काठमाडौँ– कसैको टाउको आधा भागमा कपाल, आधा भागमा अनौठा चित्रले भरिएका। कसैका अनुहारभरि अनौठा चित्र कोरिएका। कसैका कानका लोती लत्रिएका त कोही शरीरले धान्नै नसक्ने गरेर गरगहनाले सजिएका।
११औँ संस्करणको ‘इन्टरनेसनल ट्याटु कन्भेन्सन’को दृश्य हो यो। ललितपुरको हेरिटेज गार्डेनमा शुक्रबारदेखि शुरू कन्भेन्सन आइतबार सकिएको छ।
नेपाली समाजमा पुरुष कस्तो देखिनुपर्छ, महिला कस्तो हुनुपर्छ भन्ने मानक स्थापित छ। कस्तो व्यक्ति सुन्दर कस्तो व्यक्ति बेरूपको भन्ने परिभाषा पनि छ। तर ती सबै मानक, मापदण्ड र परिभाषालाई चुनौती दिँदै महिला ‘ट्याटु आर्टिस्ट’ छेउमा थरिथरिका मसीसहित ट्याटु मेसिन बोकेर बसेका थिए।
ललितपुरमा नेपालसहित अमेरिका, अस्ट्रेलिया, बेलायत, स्विडेन, स्पेन, मेक्सिको, इन्डोनेसिया, क्यानडा, जापान, थाइल्यान्डलगायत देशका ट्याटु आर्टिस्ट जम्माका भएका थिए। त्यहाँ महिला ट्याटु आर्टिस्ट मात्र होइन कन्भेन्सन सकिनै लाग्दा ट्याटु खोपाउन आउने पनि अधिकांश महिला नै देखिन्थे। तिनै क्षणलाई तस्वीरमा कैद गरिएको छ: