Saturday, October 05, 2024

-->

सोरठीले बौराएका दम्पच मुद्दा

राजा अति तिर्खाएर कुनै कुमालको घरमा पानी माग्न पुग्छन्। १६ वर्षकी युवतीको हातबाट पानीको प्यास मेटेका उनी सोही बखतदेखि नै युवतीप्रतिको एकोहोरो आकर्षणका कारण गहिरो चिन्तामा डुब्छन्।

सोरठीले बौराएका दम्पच मुद्दा

पुरबै दिशाको जैसिङे राजै
पश्चिमै दिशाको हैमत रानी....

यही गीतको उठानबाट 'सोरठी' नाटकको पर्दा खुल्दछ।

कथानक
मञ्चको एक छेउमा बजैले आफ्नी नातिनीको सोरठी प्रतिको जिज्ञासा मेटाउँदै जैसिङ्गे राजा (हाङ) र हैमती रानी (हाङ्मा)को कथा सुनाउँदै नाटक अगाडि बढ्छ। मगरात क्षेत्रमा रहेको सेती, काली गण्डकी र नारायणी नदीको कुनै एक क्षेत्रका मगर राजा थिए जैसिङ्गे। खस साम्राज्यको पतन र जुम्ला राज्यको उदयको समय १५औँ शताब्दीको मध्यदेखि र पाल्पा राज्यको उदय १६ औँ शताब्दीको मध्यसम्मको एक शताब्दी कालखण्डभित्र अस्तित्वमा रहेको थियो उनको राज्य। सिकार खेल्ने क्रममा बेँसीखोला किनारको बस्तीमा राजा अति नै तिर्खाएर कुनै एक कुमालको घरमा पानी माग्न पुग्छन्। १६ वर्षकी युवतीको हातबाट पानीको प्यास मेटेका उनी सोही बखतदेखि नै युवतीप्रतिको एकोहोरो आकर्षणका कारण गहिरो चिन्तामा डुब्छन्। 

कथाको इतिवृत्तान्त थाहा पाउन काठमाडौँको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा चलिरहेको सञ्जय काउछा मगरको प्रकाशोन्मुख उपन्यास ‘सोरठी’मा आधारित नाटक ‘सोरठी’ हेर्नुपर्ने हुन्छ। नाटक उनकै लेखन र संगीता थापा मगरसहितको निर्देशनमा मञ्चन भइरहेको हो।

तत्कालीन परिवेश
करिब पाँचदेखि ६ सय वर्षपहिलेको समाज, सामाजिक अन्तरक्रिया र राज्य व्यवस्थालाई नाटकमा जीवन्त चित्रण गर्ने प्रयत्न गरिएको छ। मगरात राज्यका जलाधार क्षेत्रको तल्लो तटीय भेगमा कुमाल जातिको बसोबास रहेको नाटक बताउँछ। फरक पृष्ठभूमिका कुमाल र मगर जनजाति बीचको जातीय सहिष्णुता र अन्तर्घुलन नाटकमा जबरजस्त पेश भएको छ। 

बेलाबखत पात्रहरूले यी दुई जातिको भाषालाई स्वतःस्फूर्त बोलिरहेको दृश्यले नाटकलाई जीवन्त पार्छ, किनकि अर्धचेतन अवस्थामा मस्तिष्कमा संग्रहित भाषाका शब्दहरू मुखमार्फत प्रस्फुटित हुनु प्राकृतिक र स्वाभाविक हो। पात्रहरूले खस नेपाली भाषामा वार्तालाप गर्दासमेत आफ्नै भाषिक लय र आञ्चलिकता झल्किनु निर्देशकीय र कलाकारिता खुबी हुन्। फुर्सदिला राजाले सिकार खेल्दा र कुमाल जातिका रैतीले माटोका सामग्री उत्पादनसँगै गर्ने र माछा मार्ने काममा तत्कालीन सामाजिक अन्तरक्रियाहरूको चित्रण भेटिन्छ।

जात व्यवस्थाविहीन समाज
सोरठी गीति नाटक व्युत्पन्न हुँदाको कालखण्डमा उक्त राज्यमा जात व्यवस्थात्मक समाज नरहेको नाटकले उजागर गर्छ। कारण लेक क्षेत्र र फरक संस्कृतिका मगर राजाले औल क्षेत्रको कुमाल संस्कृतिमा हुर्केकी सोरठी (षोडशी)लाई सहज रूपमा विवाहको प्रस्ताव राख्नु, दोस्रो पक्षको स्वीकारोक्ति हुनु र उचनिचमय दृष्टिकोणले नहेर्नुले उक्त समाजमा जातव्यवस्थाको कुनै बाछिटाले समेत नछोएको प्रस्ट हुन्छ। माटोको शिल्पकारिता साथै माछा र जाँडरक्सीको खाद्य संस्कृतिमा रमाएको कुमाल जातिले पनि भिन्न सांस्कृतिक समूहलाई शासक स्विकार्नुको मतलब उक्त रैथाने समाजमा जातिद्वेषी अवधारणा नै नरहेको अनुमान गर्न सकिन्छ। तत्कालीन समाज जात व्यवस्थात्मक दृष्टिकोणले असमान र अपमानमूलक स्थितिको नभएर समानता र समतामूलक अवस्थामा रहेको देखिन्छ।

कथ्य साहित्यको लिपिबद्ध दस्ताबेजीकरण
सदियौँयता पुस्ता दरपुस्तामा कथ्य परम्पराद्वारा निरन्तरता पाएका र बनाइएका वैभवशाली विभिन्न रैथाने साहित्यिक आयामलाई अब उपलब्ध स्रोतसाधन र प्रविधिको माध्यमद्वारा दस्ताबेजीकरण गर्ने युग आएको छ। हजारौँ वर्ष लामो यात्राको क्रममा निश्चित जातिले आर्जन गरेको अनुभव र ज्ञान आफ्नोसहित अन्य पृष्ठभूमिका आगामी पुस्तालाई हस्तान्तरण गर्ने बलियो विधि नै दस्ताबेजीकरण हो। निश्चित समुदायले लामो कालखण्डसम्म ज्ञानको सत्तालाई आफूअनुकूल मात्रै व्याख्या, विश्लेषण र स्थापित गरे। यस अवस्थामा नवीन जागरणको आलोकमा विज्ञान प्रविधिको सहायताले समानान्तर भाष्य निर्माणको थालनी सोरठीले गर्न भ्याएको देखिन्छ।

मेटाइएका धुमिल इतिहासको पुनः खोज
त्यही ऐँठनबीच एक दिन एउटी षोडशी कन्याले मेरो कानैमा आएर भनिन्, ‘ए, डुकुलट्ठक! उठ, किन दोपहरमै निदाउन खोजेको? तिम्रो रात पर्न अझै बाँकी छ त। उठ र जिन्दगीमा केही गर।’ यो जागरणको कथा सोरठी नाटकको परिचयपत्रको प्राक्कथनमा लेखक सञ्जय काउछा मगरले उद्धृत गरेका हुन्। यही जागरणको झिल्कोले जन्माएको हो प्रस्तुत नाटक। 

शासक वर्गद्वारा एकपक्षीय ढंगले रचित र लिखित इतिहासलाई बहुपक्षीय तौरतरिकाबाट लेखिनुपर्छ। नाटकले यही नारालाई बुलन्द पार्छ। रैथाने मगर जातिको सामुदायिक जीवनशैलीले निर्माण हुन पुगेको दृष्टिचेतबाट समाजलाई हेर्ने प्रयत्न गर्छ। हेर्दा धुमिल र विशृंखल पारेर मुर्झाएको अवस्थामा पुर्‍याइएको गौरव गाथा, कथा र इतिहास उत्खननद्वारा एवं प्रवर्द्धनमार्फत सफा र जागृत बनाउन चालक शक्तिको काम गरेको छ नाटक सोरठीले।

प्रतिरोधात्मक साहित्यिक यात्रा
कथित मूलधारे साहित्यको विकल्पमा उभिएको उत्पीडनविरुद्ध सशक्त प्रतिरोधी विचारधारावाहक हो यो नाटक। आँखा, नाक वा शारीरिक बनावट र छालाको रङ हेरेर ज्ञानको मापन गर्ने विद्रूप सौन्दर्यचेतको विपक्षमा छ। अतः नवीन ज्ञानमण्डलको निर्माणार्थ खटिएको बौद्धिक श्रमिकको सामूहिक शक्ति हो यो। सदियौँदेखि ज्ञान उत्पादनबाट बेदखल र ज्ञान सत्ताबाट च्युत बनाइएका शोषित र उत्पीडितको प्रतिरोधात्मक अविराम साहित्यिक यात्राको थालनी पनि हो नाटक।

पुनर्जागरण
‘भाषा’ बोलचालको माध्यम मात्रै हो भन्ने अवधारणा सीमित बुझाइको उपज हो। यो त सोच्ने यन्त्र हो, शैली हो। यही शैली र यान्त्रिक माध्यमले विचार, ज्ञान र दृष्टिकोण निर्माण गर्छ। दृष्टिकोणको सहायताले स्वत्वको बलियो आधारशिला तयार पार्छ। 

शासकवर्गीय दृष्टिकोणबाट देखिएको सौन्दर्यचेतको गहिराई एवं घनत्व अत्यन्तै सतही र फितलो हुने गर्छ। आवाज दबाइएका, सास ङ्याकिएका, जिब्रो काटिएका र घाँटी निमोठिएका उत्पीडित समुदायको पुनर्जागरणको समय आएको छ। 

जबरजस्त एकल भाषाको सुगा रटानले एकलकाँटे बुझाइका असहिष्णु नवपुस्ता पुनः उत्पादनको दुष्चक्र हाम्रोमा (र, अन्यत्र पनि) चलिरहेको छ। फरक खाद्य प्रणालीका समुदायको सांस्कृतिक पहिचानविरुद्ध लाग्ने चिन्तनको विकास निरन्तर रूपमा भइरहेको छ, जसलाई विद्यमान सत्ताले सुरक्षा गर्छ। नाटकमा प्रस्तुत गरिएका मगर र कुमाल भाषाका टुक्रे वार्तालापले भाषिक जागरणलाई थप बलशाली बनाउने काम गरेको छ।

अन्त्यमा
कला र संस्कृति समाजको ऐना हो भन्ने भाष्य जबरजस्त स्थापित गर्ने ठूलो हिस्साको दुष्प्रयासयुक्त छ भन्ने यथार्थ हामी राम्रै हेक्का राख्छौँ। तर यसलाई ऐनाको रूपमा मात्रै नहेरेर अन्तर्विरोधहरूको खोतलखातल गर्दै तथ्यसम्म पुग्ने सूक्ष्मदर्शक यन्त्र देख्नु विज्ञानसम्मत हुन्छ, साथै सो यन्त्र हेर्ने चक्षु तेजिलो र घोत्लिने मस्तिष्क तिखो पार्ने जिम्मा अग्रगामीहरूको काँधमा छ। 

लगभग साढे चौबीस सय वर्षअघि अर्थात् ईशापूर्वको ४३० देखि ४२६ सम्मको कालखण्डमा ग्रिक मिथमा आधारित सोफोक्लेसद्वारा लिखित र मन्चित नाटक ‘इडिपस रेक्स’मा भाग्यवादको पक्षधरता देखाइएको छ। संयोगवश 'इडिपस रेक्स' नाटकका केही घटनाक्रम सोरठीसँग पनि मेल खान्छन्। संसारभर फैलिएका रैथानेका जीवन-दृष्टिकोण र विश्वास कपोलकल्पित 'भाग्यवाद' र 'कर्मफलवाद'को जगमा आधारित नभई छुन, देख्न र महसुस गर्न सकिने प्रकृतिप्रतिमा भेटिन्छ। प्रकृतिको आभारमा भेटिन्छ। यद्यपि, शासक वर्गको कुटिल षडयन्त्रद्वारा रचित यस्ता विषाक्त अवधारणाले जनजातिमा समेत बलियो जरा गाडेको छ। 

नेपालमै पनि हिन्दूकरणको प्रभाव र तत्कालीन शासकका हस्तक्षेपले यी समुदायमा भाग्यवादी विषवृक्षको बीजारोपण र अंकुरण गराई कर्मफलवाद फुलाउन-फलाउन सफल भएको पाइन्छ। यसकै प्रभाव नाटकको अन्त्यमा देखिनुलाई  विमर्शको विषय बनाउनुपर्ने हुन्छ। कतिपय स्थानको सोरठी गीति नाटकमा जैसिङ्गे राजा र हैमती रानीको अलावा रामायण र कृष्ण चरित्रले प्रवेश पाएको तथ्यले सांस्कृतिक विद्रूपीकरणको संकेत गर्छ। नाटकको कथाले भने हस्तक्षेपको प्रतिवाद गर्दै तथ्य पक्रेको पाइन्छ।

वैदेशिक रोजगारीमा गएकी पात्रको उतै मृत्यु भएको संकेत गर्नुले हाल देशमा चरम बेरोजगारीको अवस्था रहेको बुझिन्छ। जनजाति महिलासमेत बिदेसिनु परेको प्रतिकात्मक सन्देश नाटकले प्रवाह गर्छ। जैसिङ्गे राजा गहिरो प्रायश्चित गर्दै अवसादको मनस्थितिमा सत्ता परित्याग गर्छन्।

झ्यान्टुङ... झ्यान्टुङ ...मादलको तालमा,
नयाँ जीवन फिरायो
भावी लगन जुरायो
ए है .......
पुरबै दिशाको जैसिङे राजै
आहा ! पश्चिमै दिशाको हैमती रानी....
भावी लगन जुरायो ...।

गीतको बैठानद्वारा मञ्च पर्दा खस्छ।

दुखान्तको भावोत्तेजनामा वाहवाहीको जोड्जोडले ताली पिट्दै दर्शकहरू हलबाट बाहिरिन्छन्।

नाटक भदौ ३० गतेसम्म चल्नेछ।


सम्बन्धित सामग्री