काठमाडौँ– काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल तथा वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनले बिहीबार श्री लुमधि भद्रकाली मन्दिर परिसर सत्तल पुनर्निर्माणको शिलान्यास गरे। मन्दिर परिसर ०७२ सालको भूकम्पले जीर्ण भएको थियो।
३४ करोड ८० लाख रुपैयाँ हाराहारी बजेटमा पुनर्निर्माण हुन लागेको उक्त सत्तल तीन वर्षमा पूरा गर्ने योजना महानगरको छ। वडा नं. २२ मा पर्ने उक्त मन्दिर र सत्तल परिसरलाई मल्लकालीन शैलीमा बनाउने योजना रहेको सो वडाका अध्यक्ष महर्जनले जानकारी दिए। अध्यक्ष महर्जन लुमघि भद्रकाली गुठीका गुठियारसमेत हुन्।
गुठी संस्थानको स्वामित्व रहेको उक्त सत्तल पुरातत्त्व विभागको स्वीकृतिमार्फत स्थानीय तहअन्तर्गत पुनर्निर्माण हुँदै छ। काठमाडौँ महानगरभित्र रहेका पुराना पाटी, मठमन्दिर, सत्तल, फल्चाहरूको पुनर्निर्माण तथा जीर्णोद्धार गर्ने, लगत राख्ने, संरक्षण गर्ने कार्य क्षेत्रभित्र पर्छ।
डेढ महिनाअघि सत्तलमा रहेका फेन्सी पसल सार्ने तथा सत्तल भत्काउने कार्य भएको थियो। सत्तलको दक्षिण भागबाट पुनर्निर्माण गर्ने तयारी छ। शिलान्याससँगै भद्रकाली मन्दिर परिसरको सत्तलको पुनर्निर्माण औपचारिक रूपमा शुरू भएको काठमाडौँ महानगरपालिका सम्पदा महाशाखाप्रमुख कुमारी राईले बताइन्।
विभागले जनाएको विमति
सत्तल निर्माणको शैलीमा भने महानगर र विभागबीच विमति छ। पुनर्निर्माणमा सरोकारवाला निकाय सबैको सहमति भए पनि सत्तलको संरचनात्मक ढाँचालाई लिएर विभाग र महानगरबीच विमति देखिएको हो। पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले भद्रकाली सत्तल पुनर्निर्माण नक्सा संशोधनका लागि महानगरमै फिर्ता गरिएको बताइन्। “शिलान्यास मात्र गर्नु भएको होला, विभागले नक्सा स्वीकृत गरिसकेको छैन। सुधार गरेर ल्याउनु भनेको छ,” उनले भनिन्। भवनको नक्सा स्वीकृतिबिनै महानगरले काम अघि बढाएको देखिएको छ।
महानगरले मल्लकालीन शैलीमा सत्तललाई पुनर्निर्माण गर्ने भनिरहँदा विभागले भने सत्तलको वर्तमान शैलीलाई नै निरन्तरता दिनुपर्नेमा जोड दिएको छ। पुरातत्त्व विभाग, गुठी संस्थान र सम्बन्धित गुठियारसँग पटक–पटकको छलफलपछि टेन्डरमार्फत निर्माण शुरू भएको सम्पदा शाखाप्रमुख राईले बताइन्। नक्सा स्वीकृतिको विषयमा सामान्य संशोधनबाहेक अन्य केही नभएको उनी बताउँछिन्। उक्त निर्णय तत्कालीन महानिर्देशक दामोदर खड्का कै समयमा भएको थियो।
मौलिक मल्लकालीन शैलीमै सत्तल पुनर्निर्माण गर्ने वडाध्यक्ष महर्जनले बताए। “पुरातत्त्वको काम भवन बनाउँदा नर्म रेगुलेट गर्ने हो, त्यसको स्वामित्व गुठी संस्थानको हो, योबाहेक सबै अधिकार महानगर र गुठियारवालाको हो,” उनले भने, “महानगरको बजेटमा बन्ने उक्त सत्तलको गुठियारसमेत रहेका हामी मुख्य सरोकारवाला हौँ। विभागले अझ हामीलाई यसमा सहयोग गर्नुपर्ने थियो।” तत्कालीन नगरप्रमुख विद्यासुन्दर शाक्यको पालादेखि सत्तल निर्माणको प्रक्रिया शुरू भएको उनले बताए।
महानगरका प्रमुख बालेन शाहले पनि भद्रकाली मन्दिरलाई विदेशी शैली हटाएर परम्परागत नेवारी शैलीमा बनाउन शुरू गरेका बताएका छन्। “मन्दिरमा कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछन्। छानो झिँगटीको हुनेछ। उत्तर (भृकुटीमण्डप) तर्फ दुई वटा ‘ब्लक’ आपसमा जोडिएका हुनेछन्। यस्तै दक्षिण (नेपाली सेनाको पेट्रोल पम्पतर्फ) तीन वटा ब्लक हुनेछन्। यिनीहरू पनि आपसमा जोडिएका हुनेछन्। यसरी निर्माण हुने सबै भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुनेछ,” उनले सामाजिक सञ्जालमा भनेका छन्, “स्थानीय र पुरातत्त्व विभागले बेलायती शैलीमै बनाउन माग गरे पनि हाम्रो अडान पुरानो हाम्रो नेवारी परम्परागत शैलीमै बनाउने थियो र यही शैलीमै बन्नेछ। यो शुरूआत हो, हाम्रो परम्परागत शैलीमा फर्कने।”
विभागबाट नक्सा स्वीकृत भएको पत्र आएको छैन: गुठी संस्थान
गुठी संस्थानका प्राविधिक सालिकराम सुवेदीका अनुसार यसअघि पुनर्निर्माणबारे सरोकारवालाबीच एक–दुई पटक बैठक भएको थियो। सो क्रममा नक्सा स्वीकृतिका विषयमा पनि छलफल भएको उनले बताए। “महानगरले नक्सामा सामान्य संशोधनबाहेक विभागबाट नक्सा पास भइसकेको भनेको छ, तर अहिलेसम्म गुठी संस्थानसम्म नक्सा पासको पत्र आइसकेको छैन। पुरातत्त्वबाट नक्सा स्वीकृत नभएसम्म हामीले केही भन्न सक्दैनौँ,” उनले भने।
अधिवक्ता राजीव श्रेष्ठ पुरातात्त्विक संरचना जीर्णोद्धार मात्र गर्न मिल्ने बताउँछन्। त्यसमा पुनर्निर्माण भन्न नहुने उनको भनाइ छ। प्राचीन स्मारक ऐन २०१३ मा यस्ता स्मारकको जीर्णोद्धार पुरातत्त्व विभागको निर्देशन, निरीक्षणमा गर्ने व्यवस्था छ।
ऐनको दफा ३ग (३) ले संरक्षित स्मारक क्षेत्र बाहिरका निजी स्वामित्वमा रहेका प्राचीन स्मारकहरूको संरक्षण, मर्मत तथा जीर्णोद्धार पुरातत्त्व विभागको निर्देशनमा स्थानीय तह वा सम्बन्धित व्यक्तिले गर्ने उल्लेखित छ। सोही दफामा, गुठी संस्थानअन्तर्गत रहेका निजी प्राचीन स्मारकको संरक्षण, मर्मत तथा जीर्णोद्धार पुरातत्त्व विभागको निरीक्षण, प्राविधिक सेवा तथा निर्देशनमा गुठी संस्थानले गर्नेछ।
स्थानीय तह तथा विभागबीच ऐतिहासिक कालखण्डको विषयलाई लिएर पटक–पटक विमति भएको यो पहिलो पटक भने होइन। यस खालको विवाद भक्तपुर दरबार क्षेत्रमा रहेको लाल दरबार पुनर्निर्माणका बेला पनि पनि थियो। लाल दरबारलाई मौलिक शैलीमा पहिले रहेको मल्लकालीन सिंह दरबारमा ल्याउने भक्तपुर नगरपालिकाको अडान थियो भने पुरातत्त्व विभागले ऐतिहासिक कालखण्ड चित्रण हुने गरी राणाकालीन समयमा भित्रिएको ‘निको क्लासिक स्टाइल’मा बनाउने विवाद थियो।
विभागका महानिर्देशक प्रधानाङ्गले लाल दरबार राणाकालीन शैलीमै बन्ने बताइन्। भक्तपुर नगरपालिकाका प्रवक्ता दामोदर सुवालका अनुसार हालका लागि वर्तमान अवस्थामा नै रेट्रोफिटिङ गर्ने सहमति भएको छ।
के भन्छन् विज्ञ?
इतिहासकार डा. टिना मानन्धर यस्तो विवाद रानी पोखरीस्थित बाल गोपालेश्वर मन्दिरको पुनर्निर्माणका क्रममा पनि भएको बताउँछिन्। “यसखालका विवाद व्यक्तिगत विचारमा भर पर्छ जस्तो लाग्छ,” उनले भनिन्, “रानी पोखरीमा विवाद आयो, कतिपयले पुरानो पहिचानमा जानु पर्ने भने त कतिले तत्कालीन शैलीमा। वैचारिक भिन्नता उत्प्रेरित भावनाका कारण यसमा लामो संघर्ष भयो। अन्ततः मौलिक शैलीमा बन्यो।”
भक्तपुर दरबार क्षेत्रको फंसि देगल (शिलु महादेव) मन्दिरको पुनर्निर्माणका विषयमा १९९० सालको भूकम्पमा भत्किएको शिखर शैलीको मन्दिरलाई गुम्बज शैली बनाइएको थियो। २०७२ सालको भूकम्पपछि मन्दिरलाई पालिकाले शिखर शैलीमै पुनर्निर्माण गरेको छ।
यद्यपि, सय वर्ष पुरानो भवन, संरचना पुरातात्त्विकमा पर्ने कारण उक्त भवन संरचनामा सोही अनुसार बनाउनुपर्ने डा. मानन्धरको तर्क छ। त्रिभुवन विश्वविद्यालयका नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागका विभागीय प्रमुख महेशकुमार आचार्य भद्रकाली मन्दिर परिसरमा मध्यकालमा बनेको सत्तलको लिखित अभिलेख मात्र रहेको बताउँछन्।
उपलब्ध अभिलेखका आधारमा राजा प्रताप मल्ल तथा जयप्रकाश मल्लदेखि सत्तल बन्ने जीर्णोद्धार हुने र मर्मत हुने भइरहेको उनको भनाइ छ। “एक अभिलेखमा राजा महेन्द्रका समयमा पनि सत्तलको पुनर्निर्माण भएको उल्लेख छ,” उनले भने, “विशेषतः भवन संरचनाहरू सय वर्ष वा त्योभन्दा कम समयमा पुरानो हुने र जीर्णोद्धार हुने गर्छ। जुन नियमित प्रक्रिया हो।”
यद्यपि, पटक–पटक विवादमा आउने यस्ता विषयमा भने सम्बन्धित सरोकारवाला बसेर निचोड दिनुपर्ने उनी बताउँछन्। कल्पनाभन्दा पनि यथार्थमा आधारित भई काम गर्नुपर्ने उनको धारणा छ। कालखण्डसँगै हुने सांस्कृतिक परिवर्तनलाई स्विकार्नु पर्ने आचार्यको तर्क छ।
“कुनै समय चाँगुनारायण मन्दिर भत्कियो भने लिच्छविकालीन समयजस्तै बनाउन सम्भव होला त?,” उनले भने, “भद्रकालीको सत्तलको सन्दर्भमा पनि मल्लकालीन शैलीमा बनाउने योजना उस्तै वा बलियो प्रमाण तथा स्केच भए सान्दर्भिक होला नत्र अहिले जस्तो छ त्यस्तै संरचनामा बनाउनुमा खासै फरक नहोला।”