काठमाडौँ– वाङ लामाले क्याराभानको एउटा पेन्टिङ बनाएका छन्।
नेपालको हिमाली भेगमा अत्यन्त प्रचलित संस्कृति हो– क्याराभान। यही संस्कृतिलाई टपक्क टिपेर निर्देशक एरिक भालीले सन् १९९९ मा ‘क्याराभान’ नामको फिल्म बनाए। यो फिल्मले डोल्पाको दुर्गम पहाडी क्षेत्रबाट उच्च पठारमा नुन बोक्न चौरी लिएर जाने गाउँलेहरूको कथा भन्छ।
हिमालमा जन्मेर हुर्किए पनि वाङ कहिल्यै क्याराभानसँग हिँडेनन्। तर नुन लिएर फर्कँदै गरेको क्याराभान कयौँ पटक देखे। त्यो हुल गाउँ पस्दा ठूलो हर्षबढाइँ हुन्थ्यो। स्थानीयले यसलाई चाडका रूपमा लिन्थे। मान्छेका अनुहारमा देखिने खुशी वाङ अहिले बयानै गर्न सक्दैनन्। उनी भन्छन्, “एउटा काम २/३ महिना नियमित गर्यो भने ह्याबिट हुन्छ। त्यही अभ्यास लामो समयसम्म गर्यौं भने संस्कृति बन्छ। क्याराभान समय अन्तरालमा संस्कृति भयो।”
वाङको पेन्टिङमा चौरीको हुल पहाडको कुनाबाट गाउँ पस्दै गरेको देखिन्छ। चौरी पहाडको अभिन्न अंग हो। चौरीले हिमाली नागरिकलाई के–के मात्र दिएन– लगाउन लुगा दियो, खान मासु र दुध दियो, सामान ओसार्न भरिया बनिदियो। जीवन चलाउने एउटा सहयात्री थियो– चौरी। उनका अनुसार हिमालबाट चौरीमा लादेर ल्याएको नुनबाट अन्न पनि जुट्थ्यो। आफूलाई पुग्ने नुन जतन गरेर बाँकी रहेको भेडालाई बोकाई पहाड ओर्लन्थे र चामल, चिनीलगायत खाद्यन्नसँग साट्थे।
हिजोआज पनि वाङ हिमाल–पहाड चाहारिरहेका हुन्छन्। तर क्याराभान देख्दैनन्। त्यसैले उनले क्याराभानलाई क्यानभासमा कोरे। “यो संस्कृति हराएर जाँदै छ। मानिसको दिमागमा रहेको क्याराभानको बिम्ब पनि कुनै दिन हराएर जाला,” उनी भन्छन्।
वाङ वर्तमानको हिमाली गाउँ हेरेर यसको भविष्यबारे चिन्तित छन्। “हिमालबाट हराउँदै गरेका चिजबिज देखेर मलाई किन–किन डर लाग्छ,” उनी मसिनो स्वरमा भन्छन्।
प्रायः हिमाली भेगका कथाबस्तु खोज्दै हिँड्ने कलाकार वाङले केही दिनपहिले काठमाडौँको लाजिम्पाटमा पेन्टिङ प्रदर्शनी गरे। एक हप्तासम्म चलेर जेठ २७ गते सकिएको प्रदर्शनीलाई उनले नाम दिएका थिए– इन सर्च अफ भेनिसिङ आइडेन्टिटी। अर्थात् लोपन्मुख पहिचानको खोजी।
हुम्ला घर भएका वाङ आफूलाई ‘ट्राभलिङ आर्टिस्ट’ मान्छन्। विभिन्न ठाउँ घुम्ने, बुझ्ने र पेन्टिङमार्फत देखाउने उनको मनसुबा हो। हिजोआज हिमालमा मासिँदै गरेको संस्कृतिले उनी मर्माहत छन्। त्यही पीडालाई क्यानभासमा उतारेका छन्।
“यहाँ पहिचान भन्ने बित्तिकै मान्छेको अनुहार हेरिन्छ, तर ठाउँको पहिचान हराउँदै गएको कसैले ख्याल गरेको छैन,” उनी भन्छन्, “कहिलेकाहीँ एउटा ठाउँमा दोहोर्याएर पुग्दा कति धेरै कुरा परिवर्तन भएको पाएँ। अनि मलाई लाग्यो– हराउँदै गरेको हाम्रा अमूल्य सम्पत्तिलाई कलामा जीवन्त राख्नुपर्छ।”
तिनै हराउँदै गरेका थुप्रै चिजबिज उनको पेन्टिङमा देख्न पाइन्छ। जस्तो, भँगेरा।
खैरो रङको यो चरो नेपालका प्रायः सबै ठाउँमा देखिन्थ्यो। वाङले सानो छँदा आफ्नै गाउँ हुम्लामा पनि असाध्यै धेरै देख्थे। हिजोआज त कता गए कता! कहिलेकाहीँ घर जाँदा भँगेरालाई खुब ‘मिस’ गर्छन्। फाट्टफुट्ट त देखिन्छन् तर पहिलाको जस्तो चिर्बिराउँदै छानाभारि बस्दैनन्। मान्छेले जस्तापाता र पक्की घर बनाउन थालेपछि भँगेराको थातथलो उठिबास लागेको उनको तर्क छ।
भँगेरा हराउनसक्ने अरू कारणबारे पनि वाङ अनुमान लगाउँछन्। ‘कुनै घरमा मान्छे बसेन वा आगो बलेन भने भँगेरा बस्दैन’ भनेर बुढापाकाले भनेको उनले कयौँ पटक सुनेका थिए। उनलाई लाग्छ– गाउँ रित्तिदै जान थालेपछि भँगेरा पनि बसाइँ सरेका हुन् कि!
वाङलाई भँगेराको महत्त्व थाहा छ। “हिमाली भेगमा अर्ग्यानिक खेतीपाती गरिन्थ्यो। केमिकल नहालेपछि बालीमा किरा लाग्थ्यो। त्यसलाई भेँगेराले खान्थ्यो र उब्जनी बढ्थ्यो। यसरी इकोसिस्टम चलेको थियो,” उनी भन्छन्, “त्यो सम्बन्धलाई मान्छेले बुझ्न खोजिरहेको छैन। तर हामीलाई नबुझ्न छुट छैन।”
चराप्रति वाङको ठूलो लगाव छ। उनको कुनै पेन्टिङमा नीलो रङको ‘ग्राण्डा’ चरा पनि उडेको देखिन्छ। हिजोआज यो चरा पनि खासै देख्दैनन्, जुन उनी बच्चा हुँदा मिठो आवाज निकालेर घरछेउमा चुक खान आउँथ्यो।
हिमाली भेग चुकका लागि चर्चित छ। मनाङ, मुस्ताङमा यसका पोथ्रा हुन्छन्, हुम्लातिर चाहीँ पोथ्रा र ठूलै रूख पनि देख्थे। यो पाक्ने बेला ग्राण्डा चरा आउँथे। अरूबेला कहिल्यै देखिँदैन थियो। बाँकी समय ती चरा कहाँ जान्थे, के खान्थे– वाङले कहिल्यै पत्ता पाएनन्। उनले बुढापाकालाई सोधे, उनीहरूले पनि चुक पाक्ने बेला मात्र त्यो चरा देखेको जवाफ दिए। “चुकसँग ग्राण्डाको अद्भूत सम्बन्ध रहेछ। चुक नभएपछि चरालाई खाना नपुग्ने हो कि! हिजोआज चुकका रूख घट्दै गए, चरा पनि पातलिन थाले,” उनी भन्छन्।
वाङले हिमालमा देखेको अर्को सुन्दर चिज हो– माने। स्तुपाहरूमा खुब घुमाइन्छ यो। उनले पेन्टिङमा पनि मानेलाई यसरी खिपेर बनाएका छन्, मानौँ भर्खरै घुमाएर छाडिएको छ।
आफूले मानेमार्फत एउटा समुदाय र त्यसको संस्कृति, कला, सिर्जना सबै पक्षलाई उतार्न खोजेको वाङ बताउँछन्। हिमाली भेगमा पनि अहिले स्वयम्भु, बौद्धलगायत काठमाडौँका विभिन्न स्तुपामा पाइनेजस्तै माने भेटिन्छन्। काठमाडौँबाट माने लैजान थालेपछि हिजोआज सबैतिरको माने एकढङ्गी देखिएको उनको भनाइ छ।
वाङको पेन्टिङमा भुत्लासहितको छालाले मोरेका माने छन्। हिजोआज यस्ता माने भेट्न गाह्रो छ। हिमालका केही ठाउँमा पाइन्छन् तर नासिने अवस्थामा छन्। हिमाल घुम्ने क्रममा उनले स्थानीयलाई सोध्दा मानेको सुरक्षाका लागि बाहिरबाट छालाले मोरियो भने लामो समय टिक्छ भन्ने विश्वास रहेछ। कतिपयले भने कपडा प्रयोग गरेर पनि माने बनाएका छन्।
पछि छालाको सट्टा टिनको लगाउन थालियो। टिन कसरी आयो भनेर उनले स्थानीयसँग सोधखोज गरे। “कति सालतिर पो हो, विदेशबाट राहत आउँदा टिनमा प्याक भएर आएको रहेछ। छालाभन्दा टिनले बेरियो भने माने बलियो हुन्छ भनेर मान्छेले बुझे। त्यसपछि टिनको सदुपयोग गरियो,” उनी भन्छन्, “उनीहरूको त्यो ज्ञान र सीप लोभलाग्दो थियो। अब छालाको माने बनाउने मान्छे छैनन्। माने बनाउन गाउँभरीका मान्छे एकठाउँ भेला हुन्थे, त्यो संस्कृति पनि हरायो।”
चरा, चौँरी वा माने मात्र हैन, हिमालबाट मानिस–मानिसबीचको एकता पनि हराएको देख्छन् वाङ। उनले ढुंगाको स्तुपा र घरहरूमार्फत त्यो एकता देखाउने प्रयास गरेका छन्। पेन्टिङमा स्तुपा र घर एक–एक ढुंगाको गारो मिलाएर बनाइएको छ, जुन एकताको संकेत हो।
गाउँमा एकअर्कालाई सहयोग गर्न मान्छे उर्लिएको वाङकै आँखाले देखेका हुन्। कसैको घर बनाउनु पर्यो भने टोलभरिका मानिस आइदिन्थे। सबैले एक–एक वटा ढुंगा ल्याइदिन्थे। “ती हरेक ढुंगामा मानिसका कथा हुन्थे। ढुंगा बोक्नेहरूको आ–आफ्नै कहानी हुन्थ्यो,” उनी सुनाउँछन्।
अहिले के भयो त! त्यो सहयोगको भावना गायब भएको देख्छन्। “हिमाली भेगमा अहिले छाएको विकासमा समुदायमा हुने सहयोग देखिँदैन। विगतमा मान्छेबीच सहयोग आदानप्रदान हुँदैन थियो भने सोच्नुस् त– गरिबको घर हुँदैन थियो होला। तर पहिला–पहिला हिमालका मानिस जतिसुकै गरिब भए पनि घर हुन्थ्यो। त्यो त पैसाले बनाएको घर हैन, एकअर्काको सहयोगले बनाएको हो,” उनी भन्छन्।
स्तुपा बनाउँदा पनि सबै गाउँले एकजुट हुन्थे। “समुदायको एकतामा सकारात्मक शक्ति लुकेको हुन्छ, मान्छेले अपनत्व लिन्छन्। अहिलेको संरचनामा स्थानीय बुद्धि, क्षमता वा खुबी मिसिएको हुँदैन। संरचना त बन्यो तर त्यसले मान्छेमाझ सकरात्मक इनर्जी सिर्जना गर्न सकेको छैन,” उनी भन्छन्, “मैले पेन्टिङमा देखाउन खोजेको पनि यही हो।”
वाङले पेन्टिङमार्फत हिमाली भूभागका वर्तमान मात्र हैन, विगत र भविष्यलाई पनि देखाउने प्रयत्न गरेका छन्। उनीसँग प्रश्न छ– हिमालले आफ्नो संस्कृति र कला गुमाएपछि के बाँकी रहन्छ?
सेता चुचुरा मात्र हेर्नुको खास माने देख्दैनन् उनी। “हिमाललाई हिमालजस्तो बनाएको त्यहाँका मान्छे, जीवजन्तु, जनावर, चराचुरूङ्गी, किरा, वनस्पती, रहनसहन, संस्कृतिले हो। वरपरका जीवनले हिमाललाई जीवन्त बनाउँछ। हिउँ मात्र हेर्न त अन्टार्टिका गए भइहाल्यो नि,” उनी भन्छन्, “यति बेला पूरा हिमालले एकै खालको समस्या भोगिरहेको छ। म त हिमालको संस्कृति आईसीयूमा पुगेको देख्छु।”
वाङ प्रकृतिप्रेमी हुन्। जीव जनावर, रूख, बिरूवालाई खुब प्रेम गर्छन्। १२/१३ वर्षअघि उनले रिङरोडमा १५० वटा बिरुवा रोपे। भुइँचालो आउँदा बिचल्लीमा परेका मानिस ती रूखमुनि पाल टाँगेर बसे। पछि रिङरोड बनाउने भनियो, छेउछाउका सबै रूख काटिए। हिजोआज रिङरोड हिँड्दा पनि उनलाई बेचैनीले छोप्छ। अहिले उनले लगाएका रूख एउटै बाँकी छैनन्।
कमलपोखरीमा पनि उनले सन् २०१४ तिर बिरुवा रोपेका थिए। सडक बालबालिका र सुकुमबासी बस्तीका केटाकेटीलाई ल्याएर पोखरी वरिपरि वृक्षरोपण गराए। त्यसबापत उनले सबैलाई खाजा खुवाएका थिए। आफूले रोपेका बिरूवा बेलाबेला हेर्न जान्थे, सप्रिएकै थिए। त्यसका नाम थियो– विपिङ विलो।
विपिङ विलोका हाँगा तथा पातहरू सबै भुईंतिर निहुरिने हुँदा अत्यन्त आकर्षक देखिन्छन्। २०–२५ मिटर अग्लो हुने यो रूख विशेषगरी जापान र चीनतिरका लेकसाइडमा खुब देखिन्छन्।
कमलपोखरी वरिपरि अहिले उनले रोपेका बिरूवा छैनन्। पोखरी सिँगार्ने नाममा ती सबै काटियो। अहिले अरू नै रूख रोपिएका छन्। वाङ बेलाबेला त्यहाँ पुग्छन्। “अरू नै भए पनि थुप्रै रूख रोपिएका छन्, मलाई खुशी लाग्छ,” उनी भन्छन्।