कवि मीनबहादुरजीलाई जुन कुराले पोल्छ, जुन घटनाले मनमा तरंग ल्याउँछ, त्यही भावहरूले कविता कोर्न बाध्य बनाउँछ। उनलाई कविता कोर्न बाध्य बनाउने विषय जीवनमा देखिएका विसंगति हुन्।
समकालीन नेपाली साहित्यमा मलाई मनपर्ने एक कवि हुन्— मीनबहादुर विष्ट। मीनबहादुरजीका कविता मैले धेरैपछि मात्र फेला पारेको हुँ। पढेको पहिलो कविताले नै मलाई चुम्बकले जस्तै तान्यो। त्यसको सरलताले र त्यहाँ भएका बिम्बहरूले ल्याउने शक्तिशाली भावनाले कवितामा तानिरहन्छ।
मीनबहादुरजी प्रकृति चित्रण गर्ने, प्रेमको गीत गाउने, राष्ट्रको वीरगाथा सुनाउने, ठूलाठूला दर्शनका कुरा गर्ने कवि होइनन्। उनका कवितामा हाम्रो गाउँघर पाइन्छ। खोलानाला, पाटीपौवा पाइन्छ। सानासाना बजार र शहर पाइन्छ। शहरमा भएका दुर्गन्ध, फोहोरमैला पनि पाइन्छ। उनका कविताभित्र पाइने बिम्ब र संकेतहरू यही संसारबाट बनेका हुन्छन्, न कि कुनै पौराणिक कथा वा प्राचीन साहित्यबाट। यसैले होला– मीनबहादुरजीका कविताका हरेक शब्द, हरेक बिम्बले हाम्रो मन छुन्छ।
कविका रूपमा मीनबहादुरजीलाई जुन कुराले पोल्छ, जुन घटना वा अवस्थाले मनमा तरंग ल्याउँछ, त्यही उर्लेका भावहरूले उनलाई कविता कोर्न बाध्य बनाउँछ। उनलाई कविता कोर्न बाध्य बनाउने विषय जीवनमा देखिएका विसंगति हुन्। अझ भनौँ, उनकै शब्दमा कविता उनका लागि समसामयिक जीवनका जटिलता, विसंगतिहरू बुझ्ने र व्यक्त गर्ने सशक्त माध्यम हो।

उनलाई कविता लेख्न समाजले नै ऊर्जा प्रदान गर्दछ। यो सानो कविता कृतिमा समावेश भएका कविताहरू सशक्त र गहकिला छन्। यिनीहरूको विषयवस्तु, भाव, शैली, प्रस्तुतिबाट हामीलाई अवश्य नै खुशी पार्नेछ। त्यसको साथै यिनीहरूले हामीलाई चिन्तन गर्न, आत्मसमीक्षा गर्न पनि बाध्य पार्छन्।
सामान्य संवाद र बोलीचालीको क्षणमा पनि सिंगो समाजलाई चित्रमा उतार्ने खालको शैलीले मीनबहादुरलाई अरूभन्दा अलग कवि पहिचानमा उभ्याएको छ। उदाहरणमा केही स–साना टुक्राः
‘जब म गाउँ घुमेर फर्किरहेको थिएँ,
कसैले सोध्यो–
‘कसरी चलिरहेछ गाउँको पाठशाला ?’
मैंले भनें–
‘जसरी चलिरहेछ यो देश !’
(गाउँको पाठशाला)
⁎⁎
‘काँधमा रातो रुमालले बीचमा
टपक्क बाँधेको झोला
र कम्मरमा
बर्षौदेखि सान नलगाई
खिया परेको खुकुरी भिरेर
थला परेका
बूढा बाआमालाई
मुर्दाघरजस्तो घर रुङ्न अह्राउँदै
पियारीहरूलाई साथमा लिएर
हिंडिरहेछन् तन्नेरी छोराहरू
जनम ठाउँ छाडेर!’
(साला पहाडमें क्या है?)
⁎⁎
बाहिर छाडा साँढेहरू जुधिरहेछन्
संसारकै जग हल्लाइदिने गरी
माथि काला कागहरू उडिरहेछन्
संसारलाई नै अँध्यारो बनाउने गरी
यता आगोको लप्काहरू उठिरहेछन्
संसारलाई नै डढाइदिने गरी
तल कलिला बालक र फूलका बोटहरू काँपिरहेछन्
संसारमै कोही नभएझैं गरी
माथि को हुनुहुन्छ ?
(माथि को हुनुहुन्छ ?)
⁎⁎
श्रद्धेय महामहिम !
यो माछापुच्छ्रे, त्यो अन्नपूर्णा र,
उः पारको धवलागिरी श्रृङ्खला हो
नाङ्गा आँखाले हेर्नुभए पनि हुन्छ
दुर्बिनको खास जरुरत पर्ला जस्तो मलाई लाग्दैन
एउटा तीनतारे होटल खोल्ने इच्छा छ, महामहिम !
कृपया केही ‘लोन’ दिन सक्नुहुन्थ्यो कि ?
(यसरी एउटा राष्ट्र बाँच्ने बहाना गर्छ)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
