भने बजारमा पुस्तक बेच्न गाह्रो हुने गरेको बताउँछन्। पुस्तक बजारको अहिलेको समयलाई विसं. १९४०–५० को दशकको मोतीराम भट्टकालीन समयसँग तुलना गर्नु पर्ने स्थिति आएको बताउँछन्। “साहित्यिक कृतिको सवालमा मोतीराम भट्टले एक हजार किताब बाँडेको भनेजस्तै कोही लेखकको एक–दुई हजार कपी बिक्री भयो भने राम्रो मान्नु पर्ने अवस्था छ,” उनी भन्छन्, “सामाजिक सञ्जालमा देखिने चर्चा–परिचर्चाले भ्रम मात्र खडा गरेको छ।”

बजारमा पुस्तक बिक्री नहुने अवस्था सिर्जना भएको ६–७ वर्ष भएको खड्काको भनाइ छ। “२०७५/७६ सालसम्म राम्रै संख्यामा पुस्तक बिक्री भएको थियो। त्यस बेला आयतित पुस्तकमा लागेको करसँगै नेपाली पुस्तकको बजार ओरालो लाग्यो,” उनी भन्छन्, “अनि कोरोनाले विश्वभर प्रभाव पार्‍यो।”

युवा जमात विदेश पलायन हुनु पनि गौण कारण भएको उनी बताउँछन्। प्रकाशकको दृष्टिकोणले पुस्तकबाट व्यापार सन्तुलन हुन चारदेखि पाँच हजार प्रति बिक्नुपर्ने उनको भनाइ छ। पुरस्कार तथा सामाजिक सञ्जालमार्फत चर्चा बटुलेका कृति वर्षमा ४० देखि ६० हजार बिक्ने र एक लाख प्रति बिक्न करिब पाँच वर्ष लाग्ने उनले सुनाए।

यस वर्ष मदन पुरस्कार पाएको मोहन मैनालीको मुकाम रणमैदान बुकहिलबाटै प्रकाशन भएको हो। यसै वर्ष साहित्यतर्फको नोबल पुरस्कार पाएकी लेखक हान काङको चर्चित उपन्यास द भेजिटेरियनको नेपाली अनुवाद पनि बुकहिलले नै प्रकाशन गरेको थियो। प्रकाशनमा एक दशक बिताएको बुकहिलले प्रकाशन गरेको आश्विनी कोइरालाको ‘जुकरबर्ग क्याफे’ले त्यस बेला सुबिन भट्टराइको साया बराबर व्यापार गरेको खड्का बताउँछन्।

कुमार नगरकोटीको मिस्टिका, रामलाल जोशीको ऐनाबााआमा, झमक घिमिरेको जीवन काँडा कि फूल, जगदीश घिमिरेको अन्तरमनको यात्रा, नवराज लम्सालको महाकाव्य अग्नि, सुशीला कार्कीको आत्मकथा न्याय, गणेश पौडेलको पैतालालगायतले बिक्री र चर्चा दुवै पाएको उनको भनाइ छ। “हुन त थोरै बिक्री भए पनि कतिपय पुस्तकलाई सफल र राम्रो मान्न सकिन्छ। त्यो कसरी भने, ज्ञान र लक्षित पाठकका लागि के कुरा कहाँबाट लेखिएको छ भन्ने आधारमा। जस्तो समाज, संस्कृति, इतिहासका पुस्तक थोरै बिक्री भए पनि सफल मानिन्छ।” बिक्रीले गर्ने सफलता वा असफलताको निर्धारणभन्दा पर पाठकले उक्त कृतिबाट खोज्ने विषय महत्त्वपूर्ण हुने पनि उनले बताए। 

अर्को प्रकाशनगृह शिखा बुक्सका पुष्पलाल पौडेल प्रकाशन भएको कुनै पनि कृतिको व्यापारले सन्तुष्ट पार्नु पर्ने बताउँछन्। आफूले ज्ञान वृद्धि र आम्दानी दुवै दृष्टिबाट मूल्यांकन गरेर पुस्तक छाप्ने उनको भनाइ छ। तर अहिले विश्वव्यापी आर्थिक मन्दी नेपालमा पनि छाउँदा पुस्तक बजार पनि सुस्त भएको उनी बताउँछन्। 

विसं. २०६० को दशकबाटै पुस्तक प्रकाशन व्यवसाय शुरू गरेका उनी विद्यार्थीको विदेश पलायनले प्रभाव पारेको बताउँछन्। “मेरो पसल आरआर कलेजको सेरोफेरोमा थियो। २०६० को दशकमा आरआर र शंकरदेव कलेजबाट विद्यार्थी छुट्दा बाटो नै जाम हुने स्थिति थियो,” उनी भन्छन्, “अबको लागि ४–५ हजार विद्यार्थी कलेजमा हुनु ठूलो भइसक्यो।” 

यद्यपि, विसं. २०७० को दशकमा सुधीर शर्माको प्रयोगशाला, हरिवंश आचार्यको चिना हराएको मान्छेलगायत पुस्तक विदेशबाट आएका नेपालीले समेत उपहार दिन लगेको उनी बताउँछन्। “अहिले भने पाँच हजार पुस्तक बिक्री हुनुलाई नै सफलता मान्नुपर्ने अवस्था आएको छ,” उनी भन्छन्, “दुई हजार प्रति नबिकीकन त खर्च नै धानिँदैन।” 

शिखा बुक्सबाट प्रकाशन भएको प्रकाशचन्द्र बानियाँको महारानी उपन्यास (२०७६)ले मदन पुरस्कार पाएको थियो। यसबाहेक, बीपीको जेल डायरी, बीपीको समाजवाद, शैलेन्द्र अधिकारीको निर्वेद, भूवनहरि सिग्देलको आमै आदि पुस्तक राम्रो बिक्री भएको उनी बताउँछन्।


सम्बन्धित सामग्री