Thursday, May 09, 2024

-->

जेबी दर्लामीको कृति ‘मारीखोलाको ढुङ्गो’ लोकार्पित

लेखक दर्लामी ‘मारीखोलाको ढुङ्गो’ उपन्यासमा आफूले देखेको र भोगेको समयलाई इमानदारीपूर्वक उतारेको बताउँछन्।

जेबी दर्लामीको कृति ‘मारीखोलाको ढुङ्गो’ लोकार्पित

काठमाडौँ– लेखक जेबी दर्लामीको द्वन्द्वकालमा आधारित कृति ‘मारीखोलाको ढुङ्गो’ सार्वजनिक भएको छ।

पुस्तक लोकार्पण कार्यक्रममा लेखक दर्लामीले ‘मारीखोलाको ढुङ्गो’को कथाकालमा जन्मिएकी ईभा काफ्लेलाई कृति हस्तान्तरण गरे। कार्यक्रममा काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत काफ्लेले सशस्त्र द्वन्द्वबारे आफू र आफ्नो पुस्ताको बुझाइका साथै ‘मारीखोलाको ढुङ्गो’ पढ्दाको अनुभूति सुनाइएकी थिइन्।

“समाजविज्ञानको विद्यार्थी भए पनि हामीले द्वन्द्वकालबारे कक्षाकोठामा पढ्नै पाएनौँ, घरघरमा कथा सुनाउने चलन पनि अब छैन,” नेपालमा लगाइएको संकटकालताका जन्मिएकी ईभाले पठन अनुभव सुनाइन्, “चिन्दै नचिनेको देश हामीले कसरी बनाउने? हामी कहाँबाट आयौँ? अहिले कहाँ छौँ? यस्ता प्रश्नको जवाफ मैले यो उपन्यासमा पाएँ।”

काठमाडौँबाहिर बसेर लेखनमा सक्रिय दर्लामीले पब्लिकेसन नेपालयको आरशालामा भएको कार्यक्रममा आफ्नो बाल्यकालका साथै लेखन यात्राको अनुभव बाँडे। 

“घरनजिक स्कुल नभएका कारण र आमालाई छोड्न नसक्ने आफ्नै भावुक स्वभावले मैले स्कुल तह पनि पूरा गर्न सकिनँ,” लेखक दर्लामीले भने, “पढ्ने बेलामा पढ्न नपाएको भोकले हुन सक्छ, मलाई शब्दसित गहिरो प्रेम छ।”

अहिले पनि टेलिफोन, बाटोघाटो, विद्युत् नपुगेको अर्घाखाँचीको सिलिङखोलामा जन्मेका लेखक दर्लामीले ‘मारीखोलाको ढुङ्गो’ उपन्यासमा आफूले देखेको र भोगेको समयलाई इमानदारीपूर्वक उतारेको बताए।

“विकटमा बसेर लेख्नेको किताब कसले छाप्ला र भन्ने ठानेको थिएँ तर म गलत ठहरिएँ,” उनले भने, “मैले भोगेको, देखेको र महसुस गरेको समयलाई इमानदारीपूर्वक अक्षरमा उतारेको हुँ।”

साहित्य र गैरसाहित्य दुवै विधामा कलम चलाउँदै आएका दर्लामीका दुई उपन्यास, ‘नेपालको राजनीतिमा अर्घाखाँची’ शोधमूलक पुस्तक प्रकाशित छन्। नेपालयद्वारा प्रकाशित १३४ पृष्ठको ‘मारीखोलाको ढुङ्गो’ उपन्यासको मूल्य ३४५ रुपैयाँ कायम गरिएको छ।


सम्बन्धित सामग्री