Thursday, May 23, 2024

-->

ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘ट्याटु आर्ट’माथि बहस

ललितकला प्रज्ञा–प्रतिष्ठान अन्तर्गत वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभागको आयोजनामा ‘ट्याटु आर्टसम्बन्धी ललितकला संवाद’ भएको हो।

ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘ट्याटु आर्ट’माथि बहस
फाइल तस्वीर: पिक्सा बे

काठमाडौँ– शरीरमा खोपेर बनाउने ट्याटु कलाका बारेमा बहस भएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान अन्तर्गत वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभागको आयोजनामा ‘ट्याटु आर्टसम्बन्धी ललितकला संवाद’ भएको हो।

ट्याटु कलाकार राजन महर्जनले कार्यपत्र प्रस्तुत गरेको सो कार्यक्रममा थारू समुदायमा प्रचलित गोडैनाका बारेमा समेत चर्चा गरिएको थियो। प्रस्तुत कार्यपत्रमाथि कलाकार जयशंकर सन श्रेष्ठले टिप्पणी गरेका थिए।

लोक–परम्परागत रूपमा प्रचलित ट्याटु कलाको र त्यसको महत्वका बारेमा फिरिया चौधरीले आफ्नो अनुभव सुनाएकी थिइन्। उनले थारू समुदायमा प्रचलित गोडैनाको महत्वका बारेमा जानकारी दिँदै पछिल्लो समय हराउँदै जान थालेकोमा चिन्ता व्यक्त गरिन्। उनले भनिन्, "थारू समुदायमा विशेषगरी महिलाहरू विवाहपश्चात् हातखुट्टामा मयुर, घोडा, चुला आदिको चित्र खोप्ने प्रचलन छ। ३/४ वटा सियोलाई डोरीमा बाँधेर कालो मसीमा डुबाएर हातखुट्टामा खोप्ने गरिन्छ।"

चौधरीले  विवाहपछि पनि शरीर नखोप्ने महिलाले छोएको पानी नचल्ने, स्वर्गमा गएर दरिद्र हुनुपर्ने जस्ता किंवदन्ति रहेको सुनाइन्। आफ्नो अनुभव सुनाउने क्रममा उनले आफ्नो आमा, सासूआमा, देवरानी जेठानीहरूले प्रचलनलाई निरन्तरता दिँदै परम्परागत गोडैना खोपेको भएता पनि अहिले आधुनिकतासँगै त्यस्तो प्रचलनलाई नयाँ पिँढीले छोड्दै गएकोमा चिन्ता व्यक्त गरिन्।

थारू समुदायमा ट्याटुको महत्वका बारे चर्चा गर्दै प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले विवाहित महिला पहिलो पटक माइत गएर घर फर्कदा गोडैना चित्र खोप्ने प्रचलन रहेको बताए। उनले सांस्कृतिक रूपमा थारू समाजमा गोडैनाको विशेष महत्व रहेको सुनाउँदै कलाका दृष्टिले समेत निकै आकर्षक रहेको भनाइ राखे।

कार्यक्रममा कलाकार राजन महर्जनले ट्याटु कलाको विश्वव्यापी शुरूआतदेखि वर्तमान अवस्थाबारे विस्तृतरूपमा कार्यपत्रमार्फत जानकारी दिए। उनले घरेलु प्रचलनदेखि विश्वव्यापीरूपमा ट्याटु कलाको विकासक्रमका बारेमा चर्चा गर्दै परम्परागत रूपमा, देशव्यापी रूपमा ट्याटु कलाको शुरूआती चरणको पृष्ठभूमिको बारेमा व्याख्या गरे।

उनले भने, "ट्याटुको उत्पत्तिको बारेमा यकिन तथ्य नपाइएता पनि इजिप्टमा सबैभन्दा पुरानो ट्याटु कला भेटिएको हुनाले त्यहीबाट शुरूआत भएको विश्वास गरिन्छ।"

उनले कार्यपत्र प्रस्तुतिको क्रममा विश्वव्यापी विकाससँगै नेपालको सन्दर्भमा परम्परागतरूपमा विभिन्न जातजातिको विभिन्न विश्वास र मान्यताको आधारमा ट्याटु खोप्ने प्रचलन भएता पनि आधुनिक शैलीसँगै व्यवसायिकरूपमा सन् १९९१ मा कलाकार बाबुराजाले पहिलो पटक व्यावसायिक ट्याटु स्टुडियो सञ्चालन गरेको जिकिर गरे। उनका अनुसार पोखरामा सन् २००० मा मोहन गुरुङले ट्याटुलाई व्यावसायिकरूपमा अघि बढाएका थिए।

महर्जनले भने, "अहिले त्यस्ता व्यावसायिक ट्याटु स्टुडियोहरूमा व्यापक वृद्धि भएको पाइन्छ।" उनले ट्याटु कलाको उत्पत्ति र विकासदेखि हालको अवस्थालाई प्रस्ट पार्दै ट्याटु ललितकला क्षेत्रमा परम्परा जगेर्ना गर्न, विश्वव्यापी पहिचान बढाउन र कलाकारको आर्थिक वृद्धि गर्नसमेत अत्यन्त महत्वपूर्ण रहेको विचार व्यक्त गरे।

कार्यक्रममा टिप्पणीकार जयशंकर सन श्रेष्ठले कार्यपत्रमा विश्वव्यापीरूपमा ट्याटु कलाको विकासका बारेमा चर्चा गरिएको बताउँदै कलाले मानव सभ्यताको विकासक्रमलाई अगाडि बढाउन मद्दत पुर्‍याएको बताए। उनले भने, "अहिले आधुनिक समाजमा विश्वव्यापी रूपमा ट्याटु कला व्यवसायको वृद्धि अति छिटो भइरहेको पाइन्छ। नेपालको सन्दर्भमा परम्परागत र विश्व जगतमा हुने ट्याटु कलाको महत्व भने फरक छ।" उनले विभिन्न देशमा ट्याटु कलाको फरक–फरक महत्व भएको र प्रविधि पनि फरक–फरक रहेको बताए।

कार्यक्रममा कलाकार एलिना पोखरेलले ट्याटु कलाकारहरूले अहिले जताततै ट्याटु व्यवसाय सञ्चालन गरिरहेको बताउँदै त्यसको लागि कुनै मापदण्ड छ कि छैन भन्ने जिज्ञासा राखिन्। उनले मानिसको शरीरमा गरिने जोखिमपूर्ण सिर्जना भएकाले कलाकारले के–कस्ता सुरक्षा उपायहरू अपनाएका हुन्छन् भन्ने प्रश्न गरिन्। कार्यपत्र प्रस्तोता राजन महर्जनले नीतिगत रूपमा ट्याटु कलामा केन्द्रको ध्यान नपुगेको हुनाले कुनै पनि निश्चित मापदण्ड नभएको तर सुरक्षा उपायको दृष्टिले भने कलाकार स्वयं सतर्क रही काम गर्दै आएको सुनाए।

कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले पहिलो पटक ट्याटु कलालाई सम्बोधन गरी कार्यक्रम आयोजना गरेको बताए। उनले यस्तो पृथक कार्यक्रम आयोजना गरेर कलाको नयाँ धारलाई उठाउने काममा वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग अग्रसर भएको विचार व्यक्त गरे। उनले भने, "प्रतिष्ठानको ललितकलासम्बन्धी कार्यक्रममा नयाँ विधाको रूपमा ट्याटु कलालाई पनि समावेश गर्न सकिने सम्भावना देखिएको छ।"

कुलपति हार्तम्छालीले आधुनिकतासँगै बढेको विकृतिलाई छोडेर प्रविधिलाई अँगाल्दै परम्परागत, मौलिक नेपाली शैली, भाव, बिम्बलाई विशेष महत्वमा राखेर ट्याटु कलालाई अघि बढाउन प्रतिष्ठान तयार रहेको बताए। वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागका प्रमुख सौरगंगा दर्शनधारीले नेपालमा ट्याटु कला लोक/परम्परागत र आधुनिक ढंगले अगाडि बढिरहेको विचार व्यक्त गरिन्।

उनले कलाका विभिन्न आयाममध्ये परम्परागत मान्यता र आधुनिक धारमा ट्याटु कलाको विकास भएको र यसलाई प्रतिष्ठानले विशेष महत्व दिएको जिकिर गरिन्। दर्शनधारीले भनिन्, "संस्कृति र परम्पराको रूपमा विकास हुँदै ट्याटु कलाले आधुनिकपनमा समेत आकर्षक ढंगले बढिरहेको छ।" सो कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, प्राज्ञपरिषद् सदस्य पाल्साङ्मो लामा, सञ्जय वान्तवा, अरुणा हिङ्माङलगायतको उपस्थिति रहेको थियो।
 


सम्बन्धित सामग्री